सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिथ्या पुराण

जब मिथ्या पुराणमा एउटा कुनै नयाँ विषयले प्रवेश पाउँछ, हेर्दा हेर्दै तोरीको गेडो पनि सगरमाथा भन्दा अग्लो देखिन थाल्छ, एक चम्चा पानी महासागरमा परिणत हुन्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

अठार पुराण र शास्त्रहरूको भीडमा पुगेर धुइँधुइँती खोज्नु भयो भने त्यहाँ मिथ्या पुराण नामको पुराण पाइँदैन । अठार पुराण जस्तो मिथ्या पुराण लिखित पुराण पनि होइन । तर पनि मिथ्या पुराणलाई हिजोआज अठार पुराण भन्दा निकै महत्वका साथ हेर्ने गरिएको छ । त्यसैले अधिकांश मान्छेहरू यही मिथ्या पुराणको पछि दौडने गरेका पाइन्छन् । अचेल शास्त्रीय पुराणका प्रचारक त्यति पाइँदैनन् । यता मिथ्या पुराणको प्रचार प्रसार गर्नेहरूको सङ्ख्या भने थामिनसक्न भएको छ । फेसबुक, युट्युब, इन्स्टाग्राम एवं धोती फुस्काइएको टिकटकमा मिथ्या पुराणका हजारौँ पण्डितहरू फेला पर्छन् । नपत्याए फेसबुक खोलेर हेर्नुस् त “यो फोटोलाई बेवास्ता गरे सात दिनभित्र नराम्रो खवर आउने छ” । देख्नु भो नि मिथ्या पुराणको चर्तिकला । यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । यसरी यस्तै बकम्फुसे हल्ला चलाएर मिथ्या पुराणले सबै क्षेत्र आक्रान्त बनाएको छ ।

जसले जति चर्का कुरा गरे पनि वास्तविक पुराण र शास्त्रले कसैको जीवनमा प्रत्यक्ष शासन गरेको आजसम्म थाहा पाइएको छैन । अन्यथा तागाधारीहरूले मदिराको झोल नपिउनु पर्ने थियो । शास्त्रले शासन गरेको भए ब्रतबन्ध गरिसकेकाहरूको काँधमा जनै नामको धागोको डोरो अनिवार्य रुपमा झुण्डिएको हुन्थ्यो । एकाबिहानै गायत्री मन्त्रले धेरै घरहरू गुन्जायमान हुन्थे । घर घरमा शङ्ख घण्टको आवाज सुनिन्थ्यो । स्नान, सन्ध्या, आरती नगरि कसैले पनि भोजन गर्दैन थियो । हामीले लिखित पुराण र धर्म शास्त्रलाई होइन अलिखित मिथ्या पुराणलाई पछ्याउँदै आइरहेका छौं । मिथ्या पुराणले सबैको जीवनलाई प्रभावित गरिरहेको देखिन्छ । मान्छेलाई शासन गरेको छ त मिथ्या पुराणले मात्र गरेको छ । साँच्चै भन्ने हो भने अन्य कर्मकाण्ड र शास्त्रका मान्यताहरूलाई मिथ्या पुराणको भेलले बगाएर निकै पर पुर्‍याइ सकेको छ । अचेल जति बोलबाला र हाँकोडाँको चलेको छ, यही मिथ्या पुराणको मात्र चलेको छ ।

शास्त्रीय विधिविधानलाई हेरेर होइन मिथ्या पुराणको आधारमा मान्छेहरूले कर्मकाण्ड सम्पन्न गर्ने गरेका छन् । अनि उखाने हरूले यसैलाई उखान बनाएका छन् “कर्मकाण्डी पाराको काम” भनेर । शास्त्रीय कर्मकाण्डसँग यो उखानको कुनै पनि सम्बन्ध छैन । यो उखानले त मिथ्या पुराणको कर्मकाण्डसँग मात्र सम्बन्ध राख्दछ ।

“हामीसँग समय छैन पण्डितजी एकदम छोटो तरिकाले विहे गराइ दिनु पर्‍यो ।” जन्ती गएको बेला यस्ता संवादहरू पटक पटक सुनिँदै आइएको छ । शास्त्रले विवाह पद्धति नाम गरेको पुस्तक पुरै पढेर विधिपूर्वक विहे गर्नुपर्छ भन्छ । मिथ्या पुराणका पण्डितहरूले त्यसलाई छोट्याउने सल्लाह दिन्छन् रित पुर्याउने मात्र कुरा गर्छन् । मान्छेहरू मिथ्या पुराणको समर्थन गर्छन् । पाखे पाखण्डीहरू मात्र होइनन्, निकै पढे लेखेका र विद्वान पण्डितहरू पनि शास्त्रको पुस्तक घरमा थन्क्याएर मिथ्या पुराण अन्तर्गतको कर्मकाण्ड गर्दै हिँड्छन् । यजमानले पनि यस्तै खोज्छन् । किनकि सबैले मिथ्या पुराणको पछि जो दौडिनु छ ।

मिथ्या पुराणले हामीलाई शासन नगरेको भए तीर्थयात्रामा निस्केका पण्डित बाजेले कालो बिरालोले बाटो काट्यो भनेर तिर्थयात्रा रद्ध गर्ने थिएनन् । आच्छ्युँ आउनासाथ यात्रा रोक्नु पर्छ भनेर कुन पुराणमा उल्लेख भएको छ र ? यो त त्यही मिथ्या पुराणले उल्लेख गरेको कुरा न हो ! साइतको बेला आच्छ्युँ आए यात्रा रोक्नु भनेर मिथ्या पुराणले सुनाइ दियो, मान्छेले त्यसैलाई विश्वास गरे । त्यसैको शरण परे । त्यसैको पछि दौडिए । यति मात्र होइन मिथ्या पुराणले समाजमा यस्तो छाप छोड्यो कि मान्छेले शास्त्रका पुस्तक पनि हुन्छ भन्ने बिर्सन थाले । कहिले शनिबार घरबाट ननिस्कनु मङ्गलबार घरमा नपस्नु भनिदियो । उबेला माइती गएकी बुहारी नौ दिनमा घर फर्कदा नौ दिनमा घरभित्र पस्नु हुन्न भन्दै भैँसीको गोठमा सुत्न पठाउने यही मिथ्या पुराण हो । समाजमा जब केही द्विविधा देखिन्छ, शास्त्रीय पुराण होइन मिथ्या पुराण टुप्लुक्क उपस्थित हुने गरेको छ । कहिले आइतबार मङ्गलबार तेल नघस्नु भनेर उर्दी जारी गर्छ । कहिले कुन बार खिचडी नघिच्नु भन्छ । यसले एउटा न एउटा आँधी चलाइरहेकै हुन्छ ।

हात चिलायो भने अप्रत्याशित रुपमा पैसा आउँछ भनेर हल्ला चलेपछि लुते काकाले हातको सुके लुतो जचाउँन कहिले पनि अस्पताल गएनन् । बरू चिलाएको हात कैयौँ दिनसम्म कन्याएरै बसे । पैसा त परै जाओस् उनको हातको लुतो सारा ज्यानभरी फैलिएपछि त्यहीँ सुके लुतोले उनको प्राण नै लग्यो । यसरी मिथ्या पुराणको पछि नलागेको भए लुते काका आजसम्म जिउँकातिउँ भएर ठमठमी हिँड्थे होलान् ! हुन त बेलैमा गए आनन्दै भयो । होइन भने उनले पनि हामीले जस्तै देशको लथालिङ्ग र भताभुङ्ग चाला देख्नु पर्ने थियो ।

उहिले हामी चार पाँच कक्षा पढ्ने बेला आठ र बाह्र अङ्क अशुभ हुन्छ भनेर सुनेका हाम्रो एकजना मास्टर साहेबले हाँजीर कापीमा आठ र बाह्र रोल नम्बर कसैलाई पनि दिएनन् । उनी जहिले पनि हाँजिर गर्दा रोल नम्बर सात पछि रोल नम्बर नौलाई बोलाउने गर्दथे । यसरी नै रोल नम्बर एघार पछि तेह्रको पालो आउने गर्थ्यो ।

यहीँ मिथ्या पुराणलाई आधार मानेर ठूलै पदमा नियुक्ती पाउनेहरूले भैँसीको पूजा गर्ने गरेको सर्वविदितै छ । शास्त्रको कुरा कहिले भाइरल हुँदैन र हुनु पनि हुँदैन । मिथ्या पुराणमा कसैले केही नयाँ घोषणा सुनाउनु मात्र पर्छ, त्यो रातारात भाइरल भइहाल्छ । जब मिथ्या पुराणमा एउटा कुनै नयाँ विषयले प्रवेश पाउँछ, हेर्दा हेर्दै तोरीको गेडो पनि सगरमाथा भन्दा अग्लो देखिन थाल्छ, एक चम्चा पानी महासागरमा परिणत हुन्छ ।

यहीँ मिथ्या पुराणका कारण एकैचोटी तीन पनिउँ भात र तीन डाडु दुध कहिले पनि खान पाइएन । बरू रित्तो डाडु पन्यूँ नै किन नहोस् भान्सेले थालमाथि टक्टक्याएर भए पनि चार पनिउँ पुर्याउने चलन थियो । कुनै दिन मिथ्या पुराणले घोषणा गरेको हुँदो हो, तीन पन्यूँ भात खानु हुँदैन ।

लगभग सार्वजनिक बस र निजी गाडीमा कागती खुर्सानी र लसुनको झुप्पो बनाएर झुण्ड्याउने चलन त देखिएकै हो, हुँदाहुँदा अचेल ठूलाबडा घरहरूमा समेत यस्तो झुप्पो मूल ढोकामा झुण्ड्याएर राख्ने प्रचलन ह्वात्तै बढेको छ । सुकेको खुर्सानी पोलेर धुवाँउदै घरमा बर्कत भित्र्याउनेहरूलाई थाहा छ कि छैन आफू मिथ्या पुराणको भक्त बनेको कुरा ! धन्य मिथ्या पुराण, यस्ता चर्तिकला अझैँ कति देखाउनु छ देखाए हुन्छ । अझैँ हेर्न र सुन्न बाँकी जति छन् हेरौँला ।

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
गुरुलाई चिठ्ठी

गुरुलाई चिठ्ठी

चिरञ्जीवी दाहाल
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
शुभकामना भनिदिएँ

शुभकामना भनिदिएँ

चिरञ्जीवी दाहाल
हाँसो र यसका प्रकारहरू

हाँसो र यसका प्रकारहरू

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई