सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

निबन्धको बकपत्र

म नियमबद्ध नियमको घेरामा बेनियमको छु । म सर्जकको अधीन तर स्वच्छन्द छु । म बन्धनमा छु तर बाँधिएको छैनँ फुक्का छु । म शरीररूपी पिँजडाभित्र भईकन पनि नितान्त स्वतन्त्र आत्मा हुँ ।

Nepal Telecom ad

दिनेश पाण्डेय :

‘नि’ उपसर्ग पूर्वमा हुने ‘बन्ध’ धातुमा ‘घञ्’ प्रत्यय लागेर मेरो सांस्कृतिक नामशब्द ‘निबन्ध’ को निर्माण भएको हो भनी वैयाकरणहरू भन्दछन् । आङ्लभाषाको essay शब्दको पर्याय मानिने ‘निबन्ध’ शब्दको यताको शाब्दिक अर्थ जुटाउनु, सङ्कलन गर्नु तथा बाँध्नु हुन्छ । तर उता आङ्लमा भने essay को अर्थ to try अर्थात् प्रयास गर्नु हुन्छ । दुबै भाषाका अर्थलाई स्पस्ट्याउँदा  निबन्धको अर्थ सङ्कलन गरी जुटाइएका विभिन्न कुराहरूलाई एकै ठाउँमा बाँध्ने प्रयास गर्नु भन्ने हुन्छ । अथवा कुनै सर्जकभित्रका निश्चित विषयसम्बद्ध विकीर्ण विचार एवं भावनाहरूलाई एकत्र पारी गँठ्याउने मेहनतपूर्ण रचनारूप भनेको नै म हुँ । सायद यही लक्षण मिलेर होला मलाई मेरा पितापुर्खाले ‘निबन्ध’ भनी न्वारान गरिदिएका ।

फ्रान्सेली साहित्यकार मोन्तेनबाट सन् १५८० मा जन्मिएको म आज करिब साढे चार सय वर्षको भइसकेको छु । तर म बुढिएको छैन। बरु झन् झन् तन्नेरी पो हुँदै छु । मलाई मेरा पिताजीले जस्ताको तस्तै जन्माइदिए मात्र । कुनै सिँगारपटार गर्ने, फेसनमा सजाउने, उजिल्याउने रङाउने आदि काम गरेनन् । उनी भन्दथे- “म मेरा रचनालाई सिँगार्ने र उजिल्याउने काम गर्दिनँ ।” पिताको वंशाणुको प्रभाव ममा छपक्कै थियो र ममा पिताकै लक्षणहरू देखिन्थे । अर्थात् उनका निजी विचार, निजी तरङ्ग र निजी हृदयका उछालहरूले मेरो स्वरूप निर्धारण गरेको थियो । केही समय म यही स्वरूपमा विचरण गर्दै थिएँ । कालक्रममा म सन् १५९७ तिर बेलायतका दार्शनिक विचारक अर्थात् मेरा काकाबा फ्रान्सिस बेकनकोमा पुगेँ ।

उनले मेरो रूप परिवर्तन गरिदिए । उनले मलाई सूत्रात्मक समासशैलीमा सजाइदिए । अर्थात् थोरै शब्दले धेरै बताउन सक्ने शैली । जस्तै वहाँ भन्नुहुन्थ्यो, Reading maketh a full man; conference a ready man; and writing an exact man…” अर्थात् मानिस पढाइले पूर्णतामा वार्तालापले प्रत्युत्पन्नमतिमा र लेखाइले वास्तविकतामा प्राप्त हुन्छ । काकाले मेरो परम्परामा नै नयाँ मोड दिए । म पिताजीको आत्मपरक छोरोबाट काकाजीको विषयवस्तुपरक भतिजमा मोडिएँ । सधैँ पिताजीका मनका निजी उहापोहलाई दुनियाँसामु पस्किँदै आएको मेरो काँधमाथि अब दुनियाँदारका नाना विषयवस्तुलाई अँगाली तिनैलाई सर्वत्र चिनाउँदै हिँड्नुपर्ने अर्को वस्तुपरक जिम्मा पनि आइलाग्यो । काकाले मलाई छरपस्टिएका चिन्तनको अव्यवस्थित दशाको रूपमा चिनाउन थाले । उनले विभिन्न विषयवस्तुका बारेमा आफ्नो मथिङ्गलमा विकीर्ण तरङ्गहरू ममार्फत नै सबैतिर पस्किने काम गरे । अब मैले आफ्ना सर्जक वा पालकका आवश्यकतानुसार दुई स्वरूपमा व्यक्तिनुपर्ने भयो; आत्मपरक र वस्तुपरक । तदुपरान्त बेकनलाई मैले आफ्नो वस्तुपरक अवतारको पिताजी नै मान्न थालेँ ।

मेरा बारेमा यत्रतत्र विभिन्न टीकाटिप्पणीहरू चल्दै गए । मेरो परिचय सर्वत्र फैलिँदै गयो । हुँदाहुँदै मैले संसारका विभिन्न शब्दकोशहरूमा पनि आफ्नो डेरा जमाउन थालेँ । नेपाली वृहत् शब्दकोशले पनि मेरो नाममा चार पङ्क्ति अभिलेखीकरण गरिदियो –

“१, कुनै विषयलाई लिएर आत्मपरक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना; साहित्यको एक गद्यविधा । २, राम्रोसँग बाँध्ने काम।”

वि.सं. १९९० को दशकमा महाकवि लक्ष्मीप्रसाद देवकोटामार्फत आषाढको पन्ध्रमा म नेपाल पनि छिरेँ । नेपाल भित्रिनेबित्तिकै मलाई दहीचिउराले स्वागत गरेका उनले नेपाली साहित्यसंसारमा विचरण गर्दा मेरी दिदी कवितापछि मलाई नै साथी बनाए, मलाई नै अपनाए । देवकोटा मलाई चिनाउँदै भन्थे, “यो रौँचिरा दर्शन होइन, न हो पाण्डित्य दर्शनको ठ्यासफू । यसमा गृहित विषयलाई सर्वदृष्टिकोण र समीक्षणको जरुरत छैन । यो एक किसिमको धूर्त बदमास ठिटो हो-जो सडकमा हिँड्दा कहिले ढुङ्गा हान्छ, कतै कतै आनन्दले फुलेर हेर्छ तर घोरिँदैन । … त्यो (निबन्ध) टेबिल गफ मात्र हो, शास्त्र होइन । चस्मादार अध्यापकको व्याख्यान होइन, न त वमनवेदान्त । यो एउटा फुर्सदको मनोरञ्जन हो ।… यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुट्किलो कुराकानी छ । जसको नाम प्रबन्ध (निबन्ध) हो।” (लक्ष्मी निबन्ध संग्रह)

उनले मलाई एक बदमास ठिटोको उपाधि भिराइदिए । सडकमा स्वच्छन्द हिँड्ने ठिटो, कतै ढुङ्गा हान्ने, कतै आनन्दले गजक्क फुल्ने तर विश्राम नगर्ने, आरामदायी यात्रा गर्ने, गरिरहने, एक गतिशील चलाख बैँसालु ठिटो । हुन पनि हो, उनीसँग हुँदा म यस्तैयस्तै गर्थेँ । मलाई कुनै दर्शनशास्त्रको आडमा कुनै विषयवस्तुमाथि एकएक छानबिन गरी यो हो कि हो, यो होइन कि होइन र हुँदै त होइन भनी जबरजस्ती बाह्रै टक्कामा आफ्नै गोरु बिकाउन रौँचिरा हिसाब गर्नुपर्ने पनि केही थिएन । दुनियाँले मलाई कसरी जान्दछन् भन्नेसम्म पनि कुनै मतलब थिएन । आफ्ना मनोदशालाई उनी ममार्फत सबैतिर पोख्तथे “टेबिलको गफ” जस्तै रसाउँदै हँसाउँदै एक स्वस्फूर्त स्वतन्त्र उन्मुक्त स्वच्छन्द गफाडीको रूपमा । म यसैगरी उनीसँग बरालिँदै गएँ । उनका पूर्वार्ध रचनाकालखण्डमा मैले उनका व्यक्तिगत निजी आत्माभिव्यञ्जनालाई बोक्तै हिँड्नुपर्थ्यो भने उत्तरार्धका दिनमा अलिक फरक मतलब विषयवस्तुपरक । उनका हृत्तीर्थमा विभिन्न विषयवस्तुका बारेमा छचल्किने छालहरूलाई समेट्तै गठर्क्याउँदै मैले भिन्नभिन्न मनोदशावाला तीर्थालुहरूलाई पस्किदिनुपर्थ्यो । बस्, अब म कतै आत्मानुभूतिले त कतै वस्तुगत व्यञ्जनाले पोतिन थालेँ ।

उता हाम्रा घाम डुब्नेतिर यतिखेरसम्म मेरा अनेकन छायाप्रति बनिसकेथे । १८ औँ शताब्दीमै मैले उतातिर निकै सर्जकका साथ थुप्रै यात्रा गरिसकेको थिएँ । वुल्सटन क्र्याफ्ट र वुल्फग्याङले ऊबेलै सुरु गरेको फिरन्तेका अनुभूतिवर्णन अब यतातिर पनि नियात्राका नाममा सल्किँदै रहेछ । बिस्तारै पर्यटनको आन्दोलन नै चल्न थालेको थियो विश्वभरि । कहिले ताना शर्मासँग बरालिँदै बेलायत र पातालप्रवाससम्म भोगियो भने कहिले हर्क गुरुङ, ध.च. गोतामे, कमलमणि दीक्षित, लैनसिंह बाङ्देल, सत्यमोहन जोसी, रमेश विकल, पूणर्प्रकाश नेपाल यात्रीसँगै विश्वका कुनाकाप्चासम्म देखियो, भोगियो र पोखियो पनि । निर्मोही व्यासका साथ ठोरीदेखि कहिले बाराका जंगलजंगलै पनि निकै हिँडियो । हिमाल, पहाड र तराईका देशदेशान्तर घुमियो । थरीथरीका भूगोल, जनजीवन, रीतिरिवाज, किंवदन्तीजस्ता सामाजिक कुराहरू दुनियाँलाई सुनाइए । प्रतीक ढकालसँग सगरमाथा चढ्दा पहिलेका शिखरयात्रीहरूका लास यत्रतत्र छरिएका पनि कति हो कति देखिए । यही त हो नि यात्राको मजा । कतिपयले त त्यतिखेर मेरो नामै नियात्रा पनि पो राखिदिए त । तर यसलाई मैले भने मेरो अर्को एउटा भेषमात्र स्विकारेँ । भारतवर्षका स्वामी महाराजको रेलयात्राझैँ विनापैसा दुनियाँ घुम्न घुमाउन पाइने, आहा ।

पाश्चात्य साहित्यमा भर्जिनिया उल्फ जेम्स जोइस आदिले उपन्यासमा देखाउने चेतना प्रवाहको कलात्मक चातुर्यले नेपालतिर पनि भित्रिने चलखेल गरेको कुरा सुनिँदै थियो । यस्तै प्रसङ्गमा एक दिन मलाई शङ्कर लामिछानेले भेटे । भेटेपछि छुट्टिनै मानेनन् । फेरि म उतै रत्तिएँ । उनले त मलाई यति गाह्रो काममा लगाइदिए कि उनका मनमा भएका सारा सङ्गत विसङ्गत फोस्रा कसरमसर समेत बोकेर हिँड्नु पर्ने बनाइदिए । सुरुसुरुमा त मलाई मान्छेले चिन्न पनि सकेनन् । उनीसँगै म स्वयम् एकदम एब्स्ट्रयाक्ट बन्न पुगेछु । मनको गहिराइदेखिका उहापोह जस्ताको तस्तै बाहिर छताछुल्ल पार्नुपर्ने । एउटा एब्स्ट्रयाक्ट प्याजको गानामा बसेर उनका मनको वायुपङ्खी घोडाका तरङ्गमा तरङ्गिँदै अमेरिका र रुसको शीतयुद्धदेखि हेनरी मिलरको ट्रपिक अफ क्यान्सरसम्म र विन्सटन चर्चिलको भाँचिएको तिघ्रादेखि उनको आफ्नै छोराको टाइफाइडसम्मको निगरानी गर्नुपर्ने भयो । त्यो पनि सेकेन्डसेकेन्डमा । ओहोहो कोलाहल । न बुझिसक्नु न बुझाइसक्नु । उनको मनको घोडा कतिखेर कता पुग्छ, कतिखेर कता हानिन्छ अनि कतिबेर घुमेर कतिबेला घर फर्किन्छ पत्तै नहुने । कोक्रोदेखि चिहानसम्मका जम्मै कथा एकैपटक ह्वार्र । साँच्चै त्यस्तै गरी एउटा किताबै भरियो भने कस्तो देखिन्छु होला त म ? चिन्लान् त मलाई मान्छेले ? वाह ! लामिछानेको शैली । जति खोस्ट्याए पनि भित्र प्याजको अस्तित्व नै नभेटिने । उनको प्याज पनि गजबकै हो बा । धन्य ।

नेपालमै पछि भैरव अर्यालसँग मेरो भेट भयो । उनले पनि मलाई केही समय आफ्नो मुखपात्र बनाए । उनी बडो रसिक स्वभावका थिए । समाजमा मैले उनका कुरा कोट्याउँदा सुन्ने मान्छेहरू मुसुमुसु मुसुमुसु हाँस्थे, कहिलेकाहीँ त म आफै पनि मुर्छा परी हाँस्थेँ । उनको व्यङ्ग्यविनोद आह्लादित शैलीमा घुसी पाठीको घिच्रो निमोठ्नेदेखि तरुनीको तिघ्रो चिमोट्नेसम्म, टाकनटुकनदेखि हाँडीघोप्टेसम्म, शरणहरि टण्डन डुकुलन्ठनदेखि बडेबडे भोलिवाल महापुरुषसम्मका धमाकेदार सङ्गत गर्न भ्याएँ मैले पनि । म पनि उनीजस्तै भएँ । भैरव अर्यालले मलाई “कुनै विषयमा आफूले भनेको, सोचेको र मनमा लागेको कुरा रसिलो पारामा प्रकट गर्ने छरितो गद्य‘” को रूपमा चिनाए । हुन पनि हो, म उनका मनका लहरहरूलाई रसिलो र कसिलो पारामा अरुसामु प्रकट गरिदिन्थेँ । उनले दिएको मेरो परिचयमा ‘रसिलो’ शब्दबाहेक अन्य शब्द अग्निपुराणबाट जस्ताको तस्तै ल्याएजस्तै लाग्यो । अलि पहिले मेरा दाजु काव्यलाई पनि अग्निपुराणले यसैगरी चिनाएको थियो । हुन त दाजुभाइको परिचय उस्तैउस्तै हुँदा के नै नौलो मान्नुपर्ने छ र । हामी दाजुभाइ केही तत्त्व र रूपाकृतिमा मात्र भिन्न छौँ । छालाका बाहिरी रङरोगनमा थोरै भिन्नता भए पनि अन्तर्य प्रायः समान नै छन् । हाम्रो हिँडाइ र लस्काइका तौरतरिका थोरै फरक छ । फड्का लामा छोटा छन् । दाइका फड्का बराबर प्रायः छन् भने मेरा कतै निकै छोटा कतै निकै लामा । ठाउँ हेरीहेरी ।

रहँदै बस्दै जाँदा साहित्यकार मोहनराज शर्मासँग मेरो भलाकुसारी हुँदै गयो । मलाई राम्रोसँग उनले जानिसकेपश्चात् सबै सामु यसरी छर्लङ्ग्याइदिए-

“अन्तरङ्ग विचार वा भावना अभिव्यक्त भएको अथवा बहिरङ्ग वर्णन र विवरण प्रस्तुत भएको समय र स्थानगत सीमाभित्र बाँधिन बाध्य नभएर पनि निश्चित प्रकारको सिलसिला तथा अनुक्रमयुक्त विषय विशेषमा केन्द्रित गद्यात्मक रचनालाई निबन्ध भनिन्छ ।” (मोहनराज शर्मा)

