कृष्ण प्रधानम फुटबल खेल्दिनँ (३)
ओके...जे होस्... एउटा कुरा भन्छु.... प्रवीण एक्सलेण्ट एण्ड ट्यालेण्टेड फुटबलर हो । यसले फुटबल कस्तो खेल्छ हामीलाई मात्र होइन स्कूललाई थाहा छ । र मेरो अनुरोध प्रवीण फुटबल खेल्छ... हिप हिप हुर्रे.. प्रवीण फुटबल खेल्छ...

कृष्ण प्रधान :
तेस्रो दृश्य
स्थान – उही फुटबल ग्राउण्ड… उही साथीहरू
(सबै साथीहरूले प्रवीणलाई घेरिरहेका छन् । प्रवीण घुँक्क-घुँक्क गरेर रोइरहेको छ । सबै साथीहरूलाई पनि खल्लो अनुभव भइरहेको छ । वातावरण दुःखदपूर्ण छ… सुनसान… स्तब्ध छ)
प्रवीण – (घुँक्क घुँक्क रुँदै) टेष्टमा आउट अफ टुवेण्टीमा सेभेन्टिन ल्याउँदा पनि कम्ति भयो अरे ! नाइन्टि पर्सेण्ट ल्याउनु भन्छ । मैले सकेकै त्यति हो ।..कसरी नाइन्टि पर्सेण्ट ल्याउनु ? इट इज इम्पोसिबल फर मी… ! अबदेखि तिमीहरूसित म फुटबल खेल्दिनँ । मलाई माफ गर साथी हो माफ । मेरी मम ता टिचर हुन् । अरे यार… ममले अरुसित मलाई कम्पेयर गर्छिन् । जुन कुरो मलाई पटक्कै मन पर्दैन । मुन्सी गाउँको सोनामले हण्ड्रेड पर्सेण्ट ल्यायो तैँले किन ल्य़ाइनस् भनेर रातदिन मलाई स्कोल्ड गर्छन् मम ड्याडले (घुँक्क घुँक्क गर्छ)… म सोनाम हुन् सक्दिनँ… सोनाम म हुन सक्दैन । मेरो जति क्यापासिटी छ त्यति नै ता म मार्कस गेन गर्छु होइन भन् ता गाइज । अबदेखि म रातदिन पढ्छु । म बुक वर्म मात्र भइदिन्छु । संसारको वाह्य कुरासित, आउट नलेजदेखि म अब टाढिन्छु । किन बुझिदिँदैनन् आधुनिक सभ्यताले मातिएका मेरा मम ड्याडहरूले मेरो मनोविज्ञान । आउट अफ टुवेण्टीमा टुवेण्टी ल्याउने मेरो क्षमता छैन । मेरो यो कमजोरी पनि हुनसक्छ । मेरो कमजोरीलाई बुझिदिने कोशिश नगरेर मेरा मम ड्याडले मलाई जबरजस्ती किन गर्छन् ? यो मैले बुझ्न सकेको छैन । म गल्ती हुँ कि मेरा मम ड्याड गल्ती हुन् यसको छिनाफाना कसले गरिदिने ? रेमेम्बर इट सोनाम मात्र होइन म कसैसित कम्पिट गर्न पढेको होइन । ! सबै स्टुडेण्टस् हण्ड्रेड पर्सेण्ट ल्याउँने हुँदैनन् । यो किन बुझ्दैनन् मेरा महान मम र ड्याडले ?
टीका – (आँखाको आँसु पुछ्दै) हामी गल्तीमा छैनौँ पक्कै पनि । गल्ती ता हाम्रा प्यारेण्टस्कै छ । मलाई पनि रातदिन पढ्नु मात्रै भन्छन् । अरुसित कम्पेयर गर्छन् । हाम्रा अन्य साथीहरूसित हाम्रो तुलना गर्दा हाम्रो हृदयमा कति हर्ट गर्छ त्यो हाम्रा प्यारेण्टसले बुझेका छन् ? लु एकक्षणलाई हामी अहिले यो उमेरमा बुद्धु, गोबरगणेश हौँला अरे तर पछि गएर हामीले साइन गर्न सक्दैनौँ भन्ने के ग्यारेण्टी छ ?
आयुष – सानामा गोबर गणेश तर पछि गएर महान् महान् व्यक्ति बन्ने कति छन् कति ।
नवीन – अभियसली । अरे आइन्स्टाइन सानामा गणितमा लद्धु थिए, कति गोबर गणेश थिए भन्ने कुरा हामी सबैलाई थाहा छैन र ? तर तिनै गोबरगणेश लद्धु आइन्स्टाइन पछि गएर वैज्ञानिक बने ।
टीका – हाम्रो मनोस्थित्ति नबुझी प्यारेण्टले हामीलाई किन अण्डरस्टिमेट गर्छन् यो चाहिँ मैले बुझ्न सकेको छैन।
हरि – होइन गाइज.. म ता मेरा प्यारेण्टसको चर्तीकला देखेर हाँस पो उठ्छ । यिनीहरूलाई पो साइकियाट्रिष्टलाई देखाउनु पर्ने । अब हेर् न.. मलाई गीत गाउन मनै पर्दैन जबरजस्ती गीत गा कि गा भन्छन् यार ! प्रशान्त तामाङ इण्डियन आइडल भएको हो कि होइन मेरा प्यारेण्टसलाई पो स्याउँ-स्याउँ भएको देख्दा अचम्म लाग्छ यार । वाट इज दिस ? मलाई खासमा नक्सा बनाउनु कस्तो मनपर्छ । नक्सा राम्रो बनाउँछु पनि… अरे नक्सा बनाउनै दिँदैन ।
आयुष – उनीहरूले जीवनमा गर्न नसकेका कुरा हामीलाई लदाउँछन् । हगे हग् मुत कार गरेर कहाँ हुन्छ हौ हन । सो इजी हई ।
प्रवीण – गधालाई धोएर कहिल्यै गाई हुँदैन । तर मेरा मम् ड्याडले गधालाई धोएर गाई बनाउने मूर्ख प्रयास गरिरहेछन् । तर यसको नतिजा पछि गएर भयानक हुनसक्छ ।
नवीन – तेरा मम ड्याड मात्र होइनन् इच एण्ड एभ्री प्यारेण्ट ह्याज दिस ह्याबिटस् । मेरो आफ्नो बारेमा के भनुँ ? तिमीहरूलाई राम्ररी थाहा छ म कस्तो गाउँछु । स्कूलमा कुनै कन्सर्ट भयो कि फादर र मिसहरूले मलाई गीत गाउऩैपर्छ भन्छन् ।
आयुष – हाम्रो स्कूलको टप मोष्ट सिङ्गर तैं ता हो भन्ने सबैलाई थाहा छ नि । कस्तो दामी गाउँछ यसले अन्त ।
नवीन – मेरो पढाइ डिस्टर्ब हुन्छ अरे अन्त मैले गाउनु पाउँदिनँ अरे । मलाई गीत गाउँनै दिँदैनन् । म फर्स्ट डिभिजन हुन नसके पनि एउटै क्लास रिपिट गर्ने स्टुडेण्ट पनि ता होइन । तिमीहरूलाई थाहा छ कि छैन कोनि क्लास टिचर मिस भट्टाचार्य घरेमा आएर ममलाई कति रिक्वेष्ट गरिन् मलाई गीत गाउनु दिनु भनेर। ममले मेरो पढाइ बिग्रिन्छ भनेर डाइरेक्ट डिनाई गरिदिइन यार । मिसको छेउमा कस्तो लाज लाग्यो ।
टीका – हाम्रा प्यारेण्टसको मुखमा एउटै कुरा झुण्डिएको हुन्छ… नानीको पढाइ बिग्रिन्छ । वाट इज दिस यार ? हामी सँगै पढ्ने अनुप चक्रवर्तीकी ममलाई हेर् ता.. त्यसलाई आइतबारे पिच्छे सिन्थेसाइजर सिकाउँन् टिचरकहाँ पुर्याउँछिन् । पुर्याउनु मात्र होइन क्लास नसकिञ्जेल रुङेर बसिरहन्छिन् अनि क्लास सकिएपछि घर ल्याउँछिन् । खै त्यो चक्रवर्तीको पढाइ बिग्रिँदैन ता ।
हरि – प्रत्येक एकजाममा त्यो पड्के सिक्स्थ सेभेन्थ र्याङ्कमा आउँछ ।
आयुष – हो… यो चैँ अचम्मको कुरा हो गाइज… उनीहरूका प्यारेण्टस कति कन्सियस् हुन्छन् । म्यूजिक क्लासमा होस् कि स्पोर्ट्स होस् वा नानीको एक्जाममै किन नहोस् उनीहरूका प्यारेण्टस् आफै पुग्छन् तर हाम्रा प्यारेण्टस चाहिँ… ।
प्रवीण – (कुरा काटेर) हाम्रा कतिपय प्यारेण्टसहरू चाहिँ घरभित्र बसी टिभीको सिरियलमा मस्त कि ह्वाटसएप र म्यासेञ्जरमा मस्त हुन्छन् । छोरा-छोरीहरूले के पढ्दैछन् के गर्दैछन् के थाहा ममहरूलाई । ड्याड ता विचारा काममा जान्छन् । नानीहरू फेसबुकमा पो मस्त छन् कि मोबाइलमा मक्ख छन् त्यो याद गर्छन् ? गर्दैनन् ।
नवीन – अन्त टेष्टमा मार्क्स कम्ति आयो भने ननस्टप गनगन कचकच शुरु हुन्छ है । अरे टेष्टमा टुवेण्टिमा टुवेण्टी पर्सेण्ट खोज्ने प्यारेण्टसले आफ्ना नानीहरूलाई हण्ड्रेड पर्सेण्ट ध्यान दिनुपर्ने होइन र ?
हरि – भन्नु उसो होइन.. मेरी मम्मी चाहिँ यो सबमा स्ट्रिक्ट छिन् । म पढ्दाहुँदी मसितै बसिरहन्छिन् । मोबाइल स्कूलमा लानै दिँदिनन् । स्कूलबाट आएपछि मोबाइल दिन्छिन् त्यो पनि रातभरिको लागि होइन… पढ्नु बसेपछि मोबाइल मम्मीको कस्टडीमा हुन्छ । यसकारण म ता भन्छु, सबै प्यारेण्टस एकैनासे हुँदैनन् ।
प्रवीण – जे भन गाइज हो… मेरो विचारमा हामीले हाम्रा प्यारेण्टसलाई लिएर एउटा काउन्सिलिङ गर्नुपर्छ । तर हामी भुराहरूको कुरा कसले सुनिदिने ? कसले बुझिदिने ?
आयुष – ओके…जे होस्… एउटा कुरा भन्छु…. प्रवीण एक्सलेण्ट एण्ड ट्यालेण्टेड फुटबलर हो । यसले फुटबल कस्तो खेल्छ हामीलाई मात्र होइन स्कूललाई थाहा छ । र मेरो अनुरोध प्रवीण फुटबल खेल्छ… हिप हिप हुर्रे.. प्रवीण फुटबल खेल्छ…
सबै – (समवेत स्वरमा) हिप हिप हुर्रे.. प्रवीण फुटबल खेल्छ…
प्रवीण – म फुटबल खेल्दिनँ… खेल्दिनँ म फुटबल… ।
पर्दा खस्छ ।
०००
सिलुगढी
Subscribe
Login
0 Comments
Oldest








































