सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्री पशुमहापुराण

गालीकै भाषामा होस् वा प्यारको बोलीमा, मान्छेले मान्छेमाथि गर्ने यिनै सम्बोधनहरूले हामी मानिसहरू विभिन्न पशुहरूको गुण स्वभाव भएको प्राणी रहेको प्रमाणित हुन्छ ।

Nepal Telecom ad

विश्व शाक्य :

धेरै भयो काठमाडौं गइएको थिएन, यसपटक गइयो । साँझपख दुई चारजना साथीहरू भेट भए । अब कता जाने, कता बस्ने ? एकजनाले प्रस्ताव राख्यो- जाऊ कुनै रेष्टुराँतिर । सबैको सहमति बन्यो, नजिकैको रेष्टुराँमा पस्यौँ ।

हामी चारजनाले एउटा टेबुल ओगट्यौ । धेरै समयपछि भेटघाट भएको हामी बीच देशको समसामयिक राजनीतिदेखि कला, साहित्य र धर्म- दर्शनसम्बन्धी कराहरू चल्न थाले । धर्म-दर्शनमा अभिरुचि राख्ने हाम्रो एकजना साथी थियो । कुरैकुरामा उसले सृष्टिहरूमा मानव सृष्टि सबैभन्दा महत्त्वको भएको बतायो । मानिस, अन्य सबै प्राणीहरूमा चेतनशील प्राणी भएको हुँदा सृष्टिमा मानिसको महत्वपूर्ण भूमिका रहेको र मानिसले मात्र आफ्नो चेतना र विवेकको प्रयोग गरी यहलोक र परलोक सुधार्न सक्ने बतायो । त्यो साथीले यी कुराहरू के गर्दै थियो, हामीसँगैको पल्लो टेबुलमा बसेर धोकिरहेको एकजना सज्जनले अलिअलि मातेको स्वरमा साथीतिर फर्केर औँला नचाउँदै भन्यो- “गलत । तपाईंले भन्नुभएको कुरा एकदम गलत ।”

उसको कुरा सुनेर हामी एकछिन अवाक भयौँ । हामी सबैको ध्यान ऊतिर आकर्षित भयो । ऊ कुर्चीबाट चलमलाउँदै हामीतिरै फर्केर भन्यो- “तपाईंले भन्नुभयो नि, मानिस सृष्टिको सर्वोत्कृष्ट प्राणी हो भनेर, त्यो एकदम गलत । मैले रक्सी खाएको बेलामा मात्र होइन रक्सी नखाएको बेलामा पनि भन्ने गरेको छु- मानिस सृष्टिको सबैभन्दा घटिया, सबैभन्दा वाहियात, पशुभन्दा पनि नीच प्राणी हो । बुझ्नु भयो । तपाईंहरू बुझ्न चाहनुहुन्छ ? यसको प्रमाण छ मसँग । म प्रमाणित गरिदिन सक्छ । तपाईंहरू सुन्न चाहनुहुन्छ ?

उसको हाउभाउ र कुरा गराई सुन्दा हामीलाई रमाइलो लाग्यो । सँगैको साथीले जिस्काउँदै भन्यो- “भन्नुहोस् न त, तपाईंको कुरा पनि त सुनौँ !”

सँगैको सज्जन उत्साहित भयो । आफ्नो अगाडिको गिलास उतै छोडेर ऊ हामीतिर सजिलै फक्र्यो र हात नचाउँदै भन्न थाल्यो- “हेर्नुहोस् । यो सत्ययुगभन्दा अगाडिको कुरा हो । बुझ्नु भयो ? त्यो बेला ब्रम्हाले मानिस जातिको सृष्टि गरेकै थिएन । मानिस जातिको सृष्टि त धेरै धेरै पछाडि भएको हो । यो कुरा त, यो कुरा त तपाईं हामी आजको विज्ञानको विकासवादी सिद्धान्तले पनि मान्छौँ, होइन ?” साथीले होमा हो मिलायो । उसले भन्यो- “तपाईंहरू भन्नुहोला यो मोरो जँड्याहाले विकासवादको कुरा कसरी थाहा पायो भनेर । ओ भाइ ! म त यो मुलुकमा कतै निकास पाउन असफल भएपछि जाँड खाएर विकास गर्नतिर लागेको हुँ । त्यसैले अलिअलि बाँदर पुर्खाहरूको जानकारी राख्न थालेको छु ।”

“अँ, अब ब्रम्हाले जीव जीवात्माको सृष्टि गरे र तर सबैभन्दा पहिला किटपतङ्ग, जलचर र नभचर प्राणीहरूको सृष्टि गरे । बिचरो बूढो ब्रम्हा, स्वास्नी सरस्वती तरुनी, बूढो दिनभर सृष्टितिर लाग्यो । सरस्वती विचरी के गर्ने ? सितारा बजाएर बसुन् पनि कति बसुन् । दिन साह्रै पट्यारलाग्दो भएपछि सरस्वतिले एकदिन बूढो ब्रम्हासँग भनिछन्- स्वामी । हजूर, दिनभर बस्दा बस्दा दिक्क भइसकेँ, यसो मन भुलाउने प्राणीहरूको सृष्टि गरिदिनुहोस् ता कि उनीहरूको सामिप्यमा दिन काट्न मलाई सजिलो होस् । ब्रम्हा बुढाको मनमा पनि दया जागेछ, बूढाले तत्काल नानाभाँती पशुपंक्षीहरूको सृष्टि गरिदिए- बाघ, भालु, कुकुर, बिरालो, घोडा, गधा, गाई, भैँसी, हात्ती आदि इत्यादि । त्यस्तै पंक्षीहरूमा पनि सबै थरी पंक्षी, जलचरमा सबैथरी जलचर सृष्टि गरिदिए ।” उसले बीचमा भट्टमासको २/४ दाना मुखमा हालेर चपाउँदै फेरि भन्न सुरु गर्‍यो । यतिन्जेल हाम्रो टेबुलमा पनि खानेकुरा आइसकेको थियो । उसले भन्यो- “बुझ्नुभयो त ? सम्पूर्ण पशु-प्राणीहरूको सृष्टि भएपछि सरस्वति तिनीहरूसँगै दिन बिताउन लागिन् । कहिले आकाशलोक, कहिले मत्स्यलोक, कहिले मृत्युलोक कता कता । बूढो ब्रम्हा कहिले काममा थाकेर यसो बूढीसँग भलाकुसारी गरौँ भने पनि कहिल्यै भेटै नहुने । उता सरस्वतिलाई पनि दिक्क, यति बिघ्न ठूलो संसारमा भएका सबै पशुपंक्षीसँग खेल्न हिँड्न भ्याउनु नै कसरी ? त्यही भएर एक दिन बूढाबूढी दुवैले आ-आफ्नो दुःखेसो राखेछन् । दुवैको कुरा आ-आफ्नो ठाउँमा ठीक थियो । यसको समाधानको लागि बूढा ब्रम्हाले एउटा उपाय निकाल्दै सरस्वतिलाई भनेछन्- प्रिय ! तिम्रो समय पनि सजिलै कट्ने हामी, बीच भेटघाट पनि भइरहने एउटा जुक्ति म गर्छु । त्यसो भएपछि तिमीलाई सारा पशु- प्राणीसँग खेल्न तीन त्रिलोक चौध भुवन चहार्नु पनि परेन । हेर, म तिमीलाई हामी जस्तै रूपको मान्छे जातिको सृष्टि गर्छु र ती मान्छेमा यो ब्रम्हाण्डमा जति पनि जलचर, नभचर, पशुपंक्षी, किट-पतङ्गहरू छन् । तिनीहरू सबैको गुण मिसाइदिन्छु । त्यसो भएपछि तिमीलाई ठाउँ कुठाउँ चहार्न दुःख पनि भएन । सबै पशुहरूलाई एक्कै ठाउँमा राख्ने, देख्ने अप्ठेरो पनि भएन । अनि त सबैको गुण स्वभाव समाहित भएपछि तिमीले चाहेको कुकुर, बिरालो, बाघ, भालु, घोडा, हात्ती, गधा, सुङ्गुर, बङ्गुर, काग, गिद्द, गोही, कछुवा, माछा आदि इत्यादि सबै मान्छे मै पाउने भयौ । हुन्न त प्रिय ?”

“ब्रम्हा बूढाको कुराले सरस्वति साह्रै प्रशन्न भइन् । ब्रम्हाले नभन्दै मान्छे जातिको सिर्जना गरिदिनु भयो । मान्छेको गिदीभित्रका तन्तुहरूमा असख्य जीवजन्तुहरूको गुण, धर्म स्वभाव भरिदिनु भयो ।” एक छिनको मौनतापछि उसले साथीलाई इङ्गित गर्दै भन्यो- “तपाईंलाई थाहा छ ? गीतामा एक ठाउँमा भगवान् श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै भन्नु भएको छ- हे अर्जुन । म सबै प्राणीहरूको हृदयमा अवस्थित, सबैको आत्मा हूँ । सबै प्राणीहरूको आदि, मध्य र अन्त पनि मै हूँ । भगवान् श्री कृष्णले यस्तो किन भन्नुभयो, थाहा छ ? हामी सबै अवाक भयौँ । कुराको चुरो केही बुझेनौँ । साथीले मुन्टो हल्लाएर थाहा नभएको जानकारी दियो । उसले स्पष्ट पार्दै भन्यो- “कृष्णले आफूभित्र सृष्टिका समग्र प्राणी (पशु लगायत) समाहित छन् र समग्र पशुहरूमा आफू समाहित छु किन भन्नुभयो त भने, भगवान् श्रीकृष्णले पनि मानिस जुनीमै जन्म लिनु भएको थियो । मानिस जुनीमा जन्म लिनु भन्नुको मतलव सृष्टिका सबै प्राणी आफूभित्र समाहित हुनु हो ।”

सुरुसुरुमा ठ्याम्मै जँड्याहा लागेको मान्छे कुरा सुन्दा सुन्दै बडो रोचक लाग्यो हामीलाई । हामी आफ्नो खानेकुरा पनि खाँदै थियौ, उसको उरन्ठेउलो तर रोचक कुरा पनि सुन्दै थियौ । उसको गिलास रित्तिइसकेको थियो । रित्तो गिलासमा पानी भरेर एक चुस्की लिँदै फेरि उसले धारावाहिक सुरु गर्‍यो- “अँ, ब्रम्हाले मान्छेको सृष्टि गरेपछि सरस्वति साह्रै रमाइन् । तर धेरै समय उनी रमाउन सकिनन् । मानिस भए पनि के गर्नु ? उसमा बुद्धि विवेक थिएन । उसमा कुनै चेत थिएन । कहिले राधाको गर्दै हुन्थ्यो । कहिले घोडाको घोडै । सवाल-जवाफ, तर्क- वितर्क केही थिएन । एक दिन सरस्वतीको मनमा लाग्यो, किन मसँग भएको ज्ञान बुद्धि मान्छेको गिदीमा नहाली दिने ? मनमा यस्तो कुरा आउनासाथ उनले आफूसँग भएको ज्ञान, बुद्धि र विवेक मान्छेको गिदीमा हाली दिइन् । ज्ञान र बुद्धि जब मान्छेको गिदीमा घुसेको थियो त्यो अघिको मान्छे र ज्ञान, बुद्धि विवेकयुक्त मान्छेको स्वभावमा आमूल परिवर्तन देखा पर्‍यो । मान्छेको यो स्वभावबाट सरस्वति साह्रै प्रशन्न भइन् । मान्छेले पनि सरस्वतिलाई ज्ञान, बुद्धि र विवेकका अधिष्ठात्री मान्न थाल्यो । परम्परागत रूपमा अहिले पनि मान्छन् नै । सरस्वति पनि मानिसप्रति निक्कै ठूलो विश्वास गर्न थालिन् । समय बित्दै गयो । समयक्रमसँगै मान्छेभित्रको बुद्धि, विवेक र ज्ञानको प्रभाव पनि घट्दै जान थाल्यो । त्यही भएर सत्ययुगमा ज्ञान र विवेकको जुन प्रभाव थियो, त्यो क्रमशः त्रेता र द्वापरमा कम हुँदै कलिसम्म आइपुग्दा त समाप्त नै भने जस्तो भयो। अब त सरस्वतीप्रतिको पूजा-आराधना मात्र बाँकी रह्यो । सरस्वतिले राखिदिएको बुद्धि विवेकको प्रभाव सबै हराईसक्यो ।”

उसले अलि जोड दिँदै प्रश्न गो- “तपाईंहरूलाई एउटा कुरा याद छ कि छैन ?” हामी अवाक भयौँ । उसले भन्यो- “ब्रम्हाजीले सृष्टि गरेको धेरै कालपछि मान्छेको गिदीमा बुद्धि भरिदिएको हुँदा आजसम्म पनि मान्छेको गिदीले धेरै पछि मात्र काम गर्छ । मान्छेले हुने नहुने, चाहिने नचाहिने जे पनि गर्छ । जब काम बिग्रन्छ अनि बल्ल पछि बुद्धि आउँछ, चेत आउँछ । त्यो बेलासम्म काम बिग्रनसम्म बिग्रिसकेको हुन्छ । काम बिग्रेपछि बुद्धि त पलाउँछ तर के गर्नु बुद्धिको प्रभाव यत्ति क्षिण भैसकेको छ कि काम टरेपछि फेरि ऊ जथाभावी गर्न थालिहाल्छ । हामी र हाम्रो मुलुकले मात्र होइन आज विश्वकै मानिसले भोग्नु परिरहेको दुःख र त्राहिमाम यसैको कारण त हो नि !”

सज्जन साथी एकछिन चूप लाग्यो । प्लेटको भट्मास चम्चाले समेट्न थाल्यो । उसको कुरामा हामी यत्ति एकचित्त भइसकेका थियौँ कि ऊ एक छिन चूप बस्दा सँगैको साथीले उत्सुकताबस सोधिहाल्यो अनि त्यसपछि…? उसले भट्मास चपाउँदै भन्यो- “मान्छे र सरस्वति दुवै एक आपसमा रमाउँदै थिए, दिन बित्दै थियो । समयको अन्तरालमा मानिसभित्र सरस्वतिले हालिदिएको विवेक बुद्धि र ज्ञानको प्रभाव हराउँदै गएको सरस्वतिलाई थाहै भएन । एकदिन सरस्वतिसँगै मान्छेले पशुवत व्यवहार गर्न थाल्यो । सरस्वति आत्तिइन् । तै तै, त्यही बेला बूढो ब्रम्हा त्यहीँ टुप्लुक्क आइपुगे । मान्छेको यो दुर्नियत देखेर बूढो क्रोधित भए । आफैले गरेको सृष्टिले आफ्नै आमा समानकीलाई दुर्नियत राखेको देख्दा सहने कुरा पनि चिएन । बूढाले कमण्डलुवाट पानी अञ्जुलीमा लिएर श्राप दिदै भने- तँ मान्छे जातिमा जुन पशुवृत्ति छ, त्यो वृत्ति प्रवल रहोस् । तँभित्रका इमान, बुद्धि, विवेक र ज्ञान गौण रहुन् । तेरो जुनी मान्छेको जुनी भए तापनि तेरो विवेकहीनताको कारण आफ्नो विनाशको कारण आफै बनेस् ।”

