रमेश खकुरेलकामछाडा
ठुला भन्नु पर्ने निकै छन् बिकेका उताबाट जे जे भने सो सिकेका जहाँ लेखियो के छ हाम्रो भनाइ घुसाएर हाल्छन् उनैको सिकाइ ॥

रमेश खकुरेल :
न वीरेन्द्र बाँचे न बाँचे भँडारी
छ यो देश खाने गरेको तयारी
न ता मिल्न दिन्छन् न ता बढ्न दिन्छन्
सकेसम्म मासेर नै छोड्न खोज्छन् ॥
यहाँ राष्ट्रवादी छ तिम्रो चिनारी
भने मारिदिन्छन् मुसारी मुसारी
गरी हिंड्छ जो राष्ट्रमा भाँड चाला
उसैमा लगाइन्छ खादा र माला ॥
नठान्नू कि हो यो कुनै राजनीति
कि वा राष्ट्र नै खान खोज्ने कुनीति
सबैको चुरो धर्मको कूटनीति
र हिन्दुत्व मास्ने बडो क्षुद्र नीति ॥
गरी मार भाषा छताछुल्ल पारौँ
छ जो संस्कृतिप्रेम सो नष्ट पारौँ
इशाई बनाएर देशै बिगारौँ
र बिस्तार साम्राज्य आफ्नो सुधारौँ ॥
यही धर्मका साथमा अर्थनीति
घुसाई सिकाई गवाएर गीति
सधैं दास पारेर राख्ने छ चाल
बुझौं मित्र आजै बनौँ होसियार ॥
ठुला भन्नु पर्ने निकै छन् बिकेका
उताबाट जे जे भने सो सिकेका
जहाँ लेखियो के छ हाम्रो भनाइ
घुसाएर हाल्छन् उनैको सिकाइ ॥
कुनै शत्रु टाढा भए चिन्नु हुन्थ्यो
खुँडाले चटक्कै त्यहीं छिन्नु हुन्थ्यो
छ आफ्नै घरैमा लुकी बस्छ साँढा
उही गर्छ उद्देश्य ली काम छाडा ॥
०००
कमलपोखरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































