साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहार : जर्किन

महङ्गो उपहार धेरै किनियो । यो पालि चाहिँ जर्किन किनेको छु : प्लास्टिकको जर्किन । मोलमा पनि हलौं, बोक्न पनि हलौं; शहरमा बसे मट्टितेल हाल्न काम लाग्छ, गाउँमा गए कोदोको तेल हाल्न काम लाग्छ ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

भोजमा हिँडेको । उपहार पनि छ । उपहार नलिईकन पनि कोही भोजमा जान्छ ! म त जति भोजमा गएको छु; उपहार लिएरै गएको छु । उपहार भएन भने भोज खाइसकेपछि बील भिडाउने पो हुन् कि भन्ने लाग्छ । फेरि उपहार भएपछि होटलको खानपीनलाई पनि मज्जाले भोजमा बदल्न सकिन्छ । कतिचोटि बदलियो पनि । तरिका जान्न चाहनुहुन्छ ? त्यसो त म यहाँहरूको सेवामा एउटा ट्रेडिङ्ग सेन्टर नै खोल्ने ताकमा छु । मेरो ट्रेडिङ्ग सेन्टरमा जरुर आउनुहोला, सेवा प्रार्थनीय छ ।

दुनियाँलाई थाहा छ : नेपालीहरूको प्रतिब्यक्ति आय अत्यन्त न्यून छ । मेरो ट्रेडिङ्ग सेन्टरले यो कुरालाई राम्रैसँग आत्मसात् गरेको छ । त्यसैले नेपालमा मेरो ट्रेडिङ्ग सेन्टरको ‘स्कोप’ ‘म्यानपावर कम्पनी’ ‘एनजिओ’ र ‘कम्प्युटर एण्ड ल्याङ्गवेज सेन्टर’को भन्दा कता हो कता बढी छ । विस्तारमा यहाँ ‘आइडिया सेयर’ गरेर म आफ्नो भावी व्यवसायलाई जोखिममा पार्न चाहन्न । सेवाग्राहीले मेरो ट्रेडिङ्ग सेन्टरमै आउनुपर्छ, ढोका खुल्ला छ । यहाँ छोटकरीमा भन्छु— एक त सडक खत्तम छ । दोस्रो, कहाँ, कतिबेला कसले चक्काजामको आयोजना गरिदिने हो, ठेगान छैन । त्यसैले कतै हिड्दा यति दिनमा यहाँ पुग्छु, यति दिन बस्छु र यति दिनमा फर्किन्छु भनेर योजना नबनाए पनि हुन्छ । मेरो ‘आइडिया’ यसैमा जोडिएको छ । कतै हिड्दा थोत्रै भए पनि झोला बोकेर हिड्नोस्; भोक लागेपछि होटलमा पस्नुहोस्; आफूसँग भएको झोलालार्ई होटलवालाले देख्ने गरी कतै राख्नुहोस्; मनचिन्ते खानपीन गर्नुहोस्; थपी थपी खानुहोस्; अघाउनुभयो ? अब विस्तारै बाहिर निस्किनुहोस् र भलाद्मीपाराले सुइकुच्चा ठोक्नुहोस् । होटलवाला ‘सामान यही छ, आउला र वील चुक्ता गर्ला’ भनेर पर्खिबस्छ; उसले खानपीन गर्ने मानिसलाई ‘एक सम्माननीय अतिथि’ र उसले छोडेको सामानलाई ‘बहुमूल्य उपहार’का रूपमा स्वीकार्न आफूलाई तयार पारुञ्जेलसम्ममा उसको अतिथिले नौ डाँडा काटिसकेको हुन्छ ।

कस्तो लाग्यो ‘आइडिया’ ? ‘बुझ्नेलाई इसारा काफी हुन्छ’ भन्छन् । पछिल्ला राजनीतिक घटनाक्रम र उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले राजनीतिबाट बिच्किएको नेपालको कुनै पनि प्रतिभाशाली नेतोले फेला पार्‍यो भने यतिकै आधारमा मैले तयारी गर्दानगर्दै नयाँ व्यवसाय शुरु गर्न बेर छैन । अतः चित्त नदुखाउनु होला ः यो ‘आइडिया’को सर्वाधिकार चाहिँ म आफैमा राख्न चाहन्छु ।

आज चाहिँ विवाहको भोजमा हिडेको छु । भनिरहनु परेन— हातमा उपहार पनि छ । पसलेले बडो मेहनत गरेर उपहारलाई ‘के हो, के हो’ बनाई दिएको छ । पसले— जिन्दावाद ! बाटोभरी मेरो उपहारको बारेमा कसैले भेउ पाउनसक्दैन । हो; पुलिससँग चाहिँ जोगाउनु पर्छ । शहरमा बढ्दैआएको लुट्पाटमा उसको मानिसप्रतिको विश्वास पनि पर्‍यो । त्यसैले ऊ अचेल हरेक मानिसलाई शंकाको दृष्टिले हेर्छ । पुलिससँग जोगिन छिट्छिटो हिडौँ : यो शंकाको अंश ह्वात्तै बढ्छ । बिस्तारै हिडौं : पुलिसले भेट्छ, भेट्छ । पुलिसले भेटोस्, बीच बाटोमै उपहार खोदलखादल पारिदिओस् र उपहारको रङ्गीचङ्गी कागजभित्र प्लास्टिकको जर्किन देखेर दुनियाँ छक्क परोस् : के यो पर्गेल्न सकिने कुरा हो !

महङ्गो उपहार धेरै किनियो । यो पालि चाहिँ जर्किन किनेको छु : प्लास्टिकको जर्किन । मोलमा पनि हलौं, बोक्न पनि हलौं; शहरमा बसे मट्टितेल हाल्न काम लाग्छ, गाउँमा गए कोदोको तेल हाल्न काम लाग्छ; ड्राइभरले डिजेल राखे पनि भयो, भैसी-पालक किसानले दुध-दही राखे पनि भयो; सिरानी हाले पनि लौ, सिरानी नहाले पनि लौ; झुण्ड्याएर राखे पनि हुन्छ, खाटमुनि घुँइक्याई दिए पनि हुन्छ; हरेक रङ्गमा उपलब्ध, हरेक साइजमा उपलब्ध; लौ भन्नुहोस्— उपहारमा प्लास्टिकको जर्किनभन्दा सुविधाजनक अर्को के हुन सक्छ ?

राजनीति गर्नुहुन्छ ? सेबामा जर्किन तयार छ । कतिपय नेताहरूले दाबी गरे जस्तै नेपालमा साँच्चै लोकतन्त्र संस्थागत भई नै सकेको हो भने यसमा जर्किनको योगदान कति रह्यो ? अब निक्र्योल हुनुपर्छ । नेपालका मतदाता नेताको भाषण र राजनीति दलको चुनावी घोषणापत्रले भन्दा प्लास्टिकको जर्किनको आकार र त्यो भित्रको पदार्थको अवस्थाले लठ्ठ पर्दैआएका हुन् भन्ने कुरा कसलाई पो थाहा छैन र ? अझै पनि राजनीतिक दलको सांगठानिक क्षमतालाई ह्वात्तै बढाइदिने क्षमता जर्किनमा बाँकी छ ।

आधुनिक हुन चाहनुहुन्छ ? सहयोगका लागि जर्किन हाजिर छ । आजको कथित आधुनिक नेपाली समाज पानी नभए केही समय बाँच्नसक्छ; तर रक्सी चाहिन्छ; चाहिन्छ । तिर्खा लाग्यो ? बिर्को खोल्नुहोस् र घुट्क्याँउनोस् । घुट्क्याँउदाधुट्क्याँउदै पुरेत आइपुगे ? पानी पिएको भन्नुहोस्; जात ज्यूँ का त्यूँ ! भात पकाउँदा खानेपानीको साटो ‘पिउने-पानी’ हालेर पकाउन मिल्छ कि मिल्दैन ? मेलम्चीको हावादारी कुरालाई थातिराखेर खानेपानी संस्थानले अब यस विषयमा तदारुकताका साथ परीक्षण गरोस्; परिणाम सकरात्मक देखियो भने काठमाडौंको खानेपानीको समस्या आधासरो ‘फू-मन्तर’ हुन्छ ।

बैंक, फाइनान्स र सहकारी संस्थाको नामबाट बाबु तर्सिएको छ; ‘डान्स एण्ड क्याविन रेष्टुरेण्ट’को नामबाट छोरी झस्किएकी छे; बैदेशिक रोजगारका नाममा पटक पटक ठगिएको ज्वाइँ एकसरो लुगाफाटो झोलामा कोचेर ‘कुन नाकाबाट सीमा पार गर्ने’ भनेर सोच्दैछ; आमा एनजिओको नाम सुन्यो कि उतर्सिन्छे; बुहारी बाह्रसय रुपिया तलव तोकेर घाँटी सुकुञ्जेल महिनाभरि पढाउन लगाउने बोर्डिङ्ग स्कूलको ताल देखेर दिक्क छे; सम्धीको ‘लोकतन्त्रलाई संस्थागत गर्न मन्त्री भइहाल्ने’ च्याँखे दाउँ पटक पटक खालको मारतालमा परेको छ, : नेपालको अर्थतन्त्र यतिबेला यति कमजोर छ; धातुजन्य बस्तुको वजन धान्न त्यो किमार्थ तयार छैन । यिनै सन्दर्भसहित फेरि एकपल्ट शान्त चित्तले विचार गरियोस्— उपहारमा यतिबेला प्लास्टिकको जर्किनको विकल्प छ कि छैन ?

तर समस्या के छ भने, नेपाली समाज कुनै पनि कुरालाई केहीबेर गमेपछि मात्र बुझ्दछ । उपहार आज दिनु छ, उपहार प्राप्त गर्नेले गम्दागम्दै चार वर्षपछि गएर मात्र यो बहुमूल्य बस्तुको महत्व पहिल्यायो भने, परेन फसाद !

०००
बोझेपोखरी, ललितपुर
‘मधुपर्क’ (२०६४, जेठ अङ्कबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x