साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोकलगाँडेको अन्तर्वार्ता

अन्यथा यहाँ मर्न पनि सकिन्न, बाँच्न पनि सकिन्न । तपाईं नै हेर्नुहोस् त- यहाँ नाम र दामका लागि कति मान्छेहरू मरीमरी बाँचिरहेका छन्, कति मान्छे बाँचीबाँची मरिरहेका छन् ।

Nepal Telecom ad

विश्व शाक्य :

श्री कोकलगाँडेज्यू यस भेकका एक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ । उहाँ एक स्थापित साहित्यकार हुनुहुन्छ । उहाँ सर्वगुण-सम्पन्न हुनुहुन्छ । आफ्नो लागि उहाँ विशुद्ध स्वयम्भू नै हुनुहुन्छ । उहाँका किताबहरू एकमा अनेक प्रकाशित छन् । सबै किताब बटुल्दा ठिक्कको एउटा किताब तयार हुन्छ । त्यसै भएर उहाँका प्रकाशित कृति एकमा अनेक छन् । उनै विशिष्ट व्यक्तिसँग लिइएको अन्तर्वार्ता ।

प्रश्न : तपाईं यस भेकका स्थापित लेखक, कवि, कलाकार, नाटकार तथा निर्देशक हुनुहुन्छ । यसै भेकका अरू साहित्यिकहरूको दाँजोमा तपाईंको ख्याति नगण्य देखिन्छ, यसो हुनाको कारण ?
उत्तर : प्रायशः जङ् चलेपछि लेख्ने मेरो आदत छ । लेखिएपछि मेरो जङ्चलाइ आफ्सेआफ ठण्डा हुन्छ । म शान्त हुन्छ । यसको ठीक विपरीत, अरू साहित्यकारहरू लेखेपछि जङ चलाउने गर्छन् । उनीहरू नाम, दाम र प्रतिष्ठाका लागि अशान्त रहन्छन् । त्यही भएर उनीहरू खलबलाई रहेका हुन्छन् । सलबलाई रहेका हुन्छन् ।

प्रश्न : मोफसलका थुप्रै प्रतिभाहरू राजधानी पसेर नाम, दाम र प्रतिष्ठा कमाएर राष्ट्रियस्तर ओगटिरहेका छन् । तपाईं यत्ति धेरै सीपका धनी भएर पनि राजधानी किन पस्नुहुन्न ?
उत्तर : राजधानीले प्रतिभाहरूलाई नाम र दाम दिएको सत्य हो । तर स्तरीयता दिएको कुरो म मान्दिनँ । राष्ट्रिय स्तर प्राप्त गर्न राष्ट्रलाई छातिभित्र समेटेको हुनुपर्छ । राजधानी पसेका र बसेका प्रतिभाहरूमा त्यो इमान्दारिता भेटिन्न । राजधानीको दुर्गन्धले त्यो मानसिकता पनि दुर्गन्धित भैसकेको छ । त्यसैले राजधानी पस्न र बस्न मलाई रहर लाग्दैन ।

प्रश्न : तपाईं पत्र-पत्रिका किनेर पढ्नुहुन्छ ?
उत्तर : पढ्छु ।
प्रश्न : कस्ता पत्र-पत्रिका तपाईं किनेर पढ्नुहुन्छ ?
उत्तर : जुन पत्र-पत्रिकामा मेरा रचनाहरू प्रकाशित भएका हुन्छन् । मेरा आफ्ना रचनाहरू २/३ फेरसम्म दोहोर्‍याई तेहेर्‍याई पढ्ने गर्छु ।
प्रश्न : तपाईं सारै व्यस्त मान्छे, कुनबेला तपाईं लेख्नुहुन्छ ? कुनबेला तपाईं सोच्नुहुन्छ ?
उत्तर : मनमा जब कुरा खेल्छ, सोच्न थाल्छु । त्यस सोचाइलाई सिलसिलाबद्ध गर्ने काम प्रायशः शौचालय बस्दा गर्ने गर्छु । त्यो क्षण, आफ्नो लागि अति वैयक्तिक भएको अनुभव म गर्छु ।

प्रश्न : वर्तमान नेपाली साहित्यको स्थिति कस्तो छ जस्तो लाग्छ ?
उत्तर : पागलबस्तीका नागरिकहरूले ब्रम्हाण्डबारे चिन्तन गरिहेको जस्तो लाग्छ ।
प्रश्न : साहित्य कस्तो हुनुपर्छ भन्ने धारणा तपाईंको रहेको छ ?
उत्तर : साहित्य सरल र स्पष्ट भाषामा सबै छर्लङ्ग बुझ्न सकिने शैलीमा लेखिनु हुँदैन । सबैले बुझ्नेगरी सरल भाषामा साहित्य लेखियो भने पाठकहरूले लेखकले के भन्न खोजेको हो सहजै बुझ्न नसक्ने हुन्छ । यसो हुँदा सचेत पाठकहरूले लेखकहरूको स्तर निर्धारण गर्ने हुन्छन् । यस्ता कृतिहरूबारे पत्र-पत्रिका र समालोचकहरूले जत्तिसुकै फूलझडी लगाए पनि पाठकहरू विश्वास गर्ने पक्षमा हुँदैनन् । यस्तो स्थिति स्वयम् साहित्यकार, समालोचक र पत्रकार सबैका लागि हितकर हुँदैन । तसर्थ, कसैले नबुझ्ने शैली र भाषामा बडेबडे ओजस्वी शब्दहरू थुपारेर साहित्य रचना गर्‍यो भने लेख्नेलाई पनि के लेखेँ थाहै हुन नपर्ने, पढ्नेलाई पनि के पढ्दैछु बुझ्नै नपर्ने समालोचकहरूलाई पनि आध्योपान्त किताब पढ्नै नपर्ने- मनमा जे आउँछ त्यही लेखिदिए पुग्ने नवीनतम प्रयोग भनेपछि पाठकहरूले पनि बुझ्नको लागि टाउको दुखाइरहनै नपर्ने । यसो भएपछि टाउकोमै नअटाउने राष्ट्रिय, अन्तर्राष्ट्रिय पगरी गुताइदिए पनि कसैको दाबी विरोध नै नहुने । वादविवादको सम्भावना नै नरहने । त्यही भएर हाम्रो समाजमा प्रयोगवादी साहित्यको श्रीबृद्धि हुँदो छ । यो राम्रै लक्षण हो ।

प्रश्न : हालसालै तपाईंका थप नयाँ कृति केही निस्कँदैछन् ?
उत्तर : तत्काल छैन । पहिला छापिएका किताबहरू सामान राख्ने गोदाममा त्यत्तिकै थुप्रिएका छन् । ती सबै किताबहरू मुसाले काटेर भ्याइसकेपछि अर्को कृति प्रकाशनबारे सोच्नुपर्ला भन्ने लागेको छ ।
प्रश्न : किन र ? तपाईंले प्रकाशक र बितरक पाउनुभएन ?
उत्तर : पाइन्थ्यो होला तर काइदा कानुन जानिएन ।

प्रश्न : यस्तो स्थिति भएकोमा तपाईंलाई दुःख लागेको छैन ?
उत्तर : केको दुःख ? दुःख मान्ने अधिकार नै यहाँ कसले कसलाई दिएको छ र ? ठूलो माछाले सानो माछालाई खाने प्राकृतिक मत्स्यन्याय हो भने सहरका माछाले मोफसलका माछालाई खाने हाम्रो संवैधानिक न्याय हो । यसमा दुःख मनाउने कुरा नै कहाँबाट आउँछ र ?
प्रश्न : त्यसो भए तपाईं आफ्नो स्थितिमा सन्तुष्ट हुनुहुन्छ ?
उत्तर : नभएर के गर्नु त ? अन्यथा यहाँ मर्न पनि सकिन्न, बाँच्न पनि सकिन्न । तपाईं नै हेर्नुहोस् त- यहाँ नाम र दामका लागि कति मान्छेहरू मरीमरी बाँचिरहेका छन्, कति मान्छे बाँचीबाँची मरिरहेका छन् ।
प्रश्न : खै के भन्नु ? पाठकहरू पनि मैजस्ता हुने हुन् भने कसले पढ्ला र यो अन्तवार्ता । पढेँ भने मैले नै त होला दोहोर्‍याई तेहेर्‍याई । त्यसो भएपछि आफैँले आफैँलाई के भनाइ भयो ? झुक्किएर कसैलाई अल्छी लागेको बेला पढ्ने जमर्को भएछ भने तिनलाई हार्दिक साधुवाद ।

०००
‘श्रीपशुमहापुराण’ (२०५७) बाट जस्ताको जस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x