यो मेरो खासै नौलो परिचय त होइन, पुराना परिचयकै अलि व्याख्यात्मक अभिव्यक्ति हो ।

जब हृदयचन्द्रसिंह प्रधानसँग मेरो आत्मीयता र सान्निध्य बढ्यो उनले पनि मलाई आफ्नो अभिव्यक्ति पोख्ने नजिकको माध्यमपात्रको रूपमा स्विकारे । उनले मेरो कर्तव्यलाई यसरी चिनाए-

“(निबन्धमा) लेखकले कलमको पछि-पछि दौडेर मात्र पुग्दैन, पाठकहरूलाई प्रभावित पार्न कलमलाई हृदय पक्राउने कोसिस पनि गर्नुपर्छ । परिमार्जित र परिपक्व विचार, दृष्टिकोणलाई व्यङ्ग्य, हास्य र ठट्यौलोपन मामुली तबरबाट पोख्दै जानुपर्छ ।” (हृदयचन्द्रसिंह प्रधान)

बदरीनाथ भट्टराईले “सत्य वस्तु देखाउने लेखकीय अन्तर्ज्योतिको शाब्दिक स्वरूप” भन्दै मेरो चिनारी प्रस्तुत गरिदिए ।

बालकृष्ण पोखरेलले मेरो निजात्मक वा आत्मपरक स्वरूपलाई प्रशंसा गर्दै भने, “सबैभन्दा माथिल्लो तहको निबन्ध हो निजात्मक । हरेक निजात्मक निबन्ध लेखकले आफ्नो हृदयभित्र लुकेर बसेको अदृश्य श्रोतालाई सुनाएको गन्थन हो ।”

बिस्तारै ममार्फत धेरै नेपाली स्रष्टाले आफ्नो कलम चलाए । विसं २०६५ ताका त युवराज नयाँघरेको सङ्ग्रहित कृति “ एक हातको ताली“ लाइ मेरै नाममा मदन पुरस्कारै पनि दिलाइछाडे । बाहिरी देशको कुरा गर्ने हो भने त यस्ता पुरस्कार मैले कति थापेँ कति ।

मलाई जसले जसरी चिने तिनले त्यसैगरी चिनाए । विभिन्न स्रष्टाहरूसँग अन्तर्घुलित हुँदै म आज यहाँसम्म आइपुगेको छु । हुन त माथि नै विभिन्न विद्वान्हरूले मलाई राम्रैसँग चिनाइसकेका छन् तर पनि म यहाँ आफ्नो परिचय आफै दिने दुस्साहस गर्दैछु । म एक पर्खालबन्द परिसरमा विचरण गर्ने चुलबुले चालकी चरी हुँ । तलको परिसरको सीमा छ तर माथि असीम आकाश छ । आफ्नै मन्जुरमा म कहिलेकाहीँ आकाश माथिमाथिसम्म उडान पनि भर्छु । कहिले एक्लै त कहिले साथीसँग । मेरो गुँड त्यही परिसरमा छ । यात्रा गर्दै जता पुगे पनि बास बस्न म त्यही गुँडमा फर्किन्छु । म नियमबद्ध नियमको घेरामा बेनियमको छु । म सर्जकको अधीन तर स्वच्छन्द छु । म बन्धनमा छु तर बाँधिएको छैनँ फुक्का छु । म शरीररूपी पिँजडाभित्र भईकन पनि नितान्त स्वतन्त्र आत्मा हुँ । अझै भन्नुपर्दा म कुनै स्रष्टाको हृदयमा कुनै विषयवस्तुप्रतिको उद्दीप्त अनुभूतिलाई सुन्दरतम सरलतम एवं रसात्मक र अभिव्यञ्जनायुक्त शैलीमा प्रस्तुत गद्यात्मक अभिव्यक्ति हुँ । नित्यमुक्त निबन्ध हुँ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मान्छे

मान्छे

दिनेश पाण्डेय
राजाको स्वागत

राजाको स्वागत

दिनेश पाण्डेय
माड्सापका अफवाह

माड्सापका अफवाह

दिनेश पाण्डेय
आशीर्वाद

आशीर्वाद

दिनेश पाण्डेय
दुख्छ छाती

दुख्छ छाती

दिनेश पाण्डेय
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई