साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरियो चश्मा

दारा नङ्ग्रा कहलिएका कर्मेन्द्रियले नै काम चलाउनुभो । पिल्सिँदै गरेको जिउँदो प्राणी समातेर घिचो दार्नुभो । साँप्रा, फिला माकमुक पार्नुभो । रक्सी र फलमासुले उदरपूर्ति भएपछि त्यसै छाड्नुभो ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

महान् नेता महान् त्याग ! गच्छेअनुसारका नेता भच्छेअनुसारको भाग । तगडा प्रकारको भक्षणक्रिया र तागतको सञ्चयविना महान् प्रकारको त्याग पो कसरी गर्ने ? अझै कुरा खोलेरै गरौं भने क्रिया कर्मको सन्तुलन नभई महान् पो कसरी बन्ने ? शरीरमा बर्कत नभै हर्कत देखाएर मात्र कसले पत्याउला ! सौ पचास नन्दीभृङ्गी शण्डमुशण्ड अगिपछि नलगाई शिखर चढ्न कहाँ पो पाइएला ? कसरी पो सकिएला ?

हातमा छपक्कै मेहन्दी । नाडीमा सप्तरङ्गी चुरा । गलामा नौरङ्गी पोते । छातीमा झुन्डिएको तीन तोलाको काँडे तिलरी । शिरमा भोले बाबाको भन्दा अल्को जुरो । सिङ्गै डककढाल्नो खुला देखिने ब्लाउज र गैरी टोलका फोहोरमैलामा लतारिँदै, वर्षर्षामासकी इच्छुमती सरिता नाच्तै उफ्रिदै सल्बलाएझै सलल बग्ने सारी । सारीलाई पनि झिलिमिली आवरणमा सजाउँदै लैजाने सितारा टलटल टल्किने पारी । ओठमा लिपिष्टिक, दाँतमा बिरी, गालामा लाली । नङमा पालिस । आँखामाथि आइ ब्रो । सिउँधोमा स्काइ ब्रो, याने सिन्दूर । नाक छेडेर बुलाकी झुन्डिएको । जिउमा ठाउँकुठाउँ ट्याटूका टाटैटाटाले सिँगारिएको ।

झट्ट देख्ता अत्याधुनिक रक, पप जाज गनगन कुनै आवाजको संसारमा रमाउने नृत्याङ्गना या सुरबालाकै अवतार पो हो कि ? मान्छेहरू रनभुल्ल परेर अडकलमै अड्किएछन् । शिवजीका साउने भक्त हुन् कि त भन्ने अनुमान गर्दै थिए कुनै कुनै पर्यवेक्षकहरू, तर एकाएक कताबाट आकाशवाणी पो भयो ।

“नेताजीले पद त्याग गर्नुभो । र नै कृष्ण भगवान्को पुराणमा कहिएको मोहिनी अवतारभन्दा कता कता राम्रो र अनौठो अनि यो कलिजुगमा अन्त कतै कसैगरे नपाइने छायाँवतारमा हुनुहुन्छ । प्राविधिक हिसाबले साबिकमा पुरुष हुनुहुन्थ्यो । हाल आएर महिलामा आवाद हुनुभो । यसलाई अपवाद भन्न मिल्दैन ।” वाणी वर्षण गर्ने महानुभाव अरू कोही नभएर पीए याने नेताजीका स्वकीय सहायक भैदिनुभएछ । त, तिनै पीएज्यूले सारपूर्ण विज्ञप्ति दिएपछि खानपान बिग्रिएर पेट गडबडाए झैँ पर्यवेक्षक वृत्तमा ठूलैखाले खलबली चल्यो । भैमा बोली झर्न नपाउँदै अनेकथरी कोण उपकोणबाट व्याख्या विश्लेषण भए । संश्लेषणका नाना नौरङ्गी सिङजुरा ठडिए । हर्रो बर्रो चिनी चिराइतो विश्लेषणमा घोलियो । टर्रो अमिलो गुलियो स्वाद संश्लेषणमा पनि ठेलियो । यो त पदत्याग मात्रै भएन, लिङ्गै परिवर्तन भयो नि त ? सोध्नेहरूको जिज्ञासा ।

“त्यही त अघिदेखि भन्दै छु- महान् नेता महान् त्याग । भोलि यस्तै त्यस्तै परे उहाँले यो महिलाको रूपमा देखिने महान् पदवी पनि त्यागी दिनुहुनेछ । अनि प्रगतिपथमा छलाङ मार्दै तेस्रोलिङ्गी बनेर यसै धर्तीमाथिको पूर्वी आकाशमा उदाउन असंभव छैन ।” “त्यहाँ पनि असन्तुष्टि आएमा के चै हुने त ?” सोध्नेले प्वाक्कै सोधेपछि भन्नेलाई पनि त कर लाग्यो-

“समलिङ्गी, उभयलिङ्गी, बेलिङ्गी, अतिलिङ्गी जे पनि बनिदिन सक्नुहुन्छ उहाँ त ! यही न हो, महान् नेता महान् त्याग । त्यागले तपस्या जन्माउँछ । तपस्याले लिङ्ग, वणर्, विचार परिवर्तनमा सघाउँछ । उहाँले यी धर्तीमाताको सुपुत्र भएर जे जति गर्नुभो, त्यो अरू खै कसले गर्नसक्यो र ? त्यसमा पनि केही कुण्ठा कमी अप्राप्ति रहे हुनन । तिनलाई पूरा गर्न अझै पनि बेलामौका अनुसार थरीथरीका औतार लिदै जानुहुनेछ । पृथ्वीको भार हर्न उहिले देउदेवताले पनि विभिन्नथरी अवतार लिन्थे रे । राम, कृष्ण, बुद्ध, क्राइष्टलाई पनि त त्यसै भगवान् मानिआएको पक्कै होइन । हाम्रा नेता नायकले पनि एउटै रङ्गढङ्गबाट अन्नदाता पददाता र विधाताको भार हर्न सक्नुभएन । अर्थात् सक्नुहुन्थ्यो, तर प्रतिक्रियावादीहरूले दिएनन् । छिमेकी बैरीहरूको आँखा लाग्यो । त्यसैले विधाताको इच्छाअनुसार उहाँकै निगाह बक्स भएको चुरापोते धागो सिंदूरले सजिएर जरीवाल सारी ढल्काएर निहारिकातिरको अभिसारको तयारीमा हुनुहुन्छ । त्यही न हो- महान् नेता महान् त्याग !

त्यागको पनि सानोतिनो आयतन र परिधि नेताजीलाई मन पर्दैन । साँधसिमानाको परिधिले उहाँलाई निसासो लाग्छ । त्यसैले जङ्गेपिलर उहाँको नम्बर वान दुस्मन बनी आएको छ । अन्तर्राष्ट्रियताको काम ज्वरोले दग्धिएको उहाँको देही एकादेशी सीमाको छेकवार हटाउनै पर्ने ठान्छ । त्यसै प्रयोजनको लागि पनि उताको मेहँदीमा सजिएको हात । उतैका पराइले वरण गरेको सुहागरात । ए रात्तै ! धरतीमा साँच्चै स्वर्गको अवतरण भयो कि त ? “म्यान इज बर्न फ्री बट एभ्री हवेयर ही इज इन चेन्स ।” रूसोले उहिल्यै भनेका थिए रे ! उनैबाट प्रेरणा लिएर बाजे, बडाबाजेहरूले पनि देशका सीमासाँधलाई मानवसभ्यताको बन्धन भनेका थिए । त्यही स्कुलमा डन्डिबियो खेल्दै बडेचडेका नेताजीले पनि सानैमा बाख्रा गोठालो जाँदा श्यालले बोको लगेको खवर सुन्नुभएछ । चट्टै त्यो मुले मनेलाई त्याग गर्नुभो । विदेशमा बस्दा भोटो कछाड छोडेर ककसको जडौरी जामा भिर्नुभो ।

आदतमा अलिअलि बचेखुचेको देशी भनाउँदो अफिम त्याग गर्नुभो । अरूकै दाम्लोमा बाँधिएर काम्लो ओड्नुभो । मुकुट लगाउनुभो । त्यही न हो, महान् नेता महान् त्याग ! सबैभन्दा पहिले श्यालले खाएको बोको त्याग गर्नुभएथ्यो । त्यस्तै चौथीको काँक्रो, शिवरात्रीका मूढा, गण्डकीको पानी, वनडढेको खरानी आदि इत्यादि त्याग गर्दै आउनुभो । उहाँको महान् व्यक्तित्वको अगाडि यी र यस्ता झिनामसिना कुराको बयान, बखान गरी के साध्ये ? सानैदेखि त्यागको मामिलामा नम्बर वान नै रहँदै आउनुभो । पाखण्डपुराणका धुरन्धर प्रवक्ता र वाचनशिरोमणि दरिनुभो । आहार ग्रहण गर्नमा कतै, कहिल्यै सङ्कोच मान्नुभएन । मलमूत्र त्याग गर्नेमा मनकारी हुँदै आउनुभो । अधिक भोजनले फैलिएको वायुप्रदूषणमा लाज घीन देख्नुभएन । देशका दिशा र दर्शन त्याग गर्नुभो । विदेशी प्रभुपादमर्दनमा वरदान देख्नुभो । सबैतिर समभाव समात्नुभो । आत्मभाव लत्याउनुभो । परभाव पुज्नुभो । शक्ति सोपानमा आसक्ति बढ्यो । चढ्न जेजस्तो तिकडमबाजी गर्नुपर्ने हो, गर्नुभो । त्यही महान् त्यागको विशेष फल पाकेर लटरम्म भयो । अरूखाले कुनै किस्मत गर्नुपरेन । सँगैका साथी बने डुकुलन्ठन ।

खसी बेच्ने सोझो नेपाली बाबैलाई झुक्याउनुभएन, सहनै नसक्ने चड्कन दिनुभो । उठ्नै नसक्ने गरी गहिरो न गहिरो खौलामा खसाली दिनुभो । सुधो बाहुन बाजेले डोहोर्‍याएको त्यो मूले घोर्ले खसीलाई कुकुर भनेर नौलो डार्बिनवादी दर्शनको प्रतिपादन गर्नुभो । अनि बाजेको चित्त डढाएर घोर्लेखसी सित्तै हात पार्नुभो । अनि प्या प्या कराउँदा कराउँदै चौखुर्‍याएर सिङ्गै रोष्ट बनाउनुभो । काँटा छुरी पनि चाहिएन । दारा नङ्ग्रा कहलिएका कर्मेन्द्रियले नै काम चलाउनुभो । पिल्सिँदै गरेको जिउँदो प्राणी समातेर घिचो दार्नुभो । साँप्रा, फिला माकमुक पार्नुभो । रक्सी र फलमासुले उदरपूर्ति भएपछि त्यसै छाड्नुभो ।

घाउ नै घाउले गनाइरहेको शरीर लिएर सुधो देश थला बसेपछि आफूले चट्ट अवतार फेर्नुभो । बलियो देशलाई निर्बल पारेर व्याधो वाणले घायल बनाउन सकेको बहादुरी देखाएर पराइको मन प्रफुल्ल गराउनुभो । त पो न दूर दृष्टिवाला दुरिष्ट नेता ? त, पो त आफ्नै मासु काटेर भोको बाजलाई दिनमा आनन्द मान्ने शिवि राजा ! तिनलाई पनि बिर्साउने हाम्रा महान् नेताको कत्रो महान् त्याग !

०००
काठमाडौं
‘विमोचनको बिगबिगी’ (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x