साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो

सत्य र पुग्ने कुरा मानिसको दिमागले बुझ्ने र मनले पत्याउने गरी बोल । मुख छ कि मुलुक छ, मुखका लागि होइन तेरा लागि भनिएको हो । ग्यारेन्टी छ, नम्र भइस् भने सतत् आयु बाँच्छन् । मेरा हजुरबाले भन्नु भएको, दाँत कडा भएकाले चाँडै फुक्लिएका हुन् रे ।

Nepal Telecom ad

यज्ञप्रसाद शर्मा :

मेरो एउटा जिब्रो छ, मेरै मुखभित्र । परबाट हेर्दा कसैले देख्दैन, छैन भन्दा पत्याउँदैन । मेरो मुखमा बसे पनि बाहिरी दुनियाँको बारेमा उसलाई भलिभाँती थाहा छ । आज पानी पर्छ, उसैले भन्छ । कसकोमा भोज छ उसले भन्छ । खाना मीठो वा नमीठो ऊ छुट्याउँछ । मचाहिँ दुःख गरेर जुटाउँछु, खानेकुरा देखेपछि र्‍याल उही काड्छ । मह देखे ओठ वरिपरि चाट्छ, अमिलो अचार देखे फड्काडिन्छ । त्यसैले त्यो अलि उत्ताउलिएको पाएँ भने चर्को नून र पीरो खोर्सानी चबाइदिन्छु । ऊ त्यसबेला अलि अलि आत्तिन्छ । तर यति नकच्चरो छ कि जति नै पीरो भए पनि मरिगए रुँदैन । रुन परे आँखालाई लगाउँछ, भोक लाग्यो भनेर कराउन मुखलाई लगाउँछ । बानी नेताको जस्तै छ, अप्ठ्यारो आफू नबेहोर्ने, सजिलो अरुलाई नछोड्ने ।

मालिकको गाडीले किचेर निर्दोष नागरिकको ज्यान गएछ भने अर्को ड्राइबरलाई हिरासतमा राखेर बाहिरै बस्ने नेता जस्तो, अप्ठ्यारो पटक्कै नबेहोर्ने । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू भागेर अरु अरुलाई फसाए जस्तै । आफू पर्ने भएपछि अरूलाई जोडजोडले दोषारोपण गर्ने प्रसाईं जस्तै । सरकारी सम्पतिमा भागवण्डाको सेटिङ मिलाउने बेलामा आफू अगाडि अनि अख्तियार धाउन पर्ने बेला अरुलाई अगाडि लगाउन सिपालु छ । तर मैले जति भ्रष्टाचारी कसैले तह लगाएको छैन भनेर डङ्का फिँजाउँछ । यस्तो कुरा बारम्बार भनेको भनेकै गरेर भ्रम सिर्जना गर्न माहिर छ ।

जिब्रोको अर्को भूमिका बोल्न सघाउने हो । स्वरयन्त्रबाट आएको स्वरमा धुन सिर्जना गर्ने, बाँसुरी बजाउँदा हातका औला चलाले जस्तो मिठासपूर्ण लय निकाल्न सहयोग गर्ने काम जिब्रोकै हो । बिना जिब्रो मानिस बोल्न सक्दैन । हामीले देखेकै छौं पञ्चायतीकालमा डामिनु परेकोले शेरबहादुरको जिब्रोलाई बोल्न कति गाह्रो छ । तर उनकै अन्य साथीहरूले जिब्रो फड्कारेको हेरौँ त कति सिपालु ।

जिब्रोले गुलियो, पीरो, टर्रो र अमिलो चारवटा स्वाद लिएजस्तै बोलिमा चारवटा स्वभाव देखाउँछ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । जिब्रोको एउटा स्वभाव, देउवा जस्तो । कम बोल्ने, बोलेपछि पुर्‍याएरै छाड्ने । अर्को स्वभाव ओली जस्तो । विषयलाई रमाइलो गरी पस्किने, उखानटुक्का हालेर रसिलो बनाउने तर कुराको सिर्कनाले हानेर थुचुक्क बसाउने । जिब्रोको अर्को स्वभाव बाबुराम जस्तो । टर्रो स्वर निकालेर सिद्धान्तको कुरा गर्ने । नयाँ तर्क खोज्ने, सिद्धान्त कोरल्ने तर बच्चा कहिल्यै नजन्माउने । जिब्रोको चौथो स्वभाव प्रचण्ड जस्तो । पीपलको पात जस्तो हल्लिइरहने, पूर्वबाट हावा आए पूर्वतिर र पश्चिमबाट हावा आए पश्चिमैतिर फर्किने । एमसीसी कुनै हालतमा पास नगर्ने भनेर सडकमा कार्यकर्ता उफार्ने अनि संसदमा छिरेपछि चर्कोस्वरमा त्यसैको समर्थनमा बोलेजस्तो । बुढानीलकण्ठ जाँदा बुढानीलकण्ठको गुणगान, बालकोट गए बालकोटको प्रशस्ती गाउन सक्ने । तर दुवैलाई चक्मा दिएर स्वार्थको कमण्डलु भर्ने दाउ कहिल्यै नछाड्ने । जिब्रोको यो चौथो स्वभावचाहिँ उहिल्यैदेखि प्रचलनमा रहेछ । त्यसैले दुई जिब्रे, छेपारे वा बेसारे भन्ने शब्दहरू शब्दकोशमा राखिएका छन् ।

जिब्रोका केही नराम्रा बानीहरू पनि छन् । कसैले मिहिनेत गरेर, मन पराएर, फकाएर वा रातभरि धान नाचेर मिहिनेत गरेर गर्ल फ्रेन्ड वा ब्वाइ फ्रेन्ड बनायो भने हत्त न पत्त ‘आइलभ यु’ भनिदिने । ‘आइलभ यु’ जथाभावी पर्छ कि भनेर सेच्नै नसोच्ने । टाउको अर्काको फुट्छ, गाला रन्किने गरी झापड अर्केले खान्छ । आँसु झार्नु परे आँखा र हाब्रो काडेर रुन परे मुखलाई लगाउँने, भाग्नुपरे गोडा छँदैछन् । कुटाइ खाने अरु, गाली खाने अरु तँचाहिँ भेटेसम्म मीठा मीठा परिकारहरू खाने ? खीर, पुरी, जुलबी, मासु, कवाफ, तरकारी छानीछानी स्वाद लिने । अचार चाखेर विचार गर्ने । जिब्रो तँ कम बाठो छस् ? मैले साना नानीहरूलाई मकै भट्मास चबाएर मसिनो बनाउन खोज्दा घान हाल्न तम्सिन्छस् । किन भनेको त रसजति तैँले चाख्दो रहेछस्, अनि खोस्टा ओठबाट यमयम भन्दै निकाल्छस् । रसिलो भरिलो खाडीमा जवानी सिद्धिएपछि बारीमा भनेको जस्तो नेपाली पारा ।

जिब्रो तँलाई म अन्तिम कुरा भन्छु । तँ यति सारो स्वार्थी नबन । अरुको दुःख पनि बुझ्ने गर । स्वार्थको भकारी भरिएको दिन तेरो कर्तुतको भाँडो फुट्न सक्छ । जोसिलो मान्छेले तँलाई चिम्टाले समातेर थुत्न सक्छ । दुई जिब्रे भइस् भने तेरो खैरियत छैन । कडा भएर बोलिस् भने तैले मलाई नै गाली खुवाउँछस्, उस्तै परे टाउँको कुटाउलास् । त्यसैले मैले भनेको मान । सत्य र पुग्ने कुरा मानिसको दिमागले बुझ्ने र मनले पत्याउने गरी बोल । मुख छ कि मुलुक छ, मुखका लागि होइन तेरा लागि भनिएको हो । ग्यारेन्टी छ, नम्र भइस् भने सतत् आयु बाँच्छन् । मेरा हजुरबाले भन्नु भएको, दाँत कडा भएकाले चाँडै फुक्लिएका हुन् रे । तँ नरम बन, टिकाउ हुन्छस् । मानिस जन्मिँदा सँगै आइस् मर्दा चितामा सँगै चड्न पाउँलास् । यस कुरामा हेक्का राखेस्, तेरै भलाइका लागि ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x