“बूढा ब्रम्हाको श्रापले मान्छे एकछिन हतप्रभ भयो । तर कतिन्जेल ज्ञान विवेक हराइसकेको मान्छे कतिबेर हतप्रभ हुनु ? एकैछिनमा वंशै बिस्र्यौ । ऊ झन् स्वच्छन्द भएर हिँड्न थाल्यो । मान्छेको यो उदण्डता देखेर अब मान्छेको सङ्गठन गर्नु ठीक छैन भनेर बूढा ब्रम्हा र सम्पूणर् देवताहरू अन्तरध्यान भए ।” एकैछिनको मौनतापछि ऊ फेरि बोल्न थाल्यो- “देवताहरू अन्तरध्यान भएपछि के भयो ? मान्छेले आफूभित्रको पशुतालाई लुकाएर आफैले आफूलाई ईश्वर भन्न थाल्यो । आफैले आफूलाई देवता भन्न थाल्यो । आफैले आफूलाई सन्त महन्त, विद्वान् बुद्धिजीवी भन्न थाल्यो । कोही नेता, कार्यकर्ता बन्न थाले । भित्रभित्रै एउटा, बाहिरबाहिर अर्को गर्न थाले । कतै गोप्य बैठक, कतै खुल्ला गोष्ठी गरेर मान्छेले मान्छेको आँखामा छारो हाल्न थाले । कोही रातारात मालामाल हुन थाले । कोही आ- आफैमा हात हालाहाल गर्न थाले । कोही मान्छे राष्ट्रिय भए, कोही अन्तर्राष्ट्रिय भए । जोसँग ज्ञान बुद्धि र विवेक अलिअलि बचेको थियो ती सबै अराष्ट्रिय भए ।”

“पशुहरू, पंक्षीहरू, जलचरहरू सबै आ-आफ्ना स्वभावमा स्थिर छन् । बाघले आफ्नै बाहुबलले शिकार खेल्छ र पेट भर्नको लागि भोजन जुटाउँछ । त्यसैमा सन्तोष लिन्छ । आफ्नो कर्ममा विश्वास राख्छ । बाघले जतिकै भोकाए पनि घाँस खाँदैन, सिनो खाँदैन । गाई भैँसीले प्रकृतिले दिएको घाँस खान्छ । ऊ भोकै बस्छ र तर हिंसा गर्दैन । आकाशमा उड्ने चराचुरुङ्गी जमीनमा हिँड्दैनन्, पानीमा तैरने माछो आकाशमा उड्दैन । आफ्नो प्रकृति र प्रवृत्तिमा उनीहरू स्थिर छन् । तर सृष्टिको सर्वोत्कृष्ट भनिएको मान्छेले कहाँ, कसलाई, कत्तिखेर, के गर्न बाँकी राखेको छ ? मान्छेको जातले हसुर्‍याउन पाएपछि के छोडेको छ ? अन्न-अनाज, घाँस-पात, माछा मासु, जाँड-रक्सीमात्र होइन, भेट्टाइन्जेल घूस र कमिसन पनि हसुर्‍याउन छोड्दैन । आफ्नो स्वार्थ पूर्ति गर्न मान्छेले मान्छेलाई कहीँ राजनीतिको नाममा मारेको छ, कहीँ अर्थनीतिको नाममा मारेको छ । कहीँ धर्मको नाममा मारेको छ, कहीँ सम्प्रदायको नाममा मारेको छ । कहीँ बाउले छोरालाई मारेको छ, कहीँ स्वास्नीले लोग्नेलाई मारेकी छ । मानौँ मार्नु र मर्नु मान्छेको नियति नै बनिसकेको छ । तपाईंहरू नै भन्नुहोस् पशुवृत्तिभन्दा मान्छेको प्रवृत्ति कहाँ कसरी सर्वोत्कृष्ट छ ? तपाईं राजनीतिलाई हेर्नुहोस् त्यहाँ कुर्सीको लागि हुने ड्वारवार र हड्डीको लागि कुकुरले गर्ने वारवारमा के अन्तर छ ? सिनुमाथि गिद्धहरूको छिनाझपटाई र राजनीतिकर्मीहरूले लाशमाथि गर्ने राजनीतिमा फरक नै के छ ? भैसी र बाख्रीमाथि राँगा र बोकाहरूको आकर्षण र परस्त्रीमाथि ठूला ठालूहरूको आकर्षणमा अन्तर के छ ? स्यालको हुइयाँ झै मान, पद र ओहदाको लागि घरी यता हुइयाँ, घरी उता हुइयाँ गर्ने राजनीतिकर्मीहरूको मानसिकता कुन धूर्त स्यालको भन्दा उत्कृष्ट छ ? जहाँसम्म गधा, गोरुको कुरा रह्यो, जनता जनार्दन गधा र गोरुको जीवनस्तरभन्दा कति पो माथि उठेका छन् र ? जति ऋणको भारी बोकाइदिए पनि बोकेकै छन् । जति जोताए पनि जोतेकै छन् । कसको हिम्मत यहाँ म जोत्दिन भन्ने ? कसको हिम्मत यहाँ म ऋण बोक्दिन भन्ने ? तपाईं भन्न सक्नुहुन्छ ? सक्छन् भन्न कोही ?” उनको हुङ्कारले हामी मौन भयौँ । मेरो मनमा एउटा खसखस लागिरह्यो । मान्छे पशु भएको प्रमाण दिन्छु भनेको थियो सज्जनले । मनमा कुतकुती लागेर सोधे- होइन, तपाईंले मान्छे पशु भएको प्रमाण दिन्छु भन्नुहुन्थ्यो, ख्वै त प्रमाण ?

मेरो प्रश्न सुनेर उसले अर्धमुस्कान मुस्कुराउँदै भन्यो- “लौ हेर । यत्तिबेरसम्म करा गर्‍यो गयो, सीता कस्की जोई ? भन्दा रावणकी भने जस्तो ।” हामी सबै हाँस्यौँ। उसले भन्यो- “हेर्नुहोस्, हामी मान्छेभित्र सम्पूणर् पशुहरूको अंश भएको र हामी स्वयम् पशु भएरै हामीलाई पशु भन्ने गरेको थुप्रै प्रमाण हामीसँग छ । तीमध्य केही म तपाईंहरूलाई सुनाउँछु ।”

उसले भन्न थाल्यो- “तपाईंहरूका केटाकेटी होलान् या घरमा नोकर चाकर होलान् । कहिलेकाहीँ किजो लाग्दा वा उनीहरूले गल्ती गर्दा तपाईं, हामी भन्ने गर्छौँ- उल्लु । साले गधा ! पाजी । गोरु ! उल्लुका पट्टा । फट्याङ्ग्रे । साँढे । आदि इत्यादि । त्यस्तै हामी भन्ने गर्छौँ- तँलाई कुकुर । मर्‍या स्याल ! हेर हेर बङ्गुर । तँलाई सुँगुर । भालुभुत्ले । तैँलाई गिद्ध । भेडे । तैँलाई सुँगुरको छाउरा । तँलाई ढाडे । ढेडू । आदि इत्यादि । गालीकै भाषामा होस् वा प्यारको बोलीमा, मान्छेले मान्छेमाथि गर्ने यिनै सम्बोधनहरूले हामी मानिसहरू विभिन्न पशुहरूको गुण स्वभाव भएको प्राणी रहेको प्रमाणित हुन्छ । अब तपाईंहरू नै भन्नुहोस् सृष्टिको इतिहासदेखि वर्तमानसम्म मानिसले आफ्नो विकासक्रममा स्वार्थका लागि सर्वोत्कृष्ट हुने जुन देखौवा गर्दै आइरहेको छ, निरीह पशुहरूको निश्वार्थताको अगाडि के भन्ने ?”

अगाडिको साथीले उठ्दै भन्यो- ‘महापशु वृत्ति’ । हामीले पनि होमा हो मिलायौँ । खानपिन सकिइसकेको थियो । सबैभन्दा पछि उठ्ने साथीले ‘इति श्रीमहापशुपुराण’ भनेर उठ्यो। हामी सबै गलल्ल हाँस्यौ । सज्जन पनि हाम्रो पछि लागे ।

०००
श्रीपशुमहापुराण’ (२०५७)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी