साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवीप्रसाद चापागाईंका कृतिमा व्यङ्ग्यवृत्ति

हास्यव्यङ्ग्यको मूल बाटोमा निस्केर आफ्नो लेखन यात्रा अगाडि बढाएका चापागाईंले शैलीका दृष्टिले अर्याललाई पछ्याएका र गहनताका दृष्टिले लामिछानेलाई पछ्याएका छन् ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

नेपाली हास्यव्यङ्ग्य साहित्यमा दर्विलो जग बसाली ठडिएका देवीप्रसाद चापागाईं उमेरले पाँच दशकमा पिङ खेल्दै छन् । सिन्धुपाल्चोकको थाङ्पालधाप- २ मा जन्मेका चापागाईंले जीवनका अनेक चपेटा पन्छाउँदै बाबू जगपति र आमा धनमायाको अभिभारा सिङ्गो काँधले उचाल्दै राजधानी चहारlरहेका छन् । अरुको पढाइको तारिफ मात्र कति सुन्नु भन्दै उनले नेपाली विषयमा एम.ए. गरेर तारिफ गर्ने मौका आफ्ना सिर्जनामार्फत् अरुलाई दिएका छन् ।

‘बुर्कुसी’, ‘उपरखुट्टी’, ‘बड्कौला’ र ‘कुम्भकर्ण’ जस्ता सिर्जना प्रकाशन गरेर हास्यव्यङ्ग्य साहित्यको ढोका ढकढक्याउन पुगेका चापागाईं रसिक र फरासिलो व्यक्तिको रुपमा परिचय बनाएका व्यक्ति हुन । विक्रम सम्वत २०६६ सालमा प्रकाशित भएको ‘बुर्कुसी’ हास्यव्याङ्ग्य निबन्ध सङ्ग्रहभित्र २५ ओटा हास्यव्याङ्ग्य सिर्जनाहरू पाठकलाई आन्द्रा बटार्ने गरी हँसाउन र मर्ममर्ममा भेद गर्न सक्षम रहन्छन् भन्ने मलाई लाग्छ । नेपाली जनजिभ्रोको टुप्पोमा झुन्डिएका शब्दलाई विम्बात्मकरुपमा प्रयोग गरी निबन्धमा उतार्न खप्पिस चापागाईं हास्यव्यङ्ग्यमा समाजका मौलिक विषयवस्तु उठान गर्ने सिपालु निबन्धकार हुन भन्ने मलाई लाग्छ ।

निबन्धका विषय प्रसङ्गमा उनले न आफूलाई छोडेका छन् न अरुलाई । बुर्कुसी निबन्धमा उनले “आफू अगाडि पुग्न अरुलाई पछाडि पार्नुछ” भनेपनि विज्ञापन नरुचाउने सर्जकको रुपमा परिचय छ उनको । अरुलाई उछिन्नको लागि मान्छेले जे गर्न पनि पछि नपर्ने प्रसङ्ग उनका निबन्धका विषय बनेका छन् । निबन्धमा बुर्कुसी मारेर तर मार्न पल्केकाहरू प्रति कडा व्यङ्ग्य गरिएको छ । मान्छेले छद्मभेष गरि सबैलाई दुःख दिएको विषय उठान भएको छ । विभिन्न फुँदाहरू जोडी युग्म शब्दको प्रयोग तत्सम र तद्भव शब्दको यथोचित प्रयोग हुनाको साथै आगन्तुक शब्द चयनमा पनि चापागाई उदार नै देखिन्छन् । चापागाईंले एकै छिन निबन्धमा मानिसको व्यवहार अनुसारको नामाकरण हुने कुरा उल्लेख गरेका छन् । एकै छिन निबन्धमा लेखक विषयवस्तुबाट कतै हराएका भेटिन्छन् । निबन्धकार अनेक पात्र, अनेक स्थान, अनेक व्यवहारले निबन्धकारलाई निश्चित बिन्दुमा उभिन नदिएको देखिन्छ । नासपातीकुमारी, कुखुरीकुमारी, चुरुम्फे मास्टर, चुके खत्री, सिउरे बोम्जन, डेक्चीकुमारी, जाइफलकृष्ण, जस्ता पात्र र भोगटे डाँडा, चौलानी बिसौनी, हाँडी खोला, ढाँडखोला जस्ता एउटै निबन्धमा प्रयोग भएका पात्र र स्थान यसका प्रमाण हुन् ।

प्रतियोगिता निबन्धमा मान्छेले धन सोझो तरिकाले नकमाएको, आडम्बरी र देखावटी प्रवृत्तिले मात्र मान्छे माथि पुग्न सकेको मान्छे टुप्पोबाट पलाएको विषयलाई निबन्धमा विभिन्न दृष्टान्तबाट प्रष्ट पारिएको छ । पढ्दा सामान्य लागेपनि निबन्ध गहन र ओजपूर्ण रहेको छ । प्रत्येक निबन्धमा फरक फरक शैली प्रयोग गर्न खोजे पनि ढाँचा एउटै पाइन्छ । निबन्धकारले कतै वस्तुपरक र कतै आत्मपरक शैलीको प्रयोग गरि निबन्ध रचना गरेका छन् । चुप निबन्धमा मान्छे कमीकमजोरीप्रति आवाज उठाउँदा कि मुन्टो बटारेर हिँड्ने कि चुप भएर बस्ने गरेको विषय उल्लेख गरिएको छ । सत्य कुरालाई जस्तो स्थितिमा पनि बोल्न छोड्नु हुँदैन । असत्यका बारेमा बोलिएन भने त्यसको पक्षपोषण गरेको आरोप खेप्नु पर्छ । संसारमा चुप लागेर केही पनि नहुने कुरा विभिन्न पात्रको माध्यमले स्पष्ट पार्न खोजिएको छ । चापागाईंले लेखेका निबन्धहरू पढ्दा लाग्छ उनका सिर्जना सामान्य वर्गको पहुँचमा पुग्ने ल्याकत राख्दछन् । निबन्धको आदिभागमा परिचय, मध्य भागमा समाजका विकृति विसङ्गतिप्रति व्यङ्ग्यका साथै अन्तिम भागमा सुझावसहितको निष्कर्ष दिन सक्ने कला चापागाईंमा पाइन्छ ।

‘बुर्कुसी’ निबन्ध सङ्ग्रहमा रहेको शीर्ष निबन्ध बुर्कुसीभित्र सबैलाई बेवास्ता गरि आफ्नो स्वार्थ पूरा गर्न मान्छे अगाडि जाने गरेको कुराप्रति निबन्धकारले व्यङ्ग्य गरेका छन् । सित्तैमा पाएका वस्तु लुड्याउन अनेक तिकडम गरि बुर्कुसी मार्दै अगाडि बढ्ने आजको मानव प्रवृत्तिप्रति विरोधको आवाज उठाइएको छ । सिरानघरे कालेदेखि माझाघरे भालेसम्मले निर्धालाई घचेटी भरपेट हसुर्न बुर्कुसी मार्ने ध्याउन्नमा लागेर दुःख दिएको विषय मिहिन ढङ्गले उठाइएको छ । बुर्कुसी निबन्धमा संवादात्मक शैलीको प्रयोग भएको छ । कहिल्यै धन्दा गरेको छस् ? छ, हजुर भात पकाउने, लुगा धुने, गाईवस्तुलाई घाँस पराल दिने आदि । पाहुनालाई आइदे भैगो, भुरालाई रोइदे भैगो जस्ता उखानको प्रयोग गरिनुका साथै हरेक निबन्धमा छोटा छरिता वाक्य गठनको प्रयोग गरिएको छ । चापागाईंका निबन्ध व्यङ्ग्य खुराकले खाँदिएका छन् । नेताहरूदेखि प्रशासक र मालिकदेखि सालिकसम्मले विषयवस्तुमा उजागर हुने मौका पाएका छन् । यस संस्करणभित्र उखान टुक्काको प्रचुर प्रयोग पाउनुका साथै सन्दर्भ अनुसारका पात्रहरू सिर्जना गरि समाजमा नाम चलेका व्यक्तिहरू पर्दा पछाडि केकस्ता हर्कत गरेर बसेका हुन्छन् भनेर देखाउन खोजिएको छ ।

कुम्भकणर्को डायरी’ चापागाईंको अर्को निबन्धसङ्ग्रह हो । यस निबन्ध सङ्ग्रहमा १९ ओटा निबन्धहरू रहेका छन् । धर्म पत्रिका यस निबन्ध सङ्ग्रहको पहिलो निबन्ध हो । सत्य युगमा सामान्य एवम् भुईं वर्गले पनि अन्यायमा बस्नु नपरेको तर आजको युगमा उजुरीका चाङ्ले अदालत भरिभराउ हुँदा पनि न्याय निसाफ कसैले प्राप्त गर्न नसकेको कुरा उल्लेख गरिएको छ । यस निबन्धभित्र भालेपार्क, तिलचामले बङ्गला, उल्टी खल्ती, सुल्टी खल्ती, मुखारविन्द, टिपनटापन, घिन्ताङ, उछितो काढ्नु, दुई प्वाले हाइट, पानीआन्द्रे पामर जस्ता शब्द खटनले निबन्धमा हास्यव्यङ्ग्य खुराकको काम गरेको छ ।

शरीरका रौँ जस्तो सामान्य लाग्ने विषयलाई विषयवस्तु बनाएर गम्भीर विषय उठान गरिएको छ । कुम्भकणर्को डायरी निबन्धको मध्य भागसम्म हास्य व्यङ्ग्यको प्रचुरता देखिन्छ भने उतरार्धतर्फ लेखन फितलो देखिन्छ । यस निबन्धमा कार्तिक २३, २०४७ को डायरी, पौष २०,२०४८ डायरी, १७ वैशाख २०४९ को डायरीमा घटनाक्रम सलल बगेको देखिन्छ । समालोचना कि आलुचना निबन्धमा वरिष्ठ साहित्यकारको सम्झनामा हुने कार्यक्रममा कस्ता विषयवस्तु छान्नु पर्ने हो त्यस विषयमा ज्ञान नहुँदा कार्यक्रम खल्लो बन्न जाने र सोचेजस्तो कार्यक्रम नहुने विषय मार्फत आयोजकलाई ध्यानाकर्षण गरिएको छ । यस निबन्धभित्र सीता सम्वत् ८ लाख ९ सय ३१साल, मस्याङदेवी, गहतकृष्ण, मिल्काकेश एकावृत्ति, खोकीखर्क, भूर्लोकनूतन बेलकाँडी जस्ता शब्द चयनले निबन्धकार हास्यव्यङ्ग्य निबन्ध आकाशमा वेग मार्न सफल भए भन्ने आधार हुन । चिह्नको आविष्कार (अन्डरलाइन) निबन्धमा बैयाकरणकारहरूप्रति व्यङ्ग्य गरेर लेखिएको निबन्ध हो यो ।

यस निबन्धभित्र भाषाको विकासक्रमसँगै चिह्नहरूको आविष्कार गरे पनि अन्डरलाइनको महत्त्वमाथि वास्ता नगरिँदा लथालिङ्ग अवस्था सिर्जना भएको कुरा उल्लेख गरिएको छ। अन्डर लाइनले हेगमा मुद्दा हालेर आफ्नो अस्तित्व बचाएको प्रसङ्ग उल्लेख गरिएको छ । जस्तै : -अदालतको अन्तिम फैसलाबिना पूर्ण दोषयुक्त शब्दको प्रयोगमा रोक लगाइ अन्डरलाइन प्रयोग गरिनुपर्ने विषयलाई उजागर गरिएको छ । कुम्भकणर्को डायरीभित्र रहेको अर्को निबन्ध हो नामको चमत्कार । नामले सबैतिर वर्चस्व ओगटेको छ । साथै नामले मानव सभ्यता अधमरो बनाएको पनि छ । नामका कारण मान्छे मात्र होइन सबै प्राणीहरूको एक से एक छन् । नाम र कर्मबीच सामीप्य वा साइनो रहनु पर्छ भनेर तथ्य अगाडि सारिएको छ । जस्तै : -ख्वालख्वाल गर्दै खोलेर बग्ने खोलो भनियो, पतपत गर्दै खस्ने हुँदा पात भनियो भनेर तार्किक विचार निबन्धमा प्रस्तुत भएको छ ।

प्रचुर मात्रामा विषयवस्तु पस्कन सक्ने ल्याकत राख्ने चापागाईं अध्ययन र अनुसन्धानबाट नै तथ्य पत्ता लग्ने विचार अगाडि सार्छन। नामको टुपी र पुच्छर काटेर केशवलाई केशु, नरेन्द्रलाई नरु भन्दै जाँदा शुशीलालाई सुसु भनी आत्मियता प्रकट होला कि नहोला भन्ने प्रश्न निबन्धकारले पाठकलाई जिम्मा लगाइदिएका छन् ।

‘उपरखुट्टी’ निबन्ध सङ्ग्रहभित्र १८ ओटा निबन्ध समावेश गरिएको छ । आफ्नो लेखनकलालाई परिष्कार गर्दै चापागाईं अगाडि बढेका छन् भन्ने कुरा यो निबन्ध पढेपछि बुझ्न सकिन्छ । यो निबन्ध सङ्ग्रहभित्रको पहिलो निबन्ध हो खित्का । हाँसोका विभिन्न प्रकार मध्ये खित्का पनि एक हो । अरुलाई मार्का पर्दा हाँस्ने मानवीय चरित्रको वर्णन यस निबन्धमा गरिएको छ । खित्का छाड्नेहरूका विभिन्न प्रकारका खित्का हुन्छन् । भलादमी खित्का, नकचरो खित्का, लबस्तरो, पिलन्धरे, जोइटिङ्ग्रे खित्काले मान्छेको रुप रङ्ग र ढङ्ग सबै बिगार्दा समाज सभ्य हुन नसक्ने विषय उठान गरिएको छ । राज्यका बेथिति, विसङ्गति, विकृति र नसुहाउँदा व्यवहारलाई खित्काको विषय बनाउँदा सत्तामा बस्नेहरूको कानमा बतास चलेर समस्या समाधान हुने लेखकीय विश्वास रहेको छ । आफ्नो पेशाप्रति जवाफदेही नहुने प्रति लेखकले दरिलो झापड हानेका छन् ।

संवादात्मक शैलीमा लेखिएको फेसबुक पेज निबन्ध समसामयिक विषयवस्तुमा केन्द्रीत छ । नेपाली साहित्यका दिवङ्गत स्रष्टाहरूलाई आधुनिक प्रविधिको प्रयोग गरि संवाद गर्ने शैलीले निबन्धकारको गहन चिन्तलाई उजागर गरेको छ । नेपालमा हुने गरेको भ्रष्टाचारले स्वर्गलोक समेत प्रदुषित भएको विषय उठान गरिएको यस निबन्धमा वाग्मतीलाई ढलमती, पशुपतिमा दैत्यको जगजगी, गोसाइँकुण्डलाई खोलको थुप्रोको रुपमा चित्रण गरिएको छ । यस निबन्धभित्र खुर्सानी मार्ग, ज्वाने चौर, उपियाँघारी, हाछ्यु घण्टी, बेलीविस्तार टार, दुनाटपरी मार्ग, बाउन्न कैँची बहत्तर पर्खाल, नापियोस् डाँडा, लिखे पाखा, घोप्टे भञ्ज्याङ जस्ता स्थानविशेष शब्दहरूले पाठकलाई धित मरुन्जेल हाँस्न बाध्य बनाएका छन् । उपरखुट्टी यस सङ्ग्रहको शीर्ष निबन्ध हो । यस निबन्धमा मानिसलाई उसको बानीले पराजित र असफल बनाएको विषयलाई विभिन्न दृष्टान्तबाट प्रस्तुत गरिएको छ । जुनसुकै स्थानमा उपरखुट्टी लगाउने बानीले हित नगर्ने सन्देश निबन्धबाट दिन खोजिएको छ । झमझम, छ्याङ्ग, खुरुखुरु, ग्वामग्वामी, सुँक्कसुक्क डङरङ्ग जस्ता अनुकरणात्मक शब्दको प्रयोगले निबन्धमा मिठास भर्ने काम गरेका छन् ।

निबन्धसङ्ग्रहभित्र रहेको अर्को निबन्ध हो ताली । यस निबन्धमा भर्खर जन्मेको शिशुदेखि मर्न आँटेको वृद्धसम्म तालीको भोको रहने कुरा व्यङ्ग्यात्मक ढंगले बताइएको छ । महाभारत कालदेखि तालीको सुरुवात भएको विभिन्न प्रसङ्गहरू निबन्धमा समावेश छन् । निबन्धभित्र “हाम्री हजुरआमा क्या जाती नाइटोभन्दा पटुकीमाथि” गीति लयको समेत प्रयोगले निबन्ध पाठकको ध्यान केन्द्रीत गर्न सफल बनेको छ । तालीलाई स्वार्थ पूरा गर्ने माध्यमको रुपमा लिएका छन् निबन्धकारले । ससुरालीमा होस वा नेता सामु ताली नै सर्वप्रिय माध्यम भन्न रुचाउँछन् निबन्धकार । पलेँटी निबन्धमा मान्छेको बसाइको तौरतरिकाप्रति व्यङ्ग्य प्रस्तुत छ । यस निबन्धभित्र खैनी खानेहरू थुकबहादुर, थुकहरि, थुकबल्लभ, थुककृष्ण खैनी वर्गमा वर्गीकरण गरिएको छ । धुवाँनाथ, धुवाँकान्त, धुवाँशरण, धुवाँलाल चुरोट पिउने वर्गमा र पानलोचना, पानकुमार, पानदिल, पानभक्त पान सुपारी वर्गमा वर्गीकरण गरिएको छ । यस निबन्धमा जन्तीनाय घोडासैनी, टुपीराम, खोर्सानी कान्त चुरुम्फेशरण जस्ता शब्द प्रयोगले निबन्धमा हास्य रस थपेको छ । पलेँटीसँगै एकाग्रता जोड्ने हो भने मान्छेको उन्नति अवश्य हुने तर्क निबन्धकारको रहेको छ ।

देवीप्रसाद चापागाईंका निबन्धहरू पल्टाउँदा लाग्छ उनी हास्यव्यङ्ग्य लेखमा ज्याद्रो रुपमा उपस्थित भएका छन् । उनका हास्यब्याङ्ग्य निबन्ध हाँडीमा भुटेका मकै जस्तै छन् । ती ठेड्ना बसेपनि चुरुमचुरुम नै लाग्छ । उनका तीन ओटै निबन्ध लघु आकारमा रचना गरिएका छन् । छोटो वाक्य संरचना, उखान टुक्काको यथोचित प्रयोगले प्रत्येक निबन्ध सन्देशमूलक छन् । कहीँ कतै भाषिक विचलनता देखिएपनि निबन्धको मर्म मरेको पाइँदैन । स्थान विशेष पात्रहरू सिर्जनाले सामाजिक विकृति र विसङ्गति प्रति कडा व्यङ्ग्य गरिनुका साथै अतिशयोक्ति प्रयोग पनि उनको अर्को विशेषता हो । कुनै पनि विषयमा चाहिने भन्दा बढी विषयवस्तु प्रयोग गरिदिनु र कुनैमा विषयवस्तुको खुराक कम देखिनु उनको कमजोरीको पाटो देखिन्छ । उपरखुट्टी निबन्धभित्रको दोस्रो अनुच्छेद विषय प्रसङ्गभन्दा बाहिर देखिन्छ । हास्यव्यङ्ग्य गोष्ठी शीर्षक निबन्धको पहिलो वाक्यमा भएको नन्दन अरण्यको पूर्वोत्तर पदावलीको सट्टा अन्य पदावलीको प्रयोग गर्न पाएको भए उपयुक्त हुने थियो जस्तो लाग्छ । चापागाईंका निबन्ध प्रतिकात्मक, साङ्केतिक र सूत्रात्मक रहेका छन् । आफू स्वैरकल्पनामा रमाउन चाहाने चापागाईंले निबन्धभित्र धार्मिक कथाका पात्रहरूको उपस्थित गराएर पाठकमा कौतुहलताको सिर्जना गरेका छन् ।

निबन्ध विधा छोडेर कविता विधातर्फ लाग्ने हो भने चापागाईंका सिर्जना सशक्त रहेका देखिन्छन् । चापागाईंले अहिलेको विषम राजनीतिक, आर्थिक, सामाजिक, वैदेशिक लगायतका विषयवस्तुलाई भाषिक चातुर्यताका माध्यमबाट थला पार्ने गरी व्यङ्ग्य गरेका छन् । उनका कवितामा नेपालीहरू परनिर्भर हुँदै जाँदा पर्ने प्रभाव र आत्मनिर्भर हुँदा पर्ने प्रभावको तस्विर उतारेको पाइन्छ । कवितामा साला भेनामार्फत् नेपाली समाजका विकृति र विसंगतिलाई प्रश्नोत्तर शैलीमा प्रस्तुत गरिएको छ । यस्तो शैली जो कसैले प्रयोग गर्ने चेष्टा गर्दैनन् । कविका कवितामा उपमा, दृष्टान्त, अनुप्रास, रस र लयात्मकता पाउन सकिन्छ । कविता पढ्दै जाँदा अहिलेको कोरा ज्ञानबाट कसैले केही पाउन नसकेको जे जसरी भएपनि स्वार्थ पूरा गर्न अगाडि बढ्नु परेको विषय कवितामा उठान गरिएको छ । नेता हुन पराइको गुलामी गर्नु परेपछि जीवनभर पराइको काम गर्ने नेतृत्वलाई कविले तिखो व्यङ्ग्य गरेका छन् । समाजमा मुला प्रवृत्तिका मान्छेहरू रहेको तिनीहरूको स्वार्थ, चाप्लुसी, अरौटे, भरौटे, सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरू मुला भएको व्यङ्ग्य कवितामा पाइन्छ ।

अहिलेका शासकले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि जनताबाट उठेको आवाज नेता परिवर्तन भुसको आगो झैँ फैलिएको प्रसङ्ग कवितामा उठान गरिएको छ । घर सम्हाल्ने अनुभवी व्यक्तिले आँखा चिम्लेमा सबै लथालिङ्ग हुने विषय उठाइएको छ । निमुखा, सोझा सिधा वर्गलाई प्राकृतिक प्रकोपले पनि दुःख दिने गरेको, निराशा कुण्ठामा बाँच्नु परेको, रोगले कसैलाई पनि आफ्नो र पराई नठान्ने भएकोले यसबाट बच्नु नै उत्तम रहेको सन्देश कविताले दिएको छ । देशद्रोही, मातृघाती, पितृघाती, व्यभिचारी, भ्रष्टचारी दुष्ट आत्माहरूको कारण देशको अवस्था बिग्रिए पनि देशको जय नै होस् भन्ने शुभेच्छा कविको रहेको पाइन्छ । कविता सङ्ग्रहभित्र रहेका कविताहरू मध्ये आकाश, समय हाल र बेहाल, बदला अनि जून अनि घामसँग, अन्त्यमा, स्वाँठको पनि चित्त बुझ्ला र ? कविताहरूलाई परिमार्जन गरेर प्रकाशन गरेको भए अझ राम्रो हुने थियो जस्तो लाग्छ ।

समग्रमा भन्दा हास्यव्यङ्ग्यको मूल बाटोमा निस्केर आफ्नो लेखन यात्रा अगाडि बढाएका चापागाईंले शैलीका दृष्टिले अर्याललाई पछ्याएका र गहनताका दृष्टिले लामिछानेलाई पछ्याएका छन् । उनको लेखन शैली सबल र दूरदर्शीता पूर्ण रहेको छ । पानीले आफ्नो स्थान आफैँ निर्माण गर्छ भने झैँ चापागाईं हास्यव्यङ्ग्य निबन्धमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनेछन् ।

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x