साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमराजको फोटो शेसन

यस्तैमा ढोका घर्‍याक उघारेर श्रीमती भित्र पसिन् । श्रीमती भित्र पस्न लागेकी देखेर यमदूतहरू अलप भए । ढोका घर्‍याक्क उघ्रेको अवाजले गर्दा म पनि झसङ्ग भएँ ब्युँझदा थाहा पाएँ, यो त मेरो सपना मात्र पो रहेछ ।

Nepal Telecom ad

विश्व शाक्य :

गर्मी बढिसकेको छ । खाना खाइवरी दुकानमा पालो दिन बसेँ । टन्न खाइएको भएर हो कि क्या हो निन्द्राले झुल्न थालेँ । दुकानमा खासै काम पनि थिएन । केटाहरू खाना खाइवरी आएपछि एकछिन पल्टनु पर्‍यो भनेर कोठामा उक्लेँ । ओछयानमा पल्टेको मात्र थिएँ, निन्द्राले झकाइहालेछु । निन्द्रामा झकाएको मात्र के थिएँ, दुईजना भुसतिघ्रेहरू ढोकाबाट लुसुक्क छिरेर मेरो छेउ उभिन आइपुगे । यसो हेर्दा नगरपालिकाले चौकीमा पालेका लठैतहरू जस्ता विना सूचना कोठामा सरासर पसेकोमा मनमनै झोँक पनि चलिरहेको थियो ।

दिउँसोको समय पारेर म एक्लै भएको बेला पर्‍यो र त ठीक्कै भयो लौ, बेलुकी बुढिया भएको बेला परेको भए ? झनक्क रिस उठ्दा त बजियाहरूलाई बजाइदिउँ कि जसे लागेको थियो । कसो ? झनक्क रिस उठ्दा त बजियाहरूलाई बजाइदिउँ कि जस्तो लागेको थियो । कसो नजर तिघ्रामा परेर पो । त्यसै भएर जोरी खोज्ने आँट गर्न सकिन । लुसुक्क परेर कोठाभित्र आउनाको कारण खुसुक्क सोधेँ-

—होइन, अर्काको कोठाभित्र पस्न यसो आवाज पनि दिनुपर्दैन कि क्या हो ?
तिम्रो शहर बजारको चर्को आवाजमा हामीले दिएको आवाज तिमीहरूले सुन्ने भए पो ।

—हाम्रो शहर बजारमा जस्तोसुकै अवाज भए पनि ढोकामा आवाज त दिनसक्थ्यौ नि !
हामी ढोकामा आवाज दिएर आउने खालका होइनौँ ।

—त्यसो भए तिमीहरू चोर हौ ?
होइनौँ ।

—चोर पनि होइनौँ रे । माओवादी पनि होइनौँ रे । अनि को हौ त तिमीहरू ?
हामी यमदूत हौँ ।

“यमदूत !” म एक्कासि झस्केँ र हिम्मत गरेर फेरि सोधेँ- कस्तो खाले यमदूत ? गाईजात्रामा निकाल्ने ख्यालख्याले यमदूत कि ? नेपालका सडकहरूमा चल्ने गाडीहरू जस्ता यमदूत ?

गाडीहरू पनि यमदूत हुन्छन् र ? उनीहरूले आश्चर्य प्रकट गर्दै सोधे ?
—‘यस्ता त यमदूत !’ मैले जिस्क्याउँदै भनेँ- “आफू भने यमदूत भन्छ, नेपालका सडकहरूमा गुड्ने गाडीहरू पनि यमदूत हुन् भन्ने थाहा पत्तै रहेनछ ।”

हामीलाई कसरी थाहा हुनु त ? हामी बस्छौँ यमलोक, गाडी चल्छन् यहाँ । यमलोकमा तिम्रो नेपालमा चल्ने यस्ता धुवाँदार गाडीहरू हुन्नन् क्यारे ।

—अनि कस्ता गाडी हुन्छन. त त्यहाँ ?
मनका गाडी, मनले चितायो बस्, पुग्यो त्यहाँ । तर तिम्रो देशको सडकमा गुड्ने गाडी पनि यमदूत भएको त हामीलाई अहिलेसम्म थाहै थिएन । गाडीहरू कसरी यमदूत हुन्छन् भन्नुस् त ?

—होइन तिमीहरू साँच्चिकै नक्कली यमदूत रहेछौं कि क्या हो ? तिम्रो चित्रगुप्तसँग सोधे पनि त थाहा लागिहाल्थ्यो नि वर्षेनि तिम्रो यमलोकमा हाम्रा देशका गाडीवालहरूले कि त जनता जनार्दनलाई सजिलै पुर्‍याइरहेका छन्, त्यसको कुनै हिसाव किताव छैन ? त्यही हिसाव हेरेर थाहा पाउनु पर्दैन ? ऊ केही हप्ता अगाडि मात्र बिहान सबेरै दूध किन्न गएकी हाम्री दिदीलाई बाटोबाट पनि माथि उक्लेर ती यमदूतले ढ्याम्म हिर्काइदिए । हिर्काएर मात्र नपुगेर तिनीमाथि नै गाडी चढाएर ठहरै पारिदिए ।

