साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथाभित्रका कथा

समाजलाई अग्रगामी दिशातिर लैजान कुनै पनि ढंगले सहयोग नपुर्‍याउने बैचारिक रुपले अपरिपक्व सिद्धान्तहिन टिकटकेश्वर र टिकटकेश्वरीहरू नै आजभोलिका महापुरुष हुन् । त्यसैले कथा लेख्नलाई कुनै छुट्टै महापुरुष खोजिरहनु पर्दैन ।

Nepal Telecom ad

ऋषिराम पोखरेल ‘बकिमहे’ :

कविता लेख्न गाह्रो छ । तर कवि हुन सजिलो छ । त्यसैले जीवनको कुनै न कुनै कालखण्डमा हरेक मानिस कम्तिमा पनि एक पटक कवि हुन्छ भन्ने मैले सुनेको थिएँ । घटना परिघटनाले यो तथ्यलाई म बाहेक अरुको हकमा पुष्टि गरिरहेकै देखिन्छ । मेरो एउटा साथीले केही दिनमैँ एउटा चमत्कार देखाइदियो । त्यस भन्दा अघि उभित्र कवि हुन सक्ने कुनै लख लक्षण थिएन । अकस्मात ऊ कवि भएको देख्दा धेरैले जिब्रो टोकेका थिए । कविताका आँखाहरू सँधै ओभानो रहे पनि त्यसलाई सुनाउँदा उसका आँखाहरू सँधै आँसुले भरिपूर्ण हुन्थे । किनकि एउटा नमिठो धोकाले उसलाई कवि बनाइदिएको थियो । कविता गोष्ठी भनेपछि अरु त अरु कतै छ भने ऊ रौरव नर्कमा (?) समेत पुग्थ्यो । आफ्‌ना कविता सुनाई सकेपछि ऊ एक सेकेन्ड पनि त्यहाँ बस्दैनथ्यो । किनकि अर्को कविता लेखेर मनको पीडालाई हलुको पार्न उसलाई हतार हुन्थ्यो । समय गुड्दै गएपछि उसले पुरानी प्रेमिकालाई बिर्सदैँ गयो । उसको प्रेम सर्दै गएर कुनै एउटा कवितातिर पुग्याे । उसको कविता प्रेम देखेर धेरैले उसलाई आँसु कवि भन्थे । स्रोताका आँखा ओभानो रहे पनि कविका आँखाबाट आँसुका धारा होइन बाढी नै बगिरहेका हुन्थे ।

कलेज भर्ना भएको दिन नै उसको प्रेम कथा सुरु भएको थियो । त्यसै दिन दुबै जनाका आँखा अचानक जुधेका थिए । भोलिपल्ट देखिनै उनीहरूको प्रेम सुरु भयो । सुरु हुनासाथ प्रेम गहिरियो । प्रेमको त्यो गहिरो खाडललाई तुरुन्त अर्कै एकजनाले पुरिदियो । सँगसँगै बाँच्ने र सँगसँगै मर्ने कसम खाएकी उसकी प्रेमिकाले उधारो मास्टर्नीलाई छोडेर नगदमै सुब्बेनी हुन अर्कैसँग भागीबिहे गरेपछि ऊ रन्थनिएको थियो । त्यो रनाहाले उसलाई केही दिनसम्म गरुडपुराण अनुसार सतगत नभएको अतृप्त प्रेत (?) जस्तै यताउता घुमायो । अन्तमा ऊ कवि भयो । नत्र ऊ नजिकैको कुनै एउटा रुखमा फलिसकेको हुन्थ्यो । समाजले अपुरणीय क्षेती बेहोर्थ्यो । देशले एउटा रुञ्चे नै भए पनि कविरत्न गुमाउँथ्यो ।

अरुका कविताले स्रोतहरूको ताली पड्काएको देख्दा मलाई पनि कवि नै हुन मन लाग्थ्यो । त्यसैले फुर्सद भयो कि म कविता लेख्न बसिहाल्थेँ । तर हातमा कलम लिएर घण्टौँसम्म घोत्लिँदा पनि कविता जन्मिने कुनै लक्षण नदेखिए पछि म निराश भएर ओछ्यानतिर लम्किन्थेँ । फेरि कोसिस गर्‍यो परिणाम उही निस्किन्थ्यो । त्यसैले कविता सुनाएर दर्शकको तालि हसुर्ने मेरो हठ कहिले पुरा नहुने सङ्केत देखिन थाल्यो । जति कन्दा पनि मैले कविताका मूल फुटाउन सकिन । पेटबाट मल बाहिर निकाल्न कब्जियतको एउटा रोगीलाई जति बल पर्छ त्यो भन्दा बढि बल लगाएर कन्दा पनि ताली कमाउन सक्ने हैसियतको कविता पगाल्न नसक्दा म आफूलाई आफैँले धिक्कार्थेँ। फेरि एकपछि अर्कोसँग मैले प्रेम गरिरहनु पनि परेन । प्रेमको खेलमा कवि हुनलाई चाहिने जति मलाई धोका पनि भएन । त्यसैले मेरो मन मस्तिस्कमा कविताको बिउ उम्रिन सकेन ।

छन्द न बन्दको कविता लेखेर मलाई भाडाको ताली खोज्न मन लागेन । तर कथा मलाई खुब मन पर्थ्यो । मेरो पठन संस्कृतिको सुरुवातनै कथाबाट भएको थियो । ऐयारी र तिलस्मी कथाका किताबहरू किन्नका लागि मैले धेरैपटक बुबाको खल्ती सफा गरेको छु । उहाँलाई पत्तै हुँदैनथ्यो । अहिले बुबा हुनुहुन्न । मेरो आफ्‌नै खल्ती सफा भइरहेको छ । किनकि पहिले छोराछोरीलाई पछि नातिनातिनीहरूलाई र कक्षा कोठामा विद्यार्थीहरूलाई भन्नुपर्ने मसँग धेरै कथा हुनु पर्थ्याे । अहिले जस्तो मोवाइल वा रिमोट हातमा राखिदिएर केटाकेटीलाई पार्किङ गर्ने बेला थिएन । त्यसैले कथालाई नै समातेर मैले साहित्यमा अघि बढ्ने मन गरेँ । तर मन भएर मात्रै नहुने रहेछ । कपिका धेरै पानाहरू मैले लेख्दै च्यात्दै गर्नु पर्‍यो । मलाई जसरी पनि कथा लेखेर देखाउनु थियो । तर कथा खोज्न कहाँ जानु मलाई थाहा थिएन । त्यसैबेला एक जना अग्रजले मलाई भने “कथा जहाँ पनि भेटिन्छ । तर खोज्नु पर्छ । टिप्नु पर्छ ।”

मेरो दिमागमा कथाकार हुने भूत चढिसकेको थियो । त्यसैले कथा खोज्न म जहाँ पनि जान थालेँ । एक पटक म एउटा मदिरालयभित्र छिरेको थिएँ । त्यहाँ केही समय त पक्कै खर्च होला भन्ने मलाई लाग्यो । त्यसैले म एउटा कथा कल्पिन लागेँ । किनकि ढिलो पुग्दा घरमा दोहोरी साँझको सुत्रपात हुन्थ्यो । सुर, ताल र सङ्गीत दिएर मैले गीतलाई कम्तीमा पनि आफ्‌नो लागि कर्णप्रिय बनाउनु पर्थ्यो । त्यसका लागि श्रीमतीलाई भन्नको लागि एउटा कथा लग्नै पर्थ्यो । कथालाई विश्वासिलो कसरी बनाउने होला भनेर म सोच्दै थिएँ । त्यसैबेला एक जना भाइ मलिनो अनुहार लिएर कोठाभित्र आए । मेरै टेबुलको अर्को छेउमा बसेर उनले नास्ता पानीको अडर गरे । एक दुई सुरुप जति भोड्का उनले सुर्क्याएका मात्रै थिए । उनको रुवावासी सुरु भयो । कारण खोज्नलाई मैले उनीतिर हेरेँ । उनले खल्तीबाट झिकेर एउटा पत्र मलाई पढ्न दिए । स्पष्टीकरणको लागि हाकिमले दिएको पत्र पो हो कि भन्ने मलाई लागेको थियो तर एउटा प्रेमपत्र रहेछ ।

पत्र पढ्दै जाँदा मेरा आँखा पनि आँसुले भरिँदै गए । किनकि नजिकै साहुनीले मासुमा हाल्न प्याज काट्दै थिइन् । त्यस भन्दा अघि साउनीले खोर्सानी पड्काएकी थिइन् । म खोक्दा खोक्दै रालसिँगान भइसकेको थिएँ । त्यसले गर्दा भाइले मलाई पनि रोएको ठाने छन् । उनी झनझन रुन थाले । किनकि सहानुभूतिले कुनै बेला पीडितलाई रुन झन सजिलो पार्छ । रोकिएर बसेको आँसुको अवरोधलाई सहानुभुतिले खुलाई दिन्छ । तर पछि थाहा भयो प्रेम एकोहोरो रहेछ । अरु साथीलाई पौरख देखाउन भाइले आफूलाई आफैँले प्रेमपत्र लेखेका रहेछन् । उता प्रेमिकालाई उनको नाम पत्ता समेत थाहा रहेन छ । त्यो धेरै पहिलेको कुरा हो । अहिले चिठ्ठी लेख्ने चलन छैन । फेसबुकमा लेख्ने हो । अहिलेको प्रस्तावित कानुन जारी भएमा साइबर क्राइमको आरोपमा ति भाइले जेलको हावा खानु पर्थ्यो । किनकि उनकी प्रेमीका मन्त्रीका आफन्तकी छोरी थिइन ।

“कसैलाई पैसा सापटी दिनु पर्छ । कथा घरमै आइपुग्छ।” भोगाइले भुक्त एक जना दाइले मसँग भनेका थिए–“सबैलाई टिप्न सक्नु पर्छ । कथाका ठूल्ठूलै ग्रन्थ बन्न सक्छ ।”

भोगाइले भरिएको दाइको अनुभव सुनेपछि मैले पनि आफैँले देखे भोगेका लेनदेनका धेरै घटनाहरू सम्झिएँ । मैले अरुसँग सापटी माग्न जाँदा पनि धेरै कथा कहानीहरू लिएर गएको छु । समयमा तिर्न नसक्दा पनि मैले कथालाई दायाँ बायाँ घुमाएर अरु शृङ्खला थपेको छु । अरु मानिस मकहाँ आउँदा पनि कुनै न कुनै कथा कहानी लिएर आउँछन् । म कुनै कुस्त पैसावाला साहु महाजन होइन । सुदखोरी मेरो इलम पेसा धन्दा व्यवसाय केही होइन । तर साथी भाइले मेरो आगाडि दुःख समस्याको पोको फुकाए भने सहयोगको लागि मेरो हात अघि बढिहाल्छ । मेरो यही बानीले गर्दा कुनै बेलाका अभिन्न साथीहरू अहिले मेरा भूतपूर्व साथी भएका छन् । एक पटक एउटा साथीले मकहाँ आएर पीडाले भरिएको कहानी सुनायो । मैले आफूसँग भएको पैसा उसलाई दिइहालेँ । किनकि उसका छोराछोरी जाँचमा बस्न नपाउलान भन्ने चिन्ता उसलाई भन्दा मलाई बढि भयो । उसले प्रवेशपत्र झिकिदिन मसँग लगेको पैसा के गर्‍यो मलाई थाहा छैन । तर त्यही पैसाले उसलाई मेरो भुतपूर्व साथी बनाइदियो ।

उसको घर धेरै टाढा छैन । तर उसँग मेरो भेटघाट हुँदैन । सँधै लुकामारी चल्छ । अहिले मोवाइल पनि छ तर उठ्दैन । मेरा कैयौँ जोर जुत्ता चप्पलका तलुवा खिइसके । तर उ सँग मेरो भेट कहिल्यै हुँदैन । उसको कहानीले पग्लिएर मैले पैसा सापटी दिएको दिन मेरा जुँगाका रेखी मात्रै बसेका थिए । अहिले पाकेर झर्न आँटीसकेका छन् । केटाकेटीको प्रवेशपत्र झिक्न नपाएर मैले कतिजनासँग हात मोल्दै कति कथा कथ्नु पर्‍यो त्यसको कुनै ठेगान छैन । पैसा पाउनु त परै जाओस् उसको अनुहार समेत कहिँकतै देख्न पाएको छैन । आफूले दिएको सापटी पैसा समयमा फिर्ता नआएपछि रिसले चुर भएर म मान्छे भेट्न जान्थेँ । तर मानिस भेटिँदैन थे । भेटिइ हाले भने पनि हृदयविदारक कथा सुनेपछि बोल्ने शब्द, सोध्ने प्रश्न र गर्ने तर्क सबै हराएर जान्थे । स्वस्थानीको शिवभट्ट ब्राम्हणले जस्तै लौ मर भन्न मन लाग्थ्यो । यस्ता दिग्दारीपूर्ण धेरै घटना घटेका छन् । तर यो पहिलो पटक भएकोले मात्रै मैले सम्झिएको हुँ । त्यस पछिका धेरै घटनाले मलाई अभ्यस्त बनाइसकेको छ । तर अहिले साथीलाई दिनैपर्ने भए माया मार्न सक्ने जति पैसा मात्रै मैले दिनथालेँ ।

जग्गा विक्रि नभएको, घर लिलामीमा चढेको, ब्यापारमा घाटा लागेको, मल बिउ पानी समयमा नपाएर खेती बिग्रेको, दुध तरकारी सडकमा फाल्नु परेको, छोराछोरीले विदेशबाट पठाएको पैसा ब्याज तिर्दैमा सकिएको, विदेशबाट पठाएको पैसा लिएर अर्कैसँग भागेको, शिक्षा महँगो भएको, ठेकेदारले ज्याला नदिएर भोकै बस्नु परेको, बाँच्न गाह्रो भएको, मानिसले धोका दिएको आदि, आजका प्रतिनिधिमुलक कथाका शीर्षक हुन् । यिनै शीर्षकभित्र बिभिन्न कथानक घटनाका सृङ्खला, पात्र, परिवेश, उद्देश्य, दृष्टिविन्दु र भाषाशैली भेटिन्छन् । अहिले ऋण खानलाई घिन मान्ने दिन हराएकोले मानिस खानलाई तुरुन्तै अघि सरिहाल्छ । सापटी लिएको पैसालाई कमाइ गरेको ठानेर नतिर्ने मानिसहरूको सङ्ख्या बढ्दै छ । बरु कसैको झोला बलियोसँग बोक्यो भने बैँक सहकारी मार्न सजिलो छ । सरकारी सम्पत्ति खान सजिलो छ । घरमै बसिरहेको मानिसलाई प्रहरी लगाएर सरकारले फरार भनिदिन्छ । तर कसैसँग ऋण सापटी पाउन गाह्रो छ । त्यसैले ऐँचो पैँचो गरेर काम चलाउने दिन हराएको छ । यस्तो बेलामा घरमा कथा कसरी आउनु ? कस्लाई कथा भन्नु ? कस्को कथा सुन्नु ? र कसरी टिप्नु ? मलाई असम्भव लाग्यो ।

माया प्रेमले पनि कथा लेख्नलाई धेरै सामग्री दिन्छ । यसै बारे लेखौँ कि भनेर म धेरै दिन सम्म घोरिएँ । किनकि माया प्रेम सबैको मनमा हुन्छ । सबैले कसै न कसैलाई माया प्रेम गरेकै हुन्छन् । अर्को कुनै न कुनै घटना वा परिवेशबाट मायाको जन्म, विकास र अन्त्य हुन्छ । त्यसको हरेक चरणमा कुनै न कुनै पात्र, परिवेश र घटना शृङ्खला जन्मिन्छ । त्यसबाट कथाले चाहिँदो सामग्री पाउँछ । कुनै समय प्रेम कथाहरू खुब लेखिन्थे । म आफैँले नलेखे पनि अरुले लेखेका उत्कृष्ट देखि निकृष्ट सम्मका प्रेमकथा पढेको छु । केही कथा विभिन्न तहका कक्षामा पढाएको पनि छु । पहिले कुनै कुनै प्रेमकथाको मूल्य टाउकाले चुकाउन पर्थ्यो । कुनैमा प्रेमलाई नै त्यागेर जुत्ता चप्पलबाट टाउकालाई बचाए पुग्थ्यो । पहिले प्रेमका घटनाहरू अत्यन्तै कम सुन्न पाइन्थ्यो ।

