साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरुबेचे साइनो

अहिले गोरु पाल्न छोडेपछि कसैलाई गोरु बेच्ने कुरै भएन । गोरु नै बेच्न नपाएपछि साइनो जोडिने कुरो पनि भएन । गोरुबेचे साइनो जोडिने त झन् प्रश्नै भएन । साला जेठान र मावली माइतीको लहरोले त के नै भेटाउँछ र ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

साइनो र नातामा सम्धी सम्धीको साइनो छ, मित मितको नाता छ।साइनो भने पनि नाता भने पनि कुरा एउटै भएकाले यिनीहरूका बीच बाबुछोराको साइनो पर्दैन, आमाछोरीको नाता पनि पर्दैन । नत साला-भेनाको सम्बन्ध पर्छ, नत मामा-भान्जाको नै ! तर यो संसारमा साइनो भने माकुराको जालो त भनि नहालौँ कि जोगीका जगल्टा जस्तो जेलिएको हुँदोरहेछ भन्ने लख म जस्तो लम्फुदासले पनि सजिलै काट्न सक्छ ।

नातामा वाद लागेर एउटा सिद्धान्त नै भैसकेकाले यो नाता भन्ने शब्द मलाई पटक्कै मन पर्दैन । वादहरू बर्वाद भैरहेका बेला नातावाद चाहिँ किन बर्वाद हुन नसकेको होला ? आखिर कुन वादले पो के लछारपाटो लायो र ! अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्से झैँ म वाद सुन्दा नै सातो जाने अवस्थामा पुगिसकेको छु । अहिलेसम्म साइनोवाद भनेको मैले सुन्न पाएको छैन । त्यसैले मलाई नाताभन्दा साइनो नै प्यारो लाग्छ, नजिकैको आफन्त जस्तो लाग्छ । साइनोमा पनि वाद जोडिन थाल्यो भने चाहिँ के गर्ने भनेर अहिलेसम्म सोच्न सकेको छैन । पारपाचुके नै गरिदिने त होला !

हाम्रा बाजे बराजुले सोचविचार गरेरै त कुनै नाता नपर्नेसित विवाह गर्ने प्रचलन थाले होलान् । मुस्लिमहरूले एउटै लाम्टो चुसेकासित बाहेक आफन्तमै विहे पनि गर्न पाउँछन् रे । विश्वका अन्य ठाउँ र धर्ममा के के हुन्छ त्यो कुरा यो लम्फुदासलाई सबै थाहा हुने कुरो पनि भएन । जेहोस् वैज्ञानिकहरूले पनि हाडनातामा विवाह गर्दा गतिला सन्तान नहुने कुरा त भनिदिएकै छन् । फरक नस्ल परेन भने बाख्राका पाठापाठी त किचरा हुन्छन, अझ मान्छेको कुरा । साइनो गाँस्ने भनेकै कुनै नातो नलाग्नेसित हो । त्यसैले लोग्नेस्वास्नीबिच पारपाचुके हुन्छ तर आमाछोरी वा बाबुछोराबीच गर्न मिल्दैन । कतै नातामा वाद लाग्ने र साइनोमा नलाग्ने कारण यही त हैन । यही तर्कले त यो लम्फुदासको मगज मडारिरहेछ ।

नाताको सन्धगन्धले नभेटाउनेसित मात्र साइनो गाँस्ने प्रथा त हाम्रै देशमा मात्र होला । विदेशतिर त विहे गर्दै छोड्दै गर्न पाइन्छ रे ! यसरी चाख्दै हिँड्नुको पनि बेग्लै मजा हुँदो हो । टुट्नै परे पनि त्यही साइनो टुट्ने पारपाचुके गरेर । छोराछोरीसितको साइनो नटुट्ने ! त्यसैले होला मानवीयताका नाताले विश्वका सबै मान्छे नाता पर्छन् कुनै न कुनै हिसाबले । वसुधैव कुटुम्बकम् भनेर बाजेहरूले किन भन्थे र नत्र । यस्तो उच्च विचार राख्ने मान्छेहरू पाउन वैदिक कालमै फर्कनुपर्ला । अहिले त आफ्नै गाउँको माथिल्लो जातको हुँ भन्ने पुड्के पण्डितले आफ्नै कोदाला अर्जाप्ने तल्लो जातको भनिने कोर्के कामीलाई मान्छे ठान्दैन । मै हुँ भन्ने खलारे खत्रीले आफ्नै लुगा सिलाइदिने दोमे दमाईलाई मान्छे मान्दैन । भोट चाहिने बेलामा सबैसित साइनो गाँस्दै हिँड्ने साइँद्वाहरूले भोट पाएपछि छोडपत्र गरेको कुरा लम्फुदासलाई त थाहा छ भने अरुलाई नहुने कुरै भएन ।

दन्ते कथाको युगमा पो बायुपङ्खी घोडा चढेर उड्थे मान्छेहरू ! आजकल त वायुयान बनिसकेका छन् । एक दिनमा पृथ्वीको परिक्रमा गर्न सकिन्छ आफ्नै ज्यान लिएर । नत्र मुखेकिताबमार्फत् त तात्तातै भ्रमण हुन्छ विश्वको । पहिले जस्तो संसार ठुलो छैन । साँगुरिएको छ एउटा गाउँ जत्तिकै । हाम्रै नेपाली चेली चमेलीले जापानका लोसितारो भेनाकावासित साइनो गाँस्न सक्छिन् । इटालीकी लिन्डाले इलामका लिम्बुसित लगनगाँठो कस्न सक्छिन् । डोल्पाकी डोल्मा शेर्पाले लन्डनका डेभिडलाई आफ्नो छोराको ड्याडी बनाइदिन पनि त सक्छिन् । विगतमा हाम्रा देशका ठुलै नेताले जर्मनकालाई ज्वाइँ बनाएको त जानिएकै हो । नेपालको संविधानले रोक्दैन होला क्यारे पक्कै । भएन त विश्वबन्धुत्व ?

नाता वा साइनो पर्ने जति सबैसित राम्रै सम्बन्ध हुनुपर्छ भन्ने पो कहाँ छ र ? खुब विश्वबन्धुत्वको कुरा गर्दोरहेछ लम्फुदासले भन्ने जसलाई पनि लाग्न सक्छ । एउटै घरभित्र सौता सौताका बीच लुछालुछ चल्छ अझ बाहिरको कुरा ! सबै साइनोमा सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने नै छैन । जार र जारका बिच कस्तो सम्बन्ध हुन्छ ? झट्केला झट्केलीबीच कस्तो कस्तो माया हुन्छ ? त्यो त लम्फुदासले अनुभव गरेको छैन तर भन्नै अप्ठेरो हुने साइनो पनि हुँदो रहेछ भन्ने चाहिँ जान्दछ । एउटा व्यभिचारी लोग्नेले बुहारीसित अनैतिक सम्बन्ध राखेर बच्चा जन्माइदियो भने त्यस बच्चाले उसलाई बा भन्ने कि हजुरबा? अप्ठेरो पर्दैन ? यो लम्फुदास त्यत्तिकै बर्बराएको हैन , हाम्रै समाजमा हुन सक्ने र भइरहेका कुरा हुन् यस्ता ।

ताइ न तुइका प्रसङ्ग जोडेर किन गनगनाएको होला यो ? भन्ने लाग्ला तपाईंलाई, स्वाभाविक पनि हो । आइनो न साइनोको मान्छेले आजकल कतै केही नपाउने देखेर नै यसरी गनगनाउन परेको हो मलाई । हेर्नुहोस् न अहिले गोरु बेचेको साइनो पनि पर्दैन भने त्यसले जागिर त के बसको टिकट काउन्टरमा पनि पालो पाउँदैन । गोरुबेचे साइनोसम्मले भेट्छ भने फलिफाप । आफू कुनै ठुलाबडाको गोरुबेचे साइनोभित्र नपरेकाले जनता मात्र भएर बसिरहनु परेको छ । गोरुबेचे साइनोले भेटेकाहरूलाई हेर्नुहोस् त को को के के भए ! आफैले देख्नुहुने छ ऐना हेरे झैँ ।

कुनै साइनोले नभेटेको भन्दा गोरु बेचेको साइनोसम्मले भेटे पनि कैयन् गुना नजिक लाग्छ । ठाडागाउँको इजरे मर्दा मलाई कति पिर परेको थियो । उसको र मेरो कुनै साइनो थिएन गोरु बेचेको बाहेक । एक पटक बुढो गोरु उसले हाम्रा बालाई बेचेको थियो वस ! त्यत्ति हो । भिरमा गोरु चराउँथ्यो । प्राय गाउँलेहरूले पाल्न नसकेका गोरु निःशुल्क लैजान्थ्यो । गोठमा गोरु हुँदैनथे । भोलिपल्ट लडेर मरिहाल्थे ठाडे भिरबाट । लडेर मरेको गोरु खान कसैका बाबुले छेक्ने हैन क्यारे । जिउँदो गोरु पो मार्न भएन । भोज गर्थ्यो तिनचार दिन । अस्तिको गोरु अलिक जवान परेछ क्यारे ! धकेल्न लाग्दा गोरुभन्दा अघि आफै गुल्टेछ भिरबाट । तापनि बेलामा गुन लगाएकाले ऊ मर्दा कता कता चित्त दुखेर आयो । गोरु बेचेको नातोले भेटेकैले त हो यस्तो भएको नत्र अरु कति मर्छन् मर्छन् खै पिर पर्दैन ।

तल्लारे माइला भने भाग्यमानी नै हुन् गाँठे ! उनका साडु दाइका भिनाजुका ज्वाइँले कुन्नि कुन चाहिँ मन्त्रीको गाडी चलाउने काम गर्दारहेछन् । उनैलाई भनसुन गरेर आफ्नी घरबार बिग्रेकी छोरीलाई गाउँकै विद्यालयको बाल शिक्षकमा जागिर ख्वाइहाले । तिन तिनवटा छोराछोरीको बाबु भैसकेको ज्वाइँ मोरोले आफ्नै दाइकी सालीलाई भगाइदिएछ । बिचराको जीवन अलपत्र !गर्ने के ? ठुला मान्छेको कतैबाट साइनो नजोडिएकाले अरु निवेदकहरू त चिल्लै भएछन् । गोरुबेचे साइनो पर्ने मान्छे माथिल्लो पदमा भएकाले मात्र जागिरसागिरमा ठाउँ पाउँछ भन्ने योभन्दा अर्को प्रमाण के चाहियो ?

‘दक्षता र क्षमतालाई हेरेर काम हुने भए यतिखेर सबै युवा देशमै हुन्थे । पहुँच र भनसुनका आधारमा चल्छ हरेक काम । नीति नियम र कानुन त हात्तीका देखाउने दाँत हुन् । बनाउनुपर्ने भएर पो बनाएको हो भाइ !’ छोरीले जागिर पाएपछि लम्फुदासलाई यो रहस्य खोलिदिएका हुन् उनले । ‘तिन पको सिद्धान्त लागु हुन्छ जहाँ पनि – पद, पावर र पैसा । मभन्दा पढेलेखेका भएर यति जाबो कुरा पनि किन नबुझे झैँ गर्छौ हँ ?’ मेरो मगजमा मजाले भरिदिए उनले चुरो कुरो ।

आजकल मान्छेहरू पैसामुखी भएकाले पैसा देखे भने आइनोसाइनो केही भन्दैनन् । बरु आफन्तलाई नै फसाइदिन्छन् दलाली गरेर । आफन्तै त हुन् भनेर विश्वास गरिहाल्ने जमाना पो कहाँ छ र ! तर पैसाले गाँसेको साइनो भने क्षणिक हुन्छ भन्ने कुरा पनि लम्फुदासको लफङ्गो दिमागले बिर्सेको छैन । नत्र भोट किन्ने नेता र जनताको साइनो हेर्नुहोस् न । चुनावमा आउँदा साख्खै आमाबुबा र दाजुभाइ जस्तो साइनो लगाएर भाषण छाँट्नेहरूले चुनाव सकिएपछि कुकुरले हाड छोडे झैँ छोडेकै छन् । मायाममताले पाएको भोट भए पो सम्झिरहनु ! पैसा लगाएर पाएको भोटको के माया ? दाइजो धेरै खोज्नेहरूले आफ्नै स्वास्नीलाई त माया गर्दैनन् अझ अरुको कुरा । जेलभित्रैबाट चुनाव जित्ने हाम्रा सांसद महोदयले के प्रचारप्रसार र घरदैलो गर्नुभएको होला र ? अलिअलि पैसा चाख्न पाएका गोरुबेचे साइनो पर्नेहरूले गर्दा त जित्नुभएको होला क्यारे । गोरु बेचेको साइनो नभए पनि नेता र जनताबीच भोट बेचेको साइनो त छँदै छ नि ।

लोग्नेस्वास्नीको साइनोभन्दा मन्त्री र जेलको साइनो नजिक हुन्छ भन्ने ठोकुवा यो लम्फुदासले गरेको छ । तपाईंले कुतर्क गरेर लम्फुदासको भनाइलाई लात हान्नु भए पनि केही छैन । नङ र मासुको सम्बन्ध भन्ने सुक्ति मन्त्री र जेलसित ठ्याक्कै मिल्छ । यो कुरा यदि हैन नै भन्ने हो भने कि राम झैँ चौध वर्ष वनवास बस्नुपर्छ, कि पाण्डवहरूझै बाह्र वर्ष वनवास र गुप्तवास बस्नुपर्छ मन्त्री बन्न । पहिले जेल परेको रहेछ भने त्यो सजिलै मन्त्री बन्छ । यदि जेलै नबसी मन्त्री बनेको रहेछ भने खसोखास ऊ मन्त्री बनेपछि भए पनि जेल जानै पर्छ । भविष्यमा इमानदारी र नैतिकतामा आगो लागेछ भने त्यसो नहोला अहिलेसम्म त त्यस्तै प्रमाण छन् । लौ यी तिन सर्तमध्ये एउटा पनि पूरा नगर्ने कोही मन्त्री बनेको भए लम्फुदाससित लड्न आए हुन्छ । मन्त्री र जेलको साइनो बाबुछोराको जस्तो हो क्या, गोरु बेचेको हैन ।

आफ्ना त कोही छैनन् उच्च पदमा । गोरुबेचे साइनोसम्मले भेट्ने कोही भैदिएको भए मन्त्री नै पड्काउने विचार नगरेको पो कहाँ हो र । पहिले जेल नदेखे पनि मन्त्री खाइसकेपछि जेलको दर्शन गर्ने रहर हो । आफैले निणर्य गरेर बनाएको जेलमा बस्न जानुको पनि बेग्लै मजा हुँदो हो । पाइहाले पनि मालदार मन्त्रालय पाइने त होइन । जाबो बिनाविभागीय मन्त्री खाने अफर आयो भने त के खानु र खै? झण्डा हल्लाउँदै चिल्लो गाडीमा चढेर मात्र के गर्नु, काम फुट्टी गर्नु परेन । काम नगरेपछि भ्रष्टाचार र अनियमितता गर्न पाइने कुरै भएन । यति गर्न नपाए जेलसित साइनो गाँस्न पनि पाइँदैन । मन्त्री हुनुकै के अर्थ रहन्छ र ?

कृषि र पशुपालन गर्ने युगले अब विदा लिइसक्यो । अहिलेको युग त वैदेशिक रोजगारीसित साइनो गाँस्न गइसक्यो । पहिले हुन्थ्यो भने गाई गोरु पालिन्थ्यो, जङ्गलमा लगेर चराइन्थ्यो । अहिले गोरु पाल्न छोडेपछि कसैलाई गोरु बेच्ने कुरै भएन । गोरु नै बेच्न नपाएपछि साइनो जोडिने कुरो पनि भएन । गोरुबेचे साइनो जोडिने त झन् प्रश्नै भएन । साला जेठान र मावली माइतीको लहरोले त के नै भेटाउँछ र ? थुक्क लम्फुदास तेरो जिन्दगी ! आजीवन लम्फुदास नै बनेर बस्ने भइस् । अब आफूले आफैलाई नसरापेर अरुलाई सराप्न पाइएन क्यारे ।

०००
२०८१ वैशाख २९ गते
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x