साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा आकर्षक नामको खोजीमा

म रित्तो हात फर्किएँ भने क्रान्ति पुरा नगरिकन सिंहदरवार छिरेको भूतपूर्व क्रान्तिकारी जस्तै म पनि स्खलित हुनु हो भन्ने मलाई लाग्यो । त्यसकारण म अगाडि बढिरहेँ ।

Nepal Telecom ad

ऋषिराम पोखरेल ‘बकिमहे’ :

खास उमेर, अवस्था र परिस्थितिमा हरेक मानिस अरुलाई देखेर बहकिन्छ । म पनि अपवाद रहने कुरा आएन । बहकिएर मैले पनि अरुले जस्तै नामलाई सङ्क्षिप्तीकृत अंग्रेजीकरण गरेको थिएँ । डिविले मलाई मैदान छोडि दिएको थियो । तर यसमा अरुका आँखा परे । रिजालले मेरो नामलाई कोतरेर एउटा मात्रै लगेका थिए । तर चौलागाईले दुबै आरलाई लगेर मेरो नामलाई डल्ल्याई दिए । मेरो नाम उनको नामसँग जुध्ने भएकोले म निरास भइसकेको थिएँ । त्यसैताका मैले एउटा भूतपूर्व कविलाई सम्झिएँ । केही प्रेमिकालाई आफ्‌ना वरिपरि घुमाई राख्न एक दुई थान कविता लेख्दा लेख्दै ऊ झण्डै उपमहाकवि भइसकेको थियो । उसले कवित्व कालमा मेरा कानमा खुसुक्क भनेको थियो– “नामलाई अंग्रेजीकरण गर्दैमा काठमाण्डौले कसैलाई देख्दैन । रचनाको स्तर, स्वाद र सन्देशको उचाइ बढाउन सर्जकले वासमतीलाई माछाको झोलले भिजाउनै पर्छ ।”

एक त म मानवतामा विश्वास गर्ने मानिस । जनावरले सिङ जुधाए जस्तै आफ्‌नो नामलाई अरुको नामसँग जुधाउन मैले उचित देखिनँ । अर्को माछा र चामल त्यो पनि बासमतिको मोल सम्झिए पछि मैले नामको अंग्रेजीकरण नै बिर्सिएँ । त्यसैले अरु नै नामलाई खोजेर मैले काम चलाउने कोसीस गर्दै थिएँ । बजार भित्र छिरेर जब मैले आफ्‌नो लागि मिल्ने नाम खोज्न थालेँ, तब पो मलाई यसको असली भाउ मालुम हुन थाल्यो ।

निमेष निखिलले खिलप्रसादको कवितालाई राष्ट्रिय स्तरमै पुर्‍याइसकेको छ । दिपक पाठकका ‘उर्गेनको घोडा’ र ‘माङगेन’लाई युगले अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याएको छ । छबिले अनित्य राख्नुका कारणहरू बिस्तारै प्रकटमा आउँदै जालान् । सुमन मलाई मनपरेको नाम तर कमलचन्द्रले यसलाई बपौती बनाइहाले । अर्को मलाई मनपरेको मित्रलाई सन्जय शाहले शक्तिपूर्वक समातिहाले । सुवास र श्याम बानियाँले छोडेर के गर्नु ? दीपकलाई मेरो पुरानो लेखकीय नाम “जिज्ञासु” नभई भएन । अहिले मसँग कुनै काम छैन । तर फुर्सद कहिले नहुने रामचन्द्र गुरुले फुर्सदी मुठ्याइ हाले । जति राम्रो कविता लेख्दा पनि सन्तुष्ट नहुने विशालले आफ्‌नो नाम आसुतोष राखेको छ । आफ्नै जीवन साथीलाई त पर्याप्त समय सुम्पिन नसक्ने केशवले आफ्नो नाम समर्पण राखेको छ । घोर अन्यायमा पर्दा पनि चुपचाप बस्ने र आफ्‌नो तारिफ आफैँ गर्नेलाई गिताले जिउँदै मरेको मानिस ठान्छ । गिताको यो ज्ञान श्यामकृष्णलाई थाहा नभएको होइन, तर के गर्नु ?

मसान उपासकसम्म पनि नछोड्ने मानिसले भरिएको यो समाजमा उसले के पाओस् ? निधनलाई समातेर चित्त बुझाएको छ । मुना र अनिताले छोटै नाम राखेर कलम चलाएका छन्, भने शान्तिको पुरै नाम भन्नलाई पौन नफेरि हुन्न । कस्ता कस्ता नाम पनि नछोड्ने सर्जकहरूले मेरो लागि के छोडे होलान् ? अब मेरो भागमा कुनै पनि नाम छैन भन्ने मलाई लागेको थियो । तर एउटा आकर्षक नाम नखोजेसम्म मेरो कलम अगाडि बढ्न मानेन । त्यसैले मर्न लागेको आशालाई पनि मैले फेरि जगाएँ । कहिलेकाहीँ लाटाको खुट्टा पनि बाटोमा पर्छ बाउ आमाले भनेको मैले धेरै पटक सुनेको थिएँ । त्यसैले अटल विश्वासका साथ म आकर्षक नामको खोजीमा लागिरहेँ । किनकि यसैलाई कुञ्जी बनाएर मलाई सिर्जनाको ढोका खोल्नु थियो । अक्षरको खेती गरेर मलाई सिर्जनाको सुनौलो बाली भिœयाउन हतार भइसकेको थियो ।

हामीकहाँ जसले, जहाँ, जहिले पनि र जुनसुकै कुरामा पनि निर्धक्क भएर विज्ञतापूर्वक सल्लाह दिन्छ, किनकि त्यसका लागि कसैले पनि यहाँ पढ्नु पर्दैन । यहाँ सबै मानिस गर्भ भित्रैबाट विज्ञ भएर जन्मिएका हुन्छन् । तर अरु अरु देशमा सल्लाह दिनका लागि मानिसले सम्बन्धित विषय पढेर विज्ञता हासिल नगरि हुन्न । हावामा तीर चलाउन पाइँदैन । किनकि सल्लाहाले नकारात्मक परिणाम दियो भने त्यहाँ सल्लाहकार जिम्मेवार हुन्छ । उसले दण्ड सजाय भोग्नु पर्छ । हामीकहाँ कसैले जुनसुकै स्तरको शारीरिक समस्या भन्यो भने वरिपरि बसेर सुन्ने जति सबै उसलाई जिज्ञ डाक्टरले जस्तो सल्लाह दिन अघि सर्छन् । सल्लाहले सप्रियो भने ऊ जान्नेमा गनिन्छ । यसले बिगारे अरुको सर्वनाश हुन्छ । उसलाई केही हुन्न । किनकि यहाँ मुखको बाउको केही जाँदैन । लघुसङ्का गरेपछि अङ्गलाई राम्रोसँग झड्कार्न नजान्नेले पनि तपाईंलाई भारिका भारि सल्लाह दिन्छ । जाबो एउटा नामको कुरा न हो ! सल्लाह दिने मानिसहरू कति निस्के कति ! एउटा साथीले भनिहाल्या्‌े “त्यागी पनि राम्रै नाम हो क्या ?”

‘त्यागी’ मलाई पनि आकर्षक नाम लागेको थियो । तर त्यो नाम लिएपछि मैले मामुली नै भएपनि केहि न केही त्याग्नै पर्ने हो कि वा खरानी घसेर जङ्गल भित्रै छिर्नु पर्ने हो मलाई थाहा थिएन । किनकि स्थानीय एक जना नेताले बिहे गर्ने इच्छा नै त्यागिदिएका थिए । त्यसैले उनलाई मकवानपुरका सन्त नेता भनिदिने मुखहरू पनि केही निस्किए । तर ती मुखहरू बजाउन उनले समय समयमा स्वादिष्ट सित्तन सहित कुनै पनि स्तरको जाँडले भरिदिनु पर्थ्यो । बिहान बेलुका घरको भान्छा चलाउन पनि कठिन हुँदै गएको यो महँगीमा त्यो लन्ठो पनि थपियो भने मलाई चिम्टा र कमण्डलु समाउन धेरै दिन लाग्दैन भन्ने लागेको थियो । त्यसैले त्रसित हुँदै मैले साथीलाई सोधेँ– “ए मोरा । नाम अनुसारको अरुले मबाट काम र आचरण पनि खोजे भने के गर्नु ?

‘हे ऽऽऽऽ ऽ… दाइको कुरा गरेर हुन्छ ?’ साथीले मलाई सम्झायो– “उनले बिहे पो त्यागेका हुन् त । त्यति बाठो मान्छेले गाई काँ’ पाल्छ ? एकातिर सन्त नेता पनि हुन पाइने । अर्कोतिर गोबर घाँस पनि गर्नु नपर्ने ।”

“तै पनि केही न केही त … ?” मैले वाक्य पुरा गर्न पनि भ्याएको थिइनँ साथीले यथार्थको मिठो घुड्को पिलाउँदै मलाई भन्यो– “किन डराउँछस् ? हेर । नेपालमा सबै त्यागी छन् । समय समयमा सबैले मलमुत्र त्याग गरेकै छन् । ठुल्ठुलै नेताहरूले पनि इमान जमान त्यागेकै छन् । बृद्ध असक्त बाबु आमालाई त्याग्ने छोराछोरीको सङ्ख्या पनि कम्ती छैन । अरु बेला राष्ट्र र राष्ट्रियता भन्दै घाँटीका नशा फुलाउने तर विदेशबाट स्थायी बसोबास अनुमति पत्र पाएपछि मातृभूमी नै त्यागेर विदेशतिर भासिने अरु त के पेन्सनधारी राष्ट्र सेवकहरू नै कति छन् कति ! यहाँ नाम अनुसारको काम कसले गरेको छ र ? कस्ता कस्ता राम्रा नाम भएका सहकारीलाई अघि सारेर मान्छेले मकै पोल्ने जनतालाई लुटेका लुट्यै छन् । बिदेशीको दलाली गर्न खुलेका गैह्रसरकारी संस्थाको नाम पनि सुनिरहौँ जस्तो कर्णप्रिय हुन्छ । यहाँ नामसँग डराउनै पर्दैन ।”

साथीले तथ्यपूर्ण धेरै तर्कहरू अधि सारेपछि म तर्कहीन भएँ । प्रतिवादको लागि मेरो दिमागले कुनै शव्द श्रृष्टि गर्न सकेन । तर मेरो मनले अलिकति पनि मानेन । किनकि कस्ता कस्ता नामलाई समेत नछोड्ने राहु केतुहरूले मेरो लागि यस्तो आकर्षक नाम कसरी छोडे होलान् । मलाई विश्वास लागेन । मीठो छ भन्दैमा जुठो खान मलाई नेपाली स्वाभिमानले दिएन । अर्काले जुठ्याएको नामले चोखो रचना हुँदैन भन्ने मलाई लाग्यो । त्यसैले मेरो मनले मलाई अर्कै नाम खोज्न दबाब दिन थाल्यो । खोज्न थालेपछि जे पनि भेटिन्छ अनुभवीहरू भन्छन् । अर्को साथी मलाई सल्लाह दिने मुख तिखारेर बसेको रहेछ । उसले मेरो आवश्यकतालाई बुझेर भन्यो– त्यागीले नहुने भए जोगी राख्न त ।”

‘जोगी’ शब्द सुन्नासाथ मैले मन्दिर वरिपरि हात फैलाउँदै माग्न हिँडिरहेका मानिसहरू सम्झिएँ । परित्यक्त, दुःखी र असक्त मानिसहरू देख्दा मलाई दया माया पनि लाग्छ । त्यस्तालाई म आपुूले सक्ने केही दिन्छु पनि । यो महँगीको बेलामा जोगी नै हुनु पर्‍यो कि जस्तो पनि मलाई लागेको थियो । तर हात खुट्टा सग्ला भएर पनि काम नगरी माग्न बसेको मानिस देख्दा अरुलाई पनि मलाई जस्तै रनक्क रिस उठेर आउँदो होला मैले अनुमान गरेँ । काम गर्ने मानिस नभएर खेतबारी बाँझो रहेको सुन्दा अरुले मलाई के गर्लान् ? अन्न निकासा गर्ने देशले खाद्यान्न आयात गर्नु पर्दाको पीडा मानिसले मैमाथि पोख्लान भन्ने मलाई डर लाग्यो । त्यसैले म एक छिन घोरिएँ । मलाई द्विविधायुक्त अवस्थामा देखेर साथीले मलाई सम्झाउन खोज्यो– “हेर नेपालमा सबै मगन्ते छन् । किनकि किसानले समयमा मल विउ माग्छन् । जनताले विकास माग्छन् । कार्यकर्ताले खानलाई बजेट माग्छन् । मोटर साइकलमा हाल्नलाई तेल माग्छन् । सानाले ठूलासँग माग्छन् । ठूलाले झन् ठूलासँग माग्छन् । झन् ठूलाले विदेशीसँग माग्छन् । विदेशीको जुठो पुरोले नभरिएको झन ठूलो पेट कुनै छ ? तँलाई मात्रै के को डर ? केको लाज ?”

साथीको तर्कले मेरो मुख बन्द गरिदियो । एउटा वाचाल नेताको धुमधडाका भाषण सुनेर भर्खरै सभाबाट फर्किएको एउटा मगजहिन झोले कार्यकर्ता जस्तै म अरुको कुरा नसुन्ने एकोहोरो भएको थिएँ । साथीले सुझाएको नामले मलाई हुनुसम्म लोभ्याएको थियो । तर त्यसलाई ग्रहण गर्नु अघि मैले श्रीमतीको राय लिने बिचार गरेँ । किनकि उनले धेरै पटक मसँग गुनासो गरेको मैले सम्झिएँ । यस पटक भने उनलाई निर्णय प्रक्रियामा सामेल गरेर मैले लोकतान्त्रिक चरित्र देखाउन खोजेँ । सबै घर लोकतान्त्रिक ढङ्गले नचलेसम्म राजनैतिक दलहरू पनि लोकतान्त्रिकले ढंगले चल्दैनन् । अलोकतान्त्रिक राजनैतिक दलले लोकतन्त्रलाई गरिबको घरको बाटो देखाउदैन । लोकतान्त्रिक बिचार, ब्यवहार र आचरण लामो समयको अभ्यासबाट बन्छ । यसको सुरुवात घरबाट नै हुनुपर्छ भन्ने मेरो मान्यता हो । नत्र लोकतन्त्र बाँदरको हातमा नरिवल जस्तै हुन्छ । जबसम्म देश हाँक्ने दलहरू लोकतान्त्रिक हुँदैनन् तबसम्म नीति विधिरहित व्यक्ति केन्द्रित दलहरूले पालैसँग देशलाई लुटिरहन्छन् ।

त्यसै कारण मैले नामाकरणको लागि श्रीमतीलाई सम्झिएको थिएँ । तर वाक्य त के सरकारले विपक्षीको कुनै कुरा नसुने जस्तै उनले जोगी “ज” पनि सुन्न खोजिनन् । किनकि बुढा जोगी भएर आजैदेखि घरबाट निस्किन्छ भन्ने उनलाई लागेछ । त्यो नाम मात्रै हो भनेर सम्झाउन मैले धेरै शब्द खर्च गर्नु पर्‍यो । अन्तमा उनले शान्त हुँदै भनिन्‌– “छोराछोरीको बिहेदान गर्ने बेलामा अप्ठेरो हुँदैन ? जोगीका छोराछोरीला्‌ई कसले बिहे गर्छ ? यहाँका मानिसले पो यो नाम मात्रै हो भन्छन् । टाढाकाले त साँच्चै जोगी भन्दैनन् ? त्यो नाम त हुँदै हुन्न ।”

मानिस जीवनबाट विरक्तिए पछि जोगी हुन्छ भन्ने मैले सुनेको थिएँ । तर श्रीमतीको रुलिङ सुनेपछि म आफैँ जोगीबाट बिरक्त भएँ । तर के गर्नु ? बैरागीलाई आयमेली काँहिला दाइले लागिहाले । वियोगीलाई गोविन्द दाइले कहाँ पुर्‍याए थाहा छैन । अर्का गोविन्दले विनोदी लगिसके । त्यागी, जोगी, वियोगी, विनोदी, बैरागी सबै गएपछि बिलासी र खलासी कसले छोड्यो होला ? भन्ने मलाई लाग्यो । अन्जान, बेजान र अज्ञानलाई मसँग चिनजान पनि नभएकाहरूले तानातान गरेछन् । निराला, परेला, करेला सबैलाई चिलले चल्ला टिपेझैँ अरुले टिपेछन् । पालुङका लक्षमण बर्तौलाले बिर्खे राखेपछि मेरो मन हर्केतिर गएको मात्रै थियो अर्कोले कर्के नजर लगाई हाल्यो । हुक्के, ढोके, पोके, कुम्ले सबै सकिए पछि ठुलो सहरमा पैसा सकिएको एउटा बिदेशी पर्यटक जस्तै म बेखर्ची भएँ । तर त्यो बेखर्ची पनि मलाई मिलेन ।

किनकि यसमाथि अधिकार अर्कैले जमाइसकेको थियो । उसले जनै, सुपारी, कुस, तिल हातमा लिएर अरु त के आफ्‌नै लागि पनि खर्च गर्दिन भनेर किरिया काष्टनै खाइसकेको थियो । उसको पैसाबाट एक कप चिया खाने मानिसले पुरस्कारको बिटो नै भेट्छ भन्दा पनि कोही फेला पर्न सकेको छैन अरुको पैसाले पाए उसले उम्रो पनि बाँकी राख्दैन । तर आफू खर्च गर्दैन । बिहानैदेखि ऊ भोको चितुवाले सिकार खोजे जस्तै खर्चालु घ्यू लाटाको खोजीमा रहन्छ । पैसा नभएर होइन । पैसालाई मिटरब्याजमा लगाएर उसले धेरै जनताको घरखेत खाइदिएको छ । आफ्‌नो खर्चले खाने बानी नपरेकोले उसले पैसा झिक्दैन त्यसैले बेखर्चीमा मेरो दावी पुग्दैन । त्यस माथि उसैको एकलौटी अधिकार छ ।

नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनका अग्रज तथा आदरणीय व्यक्तित्व श्यामप्रसाद शर्माको जन्मभूमि मकवानपुर जिल्लाभित्र साबिककै नामबाट साहित्य सिर्जना गर्ने सर्जकहरू पनि धेरै छन् । पुरुषोत्तमले लेखेका छन्दोबद्ध कविताले कति राम्रोसँग श्रमजिवी वर्ग र उत्पिडित समुदायको मन मुटु छाम्छ सबैलाई थाहा छ । उनले गाएको उनकै गीतले सबैको रगत उमाल्छ । माधव पोखरेलको कविता पनि कति दमदार छ । देवराज खरेलको कविता कति सुन्दर छ । साहित्य र पत्रकारिता प्रति उनको लगानी र निरन्तरता लोभलाग्दो छ । नवराज शर्माको कथा कविताले न्यायप्रेमी स्वाभीमानी तथा उत्पीडित जनताको भाषा बोल्छ । अरुण शर्माको नाटक र स्मरणको सँगालो कति अग्रगामी रुचिकर छ ।

तुलसी घिमिरे र शाम्ब ढकालका कविताले नबजाएका ताली बजाउन सक्ने कविता सानोबाबुले मात्र कोर्न सक्छन् । तौजलेका तालुमा उम्रिबढेका केशहरूले कस्ता कस्ता दुलाबाट निस्केर च्यात्तिएका टोपीलाई चुनौति दिइरहेका छन् । साविककै नाममा कलम चलाएर मिनप्रसाद र राजकुमार लामिछान्‌हरूले शोसक, शासक र प्रशासकहरू मथि मर्लान्त हुनेगरी ब्यङ्ग्यवाण चलाएका छन् । अर्का लामिछाने रमेश प्रसादले शिक्षा क्षेत्रमा भएको विकृति र विसङ्गतिलाई उछित्तो काट्ने जिम्मा नै लिएका छन् । किशन पौडेलका सुत्र कथा पनि कम मूल्यका छैनन् । श्रीराम अधिकारी र देवराज तिवारीका बहुविधागत रचनाले सबैलाई प्रभावित गर्छ ।

गोविन्द र खेम अहिले हामीसँग छैनन् । तर उनीहरूले सुनाएका कविता अहिले पनि मेरो दिमागमा ताजा छ । मकवानपुरको साहित्याकासका एउटा तारा तुलसी थापालाई बिर्सन सकिन्न । त्यस्तै सूर्य शर्मा सूर्यचन्द्र न्यौपाने र इन्द्रजित शर्मा चौलागाईले यस जिल्लामा पुर्‍याउनु भएको योगदानलाई हामीले सम्झिनै पर्छ । सर्जकको नाम जति लामो भए पनि र जति सुन्दर र आकर्षक भए पनि सिर्जनामा दम छैन भने त्यसको के काम ? सर्जकको नामले सिर्जनाको गरिमा बढाउँदैन । बरु सिर्जनाको गहनताले मात्रै सर्जकको गरिमा बढाउँछ भन्ने कुराम म विश्वस्त छु । तर नामको खोजीमा यति लामो यात्रा गरेपछि त्यसलाई नलिई फर्किने मलाई मन भएन । म रित्तो हात फर्किएँ भने क्रान्ति पुरा नगरिकन सिंहदरवार छिरेको भूतपूर्व क्रान्तिकारी जस्तै म पनि स्खलित हुनु हो भन्ने मलाई लाग्यो । त्यसकारण म अगाडि बढिरहेँ ।

साथीहरूले मलाई पछि पनि थरीथरीका नाम सुझाइरहे । कतिपय नाम मलाई उपयुक्त लागेन भने कतिपय नामले मलाई उपयुक्त मानेन । त्यसैले नामको मलाई ठूलो अभाव खड्कियो । अभाव नै आविष्कारको जननी हो मलाई गुरुबा र आमाले सिकाएका थिए । अभावले नै मलाई समाधानको बाटो देखायो । कतिपय सर्जकहरूले आफ्‌नो गाउँ सहरलाई नै लेखकीय नाम गराएको मलाई थाहा थियो ।

त्यसैले मेरो जीवनको महत्वपूर्ण घटना घटेको ठाउँहरू मैले सम्झिएँ । ती ठाउँहरू सम्झनासाथ म प्रेमले विव्हल हुन्छु । एउटा मात्रै ठाउँ भए त्यस माथि गम्नाङ्गेले जस्तै मैले पनि एकाकार लगाइहाल्थेँ । म जन्मिएको ठाउँ धनुषाको बटेश्वर, हुर्किएको महोत्तरीको किसाननगर र मेरो उत्पादनमूलक समय बितेको ठाउँ मकवानपुरको हेटौँडा हो । ती सबै ठाउँहरू मेरा लागि प्रिय ठाउँहरू ह्ुन् । म एउटाको लागि अर्कोलाई त्याग्न सक्तिन । त्यसैले सबै ठाउँको प्रतिनिधित्व हुने गरी बटेश्वरबाट ‘ब’, किसाननगरबाट ‘कि’ र मकवानपुरको हेटौंडाबाट ‘महे’ लिएर मैले आफ्‌नो नामको रचना गरेँ । त्यही नाम बकिमहेले मलाई लेखकीय उर्जा दियो । त्यसपछि नाम खोज्नका लागि सुरु भएको सबै यात्रा अन्त्य भयो गर्ने टुङ्गोमा म पुगेँ ।

०००
हेटौँडा, मकवानपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

यता हुनेरहेछ- भेटघाट । भेटघाटको असली ठेगाना बल्ल थाहा भयो । 
मैले मनोयोगका साथ पढें- यो निबन्ध । गज्जब लेख्नु भएको छ ।
अरु लेख्नुहोला । हामीले यस्ता स्वादिला व्यंग्यहरु पढिरहन पाइयोस् । हार्दिक शुभकामना ।

Ramesh Prasad lamichhane
Ramesh Prasad lamichhane
1 year ago

Nice, sir ! “Bakimahe” looks meaningful to remind the places and different from others.

कृष्णदेव
कृष्णदेव
1 year ago

हेटौंडाको पुनर्जागरण देखें ।

Nepal Telecom ad
सम्मानकाे दोसल्ला

सम्मानकाे दोसल्ला

ऋषिराम पोखरेल
कथाभित्रका कथा

कथाभित्रका कथा

ऋषिराम पोखरेल
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
3
0
Would love your thoughts, please comment.x
()
x