सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मालासंहिता

बन्धुले यस विषयमा पनि सोचिसकेको रहेछ “एउटा कुरा त के बुझ्नु पर्छ भने जसको संसदमा जाने हैसियत नै छैन भने तिनलाई माला लगाइदिन्छ कसले ? ल, लगाउने नै हो भने त्यस्तालाई एक किलोको माला तोकिदिने ।”

Nepal Telecom ad

योगीश कृष्ण :

ज्यान पचास साठी किलोको हुँदो हो । कार्यकर्ताहरू माला लगाउँदै थिए । दुई सय किलोको माला । पार्टी अध्यक्ष आउन पाएनन् । अचानक एक जना उद्योगपतिको नातिको जन्मदिनको भोजमा भाग लिनै पर्ने भयो । त्यसैले अन्तराष्ट्रिय मजदूर दिवसको प्रमुख अतिथि बन्न पाउने अवसर यिनले पाए । उनी मुस्कुराउँदै थिए । आफ्नै दलका प्रमुख विरोधीलाई सम्झेर मुस्कुराएका पनि हुन सक्छन्- आजसम्म त्यसले दुई सय किलोको माला लगाउने कल्पना पनि गरेको छैन होला । यो माला लगाउने अवसर पाउनु चानचुने कुरा होइन । अध्यक्षको सबैभन्दा विश्वासिलो र भावी अध्यक्ष हुने संकेत पनि हो । अचानक केही कार्यकर्ताले माला हातबाट छाडिदिए । उनको गर्दनमा सकश भयो । शंका पनि लाग्यो होला, कतै विरोधी गुटका कार्यकर्ता त होइनन् ? आफ्ना प्रमुख चमचातिर हेरे । हतार हतार स्थानीय चमचाहरूले माला सम्हाले । अहा, कस्तो रोचक दृश्य । मालाको भार नेताको गर्दनमा पर्न छाड्यो ।

टेलिभिजन समाचारमा मालाको वजनलाई विशेष महत्व दिइएको थियो -यसअघि यस जिल्लामा दुई सय किलोको माला फलानो पार्टीका एकजना नेतालाई मात्र पहिराइएको थियो । यिनको पार्टीको यिनी पहिलो नेता हन् जसले दुई सय किलो माला लगाउने अवसर पाए । देशका प्रमुख उद्योगपतिका नातिको जन्मदिनको भोजमा उपस्थित हुनुपर्ने भएकाले अध्यक्ष आउन नसकेपछि फलाना पार्टीका प्रभावशाली एबम् अध्क्षनजिक नेता कायक्रममा सहभागी भएका हुन् ।

उनी अध्यक्षका नजिक थिए, त्यसकारण प्रभावशाली पनि ।नत्र हुन्नथे । पार्टीमा प्रभावशाली हुन पार्टीप्रमुखको नजिक हुनपर्छ । पत्रकारले समाचार भन्ने क्रममा यो रहस्य पनि खोलिदिए । नेताहरूलाई किन यति ठूलो माला लगाइन्छ ? भगवान्को मन्दिरमा यति ठूला माला चढाइन्न जत्रो माला नेताको गर्दनमा भिराइन्छ । के नेता भगवान् भन्दा ठूला हुन् ?

मैले मेरो यो जिज्ञासा मित्रवन्धुसमक्ष राखेँ । ऊ मालाको विषयमा विशेष अध्ययन गर्दै आइरहेको छ । उसले भन्यो“भगबान् कृपाले के फलिफाप हुन्छ, त्यसको ठेगान छैन । तर नेता प्रशन्न भए पद, पैसा, प्रतिष्ठा सब प्राप्त हुन्छ । त्यसकारण नेताहरूलाई ठूलठूलो माला लगाइदिएको हुन सक्छ । जति ठूलो माला त्यति धेरै प्राप्ति ।’

मैले बन्धुको मुख हेरेँ । चारैतिर पोस्टरसाइजका फोटोहरू । मुस्कुराइरहेका नेताहरूको फोटो टाँसिएको भित्ता नेताहरूको अनुहार झैँ चम्किरहेको थियो । नेपालका बहालवाला एवम् पूर्व मन्त्री, प्रधानमन्त्री र विभिन्न दलका नेताहरूको एक से एक उम्दा फोटो । सवका घाँटीमा सय पचास किलोको माला ।

दक्षिणतिरको भित्तामा हेरेँ- एक सय एघार किलोको माला लगाएर चर्चित भएका नेता मुस्कुराइरहेका थिए । भ्रष्टाचारको आरोपमा कारावासको सजाय काटेर रिहा भएका ती नेताको अनुहारमा अदम्य तेज देखिन्थ्यो । भ्रष्टाचार प्रमाणित भएपछि मानिसको अनुहारमा तेज बढ्छ कि सजाय काटेर आएपछि ? यो पनि विश्लेषणको विषय हुन सक्छ ।

मेरो टोलका एक जना पाकेटमार बेला बेलामा थुनिन्थे । रिहा भएको केही दिनसम्म घरबाट बाहिर निक्लँदैन थिए । तर, ती पूर्वमन्त्री गदगद थिए । माला लगाइदिने मानिस भएका भए ती पाकेटमार पनि यसै गरी मुस्कुराउँदा हुन् ।
मैले बन्धुलाई यो कुरा सुनाएँ । उसले जबाफ दियो, “म यो विषयमा पनि अध्ययन गरिरहेको छु । तिम्रो टोले पाकेटमारालाई उसका साथीहरूले रिहा हुनासाथ सम्मानका साथ माला लगाइदिएका भए सभ्वतः ऊ घरभित्र लुकेर बस्दैन थियो । मालामा त्यो शक्ति हुन्छ जसले अनुहार र गर्दनमात्र होइन, लाजसरमलाई पनि ढाकिदिन्छ ।”

संयोग, जुन दलका ती नेता थिए, त्यसै दलका एक युुवा नेतालाई उनका कार्यकर्ताले ५१ किलोको माला लगाइदिए । भ्रष्टाचारमा सजाय पाएका नेताको भन्दा झण्डै आधा । किन यस्तो भयो ? के तिनका कार्यकर्तालाई युवा नेता वृद्ध नेताको तुलनामा आधामात्र भ्रष्टाचारी हुन् भन्ने लाग्दछ ? राजनीतिमा ती वृद्ध नेताको कद भन्दा युवा नेताको कद आधा मात्र छ भन्ने उनीहरूको ठहर छ ? कार्यकर्ताले यो पनि सोचेका हुन सक्छन् अहिले तँ उनको भन्दा आधा तौलको मालाको मात्र हकदार छस् । भविष्यमा देखा जाएगा । प्रगति गर्दै गर ।

लाग्दछ, माला लगाइदिने र लगाउनेहरूको प्रतिस्पर्धा चलिरहेछ । समाचारमा माला लगाएर प्रसन्न भएका नेताहरूको फोटो प्रकाशन भइरहेका छन् । फलानो नेतालाई फलानोे ठाउँमा यति किलोको माला । ढिस्कानो नेतालाई तिलानो ठाउँमा यति क्विन्टलको माला ।

एक जना पूर्वप्रधानमन्त्रीलाई आर्थिक अनियमितताको आरोप लागेका व्यवसायीले मकवानपुरमा ४९ किलोको माला लगाइदिए । उनै नेतालाई कैलालीमा २४ किलोको माला पहिराइयो । यस्तो फरक किन ? नेता उही । माला भने झण्डै आधा ? नेताको गर्दनले के महसुस गर्‍यो होला । यो गर्दन पचास किलो क्षमताको हो, जाबो २४ किलो त फिस्टो बराबर । आधा क्विन्टल माला लगाउन अभ्यस्त नेतालाई कत्तिको असजिलो लाग्दो हो, जब उनलाई आधा तौलको माला पहिराइन्छ ?

बन्धुले जवाफ दियो “मकवानपुरमा भन्दा कैलालीमा आर्थिक अनियमितता सम्भवतः आधा मात्र छ । बन्धुको तर्क छ- नेताहरूको क्षमताको मापन गर्ने आधार माला पनि हुन सक्छ जसरी इन्जिनहरूको हुने गर्दछ- पाँच हर्स, दश हर्स पावर । त्यसैगरी नेताको शक्ति- यति केजी मालाशक्ति भएका नेता । दलका नेताहरूको मर्यादा क्रम पनि मालाशक्तिको आधारमा तय हुन सक्ने बन्धुको विचार छ । जस्तै क्विन्टल मालाशक्ति भएका नेता अध्क्ष्य, तदनुरुप अन्य नेताहरूको । उसको भनाइ अनुसार मालाको विषयमा एउट संहिता बनाउनु जरुरी छ, जसमा राष्ट्रिय सहमति होओस् । मालाको तौलको स्पष्ट आधार तय हुनुपर्दछ, जसले गर्दा कुनै भ्रम सिर्जना नहोस । सत्ता पक्ष र विपक्षी दलका नेताहरूको बराबर तौलको माला लगाउनु वा संसदमा एक सिट मात्र भएको दलले र सय सिट भएको दलका नेताले बराबर तौलको माला लगाए भने मालाको के इज्जत रह्यो ? यस्तो परिपाटी लोकतान्त्रिक हुनै सक्दैन । त्यसकारण लोकतान्त्रिक मालासंहिता निर्माण हुनु आवश्यक छ ।

बन्धुको विचार सुनेर म अलमलिएँ । उसले प्रष्ट पार्‍यो “प्रधानमन्त्रीलाई सय किलोको माला लगाउने हो भने उपप्रधानमन्त्रीलाई पचहत्तर किलो । मन्त्रीलाई सत्तरी, राज्यमन्त्रीलाई पैसठ्ठी । तदनुरुप व्यवस्था हुनुपर्छ । जो संसद्मा छन् सरकारमा छैनन् तिनको पनि संसदसंख्याको आधारमा मालाको तौल निर्धारण गर्न सकिन्छ । जस्तै एक सांसद बराबर एक किलो । बन्धुको भनाइ छ- मालाको तौलबाट नै नेताको संसदीय हैसियत टाढैबाट प्रष्ट हुन्छ । ऊ पाँच किलोवाला फलानो दलको संसदीय नेता हो, दश किलोवाला ढिस्कानो दलको । जसको गर्दनमा माला छैन त्यो फगत नेताको चमचा हो, जसले माला लगाउने पुनित कार्यको संयोजन गर्ने गर्छ ।

बन्धुको तर्क मलाई चित्त बुझेन “हाम्रो संसदीय प्रणालीमा झिँगे दाउ पनि त चल्छ । संसदमा एक सिट छ, तर सरकारमा सहभागी भएर ठूलै मन्त्रालय पड्काउँछ । यस्तो अवस्थामा के गर्ने नि ।” बन्धुले मुस्कुराउँदै जबाफ दियो “यसकोे पनि उपाय सोचिसकेको छु । सरकारमा सहभागी भएकाले न्यूनतम मापदण्डमा थप केही किलो थप गर्न पाउने प्रावधान राख्ने ।”

मेरो चित्त अझै पनि बुझेन “निर्वाचन आयोगमा दर्ता भएका सबै दलले संसदमा प्रतिनिधित्व गर्छन् नै भन्ने जरुरी त छैन । तिनले माला नै लगाउन नपाउने ? त्यस्ता दलका नेताहरूको गर्दनप्रति अन्याय भएन ?”

बन्धुले यस विषयमा पनि सोचिसकेको रहेछ “एउटा कुरा त के बुझ्नु पर्छ भने जसको संसदमा जाने हैसियत नै छैन भने तिनलाई माला लगाइदिन्छ कसले ? ल, लगाउने नै हो भने त्यस्तालाई एक किलोको माला तोकिदिने ।”

उसको भनाइ छ- एउटा माला आयोग गठन गरिनुपर्छ जसले माला पहिरन सम्बन्धी सबै जटिलताको अध्ययन गरेर सरकारलाई सुझाव देओस् । र, यसलाई संविधान संशोधन गरेर परिशिष्टमा राखिदिनु पर्छ जसले कुनै दुविधा उत्पन्न नहोस् ।

यस्तो माला लगाइदिने चलन भारत र नेपालमा मात्र छ । भारतबाट बर्सेनी करोडौँ रुपियाँको फूलमाला आयात हुने गरेको छ । तसर्थ यस विषयमा सरकारले भारत सरकारको आशय बुझेर निर्णय  गर्ने विश्वास लेखकको छ ।

०००
रचनाकाल : (२०७० साल )
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विकास मापन

विकास मापन

याेगीश कृष्ण
खाल्डोको उँचाइ

खाल्डोको उँचाइ

याेगीश कृष्ण
उन्नत धान खेती

उन्नत धान खेती

याेगीश कृष्ण
वास्तविक ऐना

वास्तविक ऐना

कृष्ण शर्मा सुमु
अनुहार देखिने ऐना !

अनुहार देखिने ऐना !

डा. छायादत्त न्यौपाने ‘बगर’
नाकार्षण

नाकार्षण

सञ्जय साह मित्र
कानुन

कानुन

सुरेशकुमार पाण्डे
नेता

नेता

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x