विश्व शाक्यपाँडे-कला, साहित्य पुरस्कार
मैले पुरस्कार स्थापना गर्नुको अर्थ यत्तिमात्र हो कि जुन व्यक्तिलाई यो पुरस्कार दिइन्छ, त्यो व्यक्तिको व्यक्तित्व, नाम र आकर्षणले यो पुरस्कार र साथमा मेरो नाम र व्यक्तित्व पनि झल्कियोस् ।

विश्व शाक्य :
मुलुकमा प्रजातन्त्रको स्थापनापछि दिनानुदिन प्रजातन्त्रको भाउ जुन गतिमा घट्दो छ त्यसको ठीक उल्टो कला, साहित्य, संस्कृतितर्फ स्थापित सम्मान पुरस्कारहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । त्यही भएर कला, साहित्य र सांस्कृतिक प्रतिष्ठानहरू मान सम्मानको बोझले किचिएर कला, साहित्य र संस्कृतिको ढुकढुकी मात्र बाँकी रहन गएको छ । अरुत सवै नक्कलै नक्कलले भ्याइसकेको छ ।
कला, साहित्य र संस्कृति मात्र होइन, हाम्रा समग्र सामाजिक परम्परा, रीतिथिति, नैतिक मूल्य र मान्यताहरू नक्कलमै सीमित छन् । धर्म र राजनीति त झन समाजकै उपज भएको हुँदा यो पनि नक्कलबाट प्रभावरहित हुने त कुरै भएन । तसर्थ त्यही समाजभित्र बाँचेको “म” नक्कलबाट कसरी अलग्गिन सक्थे र ? त्यही भएर आजभोलि वर्षे च्याउ झैँ स्थापना भएका सम्मान पुरस्कार संस्थापकहरूको पंक्तिमा आफ्नो नाम पनि दरिहालूँ भनेर “पाँडे-कला साहित्य पुरस्कार” स्थापना गर्न लागेको हुँ ।
अधिराज्यको कुरा मलाई थाहा छैन किनभने राजधानी पलायन भएर अधिराज्यको सपना देख्ने रहर मैले गरिनँ । न त राजधानी पसेर देश ओगट्ने कवि, कलाकार नै परेँ । त्यसैले मलाई अधिराज्यको कुरा थाहा छैन । मलाई जे थाहा छ त्यो पनि पोखराभित्रको सीमित कुरा मात्र थाहा छ । मलाई यत्तिखेर के कुरा थाहा छ भने पोखरामा कला, साहित्य, संस्कृति तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएकाहरूलाई सम्मानार्थ केही पुरस्कारहरू स्थापना भएका छन् । यो पुरस्कार पनि त्यसैको एउटा उपज हो ।
हुन त पाठकहरू भन्नुहोला हामीले कला पुरस्कार बारे सुनेका छौ, साहित्यिक पुरस्कार बारे सुनेका छौँ । संस्कृति तथा सामाजिक पुरस्कारहरू बारे सुनेका छौँ । यो “पाँडे“ पुरस्कार भनेको कस्तो पुरस्कार हो ? कस्तालाई दिने पुरस्कार होला यो ? पाठकहरूमा जिज्ञासा उठ्नु स्वभाविक हो। फेरि पाठकहरूमा जिज्ञासा उठ्नु स्वभाविक हो । फेरि पाठकहरूमा यस्तो जिज्ञासा पनि उठ्न सक्छ- यो पुरस्कार स्थापना गर्ने व्यक्ति को होला ? कवि, कलाकार, गीतकार सङ्गीतकार, समाजसेवी वा अन्य अरु केही। उदार हृदय वेगर त पुरस्कार स्थापना अवश्य नै गरेको होइन होला। मान्छे उदार होलान्, प्रतिभाशाली होलान् । महान् व्यक्तित्वका धनी होलान् आदि, इत्यादि ।
पाठक महोदयहरू, माफ गर्नु होला “पाँडे-कला साहित्य पुरस्कार” अन्य अरु पुरस्कारहरू झैँ यो पनि साधारण पुरस्कार नै हो । यसमा कुनै खास भिन्नता छैन । नाम मात्र नौलो हो । जस्तो कि जहानिँया प्रजातन्त्र, पञ्चायती प्रजातन्त्र र बहुदलीय प्रजातन्त्र । आखिर प्रजातन्त्र त सबै एउटै हो नाम मात्रको भिन्नता । तर जहाँसम्म पाठकहरूको जिज्ञासा पुरस्कार स्थापना गर्ने व्यक्तिप्रति छ त्यो व्यक्ति खास अर्थमा कुनै महान व्यक्तित्व होइन, न त कुनै प्रतिभा नै । त्यो व्यक्ति अर्थात “म” न सहृदयी छ, न समाजसेवी नै । मसँग न केही सीप छ न जाँगर छ, न समाजसेवा भनेको के हो भन्ने नै जानेको छु । मैले त मौका हेरी समय परिस्थितिअनुसार मेवा झार्न मात्र जानेको छु । पुरस्कारमा राखिएको रकम पनि त्यही झारिएको सेवाको पेवा हो । त्यही भएर पाठकवृन्द पुरस्कारको नामाकरण गर्ने बेला खूब सोच विचार भयो । समय र परिस्थितिले मलाई जे जस्तो बन्न बाध्य तुल्याए पनि वास्तवमा म मान्छे इमान्दार छ । त्यही भएर म आफू कवि, कलाकार वा समाजसेवीको नाममा नभएको पगरी गुथ्न चाहिनँ । मेरो अहं त्यसो गर्न दिएन । खुब सोच विचार भयो- यस्तो स्थितिमा अब पुरस्कारको नाम के राख्ने ? यो समाजमा सही सत्य कुरा भनेर गरेर बाँच्न पनि नसकिने । यही समाजमा नाँची पनि नहुने । यस्तो स्थितिमा बाँचेकाहरूलाई “पाँडे” भन्नु सिवाय अर्को विकल्प नरहेको स्थितिलाई बुझ्दा पुरस्कारको नाम पनि पाँडेबाट राख्नु नै उत्तम होला भन्ने लागेर “पाँडे कला साहित्य पुरस्कार“ राखि घोषणा गरेँ ।
यहाँसम्मको स्थिति पाठकहरूले बुझिहाल्नु भयो । पुरस्कार घोषणा गरी सकेपछि अब पुरस्कार कुन चाहिँ पाँडेलाई दिने होला भन्ने कुरामा समस्या भयो । पुरस्कारको घोषणा हुनासाथ अनेक सिफारिस, दबाव र घुर्की धम्कीहरू आउन थाले । अब कस्लाई पुरस्कार दिने, कस्लाई पुरस्कार नदिने ? एक त आफ्नो गाँठ गुमाउनु छ त्यसमाथि पनि फेरि बेवकुफ बन्नु छ । नाम कमाउँला भन्दा त झन ज्यान नै जाला जस्तो मात्र । म मात्र के बेनामी थिएँ र यो समस्या समाधान गर्न सरकारले सर्वदलीय समिति बनाए झैँ मैले पनि पुरस्कारको लागि प्रतिभा छनौट समिति बनाइ दिएँ । समितिले थुप्रै नामहरू प्रस्तावित गर्यो । हलि बाउसेदेखि मण्डले काउसेसम्मका नाम फेला परे । मलाई चित्त बुझ्दो र मनले खाएका जस्ता पाँडे एकजना पनि भेट्टिएनन् । प्रतिभा छनौट समितिकाहरू आजित भए पनि सोध्न थाले- “होइन तपाईंले कस्ताखाले प्रतिभा खोज्नु भएको हो ? पहिला प्रष्ट पारिदिनु पर्यो । त्यसपछि त्यस्ता व्यक्तित्वको खोजी गर्न हामीलाई सजिलो होस् । उनीहरूले हार खाएर सोधेपछि मैले मुख खोल्नै पर्ने भयो र भने- ‘हेर्नुस् साथी हो, मैले यो जुन पुरस्कार स्थापना गरे यसको उद्देश्य समाजसेवी, शिक्षाविद वा प्रतिभाहरू कसैको पनि कदर वा सम्मानको लागि होइन ।
मलाई यसतर्फ अलिकति ज्ञान पनि छैन र कसैलाई मान सम्मान गर्ने चाहना पनि छैन । यो त समयसापेक्ष आवश्यकता मात्र हो । मैले पुरस्कार राख्नुको मतलव यो होइन कि म त्यस विषयमा पोख्त छु, ज्ञाता छु वा सहृदयी छु । मैले पुरस्कार स्थापना गर्नुको अर्थ यत्तिमात्र हो कि जुन व्यक्तिलाई यो पुरस्कार दिइन्छ, त्यो व्यक्तिको व्यक्तित्व, नाम र आकर्षणले यो पुरस्कार र साथमा मेरो नाम र व्यक्तित्व पनि झल्कियोस् । बस त्योभन्दा अर्को मेरो कुनै उद्देश्य छैन । सिकारु भारेभूरेलाई सम्मान गरेर के गर्नु ? कहीं कतै चर्चा हुँदैन, कहिँ कतै पहिचान हुँदैन । तसर्थ यो पुरस्कार दिँदा त्यस्तो व्यक्ति रोजेर दिइयोस् जसको चर्चा राष्ट्रिय स्तरमा होस् ।’ मेरो यस्तो प्रस्ताव सुनेर प्रतिभा छनौट समितिका सदस्यहरू एकछिन अवाक रहे । ‘त्यसो हो भने त..’ लामो सास तान्दै एकजनाले मसिनो स्वरमा भन्यो-
-तपाईंले खोज्नु भएको जस्तो प्रतिभाको छनौटको लागि त प्रज्ञा प्रतिष्ठान, मदन पुरस्कार गुठी वा साझा प्रकाशनसँगै सम्पर्क राख्नु पर्ने हुन्छ होला ।’ त्यसपछि सबै चुप । सबै मौन ।
०००
पोखरा
श्रीपशुमहापुराण (२०५७)
कार्टुन श्राेत : नेपाल साप्ताहिक
Subscribe
Login
0 Comments
Oldest







































