साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहार : जर्किन

महङ्गो उपहार धेरै किनियो । यो पालि चाहिँ जर्किन किनेको छु : प्लास्टिकको जर्किन । मोलमा पनि हलौं, बोक्न पनि हलौं; शहरमा बसे मट्टितेल हाल्न काम लाग्छ, गाउँमा गए कोदोको तेल हाल्न काम लाग्छ ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

भोजमा हिँडेको । उपहार पनि छ । उपहार नलिईकन पनि कोही भोजमा जान्छ ! म त जति भोजमा गएको छु; उपहार लिएरै गएको छु । उपहार भएन भने भोज खाइसकेपछि बील भिडाउने पो हुन् कि भन्ने लाग्छ । फेरि उपहार भएपछि होटलको खानपीनलाई पनि मज्जाले भोजमा बदल्न सकिन्छ । कतिचोटि बदलियो पनि । तरिका जान्न चाहनुहुन्छ ? त्यसो त म यहाँहरूको सेवामा एउटा ट्रेडिङ्ग सेन्टर नै खोल्ने ताकमा छु । मेरो ट्रेडिङ्ग सेन्टरमा जरुर आउनुहोला, सेवा प्रार्थनीय छ ।

दुनियाँलाई थाहा छ : नेपालीहरूको प्रतिब्यक्ति आय अत्यन्त न्यून छ । मेरो ट्रेडिङ्ग सेन्टरले यो कुरालाई राम्रैसँग आत्मसात् गरेको छ । त्यसैले नेपालमा मेरो ट्रेडिङ्ग सेन्टरको ‘स्कोप’ ‘म्यानपावर कम्पनी’ ‘एनजिओ’ र ‘कम्प्युटर एण्ड ल्याङ्गवेज सेन्टर’को भन्दा कता हो कता बढी छ । विस्तारमा यहाँ ‘आइडिया सेयर’ गरेर म आफ्नो भावी व्यवसायलाई जोखिममा पार्न चाहन्न । सेवाग्राहीले मेरो ट्रेडिङ्ग सेन्टरमै आउनुपर्छ, ढोका खुल्ला छ । यहाँ छोटकरीमा भन्छु— एक त सडक खत्तम छ । दोस्रो, कहाँ, कतिबेला कसले चक्काजामको आयोजना गरिदिने हो, ठेगान छैन । त्यसैले कतै हिड्दा यति दिनमा यहाँ पुग्छु, यति दिन बस्छु र यति दिनमा फर्किन्छु भनेर योजना नबनाए पनि हुन्छ । मेरो ‘आइडिया’ यसैमा जोडिएको छ । कतै हिड्दा थोत्रै भए पनि झोला बोकेर हिड्नोस्; भोक लागेपछि होटलमा पस्नुहोस्; आफूसँग भएको झोलालार्ई होटलवालाले देख्ने गरी कतै राख्नुहोस्; मनचिन्ते खानपीन गर्नुहोस्; थपी थपी खानुहोस्; अघाउनुभयो ? अब विस्तारै बाहिर निस्किनुहोस् र भलाद्मीपाराले सुइकुच्चा ठोक्नुहोस् । होटलवाला ‘सामान यही छ, आउला र वील चुक्ता गर्ला’ भनेर पर्खिबस्छ; उसले खानपीन गर्ने मानिसलाई ‘एक सम्माननीय अतिथि’ र उसले छोडेको सामानलाई ‘बहुमूल्य उपहार’का रूपमा स्वीकार्न आफूलाई तयार पारुञ्जेलसम्ममा उसको अतिथिले नौ डाँडा काटिसकेको हुन्छ ।

कस्तो लाग्यो ‘आइडिया’ ? ‘बुझ्नेलाई इसारा काफी हुन्छ’ भन्छन् । पछिल्ला राजनीतिक घटनाक्रम र उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले राजनीतिबाट बिच्किएको नेपालको कुनै पनि प्रतिभाशाली नेतोले फेला पार्‍यो भने यतिकै आधारमा मैले तयारी गर्दानगर्दै नयाँ व्यवसाय शुरु गर्न बेर छैन । अतः चित्त नदुखाउनु होला ः यो ‘आइडिया’को सर्वाधिकार चाहिँ म आफैमा राख्न चाहन्छु ।

आज चाहिँ विवाहको भोजमा हिडेको छु । भनिरहनु परेन— हातमा उपहार पनि छ । पसलेले बडो मेहनत गरेर उपहारलाई ‘के हो, के हो’ बनाई दिएको छ । पसले— जिन्दावाद ! बाटोभरी मेरो उपहारको बारेमा कसैले भेउ पाउनसक्दैन । हो; पुलिससँग चाहिँ जोगाउनु पर्छ । शहरमा बढ्दैआएको लुट्पाटमा उसको मानिसप्रतिको विश्वास पनि पर्‍यो । त्यसैले ऊ अचेल हरेक मानिसलाई शंकाको दृष्टिले हेर्छ । पुलिससँग जोगिन छिट्छिटो हिडौँ : यो शंकाको अंश ह्वात्तै बढ्छ । बिस्तारै हिडौं : पुलिसले भेट्छ, भेट्छ । पुलिसले भेटोस्, बीच बाटोमै उपहार खोदलखादल पारिदिओस् र उपहारको रङ्गीचङ्गी कागजभित्र प्लास्टिकको जर्किन देखेर दुनियाँ छक्क परोस् : के यो पर्गेल्न सकिने कुरा हो !

महङ्गो उपहार धेरै किनियो । यो पालि चाहिँ जर्किन किनेको छु : प्लास्टिकको जर्किन । मोलमा पनि हलौं, बोक्न पनि हलौं; शहरमा बसे मट्टितेल हाल्न काम लाग्छ, गाउँमा गए कोदोको तेल हाल्न काम लाग्छ; ड्राइभरले डिजेल राखे पनि भयो, भैसी-पालक किसानले दुध-दही राखे पनि भयो; सिरानी हाले पनि लौ, सिरानी नहाले पनि लौ; झुण्ड्याएर राखे पनि हुन्छ, खाटमुनि घुँइक्याई दिए पनि हुन्छ; हरेक रङ्गमा उपलब्ध, हरेक साइजमा उपलब्ध; लौ भन्नुहोस्— उपहारमा प्लास्टिकको जर्किनभन्दा सुविधाजनक अर्को के हुन सक्छ ?

राजनीति गर्नुहुन्छ ? सेबामा जर्किन तयार छ । कतिपय नेताहरूले दाबी गरे जस्तै नेपालमा साँच्चै लोकतन्त्र संस्थागत भई नै सकेको हो भने यसमा जर्किनको योगदान कति रह्यो ? अब निक्र्योल हुनुपर्छ । नेपालका मतदाता नेताको भाषण र राजनीति दलको चुनावी घोषणापत्रले भन्दा प्लास्टिकको जर्किनको आकार र त्यो भित्रको पदार्थको अवस्थाले लठ्ठ पर्दैआएका हुन् भन्ने कुरा कसलाई पो थाहा छैन र ? अझै पनि राजनीतिक दलको सांगठानिक क्षमतालाई ह्वात्तै बढाइदिने क्षमता जर्किनमा बाँकी छ ।

आधुनिक हुन चाहनुहुन्छ ? सहयोगका लागि जर्किन हाजिर छ । आजको कथित आधुनिक नेपाली समाज पानी नभए केही समय बाँच्नसक्छ; तर रक्सी चाहिन्छ; चाहिन्छ । तिर्खा लाग्यो ? बिर्को खोल्नुहोस् र घुट्क्याँउनोस् । घुट्क्याँउदाधुट्क्याँउदै पुरेत आइपुगे ? पानी पिएको भन्नुहोस्; जात ज्यूँ का त्यूँ ! भात पकाउँदा खानेपानीको साटो ‘पिउने-पानी’ हालेर पकाउन मिल्छ कि मिल्दैन ? मेलम्चीको हावादारी कुरालाई थातिराखेर खानेपानी संस्थानले अब यस विषयमा तदारुकताका साथ परीक्षण गरोस्; परिणाम सकरात्मक देखियो भने काठमाडौंको खानेपानीको समस्या आधासरो ‘फू-मन्तर’ हुन्छ ।

बैंक, फाइनान्स र सहकारी संस्थाको नामबाट बाबु तर्सिएको छ; ‘डान्स एण्ड क्याविन रेष्टुरेण्ट’को नामबाट छोरी झस्किएकी छे; बैदेशिक रोजगारका नाममा पटक पटक ठगिएको ज्वाइँ एकसरो लुगाफाटो झोलामा कोचेर ‘कुन नाकाबाट सीमा पार गर्ने’ भनेर सोच्दैछ; आमा एनजिओको नाम सुन्यो कि उतर्सिन्छे; बुहारी बाह्रसय रुपिया तलव तोकेर घाँटी सुकुञ्जेल महिनाभरि पढाउन लगाउने बोर्डिङ्ग स्कूलको ताल देखेर दिक्क छे; सम्धीको ‘लोकतन्त्रलाई संस्थागत गर्न मन्त्री भइहाल्ने’ च्याँखे दाउँ पटक पटक खालको मारतालमा परेको छ, : नेपालको अर्थतन्त्र यतिबेला यति कमजोर छ; धातुजन्य बस्तुको वजन धान्न त्यो किमार्थ तयार छैन । यिनै सन्दर्भसहित फेरि एकपल्ट शान्त चित्तले विचार गरियोस्— उपहारमा यतिबेला प्लास्टिकको जर्किनको विकल्प छ कि छैन ?

तर समस्या के छ भने, नेपाली समाज कुनै पनि कुरालाई केहीबेर गमेपछि मात्र बुझ्दछ । उपहार आज दिनु छ, उपहार प्राप्त गर्नेले गम्दागम्दै चार वर्षपछि गएर मात्र यो बहुमूल्य बस्तुको महत्व पहिल्यायो भने, परेन फसाद !

०००
बोझेपोखरी, ललितपुर
‘मधुपर्क’ (२०६४, जेठ अङ्कबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x