सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कठपुतलीको करामत

सकेसम्म उपचारको विधि खोजे राम्रै हो तर त्यो पनि यसको कार्यक्षेत्रभित्र पर्दैन । कपालोप्याथीले यो रोग लागेपछि रोगीलाई सन्चो बनाउन सम्बन्धित बिरामीकै सालिक बनाइदिनुपर्ने निष्कर्ष निकालेको छ ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

कठपुतली भन्नासाथ जसलाई पनि लाग्न सक्छ अर्काको इशारामा नाच्ने, अरुको लहैलहैमा लाग्ने भनेर । पक्कै पनि व्यङ्ग्य लेख्छु भन्ने घमन्ड छ यसको त्यसैले बाङ्गै अर्थमा सरकारको भण्डाफोर गर्न पो लाग्यो कि भनेर शङ्का लाग्न सक्छ तपाईंलाई । मैले किन भनिरहनु पर्‍यो र, दुनियाँलाई थाहा नभएको कुरा भए पो । बाइडेनको बुद्धि, मोदीको मति र सिजिनको सिद्धान्तअनुसार चलेको सरकारलाई कठपुतली सरकार भनिरहनु पर्ने कुरै भएन । कठपुतलीकै कसम ! मैले बाङ्गो अर्थमा भन्न खोजेकै हैन । यसरी अरुको इशारामा नाच्नेले के करामत गर्ला र खै । गरेको भए त आजसम्म देखिनुपर्ने, खै केही लछारेको जस्तो देखिन्न ।

मैले त सिधा अर्थमा हामीले जुन वस्तुलाई कठपुतली भन्छौँ त्यसकै बारेको कुरा गर्न खोजेको हुँ । अर्थात् टालाटुली बटुली कति राम्री पुतली भनेर नानीदेखि नै बानी परेको, जानेको, बुझेको झुम्रा वा काठ, रौँ, प्लास्टिक, माटो आदिबाट बनाइने पुतली । हैन, यस्तो निर्जीव वस्तुले पनि के करामत गर्ला ? यो लम्फुदास त बहुलाउनै आँटेछ भन्न पनि सक्नुहुन्छ । गर्दोरहेछ त ! गरेपछि कसको बाबुको के लाग्नु !

आखिर म पनि एउटा कठपुतली न हुँ । आफ्नै शुद्धिबुद्धिले केही गर्न सक्ने भए कुरा अर्कै हुन्थ्यो । म साँच्चैको मान्छे ठहरिन्थेँ । आज म कठपुतली भएरै कठपुतलीको कुरा गर्न लागेको हुँ क्या । सर्पले सर्पको खुट्टा देख्छ भने झै कठपुतली नबनी कठपुतलीको कुरा कसरी थाहा हुन सक्छ त ? म पनि कायम मुकायम भुतपूर्व डा. भैरव अर्यालको इशारामा नाच्ने गर्छु । यसैले मैले मलाई म ठान्दिनँ, कठपुतली नै ठान्छु । चाहे तपाईं मान्नोस् चाहे नमान्नोस् । उनै अर्याल बाजेले सपनामा आएर नभनेका भए मैले जाबो कठपुतलीलाई एउटा झुम्रो, एउटा काठ, एउटा रबर, एउटा ढुङ्गो वा एउटा धातुसिवाय केही देख्दैनथेँ ।

सपनामा आएर पृथ्वीनारायणले जस्तो चोर औँलो नठड्याएको भए मैले मूर्तिलाई केबल मूर्ति र सालिकलाई केबल सालिक मात्र देख्थेँ । कुरो गजबको र गहिरो भएर नै मैले गम्भीरतापूर्वक गर्नलागेको हुँ । गजब मात्र हैन ताजुव भयो कि अचम्म भयो म जान्दिनँ । मलाई आजै राति भैरव बाजेले सपनामा चोर औँलो ठड्याएर हप्काउनुसम्म हप्काए नि । “साले कठपुतली ! देशमा कठपुतलीले यत्रो करामत गर्दा पनि तँ चाहिँ कुन कुनामा कोदाका कपन गन्दै छस् ? खुब व्यङ्ग्य लेख्छु भनिटोपल्दो रहेछ । जाबा बुख्याँचाहरूको बदख्वाइँलाई बङ्ग्याएर बकबक गर्दैमा व्यङ्ग्य हुने भए सबै व्यङ्ग्यकार हुन्थे । मैले त्यतिका गरीबहरूको गोजी टक्टक्याएर गाँठ जम्मा गरी गठन गरेको नेपालोप्याथीमार्फत अनुसन्धान गरेर पत्ता लगाएका रोगहरूलाई मेरो शेषपछि थप्न नसके केको व्यङ्ग्यकारको शेखि गर्छस्? तुरुन्त अनुसन्धान गरेर मलाई रिपोर्ट पेश गर् । नत्र फेरि सपनामा देखिनु परे तेरो के हालत हुन्छ त्यतिखेरै थाहा पाउलास् ।”

मलाई सपनामै उनीसित वार्ता गर्न मन नलागेको कहाँ हो र । तर ऐठन भए जस्तो भएकाले बोल्नै सकिनँ । नत्र त मैले पनि उनलाई मुखभरिको जवाफ दिन्थेँ, “बाजे, मलाई तिम्रो पदप्रेसरले छोएकै छैन, चमेरिया त हुने कुरै भएन । कन्सुत्लेले भने अलिअलि छुन थालेको छ । दामान्चीको समयमा नामान्चीको लक्षण ममा देख्नै सक्दैनौ । ‘रे’ मिनिया लागेको शङ्का गर्छौ भने आएर जाँच । भन अब कुन रोगको अनुसन्धान गरुँ ? तिम्रो जस्तो खप्पर भए पो ! कठपुतलीको पनि बुद्धि हुन्छ र, कठपुतलीले पनि शेखि गर्छ र !”

के गर्नु, ब्युँझेपछि सपनामा देखिएकासित कुरा गर्न नमिल्दो रहेछ । देशमा कठपुतलीले करामत गरेको भनेर के सङ्केत गरेका हुन् ? त्यसको चाहिँ अनुसन्धान गर्नै पर्ने भयो र समुद्रको पिँधमा गोताखोर पुगे झैँ गिदीलाई गहिराइसम्म गाड्ने प्रयास गर्न थालेँ । हेरौँ केही पत्ता लाइहाल्छ कि !

‘हैन भात खाने बेलामा के गम खाएर बसिरा’को होला यो मान्छे ?’ गृह मन्त्रालय सम्हालेकी गृह मन्त्राणी श्रीमतीज्यूको गनगनले गहिराइबाट उछिट्याइदियो । रातिको सपनाले मलाई दिउँसै सपना देखाइरहेको रहेछ । ‘गम होइन, बम खाइएला जस्तो छ यहाँ । खुरुक्क भात दिए त भैहाल्यो नि !’ मैले पनि पुरुषत्व प्रदर्शन गरिहालेँ । अनि दुई गाँस गिलो भात र गुन्द्रुकको झोलले भुँडी पूजा गरेर लागेँ टालाटुली बटुली खेल्न ।

घण्टौँसम्म घुचुक घोप्ट्याएर घोत्लिएपछि बल्ल चेतन मनले सामग्री सङ्कलन गर्न थाल्यो । तमाम कठपुतलीहरू अगाडि आउन थाले । बच्चाले खेलाउने विभिन्न प्रकारका प्लास्टिकका गुडिया, झुम्राझुम्री बटुलेर बनाएको पुतली, तालिमप्राप्त व्यक्तिहरूले भित्र फाइबर हालेर बनाएका राम्रा राम्रा खेलौनाहरू मेरो अगाडि आएर भन्न थाले मलाई किन बोलाएको ? मनले अझ थप खोजी गर्दै गयो । त्यसपछि धातु, काठ रमाटाबाट बनाइएका विभिन्न खाले मानवाकृतिहरू, देवमूर्तिहरू आउन थाले । धन्य हो कलाकारको कृति ! मेरा अगाडि यस्तै पूणर् कदका र अर्ध कदका सिमेन्ट तथा धातुका सालिकहरू पनि उपस्थित भए । यति मात्र कहाँ हो र रबरबाट बनाइएका र हावा भरेपछि मात्र मानवाकृति बन्ने अनेकन खेलौनाहरू आएर वरिपरि घेर्न थाले । हाम्रो आराधाना गर्नुको कारण के हो ? महोदय ! यतिन्जेलसम्म म त तिनीहरूमा नै लीन भइसकेछु ।

साँच्चै, म मान्छे थिएँ कि गुडिया, मूर्ति वा सालिक ? म आफैँलाई थाहा थिएन । म मात्र हैन मेरी जिजुआमाका गर्भदेखि नै हजुरबाले मुर्तिसित साक्षात्कार बन्ने गरेको अनुमान मैले गरेँ । अबोध शिशुलाई गुडिया खेलाउन दिनु कति खतरनाक रहेछ भन्ने बोध मलाई तत्काल भैहाल्यो, बोध गयामा बुद्धले ज्ञान पाए जस्तो । कैयन् वर्षदेखि हामी त यी गुडिया मुर्ति र सालिकहरूसित नाता जोडेर अभेद सम्बन्ध कायम गर्दै आएका रहेछौँ । हाम्रो चेतनाले मान्छे र मुर्ति वा सालिक भनौँ गुडिया वा कठपुतलीलाई फरक देख्न छोडिसकेको रहेछ । बरू बाँदरले यो मान्छे हो र यो चाहिँ मान्छेको आकृति भएको नक्कली मान्छे हो भनेर चिन्न थालिसक्यो । बुख्याँचाहरूलाई टेर्न छोडिसक्यो । तर मान्छे भने कुन दिमागी रोगका कारणले हो दिग्भ्रमित भइरहेछ । यही भ्रम रोगको अनुसन्धान भैरव बाजेले मलाई गर्न भनेका रहेछन् भन्ने गुह्य मेरो गिलो गिदीले थाहा पायो ।

ए भैरव बाजे ! तिम्रो नेपालोप्याथी तिमीसँगै ध्वस्त भइसक्यो । अब त कपालोप्याथी मात्र छ । सधैँ कपाल खाइरहनेलाई कपालोप्याथी नभनेर के भन्ने ? मेरो कपालोप्याथीले दिव्य दश घन्टा घोटिएर कठपुतलीजन्य भाइरसका कारण लाग्ने चार रोग पत्ता लगाइछाड्यो । अब त तिमी सपनामा आएर जति थर्काए पनि मलाई ऐठन हुनेवाला छैन, बुझ्यौ ? तिम्रो पखेटोक्राइसिसले नछुँदै मैले तिमीलाई रिपोर्ट पेस गर्दै छु । यो अनुसन्धानमा सहयोग गरेबापत तिमीलाई मरणोपरान्त दिने भनेर पन्छाइएको पुरस्कार मतिर सार्नु पर्नेछ । नत्र मैले नै तिम्रो सालिक भत्काइदिन के बेर ! बुझ्यौ बाङ्गे बुढा ?

मैले यी रोगको अनुसन्धान गरेबापत कुनै मानार्थ डाक्टरको दर्जा खोजेको छैन, चाहिँदा पनि चाहिन्न । बरू के नम्र निवेदन गर्छु भने यसको अनुसन्धान गलत छ भनी थप अनुसन्धान गर्न तपाईंहरू तम्सनोस् । मेरो कुनै आपत्ति रहने छैन । लौ त राति अर्याल बाजेलाई सपनामा पेस गर्न बनाएका यी चार कठपुतलीका कारण निम्तिएका मनोसामाजिक रोगहरूको प्रतिवेदनतर्फ लागौँ-

नम्बर : एक  ट्वेस्टेरिया

सुन्दा हिस्टेरिया जस्तो लाग्ने यो रोग बच्चामा गुडिया खेलाएका कारणले युवावस्थामा लाग्ने एक जटिल रोग हो । एकातिरबाट हेर्दा यो रोगलाई एन्टिभाइरसका रूपमा एड्सको उपचारका लागि प्रयोग गर्न सकिन्छ भने अर्कोतिर सामाजिक विकृति भित्रिने मूल खतरा पनि उत्पन्न हुन सक्छ । यो रोग विशेषतः लोग्ने विदेश गएका स्वास्नीहरूलाई र स्वास्नी विदेश गएका लोग्नेहरूलाई समान रूपमा लाग्ने गर्छ ।

कपालोप्याथीको अनुसन्धानअनुसार त्यस्ता युवा युवतीहरूले ट्वे अर्थात् रवरका अर्धकद तथा पूर्ण कदका कृत्रिम मानवका साथ यौन सम्पर्क राख्ने गरेको खुल्न आएको छ । सहरका ठुल्ठुला होटलमा ट्वेस्टेरियाको अत्यधिक सङ्क्रमण रहेको कुरा यस लम्फुदासका महाभिनाजुले बताएका हुन् । सालाका सालालाई महासाला भन्न हुने भएपछि भिनाजुका भिनाजुलाई महाभिनाजु पक्कै भन्न पाइन्छ होला । बुढाले एक पटक ‘यहाँ तपाईंले चाहेको कुरा पाइन्छ’ लेखिएको होटलमा जाँदा यो गुह्य फेला पारेका रहेछन् ।

अझै रहस्य खोतल्दै जाँदा विदेश गएका लोग्नेले स्वास्नीलाई र स्वास्नीले लोग्नेलाई आफ्नो अभाव नखड्कोस् भन्नाका खातिर उपहारमा यस्ता ट्वेहरू घरमै पठाउने गरेको समेत कपालोप्याथीले पत्ता लगाएको छ । हावा भरेपछि मानवको रूप धारण गर्ने यस्ता खेलौनासित खेल्न कत्तिको आनन्द आउँछ त्यो त खेल्नेहरू नै जानुन् । यो रोगका बिरामीहरू बढ्दै गए भने एकातिर मानवीयता हराउँदै जाने खतरा रहन्छ भने अर्कातिर बलात्कारका हिंस्रक घटना कम हुने सम्भावना पनि उत्तिकै देखिन्छ । यसकै कारणले स्वास्नी पोइल जाने र लोग्ने जोइल आउने सामाजिक विकृति घट्यो भने यसलाई रोग नभनेर उपचार नै भनिदिए पनि कपालोप्याथीको कपाल दुख्दैन ।

नम्बर दुई : मूर्तिफोबिया
थोरै जनालाई गाइनोफोबिया होला, कमैलाई हाइड्रोफोबिया पनि होला तर सबैलाई मूर्तिफोबिया छ भनेर कपालोप्याथीले दाबी गरेको छ । यो पनि बच्चामा कठपुतली खेलाएका कारणले बुझ्ने भएपछि मान्छे र मूर्ति छुट्याउन नसक्ने जटिल समस्याले देखा पर्दछ । उपचारै सम्भव नहुने त हैन तर अधिकांश मानिसहरू मूर्तिफोबियाले ग्रस्त छन् । मन्दिर, मस्जिद, गुम्बा वा चर्च जहाँ गए पनि मूर्तिफोबियाका बिरामीहरू रल्लिएर ढोगीरहेका हुन्छन् मूर्तिहरूलाई । वर मागिरहेका हुन्छन् सुख पाउने । जाबो ढुङ्गो धातु वा सिमेन्टले बनेको मूर्तिले वर दिने भए आज सबै स्वर्गकै वासिन्दा हुन्थे । अरबपति भएर महलमा बास गर्थे । यस्तो अभावमा को नै पिल्सिनु पर्थ्यो र?जति मुसारे पनि, फुल, चन्दन र अक्षता दले पनि मूर्ति मूर्ति नै हो, वरदान दिन सक्दैन । न त सराप नै दिन्छ । तैपनि मान्छेहरू किन मुर्तिसित यतिसाह्रो डराएका हुन् ?  यसको अनुसन्धान गर्न अझै बाँकी छ ।

यो मूर्तिसित डराउने रोग(मूर्तिफोबिया) ले त यो लम्फुदास पनि ग्रसित छ । बाले हजुरआमाका गर्भदेखि नै यो रोग ल्याएका हुनाले यसलाई वंशाणुगत हो भनेर चाहिँ नेपालोप्याथीले ठोकुवा गर्छ । यो रोगले ठुल्ठुला दार्शनिक, नेता, अभिनेता, धर्म गुरु, पाप गुरु कसैलाई पनि छोडेको छैन । उहिले महाराजका पालामा पशुपतिनाथले सबैको कल्याण गरून् भन्ने हुकुम हुन्थ्यो । भुत्रो गरे कल्याण ! कल्याण गर्ने भए अहिले देश यस्तै हुन्थ्यो त ?

अहिलेका उपमहाराजहरूले पनि जलहरी चढाउन छोड्नुभएको छैन । बुद्ध नै अवतार हुन् । आँखामा छारो हालेर बुद्धको अवतार हुँ भन्ने नयाँ बुद्ध बन्नेको वास्तविकता पनि खुइलिसकेको छ । सबभन्दा धेरै त नेपालमा बुद्धका मुर्ति नै छन् खै शान्ति भने मूर्तिले ल्याउनै सकेनन् । तल्लारे माहिलालाई भने आफ्नै पाँच वर्षे छोराले यो रोग चट् पारिदिएछ । कुरो के भने उनले छोरालाई लिएर देवीको मन्दिरमा वरदान माग्न भनी गएछन् । मन्दिर नजिकै पुग्दा द्वारको दायाँबायाँ राखिएका बाघका मूर्ति देखेर छोराको सातो गएछ । ‘बा ! बाघ छ, खान्छ बा ! म त जान्नँ !’ छोराले मन्दिरमा जानै मानेनछ । उनले सम्झाउँदै भनेछन्, ‘बाबु, यी साँच्चैका बाघ होइनन् । मुर्ति मात्र हुन् । केही गर्दैनन् । हिँड देवीसित वर माग ।’ छोराले शङ्का गर्दै भनेछ, ‘बा ! मन्दिरभित्र साँच्चैकी देवी छन् कि देवीको मुर्ति मात्र छ नि ?

उसो भए त्यो मुर्तिले के वर दिन सक्छ त , बाघले नखाने भए… ? ‘अनि त माहिलाको मूर्तिफोबिया चट् । विचराले गुनासो गर्दै थिए , ‘के गर्नु भाइ । गरिबीले गर्दा बच्चामा केटालाई खेलौना किनिदिन सकिएन । कहिल्यै त्यस्ता खेलौना देखेको भए पो छोरो डराउँदैन्थ्यो र ।’ माहिलाको यो कुराले मेरो पनि मूर्तिफोबिया चट् भएको छ । साँच्चिकै मेरो मुर्तिफोबिया समाप्त भएको हो कि होइन भनेर परिक्षण गर्न एक दिन यो लम्फुदास लखर लखर भैरवको मन्दिरमा गयो । भैरवको मुर्ति असाध्यै भयानक हुनाले हेर्ने मानिस तत्कालै त्यहिँ मर्छ भन्ने प्रचार सुनिएको थियो । मन्दिरमा गएर पुजारिसित मूर्ति देखाइदिन भनेको त ज्यान गए मानेन । ‘मरिन्छ बाबु ! हेर्न सक्दैनौ ।’ भनेर देखाउँदै देखाएन बा ! मरे मै मर्छु, तपाईं मर्ने होइन क्यारे भन्दा पनि हुँदैन भनेर अड्डी कस्यो । बढि गर्ने हो भने मन्दिरमा आक्रमण भयो भन्ने आरोप लाग्ने डरले परीक्षणविना नै फर्कन बाध्य भएँ ।

यो घटनाले नेपालोप्याथी अर्को नयाँ निष्कर्ष निकाल्न सफल भएको छ । वास्तविकता के रहेछ भने त्यस्ता विलक्षण मूर्तिहरू अथवा महँगा र मूल्यवान मूर्तिहरूले त उहिले नै डिभि, पिआर लिएर युरोप अमेरिका छिरिसकेका रहेछन् । बाँकी रहेका गद्दार, व्यभिचारी र अपराधी मूर्तिहरू मात्र छाडा छोडिएका रहेछन् । मान्छेले लाज ढाक्न लुगा लगाए जस्तो कपडाले ढाकेर मुर्ति नदेखाउनुको योबाहेक अरु कारण हुनै सक्दैन । जाबा सिमेन्ट, ढुङ्गा, ढलोट, पित्तलका मूर्तिहरूको त के नै महत्त्व छ र ।

नम्बर तिन : पुत्ले
नानीदेखि नै झुम्राको पुतली बनाएर नाना चाचा लगाइदिने गरेका कारण यो रोगको सङ्क्रमण सुरु भए तापनि सबैलाई आक्रमण भने गरिहाल्दैन । पुतलीलाई मान्छे भनेर भुल्ने र पुत्लालाई मान्छेकै ज्यान ठान्नेहरूलाई भने यसले सताइरहन्छ । कसैले केही गरिहाल्यो कि पुत्ला बनाएर जलाइहाल्ने राजनैतिक वेस्यावृत्तिमा लागेकाहरूको यो नितान्त निजी रोग हो । यसले अरु जनसाधारणलाई सङ्क्रमण नगर्ने कुरा पुष्टि भइसकेको छ ।

करिब बिस एक्काइस वर्षअघि यो लम्फुदास पनि प्रतिगमनको पुत्ला जलाउन भन्दै एकोहोरो शङ्ख बजाउन हिँडेको याद छ । आफ्ना माग पूरा नहुँदा र विरोधको चरम प्रदर्शन गर्नु पर्दा यो रोगले राजनैतिक बेस्याहरूलाई अघोरै सताउने गर्छ । तर जतिवटा पुत्ला बनाएर जति पटक जलाए पनि पुत्ला बनाइएको व्यक्तिको भुत्लासम्म नजल्ने वास्तविकता भने लुकाउनु पर्ने कुरो होइन । विगतमा धेरै पटक राजा-महाराजा, प्रधानमन्त्री-धानमन्त्री, न्यायाधीश-न्यायाठीस, राष्ट्रपति-राष्ट्रपत्नी, सभामुख-सभासिङ कसैको पनि पुत्ला जलाउन बाँकी रहेन । तर कसैको भुत्लो हल्लिएन । केवल पुत्ले रोगले सताएका बिरामीहरूको समयको बर्बादी मात्र भयो । मलाई त यो रोगले छुनै सक्दैन भन्नेमा ढुक्क छु ।

नम्बर चार : सालिकाइटिस
कठपुतलीजन्य भाइरसका कारण लाग्ने सबभन्दा खतरनाक रोग सालिकाइटिस हो । यो ब्रोन्काइटिसभन्दा सात गुना, मेनिन्जाइटिसभन्दा दस गुना र हेपाटाइटिसभन्दा बाह्र गुना हानिकारक हुने तथ्य कपालोप्याथीले फेला पारेको छ । यो रोग लागेको मान्छेले रेबिज लागेको कुकुरले पानी देख्न नसके झैँ सालिकलाई देखिसहन्नँ । शालिक देख्नासाथ उसका दिमागका नसा नसामा सिरिङ चल्न थाल्छ । फलस्वरूप सालिक देख्यो कि तोड्न कस्सिइहाल्छ, भत्काउन थालिहाल्छ ।

अरुले तपाईं भनोस् नभनोस् आफै मपाईं भएका सम्भ्रान्त वर्गका व्यक्तिहरूलाई यो रोगले सङ्क्रमण गर्दछ । स्तरीय गुडिया उनीहरूले बालककालमा इच्छाअनुसार खेलाउन पाएका हुन्छन् जसले गर्दा उनीहरू आफ्नो टाउको र शालिकको टाउकोको भिन्नतानै छुट्याउन नसक्ने भैसकेका हुन्छन् । यो रोगले पनि न्युन वर्गका मानिसलाई त्यति सताउँदैन । उच्च पदस्थ व्यक्तिहरूलाई भने यसले निकै हैरान गराउँछ । ठुला नेता, ठुला कर्मचारी, ठुला कवि, लेखक, ठुला व्यापारी उद्योगपति, पत्रकार जोसुकै होउन् आफूभन्दा माथि कोही पुग्छ कि भन्ने त्रासले तर्सिरहेका हुन्छन् ।

खरायोले इनारमा आफ्नै प्रतिबिम्बलाई देखाएर तपाईँको शत्रु भन्दा सिंहले इनारमा हाम फाले जस्तो कसैले उचाले भने आफ्नै शालिकलाई आक्रमण गर्नसमेत पछि पर्दैनन् । यस्तो अवस्था आइहाल्यो भने पनि कुनै अनौठो मान्नु पर्दैन । वास्तवमा ऊ पृथ्वीनारायण शाह होइन । यथार्थमा ऊ महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि होइन । तिनीहरू त केवल सम्बन्धित व्यक्तिका शालिक मात्र हुन् । तर एक्कासी उनीहरूमाथि आक्रमण हुन पुग्छ । पोखरामा यस्तै भयो । तराइमा त्यस्तै भयो । खै त्यो पृथ्वीनारायणको सालिकले सात प्रदेशमा बाँडिएको नेपाललाई फेरि एकीकरण गर्छ भनेर हो कि !

देवकोटाको शालिकले नयाँ मुनामदन लेखेर नोबेल पुरस्कार पाउँछ भनेर हो ! किन हो किन सालिकाइटिसका रोगीहरूले उनीहरूका सालिकमाथि आक्रमण गरे,ध्वस्त पारे । अरु ककसका शालिक कहिले कहिले ढाले, ढलाइए त्यो मिथ्याङ्क खोज्ने काम कपालोप्याथीको होइन । यसले त रोगको पहिचान गर्ने र रोगीको लक्षण बताउने मात्र हो । सकेसम्म उपचारको विधि खोजे राम्रै हो तर त्यो पनि यसको कार्यक्षेत्रभित्र पर्दैन । कपालोप्याथीले यो रोग लागेपछि रोगीलाई सन्चो बनाउन सम्बन्धित बिरामीकै सालिक बनाइदिनुपर्ने निष्कर्ष निकालेको छ ।

लौ त भैरव बाजे ! मेरो यो अनुसन्धानको आंशिक अध्ययन गर । चित्त बुझेन भने अन्य व्यङ्ग्यकारहरूलाई अनुसन्धान गर्न लगाऊ । तर अबदेखि मेरोसपनामा आउने नगर । बरु मान्छौ भने वर्तमान कठपुतली सरकारलाई गुडिया, ट्वे, मूर्ति एवम् शालिकहरूको उत्पादन, आयात-निर्यात र बिक्री वितरणमा तुरुन्त रोक लगाउनुपर्ने आदेश पठाऊ । यदि गरेनौ भने तिम्रै शालिकमाथि आक्रमण हुने प्रबल सम्भावना छ । थाहा त पायौ होला नि कठपुतलीको करामत कस्तो हुँदोरहेछ ।

०००
२०८० पुस २७ गते
फोक्सिङ, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गोरुबेचे साइनो

गोरुबेचे साइनो

काशीनाथ मिश्रित
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन