सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिस्टर मोमो

आजभोलि हामी मान्छेको विचार, बुद्धि र विवेक जतिसुकै कुहिएको, स्वार्थी र सङ्कीर्ण भए पनि बाहिरबाट हेर्दा मान्छे खाइलाग्दो र दुईचारवटा नैतिकता र आदर्शको कुरा गर्न जानेपछि ‘मोमो’ जस्तै स्वादिष्ट भइहाल्यो नि ।

Nepal Telecom ad

विश्व शाक्य :

हालसालैको कुरो, गफैगफमा एकजना साथीले ज्योतिष बाजेकहाँ जाँदा अनुभव गरेको एउटा घटना सुनाउँदै भन्यो- “यार ! तँलाई थाहा छ ? केही दिनअगाडि श्रीमतीले साह्रै गरेर यसो चिनाटिप्पणी हेराउनु पर्‍यो भनेर एक जना ज्योतिष बाजेकहाँ गएको थिएँ । एकजना अधबैँसे मान्छे आफ्नी श्रीमतीसँग आएका रहेछन् । संयोगले हामी पनि पुग्नु, ज्योतिष बाजेसँग उनको कुराकानी सुरु हुनु पनि सँगै परेछ । ती अधबैँसे मान्छे आफ्ना नातिको नामकरणका लागि टिप्पणी लिएर ज्योतिष बाजेकहाँ आएका रहेछन् । उनी ज्योतिष बाजेलाई भन्दै थिए “बाजे, बाजे ! मेरो यो पहिलो नाति हो, यसको नाम कस्तो जुराइदिनुहोस् भने नामबाट फेरि मैले धोखा खानु नपरोस् ।”

ती अधबैँसे मान्छेका कुरा सुनेर ज्योतिष बाजे एकछिन अवाक् भए । बाजेले आफू सम्हालिँदै भन्नुभयो- “नामबाट धोका खानुभयो रे ? के भन्नु भएको ? मैले त कुरा बुझिनँ !”

अधबैँसे मान्छेले कुरा स्पष्ट पार्दै भने- “लौ बाजेलाई थाहै रहेनछ, नामबाट पनि बेसरी धोखा हुँदो रहेछ नि बाजे !”

‘त्यो कसरी ?’ ज्योतिष बाजेले आश्चर्यित हुँदै सोध्नुभयो । अधबैँसे मान्छेले बेलिबिस्तारसाथ रामकहानी सुनाउन थाले बाजे ! भनम् भने के भनम् ? हाम्रो बिहे भएको वर्षमै छोरो जन्म्यो । हामी मात्र होइन हाम्रो परिवार नै यतिविघ्न खुसी भयो हामीले हाम्रो त्यो सन्तानलाई आदर्शको प्रतीक मान्यौँ र त्यसको नाम ज्योतिष बाजेको सरसल्लाहअनुसार ‘राम’ राख्यौँ । ‘राम’ मर्यादापुरुषोत्तम हुनुहुन्थ्यो । हाम्रो छोरामा पनि त्यही गुण लक्षण हुने सपना हामीले उन्यौँ । छोराको नाम ‘राम’ राखेपछि प्रभुरामको नाम उच्चारण भइरहने अर्को भावनात्मकता थियो । त्यसैले छोराको नाम ‘राम’ राख्ने निधो हामीले गर्‍यौँ । तर नामले मात्र त हुँदो रहेनछ बाजे ! ‘राम’ नामको त्यो छोरो यति हराम निस्क्यो के कुरा गर्नु ? त्यसले मर्यादाको पालन गर्नु त परै जाओस् मर्यादाको ‘म’ सम्म पनि बुझ्न सकेन; त्यो छोरो परिवारकै नाममा एउटा कलङ्क भयो ।

पहिलो छोराको नाम जुन वात्सल्य, आत्मीयता र श्रद्धाका साथ ‘राम’ राखेका थियौँ तीन वर्षपछि अर्को छोरो जन्म्यो, हामीले त्यसको नाम ‘कृष्ण’ राख्यौँ । सानामा बालगोपालजस्तै ऊ साह्रै हिस्सी परेको थियो । चञ्चल थियो । रमाइलो थियो । गहुँगोरो थियो । बालक छँदासम्म ऊ हाम्रा लागि बालगोपाल श्रीकृष्णजस्तै थियो । राम र कृष्णले हामीलाई आत्मविभोर तुल्याएका थिए । तर जबजब ठूला हुँदै आए, जान्ने-बुझ्ने हुँदै आए ज्ञानीगुणी हुनुको साटो मारपिट ढुङ्गामुढातिर लाग्न थाले । रामभन्दा कृष्ण राम्रो, तेजिलो र फुर्तिलो छ, तर बाजे ! भगवान् श्रीकृष्ण रूपका काला थिए हाम्रो छोरो कृष्ण त मनको कालो पो निस्क्यो ।

हाम्रो छोरो कृष्ण यतिविघ्न कपटी र धूर्त होला भनेर हामी कसैले चिताएका पनि थिएनौँ । ‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ’ भन्छन् त्यो मोरो जन्मदै कमलपित्त लागेर आएको भएर हो कि क्या हो जताजतै पहेँलै पहेँलो देख्छ । पहेँलो भनेपछि हुरुक्कै हुन्छ । पहेँलाको चमकले हो कि क्या हो दया-धर्म, नीति-नियम, इष्ट-मित्र सबैलाई धनले नै तौलने गर्छ । उसको यस्तो प्रवृत्तिले गर्दा इष्टमित्र छ र छिमेकी अगाडि साहोगाह्रो पर्दा मुख देखाउन पनि लाजै लाग्ने भइसकेको छ ।”

साथीले थप कुरा अगाडि बढाउँदै भन्यो- “दुईभाइ छोराका नामबाट धोखा खाएपछि बूढेसकालमा जन्मेको कान्छो छोराको नाम म आफैले ‘कुल रत्न’ राखेँ । देवपुरुषहरूको नाम हामीलाई नफापेको होला भन्ने लागेर आफ्नो कुल बचाउने र कुलको प्रतिष्ठा जोगाउने छोरो यो होला भनेर ज्योतिष बाजेसँग सल्लाह पनि नलिई कुलरत्न (कुलको रत्न) नाम हामीले राख्यौँ । राम र कृष्णजस्ता उद्दण्ड यो भएन । कुल धान्ने मात्र भयो । कुलको प्रतिष्ठा बढाउने खालको रत्न पनि यो भएन । टेढो बुद्धिको यो कुलरत्नलाई राजा राम र रामराजाको अर्थभेद कहिल्यै थाहा भएन । जसलाई सद्धर्म र अधर्मको अर्थभेद नै थाहा छैन त्यस्ताले कुल, धर्म, मर्यादा र परम्पराको संरक्षण, संवर्द्धन कसरी गर्लान् ? त्यसैले ज्योतिष बाजे” उनले विशेष आग्रहका साथ भने- “यो नातिको टिप्पणी राम्ररी हेरेर एउटा गतिलो नाम जुराइदिनु पर्‍यो । नाममा साहै धोखा खाइयो ।”

ती अधबैँसेका कुरा सुनेर वरपरका सबै भावविह्वल भए । ज्योतिष बाजेले नातिको टिप्पन हेरेर निक्कै हिसाबकिताब गरे । अन्तमा ज्योतिष बाजेले अनुहार चहकिलो बनाउनु हुँदै प्रसन्न मुद्रामा भन्नुभयो- ‘उत्तम, उत्तम सर्वोत्तम । यो बच्चाको ग्रहदशादि सबै राम्रै छन् । ल… यो बालकको नाम ‘उत्तम’ राखे फरकै पर्दैन । ‘उत्तम’ नाम सर्वोत्तम छ ।”

ज्योतिष बाजेको नाम प्रस्तावले ती अधबैँसे मान्छे खुसी देखिएनन् । उनका मनमा द्विविधा थियो क्यारे । ज्योतिष बाजेको “कि यो नाम तपाईलाई ठीक लागेन ?” भन्ने प्रश्नपछि उनले हिचकिचाउँदै भने- ‘नाम त साह्रै राम्री हो बाजे तर ‘उत्तम’ नाम राख्दैमा यो बालक उत्तम नै होला त ?”

‘किन र यसमा कतै शङ्का छ ?’ ज्योतिष बाजेको प्रश्न थियो । जवाफमा ती अधबैँसेले अनकनाउँदै भने- “हजुरले भन्नु भएपछि शड्का गर्ने ठाउँ त नरहला तर ‘उत्तम’ नाम त झन् खत्तम लाग्छ मलाई त । उसले यस्तो भनेपछि वरपरका मान्छेहरू गललल हाँसे । उनले ‘उत्तम’ नाम झन् खत्तम भएको बारे जानकारी गराउँदै भने- “बाजे । मैले हामी बाँचेको समाजमा केही पनि ‘उत्तम’ साँच्चिकै उत्तम देखेकै छैन । हेर्नुस् न देश विकासका लागि प्रजातन्त्र उत्तम हुन्छ भन्थे दस वर्ष भइसक्यो खै के उत्तम छ ? जताततै खत्तमै खत्तम छ । यो अर्थनीति उत्तम हुन्छ भन्छन्, त्यो अर्थनीति उत्तम हुन्छ भन्छन् । झन् खत्तमै खत्तम । जताततै भ्रष्टाचार बढेको बढ्यै । अनियमितता बढेको बढ्यै । जनता झन्झन् गरिब, झनझन् गरिब, जताततै खत्तम छ । यहाँ हेरे पनि खत्तम, वहाँ हेरे पनि खत्तम ।

कहाँ के उत्तम छ र गुरु ? नाम ‘उत्तम’ काम खत्तम, नाम मात्र उत्तम भएर के गर्ने ? न हाम्रो सोच उत्तम छ, न हाम्रो संस्कार उत्तम छ । जब हाम्रो दृष्टि नै मिथ्या छ भने उत्तम सोच र उत्तम संस्कार कहाँबाट पैदा हुन्छ ? त्यसैले बाजे, यसभन्दा अलि आधुनिक र मौलिक संस्कृक्ति बोकेको नाम राख्न पाए हुन्थ्यो कि ?”

बिचरा ज्योतिष बाजेको मथिङ्गलमा आधुनिक र मौलिक नाम कहाँबाट आओस् ? चारैतिर एकछिनको मौनतापछि अलि पर बसिरहेका एक सज्जनले नाम प्रस्तावित गर्दै भने- ‘मोमो मिस्टर मोमो’ नाम राख्यो भने बेस होला ।’ नाम सुनेर एकपटक सबै गललल हाँसे । नाम प्रस्तावित गर्ने व्यक्तिले अलिकति पनि विचलित नबनी आफ्नो प्रस्तावबारे पुष्टि दिँदै भने- ‘मोमो, मिस्टर मोमो !’ यो नाम झट्ट सुन्दा आधुनिक र हाम्रो वर्तमान सामाजिक संस्कृक्तिअनुसार सापेक्ष पनि छ ।

जस्तो मोमोमा भित्र बूढी बाखी, राँगो, भैंसी आदिका कुहिएको मासु राखे पनि बाहिर स्याट्ट पीठाले छोपिएपछि कति आकर्षक । कति मीठो । ‘मोमो’ भनेपछि जस्ताको पनि मुखै रसाउने । त्यस्तै आजभोलि हामी मान्छेको विचार, बुद्धि र विवेक जतिसुकै कुहिएको, स्वार्थी र सङ्कीर्ण भए पनि बाहिरबाट हेर्दा मान्छे खाइलाग्दो र दुईचारवटा नैतिकता र आदर्शको कुरा गर्न जानेपछि ‘मोमो’ जस्तै स्वादिष्ट भइहाल्यो नि । त्यस्तालाई नराम्रो कसले मान्ने ? त्यस्तालाई बेवकुफ कसले भन्ने ? होइन र बाजे ?” ती मान्छेका कुरा सुनेर एकछिन सबै अवाक् भए । यार ! म पनि अवाक् भएँ । कहिलेकाहीं त्यस दिनका कुरा सम्झँदा लाग्छ यार । अब फेरि नाति भएछ भने नातिको नाम ‘मिस्टर मोमो’ राख्नुपर्छ क्यारे ! ? ‘मिस्टर मोमो, वाऽ ह ! क्या रसिलो स्वादिलो नाम ।’ दुवै हाँस्यौँ । निक्कै बेरसम्म हाँस्यौँ । यस्तो उटपट्याङ्गे गफ गर्न साथीलाई कसले जितोस् ? नम्बरी गफाडी ।

०००
पोखरा
जनमत गाईजात्रे/२०५७ साउन ३२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी