व्यङ्ग्यात्मक भावभूमिमा भीम गौतमको ‘नेतापाल’
स्वार्थीहरूको निहित स्वार्थजालबाट यो माटोले स्वतन्त्रता खोजेको छ । भुइँफुट्टा वर्गको लखनौ लुट रोकिनु पर्छ भन्ने कवितात्मक आग्रह यस सङ्ग्रहका कवितामार्फत स्रष्टा गौतमले प्रस्तुत गर्नु भएको छ ।
नरनाथ लुइँटेल :
कवितामा पुराना मान्यताहरू भकाभक भञ्जन हुँदै गइरहेका छन् । हिजो निर्माण भएका कतिपय मत र मान्यताहरू अप्रासङ्गिक मान्न थालिएको छ । नयाँ नयाँ बिम्ब र प्रतीकहरूको उपस्थापनले आजका कवितालाई नयाँ आवरण प्रदान गरेको महसुस हुनु स्वाभाविक हो । यसलाई नेपाली कविताको अग्रगमन हैन, बरू अराजकता हो भन्नेहरू पनि छन् । यद्यपि यसो भन्नेहरूको स्वर मधुरो हुँदै गएको देखिन्छ ।
विश्व परिस्थितिमा उत्पन्न नयाँ परिवेश र प्रविधिमार्फत उपस्थित तीव्र परिवर्तनले नेपाली कवितालाई पनि मज्जैसँग छोइरहेको छ । च्याट जिपिटी र एआइको प्रयोगद्वारा समेत कविता सिर्जना गर्ने एउटा पुस्ता हामीहरू बीचमै देखा परिसकेको छ । सर्जकले सिर्जना गरेको सामग्री तत्क्षण सामाजिक सञ्जाल र अनलाइनमा प्रविष्ट गरेर निमेषभरमा
संसारको जुनकुनै पाठकसमक्ष पुर्याउने मात्र होइन सिर्जनामाथिको क्रिया-प्रतिक्रिया तत्काल प्राप्त गर्न सकिने अहिलेको अवस्था हामी कतिपय पुराना स्रष्टाका निम्ति त आश्चर्यजनक परिघटना हुन पुगेका छन् ।
अर्कोतिर छन्दसंरचनामा कविता लेख्ने परम्परा हराइसक्यो भन्ठान्नेहरूलाई यसको पुनर्जागरणले तोबातोबा खेलाइरहेको छ । अहिलेका समीचीन समस्या, मनोदशा, विद्रूपता, मानवीय मूल्यको विघटन जस्ता विषयलाई केन्द्रमा राखेर छन्द संरचनाकै कलेवरमा समेत कविता छङछङाई रहेका छन् । यतातिर पनि नयाँ पुस्ताकै उपस्थिति र सक्रियताले नेपाली कवितामा बिलकुलै नयाँ परिवेश सिर्जना भएको यथार्थलाई कहाँ नकार्न सकिन्छ र ! बरू लेखनाथ, देवकोटा, माधव घिमिरे, युद्धप्रसाद मिश्रहरूका उत्तराधिकारी जस्ता देखिँदै छन् रमेश खकुरेल, रामप्रसाद ज्ञवाली, भूवनहरिसिग्देल, होम सुवेदी, श्रीहरि, कलानिधि, जगदीश्वर, प्रभा भट्टराई, प्रल्हाद पोखरेल, देवी नेपाल, सृजना अर्याल र सुदेश सत्यालहरू ।
त्यसैगरी रिमाल, भूपी, सम र मञ्जुलहरूका उत्तराधिकारी जस्ता देखिँदै छन् श्रवण, भूपिन, नवराज पराजुली, वासुदेव अधिकारी, अमर गिरी, चन्द्र गुरूङ, असिम सागर, मौन आवाज लगायत अहिलेका धेरै कविहरू । छन्, अरू पनि धेरै छन्, तर यी नामले ती सबैको प्रतिनधित्व गर्दछन् भन्ने मलाई लागेको छ ।
अन्यत्र पनि मैले भनिसकेको एउटा प्रसङ्ग यहाँ पनि उल्लेख गर्न सान्दर्भिक लागेको छ- त्यो के हो भने छन्दका हुन् वा छन्दमुक्त वर्तमानका कविताको मूलप्रवृत्ति व्यङ्ग्यात्मक बन्दै आएको छ । पचासको दशकदेखि नै नेपाली कविताले बढी व्यङ्ग्यात्मक शिल्प समात्न थालेको हो भन्दा अर्घेल्याइँ हुन्न शायद ।
२०४६ को राजनीतिक परिवर्तनपछि हामीले जुन आशा र अपेक्षा गरेका थियौँ- हाम्रा आशा, अपेक्षा र आकाङ्क्षामाथि ठिहिरो तुषारो खसेको छ । हाम्रा आस्थाका धरोहरहरू धूलिसात भएका छन् । जसलाई हामीले हाम्रा मुक्तिदाता ठानेर विश्वास सुम्पिएका थियौँ उनीहरू नै महा विश्वासघाती प्रमाणित हुँदै आएका छन् । पटक पटक भइरहेका चुनावमार्फत हामीले प्रदानको गरेको मत उनीहरूका निम्ति भ्रष्टाचार गरेर अकुत धन थुपार्ने लाइसेन्स बनिदिएको छ । हामी मतदान गरेर शासनको आसनमा पुर्याउँछौँ, उनीहरू चाहिँ अरू नै कसैको कठपुतली र मारूनी पो बनिदिएका छन् । हो, यही विसङ्गत यथार्थको चित्रण गर्दै जब कविता लेखिन्छ तब कविताले व्यङ्ग्यात्मक स्वरूप लिनु अनिवार्य हुन्छ । भइरहेको पनि यही हो ।
यता आएर लेखिएका मुक्तक, गजल, कविता, काव्य र महाकाव्यसम्ममा वैपरित्य परिवेशलाई घनिभूत ढङ्गले अङ्कन, उल्लेख र प्रस्तुति गरिँदै आएको छ । राष्ट्र बनाउनु पर्ने ठूलो जनशक्ति, लाखौँ युवा अहिले विदेश पुगेका छन्, हरेक हप्ता हजारौँको सङ्ख्या उतै ओइरिइरहेको छ । गाउँका गाउँ रित्तिएका छन्, खेतबारी बाँझो पल्टिएको छ, करेसो, मझेरी र दलानमा तितेपाती फुलेको छ । राज्य हाँक्नेहरू नै हाम्रा कलकलाउँदा नागरिकलाई विदेश पठाएर, एकप्रकारले भन्ने हो भने वैदेशिक रोजगारका नाममा जोखिमयुक्त देशहरूलाई नागरिक बेचेर प्राप्त हुने रेमिटेन्समाथि
रजाइँ गर्दै आलिसान दरवार बनाउने कुत्सित धन्दामा एकोहोरिएका छन् । हो, यही दुर्दशापूणर् स्थितिको चेतनाले आजका हाम्रा अधिकांश कविता नेता र नेतृत्वका विरूद्ध व्यङ्ग्य-विद्रोह बोलिरहेका छन् ।
बिलकुल यही पृष्ठभूमिमा उपस्थित हुनुभएको कवि हुनुहुन्छ भीम गौतम । चितवन निवासी गौतम कुनै समय मुलुकको कायाकल्प बदल्ने उद्धेश्यका साथ राजनीतिक-कर्ममै क्रियाशील रहनु भएको थियो । तर राजनीति नै कमाउधन्दामा फेरिँदै गएको अनुभूति हुँदै गएपछि उहाँ त्यता पनि सक्रिय रहनुभएन शायद । आफूले अनुभूत गरेका अनुभूतिहरूलाई धेरै पहिलेदखि लिपिबद्ध गर्ने बानीले गौतमलाई कवि व्यक्तित्वमा ढालिरहेकै थियो । यद्यपि आफ्ना लेखोटहरूलाई प्रकाशित गरी सार्वजनिक गर्न भने के कुराले विकर्षण गर्यो थाहा भएन ।
लेख्दै दराजमै थन्क्याउँदै गरिएका अनेकन कविताहरू मध्येबाट जुनजुन हातमा पर्छन् तिनैतिनैलाई टिपेर तयार गरिएको यो सङ्ग्रहको नाम जुरेको छ ‘नेतापाल’ । भीम गौतमको यस कृतिमा ५१ वटा कविताहरू सङ्कलित छन् । नेपाल होइन नेतापाल ! सङ्ग्रहको शीर्षकले व्यङ्ग्यार्थबोध गराउँदै नेपाल भूमिलाई पृथक ढङ्गले चिनाउने प्रयत्न गरिएको छ ‘नेतापाल’ ले । नेपालले अहिले परम्परागत अर्थ र भाव गुमाउँदै गएको, गौरवगाथा हराउँदै गएको, स्वाभिमान र सार्वभौम अखण्डता विच्छिन्न हुँदै गएको, हाम्रा सम्मानित नेता र अगुवाकै कारण यो देशको अस्मिता समाप्त हुँदै गएको तिक्त यथार्थलाई यस सङ्ग्रहका कविताहरूले व्यङ्ग्यात्मक भावभूमिका साथ प्रस्तुत गरेका छन् ।
टुनामुना टुक्का बुन्छ
गुट, झुट, लुट र फुट बजार्दै
सम्वृद्धि खोक्दै विकास भन्छ
ऊ गफै गफ उरेल्छ । (नेता)
‘नेता’ कविताको उद्धरित अंशले हाम्रो राजनीतिक नेतृत्वको बेकामे चरित्रमाथि परिहास गरेको छ । ‘नेता’ बाट आरम्भ भएको सङ्ग्रह ‘देउराली देवीको उग्रकथा‘मा पुगेर टुङ्गिएको छ । कवितामा गौतम कतै ‘गफी बा’सँग गफिनु हुन्छ, कतै आफूलाई उठाएर अलपत्र पार्नेहरूसँग आक्रोश पोख्नु हुन्छ । कतै नियत कुनियतमाथि सूक्ष्म विश्लेषण गर्नुहुन्छ भने कतै आजका बुद्धिजीवीहरूको नवीन परिचयमाथि प्रकाश पार्नु हुन्छ :
तिमीले लगाएको कोट त
अतिरञ्जित अशोभनीय
खुम्चिएर खुजमुजिएको छ भने
तिम्रो घाँटीको टाईले तिमीलाई
सुर्कनी हो है भनेर खिसी गरेको छ । (आजको बुद्धिजीवी)
विषयवस्तुका दृष्टिले सङ्ग्रहका कविता हेर्दा बहुविध लाग्छन् । हाम्रो वस्तु-परिस्थितिलाई विविध कोणबाट हेर्ने सचेतनता द्रष्टा गौतममा रहेको छ । जता जुन कोणबाट हेरे पनि सन्तुष्ट हुन नसकिने स्थितिले उहाँलाई उद्वेलित बनाइरहेको छ । सङ्ग्रहका समग्र कविताले यही भन्छन् । सिमान्तकृत नागरिकमाथि सहानुभूति, पीडित र निम्छराहरूमाथि माया र भ्रष्ट मनोवृत्ति भएकाहरूमाथि तीब्र घृणा-भाव यस सङ्ग्रहमा परेका कविताहरूको मूल विशेषता हो ।
विकाशका नाममा विनाश भैरहेको सन्दर्भ धेरै कवितामा प्रस्तुत भएको देखिन्छ । परिर्वतनले मानिसको जीवनमा, उसको चिन्तन र चेतनामा सकारात्मक परिणति ल्याउनु पर्दछ । अन्यत्र यस्तै भएको छ तर हाम्रै देशमा भएको परिर्वतनले किन सकारात्मक परिणाम जन्माउन सकेन ? त्यसैले कवि गौतमको कविता आक्रोश मथेर परिवर्तनको उल्टो गति प्रदान गर्ने नेतृत्वलाई ‘आजका ढोंगीहरू’ भन्न बाध्य भएको छ :
फुलेका फूल मास्दै
मानव वस्ती
बारूदको धुवाँले
प्रजातन्त्रको खिल्ली उडाउँदै
पापड र पानीको राहतमा
अखबारको अघिल्लो पन्नामा
हैकम जमाएर
हल्लिखल्ली मच्चाउँछन्
आजका ढाँेगीहरू । (विनाशको विरूद्धमा)
जनस्वार्थलाई एकातिर पन्छाई धनस्वार्थलाई मात्र प्राथमिकता दिने दुष्ट मति लिएकाहरूको नालिबेली केलाउन कवि चेतना उन्मुक्त हुन्छ । कवि गौतमले व्यङ्ग्यात्मक प्रविधि अपनाउँदै ‘खन्चुवा’ शीर्षकको कवितामा यसरी व्यङ्ग्य गर्नुभएको छ ः
नेपालीको मन मुटु राष्ट्रियताको ध्वजा खा !
खाँदै जा अखण्डित नेपालको शिर टोपी ढाका खा !
खा ! खा ! स्वणर्िम जीवनका स्वप्न खा ! चित्र खा !
खा ! भष्म बनेर जगतको विचार वाणी बिम्ब खा ! (खन्चुवा)
सकारात्मक कुरो भनेर नकारात्मक भाव व्यक्त गर्ने व्यङ्ग्य प्रविधिको यो सुन्दर नमूना पनि हो । हामी आम नागरिकले देशको सुपरिचालनका निम्ति छानेर पठाएका प्रतिनिधिहरू अफ्नो सम्पूणर् ध्यान खानमै मात्र केन्द्रित गरिरहेका छन् । अनि कविले उनीहरूको खन्चुवा प्रवृत्तिमाथि व्यङ्ग्यको घन नबजारेर के गरून् त ?
पवित्र नेपाली माटोमाथि यो कस्तो अकर्मण्यता, किन यस्तो दुष्कर्म ? आफ्नै स्वत्वमाथि किन यति साह्रो हमला ? हामी कसरी फँस्यौँ यो असहनीय अँध्यारो गर्ततिर ? सङ्ग्रहका कविताहरूले यी र यस्तै प्रश्नहरूको एकमुष्ठ जवाफ खोजेका छन् । दुष्टहरूको दुष्ट्याइँबाट उन्मुक्ति खोजेका छन् । स्वार्थीहरूको निहित स्वार्थजालबाट यो माटोले स्वतन्त्रता खोजेको छ । भुइँफुट्टा वर्गको लखनौ लुट रोकिनु पर्छ भन्ने कवितात्मक आग्रह यस सङ्ग्रहका कवितामार्फत स्रष्टा गौतमले प्रस्तुत गर्नु भएको छ ।
सङ्ग्रहमा केही अभिधामूलक कविताहरू पनि परेका छन् । ‘आमा’, ‘बा’, ‘फूल’, ‘सङ्गीत’ जस्ता कविता अभिधामूलक कविताका उदाहरण हुन् । तथापि यी कविता पनि अभिधा भावका दृष्टिले राम्रा कविता हुन् । गद्यशैली संरचनामा रचित कविताहरूको सङ्कलन यो कृति मूलतः व्यङ्ग्य कविताकृति नै हो भन्ने मलाई लागेको छ । आगे समीक्षक समालोचकहरूको जो ठहर हुन्छ, त्यसमाथि मेरो मतविरोध रहने छैन ।
कवि गौतमको मन पोलिरहेको र कवितामा वर्तमान बोलिरहेको, यो कृति प्रकाशनको सुअवसर प्रदान गरेर फित्कौलीलाई गुनिलो गुन लगाउनु भएकामा हामी यसका स्रष्टाप्रति अत्यन्त आभारी छौँ । आफ्ना सिर्जित सिर्जनालाई बन्द दराजमा गुम्स्याएर नराखी क्रमशः सार्वजनिक गर्दै जान पनि हामी स्रष्टा गौतमलाई हार्दिक आग्रह गर्दछौँ ।
०००
फित्कौली अनलाइन मिडिया
कलङ्की, काठमाडौं
भीम गौतमको ‘नेतापाल’ (२०८१)
Subscribe
Login
0 Comments
Oldest