अनि के तिम्रो देशमा कानुन छैन ? हाम्रा यमराज जस्ता कुशल शासक छैनन् ।
कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ कहीँ नभएको कानुन हाम्रो देशमा छ । सडकमा कुद्ने ती यमदूतहरूले बटुवाहरूलाई ठक्कर दिएपछि अङ्गभङ्ग भएमा ठूलो हर्जाना तिर्नुपर्ला भनेर मान्छेको इहलिला नै समप्त पारिदिँदा रहेछन् । यसो गर्दा जरिवाना रकम मात्र तिरे पुग्छ क्यार, त्यही भएर त यमदूत भनेको ।

अर्को कुरा, जहाँसम्म कुशल सरकारको कुरा छ, सरकार त तीन-तीन महिनामा फेरिन्छन् । सांसदहरूलाई मन्त्री हुने दाउ हुन्छ । मन्त्री बनिसकेपछि तिनैको चर्को भाउ हुन्छ । बोक्सी पनि तिनै हुन्छन्, झाँक्री पनि तिनै हुन्छन् । टनका टन र मनका मन सुन भन्सारबाट तिनै छल्छन् । भ्रष्टाचार अयोग पनि तिनै गठन गर्छन् । यस्तो देशमा कानुनले के गर्न सक्छ ?
अनि के तिम्रो देशमा पुलिस छैन । ती जथाभावी गाडी कुदाउनेलाई पुलिसले कारवाही गर्दैन ?

गर्छ नि किन गर्दैन । पुलिस थाना, चौकी आदि बनाउन ज्यामी, बालुवा, सिमेन्ट, ढुङ्गा आदिलाई भनेर हज्जारौँ पैसा लिन्छ नि । (मेरो भनाइ रोकिएको पनि थिएन, ती यमदूतहरूले एकै स्वरमा भने ।)

हामी तपाईंलाई यमलोकबाट लिन आएका, तपाईंको कुरै कुरामा अल्झिएछौँ । तपाईंलाई धर्मराज यमले तुरुन्त लिएर लिएर आउन भन्नुभएको छ । यमलोकबाट लिन आएको भनेपछि मेरो सातो गयो । मैले कुरा बनाउँदै भनेँ-

होइन यसमराजजी पनि मलाई मत्र घरीघरी किन बोलाइरहनु हुन्छ हँ ? गएको शहीद दिवसको बेला पनि त्यहाँ गएर आएको ।
त्यो बेला तपाईंले यमराजजीसँग भेट नै गर्नुभएन छ नि । त्यसै भएर फेरि बोलाउन पठाउनुभएको ।

यमराजजीलाई पनि थाहा नै रहेनछ । उहाँले बडेमाको फोटो खिच्ने भन्नुभाथ्यो । ऊ बेला अर्कैको सरकार थियो अहिले सरकार परिवर्तन भएर अर्कैको सरकार आइसक्यो । के फोटो खिच्नुहुन्छ त नि उहाँ ? अहिले गएर फोटो खिच्यो, फोटो बनाउन भ्याउँदा नभ्याउँदै फेरि सरकार परिवर्तन भइहाल्छ, अनि त्यो फोटो के काम ? कहाँ लगेर राख्ने ?

सरकार परिवर्तनसँग फोटोको के सम्बन्ध ?
लौ हेर, यी यमदूत पनि साँच्चिकै अनाडी रहेछन् । हाम्रो यहाँ त सरकार परिवर्तनसँग हर चिजको सम्बन्ध छ । सरकार परिवर्तन हुनासाथ यहाँ मन्त्री परिवर्तन हुन्छन्, सचिव परिवर्तन हुन्छन्, जी.एम. परिवर्तन हुन्छन्, हाकिम परिवर्तन हुन्छन्, सबैथोक परिवर्तन हुन्छन् । यहाँ भाषा परिवर्तन हुन्छ, संस्कृति परिवर्तन् हुन्छन्, यस्तो ठाउँमा ऊ बेला खिचेको यमराजको फोटो यो बेला के काम ? फेरि हाम्रो देशमा यमराजहरूको कमी नै कहाँ छ ? मन्त्री हेरे, मन्त्री यमराज । सांसद हेरे सांसद यमराज । कर्मचारी हेरे कर्मचारी यमराज । व्यापारी हेरे व्यापारी यमराज । क-कसको फोटो कहाँ कहाँ टाँस्ने ? क-कसको फोटो कहाँ कहाँ झुण्ड्याउने ?

यस्तैमा ढोका घर्‍याक उघारेर श्रीमती भित्र पसिन् । श्रीमती भित्र पस्न लागेकी देखेर यमदूतहरू अलप भए । ढोका घर्‍याक्क उघ्रेको अवाजले गर्दा म पनि झसङ्ग भएँ ब्युँझदा थाहा पाएँ, यो त मेरो सपना मात्र पो रहेछ ।

०००

श्री महापशुपुराण’ (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x