साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदकलाई सम्मान

पदक भनेको पदकै हो क्या त्यो चानचुने मान्छेले पाउने चानचुने कुरा होइन । जस्तासुकै भए पनि पदक पाउने मान्छेलाई मान्नै पर्छ । नमानेर हुँदैन । मान्नुभएन भने तपाईं खत्तममा गनिनुहुन्छ । नमान्नु पर्ने कारणनै के पो हुन्छ र ।

Nepal Telecom ad

हेम अधिकारी :

हुन ता राम्रोसँग वेद पाठ गर्ने व्यक्तिलाई पनि पदक भनिन्छ तर हामीकहाँ फरक छ । पदक भन्ने बित्तिकै सम्मान शब्द सँगसँगै आइहाल्छ, लुतो भन्ने बित्तिकै चिलाउने आए जस्तै । त्यो शब्दनै सम्मानित शब्द हो । त्यसैले पदक पाउने मान्छे भन्ने बित्तिकै सम्मानित भनेर नबुझी हुँदै हुँदैन । तपाईंले पदक पाउने मान्छेलाई चानेचुने र भारेभुरे सम्झनु भयो भने उहिले घडी वाइलिङ् गरेजस्तै तपाईंको मथिङ्गल वाइलिङ् गर्ने बेला भयो भन्ने सम्झे हुन्छ । होइन कथंकदाचित पदक दिने तरिकालाई पो वाइलिङ् गर्नुपर्छ भन्ने सम्झना पनि हुन सक्छ । वर हेर, पर हेर, तल हेर, माथि हेर, तँलाई हेर, मलाई हेर, उल्लाई हेर, यल्लाई हेर, जल्लाई हेर, तल्लाई हेर गरेर धारणा बनाउन थाल्नु भयो भने तपाईं खत्तममा गनिन बेर छैन नि ।

मैले आफूलाई भुइँमान्छेमा दर्ता आफैँले गरेको छु । त्यसैले मैले अलेली भुइँमान्छेको आँखाबाट हेर्दा यसरी सबैतिर हेरेर मूल्याङ्कन गर्नु भनेको मूल्याङ्कन कर्ता फेल खानु हो भन्ने बुझेँ । पदक कस्लाई दिने भन्ने कुरा दाताको आशिर्वाद हो त । राम्ररी मूल्याङ्कन गर्नु भनेको काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै हुन्छ । महादेवले रावणलाई तथास्तु भन्दा रामहरूले चित्त दुखाएका त थिएनन् । बरू रावणले रचेको शिव ताण्डवस्तोत्र मज्जाले पढे हुन्, थर्काउँदै गाए हुन् ।

तपस्या पनि हो क्या, पदक पाउन गरिने तपस्या । बिना तपस्या केही पनि पाइँदैन भन्ने कुरो त सबैले बुझेकै छन् । प्राचीनकालमा पनि त तपस्या गरेरै वरदान पाएका थिए । हो, तपस्या मुख्य कुरा हो । प्रश्न आउन सक्छ तपस्या कसको गर्ने ? त्यो त भक्तको इच्छा हो नि । तपाईं जसको भक्तिभावसाथ तपस्या गर्नुहुन्छ उसैले तपाईंलाई वरदान दिने हो । पदक पनि त एक वरदाननै हो । भक्तिसाथ तपस्या गरेवापतको वरदान । अपवाद कोही होलान् तर सद्भक्त बाहेक को परेको छ र पदकको वरदान पाउनेमा ! फेरि म पनि त भक्तै हूँ भन्ने कुरा आउला । उहिल्यैदेखि भक्तिभावमै छु किन वरदान मिलेन भनेर अल्मलमा पर्ने कामै छैन । तपस्याका पनि तह हुन्छन् । तपाईंले कुन तहको तपस्या गर्नुभो आफैँ खुट्याउनुहोस् । तल्लो तहको तपस्या इमान्दारीपूर्वक जिम्माको काम गर्नु हो । निरन्तर काम गरिरहनु होस् तर तपाईं आफ्ना श्रद्धेयको चम्मर हाँक्नु हुन्न भने त्यो तल्लो स्तरको नै तपस्या हुन्छ । यो पदक लायक हुँदैन ।

काम गरिरहने, काम चोरी, ठगी नगर्ने अनि मध्यमस्तरका महानुभावसँग मात्र सम्पर्क छ भने त्यो मध्यम स्तरको तपस्या हो । अहँ यो पनि पदकको वरदान लायक हुँदैन । मरिहत्ते गरेर आफ्ना श्रद्धेयको गणेशले महादेवको वरिपरि घुमेझैँ घुम्ने, कामसाम गोलीमार, ठुलाठुला डिङ हाँक्ने, वरदानको मूल्याङ्कनकर्ता वा सत्ताका धुरीका बिकाउलाई चाकरी गर्न रत्तिभर बाँकी नराख्ने, तनमन वचन धन जे पनि चढाउन सक्ने चाहिँ उत्तम तपस्या हो । यो तपस्याको अर्को गज्जबको नाम छ नि सुन्नु भाको छ के नि । यसको अर्को नाम चम्मरे तपस्या हो । यो चाहिँ अवश्य पनि पदकको वरदानका लागि उत्तमोत्तम योग्य तपस्या हुन्छ । अब विचार गर्नुहोस् तपाईंले कुन स्तरको तपस्या गर्नुभयो । यसका लागि त स्वमूल्याङ्कन गरे पनि भइहाल्छ नि । यस्तो छर्लङ्ग मूल्याङ्कनको कसी भएपछि के को गनगन र कनकन । हाम्रा गाउँघर, टोलछिमेक, शहरबजार सबैतिर थाहा भइहाल्छ नि वरदान योग्य को छ र किन छ भन्ने कुरा । ठुला दार्शनिक खोज्न टाउको दुखाउनुनै पर्दैन नि हाम्रा खुशीराम पाख्रीनले “फाटेको पर्दाले छेकेको हौ छेके पनि छर्लङ्गै देखेको…” भनेर लेखिदिएकै छन् । कति सत्य छ यो । पदकरूपी वरदानको सवालमा बुझ्नेलाई यो कुरो गहिरो छ नबुझ्नेलाई घरमुनि पहिरो छ ।

एकजना निकै विद्वान्, समाजमा राम्रै प्रतिष्ठा कमाएका साथी एक दिन मसँग गफ चुट्न आएछन् । त्यत्तिका मान्छेलाई पनि खसखस लाग्नु गज्जपकै कुरा हो भन्ने मैले नि लख काटेँ । “मैले यी राष्ट्रिय विभूषणलाई साह्रै सम्मानित र राष्ट्रिय गौरव ठानेको थिएँ अब त झत्तु बनाइसके” भनेर गफको थालनीमै पो ठोके । म बिलखबन्दमा परेँ । मूर्ख पनि नबोलुन्जेल बुद्धिमान हुन्छ भन्ने सुनेको थिएँ । बोलेर आफ्नो हैसियत देखाउनु भन्दा नबोलेरै बुद्दिमानी बनूँ भनेर केहीबेर चुप बसेँ । “हैन निकै चाकरी बढ्या छ कि क्या हो ?” भनेर मैतिर पो खनिए । ए बाबारे हो नि ! बोलूँ के बोलूँ नबोलूँ मूर्ख्याइँ खोलूँ पो भो मलाई त । पञ्चायतकालमा पञ्चका मान्छेले पाउँथे । को गतिलो पञ्च हुन्थ्यो र सिधै राजाको चाकरी भ्याउँथ्यो ऊ ता एक नम्बरको पदक पाउन योग्य भैहाल्थ्यो । अझ पहिलो नम्बरका ता राजाकै परिवारले पाउँथे । अनि महापञ्चको चाकरी गर्ने, बडाहाकिमको चाकरी गर्ने आदि आदि ता अब्बल भइहाल्थे । के बाहु, के रत्न, के तारा ती पनि नम्बर नम्बरका पाइहाल्थे । बास कामसामको कुरा छाडिदिनुस् न । मैले पनि बुझेको कुरा तोडिहालेँ । भुइँमान्छेनै भए पनि बेलाबेला ता लजिमे झार भइदिन मन लाग्छ ।

“अहिले गणतन्त्र भनेर के फुलिन्छौ त्यो भन्दा कम छैन अझ गहिरो भएको छ तपस्याको चालामाला ।” उनको गर्ज्याइँ चानचुने थिएन । म उनीजस्ता जानेबुझेका मान्छेसँग टेक लिन सक्ने छँदै थिइनँ । उनी समाज बुझेका, सामजिक काममा जीवनको लामो अंश निस्वार्थ खटेका र सबैका विश्वासिला, सहयोगी थिए । समाजमा दुःख पर्दा र सुख पर्दा मान्छेहरू उनैलाई सम्झिन्थे । सधैँ नरम र मिजासिला मान्छे । आज कि आफूले पाउने लोभ रहेछ र पो गर्जिए भनेर पनि पाप चिताएँ । तर त्यसो ता के हुनु हुनु, फटाफट उदाहरण पो दिन थाले । दुनियाँ जानेका चिनेका मान्छे, कति जानेका रहेछन् रहेछन् । उहिलेका श्री ३ का ठाउँमा अचेलका प्रधानमन्त्री ता हुँदै हुन् । जति प्रजातन्त्र वा गणतन्त्र भनेर फलाके पनि राजनैतिक पुर्ख्याैली विरासत बोकेकै छन् । उनले यसैको मेसोबाट कुरा गर्लान् भनेर अनुमान गर्न मलाई केही आइतबार पर्खनु परेन । प्रजातन्त्र आयो अब जनताका मान्छेले शासन गर्दा ता निष्पक्ष हुन्छ भन्ने कुरा ता कुन देशको कथा पो भएछ । उनले कुराको पोको खोलेर छरेपछि पो मैले ता तीन त्रिलोक चौध भुवन देखेँ । ए बाबै चोक्टा खान ग’की बुढी झोलमा डुबेर मरी भयो त अब !

प्रधानमन्त्रीका दरबारमा सधैँ चाकरी गर्ने काम भनेपछि माखो नमार्ने हरिदत्त, विशालप्रसाद र जयजय कुमारीले त सबभन्दा ठूलो सूर्य पदक पाए रे । अब उनीहरूलाई हामी सबैले सच्चा सुदीर्घ जनसेवी भनेर पो भेट्तैपिच्छे नमस्ते गर्नै पर्ने भएछ । उनीहरू समाजका उदाहरण रे । उनीहरूबाट अरुले धेरै कुरा सिक्नु पर्ने रे । के के हो के के । लौ बराह अवतारनै भएछन् भनेर चित्त बुभाएँ । उनी कहाँ रोकिएर यत्तिमै ।

अनि अर्को पदकको कुरा झन् चाखलाग्दो आयो । मन्त्री र मन्त्रीका मान्छेका वरिपरि घुमिरहने भान्सा बैठके र उनीहरूका पुजारी कर्ण श्याम, चुप्लुक सिंह, नचनी देवी, प्रसादीमायाहरूले चैँ गज्जपको नेपाल चन्द्र सेवा पदक पाए रे । के अचम्म मान्नु र । मूल्याङ्कन पद्धतिले नै उनीहरूलाई छानेपछि ठिकै ता हो । सुदीर्घ देशसेवा, समाजसेवा गरे वापत उनीहरूजस्ता धेरैले प्रत्येक वर्ष यो पदक पाउँछन् । यो पनि मैले चैँ ठिकै माने किनभने मन्त्री र उनका आसेपासेका वरिपरि उनीहरूनै घुम्थे । ठुलाबडाले उनीहरूलाईनै चिन्थे । गाउँसमाजमा प्रत्यक्ष काम गर्ने, समाज सेवा गर्ने मान्छेको ता नामनिसाननै थाहा हुँदैन ।

उनीहरूलाई अनि कसरी दिउन् त पदक । अब जनताले उनीहरूलाई उदाहरण मानेर काम गर्नु पर्छ किनभने उनीहरूनै समाजका अनुकरणीय अगुवाहरू हुन् । यो ता सही कुरा हो । पदक पाउन, सम्मान पाउन पनि गाउँघर, सरसमाजमा काम गरेर हुन्छ त ? त्यस्तो कहाँ हुन्छ र । साँच्चै देशसेवी, समाजसेवी र जनसेवी हुनु छ भने उनीहरूले जस्तै गर्नुपर्छ । लुरुलुरु गाउँसमाजमा काम गरेर कहाँ हुन्छ र ! तपाईं घरबार चाहारेर होइन दरवार चाहारेर मात्रै पदक भागी हुनुहुन्छ । कुरो बुझ्नु खाँटी खुरुखुरु धाउनु माथि । अनि आउँछन् खोजी खोजी पदक रोजी रोजी ।

कुरो कहाँ सकियो र ! कुरो र कुलो जति तन्कायो उति तन्किन्छ । सूर्य पदक र चन्द्र पदक त भए अझै बाँकी छ तारा पदक । त्यो पनि तारा एक, तारा दुई, तारा तीन कति हो कति ! अब छरिएछ तारा त नाराजस्तै देशैभरि, आफू त परी जगतैभरि भनेझैँ । उनीसँगै पढेका र एउटा जागिर खाएका अनि त्यही जागिरलाई मेलोमेसो बनाएर निकै कमाएका बहादुर भक्त र नमस्ते कुमारी पनि यही नेपाल ताराको कुन चाहिँ त पड्काइ पो हालेछन् । उनीहरू नेता आउँदा चाकरी पुर्‍याउन साह्रै सिपालु । आएनन् भने काठमाडौं पनि धाउन साह्रै सिपालु । आफ्ना कार्यालयबाट के के कामको निहुँ मिलायो काठमाडौं गएर नेता, मन्त्रीका कार्यालय, आवास पुग्यो भेटघाट गर्‍यो फर्कियो । मन्त्री, नेतासँग भेटघाट भइरहेपछि आफ्नो गाउँठाउँमा पनि ह्वात्तै वजन बढ्ने, धाक लाउन पाइने, काम पनि खासै गर्नु नपर्ने । यस्ता माहिर रहेछन् र पो पदक पाएछन् त ।

मलाई दिक्क लागिसक्यो । किनभने आफू त पदकसदक सुनेको मान्छे मात्रै परियो । पदक पाउने त साह्रै ठुला हुन्छन् रे भनेर बोल्न पनि डर लाग्ने भुइँमान्छे न परियो । मन मनमा सोचेँ साथीलाई त खा बाबै केरा जस्तो पो भो कि भनेर ।

जेसुकै होस् काँक्राका चिरा आइपुगेछन् । तिनै चबाउन थाल्यौँ । कता कुन् कुन् गाउँमा रे राजनीति भनेर ठुलाबडाकै आशिर्वादमा र पैसाका भरमा पद पाएका ककसले पनि पाए भनेर साथीको लामै फेहरिस्त गयो । मैले त सानो बुद्धि सम्झिन पनि सकिनँ । यस्तै हुन् पदक र तक्मा भन्ने कुरा माथिबाट वर्षिने हुन् ककस्का थाप्लामा पर्छन् पर्छन् । राणाकालमा उनैका परिवारलाई पर्थे । पञ्चायत कालमा राजाका र महापञ्चका मान्छेका थाप्लामा पर्थे, अहिले गणतन्त्रकालमा नेताका र मन्त्रीका मान्छेका थाप्लामा पर्छन् । पदक चाहिनेले उनीहरूको चाकरी पो गर्नसक्नु पर्छ त त्यसै हुन्छ ? उहिल्यैदेखिको चलन फेरिएर त्यहाँसम्म आइपुगेछ पो त ।

पदक भनेको पदकै हो क्या त्यो चानचुने मान्छेले पाउने चानचुने कुरा होइन । जस्तासुकै भए पनि पदक पाउने मान्छेलाई मान्नै पर्छ । नमानेर हुँदैन । मान्नुभएन भने तपाईं खत्तममा गनिनुहुन्छ । नमान्नु पर्ने कारणनै के पो हुन्छ र । छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित, सुन्नु भएकै होला । छैन भने पनि तालुमा आलु फल्न ठालुनै हुनु पर्छ भन्ने त बुझेकै हुनुपर्छ । त्यसैले धेरै मानापच्चिसी गरिरहनु पर्दैन उनीहरू ठालुनै हुन् । त्यसैले गतिलै हुन् । उनीहरूले गरेका काम जस्तै भए पनि गतिलै र राम्रै भन्नुपर्छ । उनीहरू त जनता र देशका सुदीर्घ सेवी हुन् भन्नै पर्छ । सिरकमा मुख छोपेर लोप्र्‍याउनुको केही अर्थ छैन । सिरक बाहिर मानसम्मान अरुलाई भन्दा धेरै उनीहरूलाई गर्नैपर्छ । ल, त्यसो पनि चित्त खाएन भने त्यो पदकलाई त मान्नै पर्छ नि ।

जस्तोसुकै अनुहारका मान्छेले लाए पनि राम्रो टोपीको तारिफ हुन्छनै । त्यो लगाउनेको अनुहारको के मतलव हुन्छ र ! त्यस्तै हो ,अझ त्यो भन्दा कति हो कति माथिको हो पदक । त्यसैले पदकलाई मान्नै पर्छ । पदकको सम्मान गर्नैपर्छ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x