हरियो चश्मा
दारा नङ्ग्रा कहलिएका कर्मेन्द्रियले नै काम चलाउनुभो । पिल्सिँदै गरेको जिउँदो प्राणी समातेर घिचो दार्नुभो । साँप्रा, फिला माकमुक पार्नुभो । रक्सी र फलमासुले उदरपूर्ति भएपछि त्यसै छाड्नुभो ।
नरेन्द्रराज पौडेल :
महान् नेता महान् त्याग ! गच्छेअनुसारका नेता भच्छेअनुसारको भाग । तगडा प्रकारको भक्षणक्रिया र तागतको सञ्चयविना महान् प्रकारको त्याग पो कसरी गर्ने ? अझै कुरा खोलेरै गरौं भने क्रिया कर्मको सन्तुलन नभई महान् पो कसरी बन्ने ? शरीरमा बर्कत नभै हर्कत देखाएर मात्र कसले पत्याउला ! सौ पचास नन्दीभृङ्गी शण्डमुशण्ड अगिपछि नलगाई शिखर चढ्न कहाँ पो पाइएला ? कसरी पो सकिएला ?
हातमा छपक्कै मेहन्दी । नाडीमा सप्तरङ्गी चुरा । गलामा नौरङ्गी पोते । छातीमा झुन्डिएको तीन तोलाको काँडे तिलरी । शिरमा भोले बाबाको भन्दा अल्को जुरो । सिङ्गै डककढाल्नो खुला देखिने ब्लाउज र गैरी टोलका फोहोरमैलामा लतारिँदै, वर्षर्षामासकी इच्छुमती सरिता नाच्तै उफ्रिदै सल्बलाएझै सलल बग्ने सारी । सारीलाई पनि झिलिमिली आवरणमा सजाउँदै लैजाने सितारा टलटल टल्किने पारी । ओठमा लिपिष्टिक, दाँतमा बिरी, गालामा लाली । नङमा पालिस । आँखामाथि आइ ब्रो । सिउँधोमा स्काइ ब्रो, याने सिन्दूर । नाक छेडेर बुलाकी झुन्डिएको । जिउमा ठाउँकुठाउँ ट्याटूका टाटैटाटाले सिँगारिएको ।
झट्ट देख्ता अत्याधुनिक रक, पप जाज गनगन कुनै आवाजको संसारमा रमाउने नृत्याङ्गना या सुरबालाकै अवतार पो हो कि ? मान्छेहरू रनभुल्ल परेर अडकलमै अड्किएछन् । शिवजीका साउने भक्त हुन् कि त भन्ने अनुमान गर्दै थिए कुनै कुनै पर्यवेक्षकहरू, तर एकाएक कताबाट आकाशवाणी पो भयो ।
“नेताजीले पद त्याग गर्नुभो । र नै कृष्ण भगवान्को पुराणमा कहिएको मोहिनी अवतारभन्दा कता कता राम्रो र अनौठो अनि यो कलिजुगमा अन्त कतै कसैगरे नपाइने छायाँवतारमा हुनुहुन्छ । प्राविधिक हिसाबले साबिकमा पुरुष हुनुहुन्थ्यो । हाल आएर महिलामा आवाद हुनुभो । यसलाई अपवाद भन्न मिल्दैन ।” वाणी वर्षण गर्ने महानुभाव अरू कोही नभएर पीए याने नेताजीका स्वकीय सहायक भैदिनुभएछ । त, तिनै पीएज्यूले सारपूर्ण विज्ञप्ति दिएपछि खानपान बिग्रिएर पेट गडबडाए झैँ पर्यवेक्षक वृत्तमा ठूलैखाले खलबली चल्यो । भैमा बोली झर्न नपाउँदै अनेकथरी कोण उपकोणबाट व्याख्या विश्लेषण भए । संश्लेषणका नाना नौरङ्गी सिङजुरा ठडिए । हर्रो बर्रो चिनी चिराइतो विश्लेषणमा घोलियो । टर्रो अमिलो गुलियो स्वाद संश्लेषणमा पनि ठेलियो । यो त पदत्याग मात्रै भएन, लिङ्गै परिवर्तन भयो नि त ? सोध्नेहरूको जिज्ञासा ।
“त्यही त अघिदेखि भन्दै छु- महान् नेता महान् त्याग । भोलि यस्तै त्यस्तै परे उहाँले यो महिलाको रूपमा देखिने महान् पदवी पनि त्यागी दिनुहुनेछ । अनि प्रगतिपथमा छलाङ मार्दै तेस्रोलिङ्गी बनेर यसै धर्तीमाथिको पूर्वी आकाशमा उदाउन असंभव छैन ।” “त्यहाँ पनि असन्तुष्टि आएमा के चै हुने त ?” सोध्नेले प्वाक्कै सोधेपछि भन्नेलाई पनि त कर लाग्यो-
“समलिङ्गी, उभयलिङ्गी, बेलिङ्गी, अतिलिङ्गी जे पनि बनिदिन सक्नुहुन्छ उहाँ त ! यही न हो, महान् नेता महान् त्याग । त्यागले तपस्या जन्माउँछ । तपस्याले लिङ्ग, वणर्, विचार परिवर्तनमा सघाउँछ । उहाँले यी धर्तीमाताको सुपुत्र भएर जे जति गर्नुभो, त्यो अरू खै कसले गर्नसक्यो र ? त्यसमा पनि केही कुण्ठा कमी अप्राप्ति रहे हुनन । तिनलाई पूरा गर्न अझै पनि बेलामौका अनुसार थरीथरीका औतार लिदै जानुहुनेछ । पृथ्वीको भार हर्न उहिले देउदेवताले पनि विभिन्नथरी अवतार लिन्थे रे । राम, कृष्ण, बुद्ध, क्राइष्टलाई पनि त त्यसै भगवान् मानिआएको पक्कै होइन । हाम्रा नेता नायकले पनि एउटै रङ्गढङ्गबाट अन्नदाता पददाता र विधाताको भार हर्न सक्नुभएन । अर्थात् सक्नुहुन्थ्यो, तर प्रतिक्रियावादीहरूले दिएनन् । छिमेकी बैरीहरूको आँखा लाग्यो । त्यसैले विधाताको इच्छाअनुसार उहाँकै निगाह बक्स भएको चुरापोते धागो सिंदूरले सजिएर जरीवाल सारी ढल्काएर निहारिकातिरको अभिसारको तयारीमा हुनुहुन्छ । त्यही न हो- महान् नेता महान् त्याग !
त्यागको पनि सानोतिनो आयतन र परिधि नेताजीलाई मन पर्दैन । साँधसिमानाको परिधिले उहाँलाई निसासो लाग्छ । त्यसैले जङ्गेपिलर उहाँको नम्बर वान दुस्मन बनी आएको छ । अन्तर्राष्ट्रियताको काम ज्वरोले दग्धिएको उहाँको देही एकादेशी सीमाको छेकवार हटाउनै पर्ने ठान्छ । त्यसै प्रयोजनको लागि पनि उताको मेहँदीमा सजिएको हात । उतैका पराइले वरण गरेको सुहागरात । ए रात्तै ! धरतीमा साँच्चै स्वर्गको अवतरण भयो कि त ? “म्यान इज बर्न फ्री बट एभ्री हवेयर ही इज इन चेन्स ।” रूसोले उहिल्यै भनेका थिए रे ! उनैबाट प्रेरणा लिएर बाजे, बडाबाजेहरूले पनि देशका सीमासाँधलाई मानवसभ्यताको बन्धन भनेका थिए । त्यही स्कुलमा डन्डिबियो खेल्दै बडेचडेका नेताजीले पनि सानैमा बाख्रा गोठालो जाँदा श्यालले बोको लगेको खवर सुन्नुभएछ । चट्टै त्यो मुले मनेलाई त्याग गर्नुभो । विदेशमा बस्दा भोटो कछाड छोडेर ककसको जडौरी जामा भिर्नुभो ।
आदतमा अलिअलि बचेखुचेको देशी भनाउँदो अफिम त्याग गर्नुभो । अरूकै दाम्लोमा बाँधिएर काम्लो ओड्नुभो । मुकुट लगाउनुभो । त्यही न हो, महान् नेता महान् त्याग ! सबैभन्दा पहिले श्यालले खाएको बोको त्याग गर्नुभएथ्यो । त्यस्तै चौथीको काँक्रो, शिवरात्रीका मूढा, गण्डकीको पानी, वनडढेको खरानी आदि इत्यादि त्याग गर्दै आउनुभो । उहाँको महान् व्यक्तित्वको अगाडि यी र यस्ता झिनामसिना कुराको बयान, बखान गरी के साध्ये ? सानैदेखि त्यागको मामिलामा नम्बर वान नै रहँदै आउनुभो । पाखण्डपुराणका धुरन्धर प्रवक्ता र वाचनशिरोमणि दरिनुभो । आहार ग्रहण गर्नमा कतै, कहिल्यै सङ्कोच मान्नुभएन । मलमूत्र त्याग गर्नेमा मनकारी हुँदै आउनुभो । अधिक भोजनले फैलिएको वायुप्रदूषणमा लाज घीन देख्नुभएन । देशका दिशा र दर्शन त्याग गर्नुभो । विदेशी प्रभुपादमर्दनमा वरदान देख्नुभो । सबैतिर समभाव समात्नुभो । आत्मभाव लत्याउनुभो । परभाव पुज्नुभो । शक्ति सोपानमा आसक्ति बढ्यो । चढ्न जेजस्तो तिकडमबाजी गर्नुपर्ने हो, गर्नुभो । त्यही महान् त्यागको विशेष फल पाकेर लटरम्म भयो । अरूखाले कुनै किस्मत गर्नुपरेन । सँगैका साथी बने डुकुलन्ठन ।
खसी बेच्ने सोझो नेपाली बाबैलाई झुक्याउनुभएन, सहनै नसक्ने चड्कन दिनुभो । उठ्नै नसक्ने गरी गहिरो न गहिरो खौलामा खसाली दिनुभो । सुधो बाहुन बाजेले डोहोर्याएको त्यो मूले घोर्ले खसीलाई कुकुर भनेर नौलो डार्बिनवादी दर्शनको प्रतिपादन गर्नुभो । अनि बाजेको चित्त डढाएर घोर्लेखसी सित्तै हात पार्नुभो । अनि प्या प्या कराउँदा कराउँदै चौखुर्याएर सिङ्गै रोष्ट बनाउनुभो । काँटा छुरी पनि चाहिएन । दारा नङ्ग्रा कहलिएका कर्मेन्द्रियले नै काम चलाउनुभो । पिल्सिँदै गरेको जिउँदो प्राणी समातेर घिचो दार्नुभो । साँप्रा, फिला माकमुक पार्नुभो । रक्सी र फलमासुले उदरपूर्ति भएपछि त्यसै छाड्नुभो ।
घाउ नै घाउले गनाइरहेको शरीर लिएर सुधो देश थला बसेपछि आफूले चट्ट अवतार फेर्नुभो । बलियो देशलाई निर्बल पारेर व्याधो वाणले घायल बनाउन सकेको बहादुरी देखाएर पराइको मन प्रफुल्ल गराउनुभो । त पो न दूर दृष्टिवाला दुरिष्ट नेता ? त, पो त आफ्नै मासु काटेर भोको बाजलाई दिनमा आनन्द मान्ने शिवि राजा ! तिनलाई पनि बिर्साउने हाम्रा महान् नेताको कत्रो महान् त्याग !
०००
काठमाडौं
‘विमोचनको बिगबिगी’ (२०७३)
Subscribe
Login
0 Comments
Oldest