ऋषिराम पोखरेलसम्मानकाे दोसल्ला
मलाई दोसल्ले सम्मानको यति भोक लाग्यो कि त्यो भोकले सबै भोकलाई खाइदियो । दोसल्लाले छोपिएको आफ्नो शरीरको काल्पनिक चित्र मेरो मानसपटलमा नाचिरह्यो । त्यस रात मलाई कति खेर निद्रा लाग्यो थाहा भएन ।

ऋषिराम पोखरेल, “बकिमहे” :
अहिले कविताका कारण इच्छुकले जस्तै कसैले पनि मर्नै परेको छैन । पत्रकारिताको कारण पदम ठकुराठीले जस्तै कसैले पनि गोली नै खानु परेको छैन । आफ्नो छनौटको टिसर्टमा स्वतन्त्रतापूर्वक हिँडहुल गर्न पनि पाउने हो भने यसलाई लोकतन्त्रकै उपलब्धि सम्झेर सन्तुष्ट हुनु पर्छ । किनकि लोकतन्त्रले थोरै भए पनि अभिब्यक्तिको अधिकार बढाएको छ । तर यसले जनताको जीवनबृत्तिमा कुनै पनि तात्विक परिवर्तन ल्याउन सकेको छैन । शिक्षा र रोजगारी खोज्न विदेशी भूमिमा भौँतारिने युवाहरूको सङ्ख्या घटाउन सकेको छैन । तर यसले सिमित आसेपासे र बिचौलियाहरूलाई धनी हुने अवसर दिएको छ । त्यसैले लोकतन्त्रपछि नवधनाढ्यहरूको संख्या बढेको छ । विना परिश्रम चमत्कारिक रुपले रातारात धनी भएका नवधनाढ्यहरूको आर्थिक आचरण अचम्मको हुन्छ । किनकि उनीहरूको मन छिनछिनमा परिवर्तन भइरहन्छ । कुनै बेला गर्नु नपर्ने ठाउँमा पनि कसैले हौस्याइदियो भने आवश्यक्ता भन्दा अधिक खर्च गर्ने र कुनै बेला गर्नै पर्ने ठाउँमा अलिकति खर्च गर्नु पर्यो भने दाँतबाट पसिना चुहाउने उनीहरूको स्वभाव हुन्छ । उनीहरूको आर्थिक संस्कृतिले सबैलाई चकित गराउँछ ।
एक पटक एउटा साथीको काम देख्दा मलाई अचम्म लागेको थियो । जीवनको लामो समय अभावै अभावमा बिताएको त्यो साथी अहिले चमत्कारिक रुपले हुनुसम्म धनी भएको छ । उसले कतिलाई गरिब बनाएर आफू धनी भयो मैले गन्ने झन्झट गरिँन । उसले देशलाई नै रित्याए पनि कसैलाई चासो थिएन । किनकि नेपालीहरू आफ्नो विषयमा मात्रै दिमाग खियाउँछन् । मैले पनि चासो राखिन । किनकि उसले रित्याएको मानिसभित्र म पर्दिन ।
एक दिन उसले मलाई घरमा बोलायो । मैले कारण सोधिन । किनकि साथी हो । उसले बोलाउँदा किन ठूलो पल्टिनु भन्ने मलाई लाग्यो । म गइहालेँ । त्यहाँ पुग्दा थाहा भयो एउटा रजतजयन्ती कार्यक्रम रहेछ । पहिलो प्रेमिकासँग उसको प्रथम पटक आँखा जुधेको दिनले पच्चीसौँ वर्ष टेकेछ । पच्चीसौँ वर्षगाँठको उपलक्षमा एक जना नामुद समाजसेवीको सम्मान कार्यक्रम पनि रहेछ । प्रेम पीडित समाजका अध्यक्ष श्री लम्पटेशवर जी भद्र मुस्कानसहित सम्मान ग्रहण गर्न मञ्चमा उक्लिए । त्यस पछि एउटाले प्रमाणपत्र पढे, अर्कोले उनलाई खाम दिए र प्रमुख अतिथीले भव्य करतल ध्वनिका बीच उनलाई दोसल्ला ओढाए । त्यसै दिनदेखि मलाई दोसल्लाको महत्ता थाहा भएको थियो ।
त्यस दिन राति अबेरसम्म निम्तारुहरूले नाच गान सहितको खानपिनको खुब आनन्द लिए । रात छिप्पिँदै गएपछि कति मानिस कुर्सीमै निदाए भने कति भुईंमा ढले । कसैले पाइन्टको टाँक कोटको टाँकघरभित्र हुले । बिना सहयोगी घर पुग्छु भनेर हिँडेका कतिले अर्काको घरको ढोका ढकढक्याउन पुगे भने कतिले घर पुग्न नसकेर नलकुण्डमा विश्राम लिए । दुई रङकाे जुत्ता चप्पलमा घर नपुग्नेको सङ्ख्या भेट्न मुश्किल थियो । एक जना निम्तारुले आफ्नो अनुहारको भूगोल नराम्रोसँग बिगारेर घरतिर लाग्नु परेको थियो । किनकि उनले अर्काकी केटी साथीलाई स्टेजमा आफूसँग नाच्नका लागि तानेका थिए । दुई जनाको मुक्कामुक्की छुट्याउनको लागि तत्परता लिँदा एक अर्काले पनि अनुहारमा एउटा राम्रै क्रेटर बन्नेगरी गजबको चोट बोहनीमा पाएका थिए । उता हानाहान र तानातानमा केटा साथीका लट्टाहरू भुईतिर छरपष्ट भए । त्यसै दिन उनले सैलुनमा गएर त्यो लट्टा कपालमा सेटिङ गराएका रहेछन् । मुक्कामुक्कीबाट लडाइँले जब नजिकै थुप्रिएको दाउरा खोज्न थाल्यो तब पुलिसनै बोलाउनु परेको थियो । तर मलाई न खानाको स्वाद आयो न पिनाको मजा । मलाई दोसल्ले सम्मानको यति भोक लाग्यो कि त्यो भोकले सबै भोकलाई खाइदियो । दोसल्लाले छोपिएको आफ्नो शरीरको काल्पनिक चित्र मेरो मानसपटलमा नाचिरह्यो । त्यस रात मलाई कति खेर निद्रा लाग्यो थाहा भएन ।
हुन त दोसल्ला र बर्को दुबै मानिसले ओढ्ने पोसाक परिधान विशेषको नाम हो । बर्को शब्दको उत्पत्ति “वर” अर्थात् बेहुलाबाट भएको हुनु पर्छ । त्यसलाई सही मान्ने हो भने “बर्को” पछ्यौरा वा मजेत्रोको पुरुषवाची शव्द हो । तर दोसल्ला भने उभयलिङ्गी शब्दभित्र पर्छ । किनकि यसले पुरुष वा महिला दुबैको शरीरलाई शोभा दिन्छ । दुबैको सम्मानलाई चारचाँद लगाइ दिन्छ । दोसल्ला सम्मानको लागि कसैलाई ओढाउने किनारामा कार्चोपी बुट्टा भरिएको खास्टो हो । यसलाई करतल ध्वनिका साथ ढूल्ठूला कार्यक्रमका बिच ठुला मानिसका हातबाट ओढ्नलाई हरेक मानिस आतुर हुन्छ । किनकि यसले सम्मानको भारी बोकेको हुन्छ । त्यसैले म पनि यसलाई पुरा गर्ने रहर पाल्न थालेँ । तर गदाहाको जन्म कहिले छुट्ने हो थाहा थिएन ।
अहिले त्यो कहाँ पुग्यो मलाई थाहा छैन । एक पटक गाउँ गाउँमा सहकारी र घरघरमा भकारी भन्ने अभियान चलेको थियो । त्यसबेला हरेक आर्थिक वर्षको अन्त्यमा सहकारीको वार्षिक भेला हुन्थ्यो । मानिसहरू फुर्सत मिलाएर त्यहाँ खाजाको पाकेट लिन जान्थे । एक पटक म पनि गएको थिएँ । त्यहाँ समाजलाई उल्लेखनिय योगदान पुर्याएका एक जना मानिसलाई सम्मान गर्ने कार्यक्रम पनि रहेछ । सम्मानका लागि कस्लाई छान्ने भनेर निर्णय गर्न तीन सदस्यीय एउटा सिफारिस समिति पनि बनेको रहेछ । त्यही समितिले होटलको कोठामा धेरै चरणको खानपानपछि एकजना उत्कृष्ट मानिस छानेको थियो । धेरै लामो अध्ययन अनुसन्धानपछि गरिबी उन्मुलन अभियानका अध्यक्ष नै सम्मानका लागि योग्य र उपयुक्त ठहरिएका थिए । उनले आफ्नो गरिबीलाई हटाइ सकेर आफन्तलाई खोज्दै थिए । त्यसै बेला उनको छनौट भएको थियो ।
उनी मञ्चमा चढेपछि प्रमुख अतिथिले उनको सम्मानका लागि दोसल्ला उठाएका मात्रै थिए । एक जत्था पुलिस आएर सम्मानित हुन तयार ब्यक्तिलाई नै पक्राउपुर्जी थमाई दिए । प्रहरीले उनलाई लामो समयदेखि खोजिरहेको रहेछ । अर्काको जग्गा देखाएर धेरै जनासँग बैना लिएपछि उनी टाप कसेका रहेछन् । अन्तरिक्षमै रहेको दोसल्लालाई लगेर प्रमुख अतिथिले दर्शकदीर्घाका एक जना मानिसको भाग्य चम्काइ दिए । सचिवले प्रमाणपत्रमा पुरानो नामलाई काटेर नयाँ नाम थपिदिए । कार्यक्रम सफल भयो । सबैले ताली पिटे । खाजाको पाकेट लिन आएका मानिस दोसल्ला ओढेर घरतिर लागे ।
लोकतन्त्रको अभ्युदयपछि गैरसरकारी संघसंस्थाहरू वर्षाका च्याउसरी उम्रिरहेका छन् । सबै संस्थाले समाजसेवालाई नै मुख्य उद्देश्य भन्ने गरेका छन् । दात्री निकायबाट रकम तान्नलाई हरेक संस्थाले केही न केही सामाजिक कार्य देखाउने गर्छन् । त्यसैले संस्थाको सङ्ख्यासँगै सम्मानको कार्यक्रम पनि बढिरहेको छ । कहिले पालो पुर्याउन र कहिले एउटैलाई उपरि थुपरी गर्न सम्मान दिँदै गर्दा सम्मानका दुर्ब्यसनीहरू पनि बढिरहेका छन् । त्यही अनुपातमा दोसल्लाको उद्योग पनि फस्टाइरहेको छ । तर धेरै जसो संस्थाहरू कुनै न कुनै पार्टी विशेषका पकडमा छन् । त्यसैले सम्मानको लोकतान्त्रिकरण हुन सकेको छैन ।
पारदर्शीता लोकतन्त्रको मुख्य विशेषता हो । तर सम्मान पारदर्शी छैन । यसको पार्टीकरण हुने गरेकोले पार्टीको घेरा नाघेर कसैले सम्मान गर्दैन । कसैले सम्मान पाउँदैन । यस्तो बेला रसिदको चिर्कटो भन्दा ठुलो योगदान अर्को केहि हुन्न । पार्टीभित्र पनि कुनै एउटा मानिस विशेषको मान्छे हुनु पर्छ । किनकि पार्टीभित्र यहाँ लोकतन्त्र छैन । त्यसैले यसको कालो छायाँ सम्मानमाथि पर्छ । मान्छेभित्रको पनि नातानालाको पालो सकिएपछि अरुको पालो आउँछ । कामको र योगदानको आधारमा सम्मान खोज्नु भनेको कुत्तिको बाटो समातेर काशी पुग्छु भन्नु जस्तै हो । पार्टीकृत सम्मानले मानिसको शिर कति माथि उठ्छ सबैलाई थाहा होला । सम्मानको प्रतिक बन्नु पर्ने दोसल्ला कुकर्मको कलङ्कले कलुषित भयो भने सम्मानित मान्छेको व्यक्तित्वनै कलुषित हुन सक्छ । जति पार्टीको अलोकप्रियता बढ्दै जान्छ त्यतिनै दोसल्लाको दुर्गन्ध बढ्दै जान्छ । अनि त्यो सम्मान स्वाभिमानी मानिसलाई निल्नु न ओकल्नु जस्तै हुन्छ ।
एक पटक एउटा सम्मान लिनुपर्दा मलाई सङ्कोचले सिथिल बनाएको थियो । एउटा संस्थाले शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । म पनि गएको थिएँ । मलाई भन्दा अगाडि एक जना शिक्षकलाई शिक्षाविद भन्दै प्रमुख अतिथिले दोसल्ला ओढाइदिए । ती शिक्षकले अत्यन्तै गर्वका साथ दोसल्ला ओढेको देख्दा मैले केलाई भन्दा केलाई लाज भन्ने उखान सम्झिएँ । म ठुलो दोधारमा परेँ । किनकि मलाई थाहा थियो म शिक्षाविद हुँदै होइन । दोसल्ला ओढौँ भने पगरी थाम्ने आँट पुग्दैन, न ओढौँ भने जीवनमा पहिलो चोटी कसैले सम्मान गर्न बोलाएको थियो । मलाई नखाउँ भने दिभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तै भयो । जागीरमा विताएको वर्षले मात्रै कसैलाई शिक्षाविद बनाउन सक्दैन भन्ने मलाई थाहा थियो ।
एउटा दुईटा विषयको एउटा दुईटा किताब एउटा दुईटा कक्षामा पढाउनासाथ कोही पनि शिक्षाविद हुन सक्तैन । शिक्षाविद भनेको समग्र शिक्षाको ज्ञाता वा विज्ञ हो । जसभित्र धेरै कुराको ज्ञान र विज्ञता चाहिन्छ । यहाँ शिक्षाप्रेमी र शिक्षासेवी शब्दको पनि धेरै दुरुपयोग हुँदै आएको छ । कतिपय मेरा साथीहरू सम्मान थाप्न अघि सरिहाल्छन् । यदि हामी शिक्षाप्रेमी र शिक्षासेवी हाैँ भने हाम्रो नाममा तलब बुझ्ने को हो ? त्यसलाई खोज्नु पर्छ । किनकि तलब भत्ता तथा पारिश्रमिक लिएर गरिएको कुनै पनि कामलाई सेवा भनिदैन ।
जीवनयापनको लागि रोजगारी खोज्ने सिलसिलामा म शिक्षक भएको हुँ । मैले कुनै सेवा गरेको पनि होइन कुनै प्रेम गरेको पनि होइन । यसलाई जीवनयापनको उपाय मात्रै बनाएको हो । मैले मात्र कर्तव्य गरेको र तलब खाएकोले त्यसमाथि न्याय गरेको हो । कर्तव्यनिष्ट भएर काम नगर्ने मानिसहरू पनि धेरै छन् । त्यसैले कर्तव्यनिष्ट शिक्षकलाई सम्मान गर्ने हो भने त्यसको हकदार हुन मिल्छ तर नभएको पगरी गुथेर ठूलो भएँ भन्न मिल्दैन । जुन दिन मैले शिक्षाविदको दोसल्ला ओढ्नु पर्यो । त्यस दिन घर पुगेर त्यस दोसल्लालाई एउटा कुनामा नथन्क्याए सम्म मलाई कुरी कुरी भइरह्यो । किनकि म कुनै विद थिइँन । एउटा शिक्षाकर्मी मात्रै थिएँ । शिक्षक मात्रै थिएँ ।
राम्रो लगाउन, मिठो खान र आफ्नो विषयमा राम्रा कुरा सुन्न सबैलाई मन पर्छ । त्यसैले मानिसहरू सम्मान थाप्न जहाँ पनि पुग्छन् । सम्मान दिने हात हेर्दैनन् । सम्मान दिनुको कारण सोद्धैनन् । आफूले सम्मान पाउँदा सबैले मूल्याङ्कन निष्पक्ष भएको ठान्छन् । अनुचित सम्मानलाई अस्विकार गर्न सक्ने उच्च मनोवलका मानिस धेरै कम भेटिन्छन् । तर एक जना कविले एक दिन मसँग भने “रिन काडेर सम्मान थाप्न अब कतै गईँदैन ।” “किन कवि ज्यू ?” मैले सोधेँ ।
“एक पटक काठमाण्डौ गएको । एउटा बर्को ओढाइदिएर आयोजकहरू सबै घरतिर लागे । मेरो बिल्लीबाठ भयो । कहिले आइस् ? के खाइस् ? कहाँ बस्छस् ? कहिले जान्छस् ? खर्च छ छैन ? कसैले सोधेनन् । मैले बस्नलाई पाटी खोज्नु पर्यो । जाडोले काम्दै रात काट्नुपर्यो । झन्नै मरेको ।” कविले आफ्नो दुःख पोखे ।
सम्मानको हतारोले गर्दा कतिपय मानिसलाई दाताको पृष्ठभूमि हेर्ने फुर्सद हुन्न । त्यसैले कतिपय अवस्थामा दोसल्ला थाप्न गएका मानिस दुःखको दुश्चक्रमा फँस्न सक्छन् । कविजीका नियात्राले दोसल्ले सम्मानका आशामुखीहरूलाई त्यही शिक्षा दिन्छ । सम्मानको लोभी आँखाले दाताको हातमा लतपतिएको फोहर मैला पनि देख्दैन । कसैको आँखाले देख्यो भने उसको नाम सम्मानको लाममा राख्ने मुर्खतापूर्ण काम कसैले पनि गर्दैन । उसले पसलबाट ल्याएर दोसल्ला आफैंले ओड्नु पर्छ ।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