त्यसैले कथा दुर्लभ र मूल्यवान थिए । किनकि त्यसबेला मनमा प्रेमको बिउ उम्रिनलाई परिपक्व उमेर पुग्नु भन्दा पहिलेनै छोराछोरीलाई जोडी खोजिदिन बाबु आमालाई हतार पर्थ्यो । तर अहिले प्रेम सामान्य र आमरुपले प्रचलनमा छ । किनकि केहि समयसम्म प्रेमको खेल नखेलिकन बिहे गर्ने जोडी अहिले मुश्किलले भेटिन्छन् । एकछिनसम्म पनि एक अर्कालाई नभेटि बाँच्न नसक्ने जोडीहरू बिहेपछि झगडाको फायर खोल्न हरहमेसा निहुँ, बिउ र वारुद खोजिरहेका हुन्छन् । घरमा श्रीमान र श्रीमतीको झडप नभएको दिन हुन्न । यस्ताे बेला प्रेमको शेयर मुल्य कहाँ माथि जान्छ ? त्यसैले नबिक्ने प्रेम कथा लेखेर मलाई घाटाको कारोबार गर्न मन लागेन ।

सबै कामलाई छोडेर अहिले हाम्रो प्रहरी बल एउटा प्रेमिल जोडी खोज्न विदेशको कुना कुनामा पुगेको छ । किनकि त्यो जोडीले राष्ट्रिय सुरक्षामा खतराको घण्टी बजाएको छ । एकले अर्कोलाई माया गर्नु नै त्यो जोडीको सबैभन्दा ठुलो अपराध भएको छ । त्यसैले सरकारका सबै संयन्त्र यही जोडीको विरुद्धमा छ । सरकारको रवैयाले प्रेम कथालाई खतरापूर्ण बनाएकै थियो । त्यसमाथि हाल नवलपरासीको बेलासपुरमा भएको हिँस्रक घटनाले प्रेमकथालाई हुनुसम्म डरलाग्दो बनाएको छ । दुई परिवार विचको यो झडपमा एउटा पसल र प्रहरीको एउटा गाडी जलिसकेका छन् । दुई दर्जन जति प्रहरी घाइते भएको त्यो घटनामा एक जना प्रेम शहिद पनि बढेका छन् । यसले खतरालाई झन ठूलो बनाएको छ । यस्तो त्रासपूर्ण अवस्थामा प्रेम कथा लेखेर अमूल्य जीवनको बलि किन चढाउनु ? त्यसैले प्रेमलाई कथाको विषय बनाएर मृत्युलाई निम्ता दिने हठ मैले त्यागिदिन उचित ठानेँ ।

कुनै बेला राजा महाराजा तथा महापुरुषहरूको जीवनी महत्वपूर्ण हुन्थ्यो । त्यसबेला उनीहरूका रानी, उपरानी, पत्नी, रखौटी, छोरा वा झड्केला कति थिए त्यसको ज्ञान जरुरी थियो, उनीहरूले छाडेका साँढे र गाडेका त्रिसूल गनेर धेरै मानिस हाकिम साकिम भए । पेट पाल्नलाई मेरो भागमा पनि एक थान मास्टरी पर्‍यो । पद , पैसा, प्रतिष्ठालाई ताकेर आसेपासेहरू जहिले पनि महापुरुष र महामहिलाहरूको भक्तिगान गर्दै आएका छन् । तर अहिले लोकतन्त्रले हरेक मानिसको जीवन महत्वपूर्ण बनाएको छ । कतिपय मानिसले आफ्‌नो महत्वलाई माथि उठाउन मुहार पुस्तिकाको हदै सम्म प्रयोग गरिरहेका छन् । ऊ कस्को विहेमा गयो ? उसले कस्को ब्रतबन्ध खायो ? कस्को वर्षगाँठमा नाच्यो ? बाउआमा मर्दा कुन शैलीमा रोयो ? कतिवटा छेवर ? कतिवटा पास्नी ? जन्मदिनमा कुकुरलाई के उपहार दियो ? उनीहरूको मुहारपुस्तिका खोल्ना साथ थाहा हुन्छ । फोटो सन्देश हेर्दा लाग्छ उनीहरूको जन्म नै निरपेक्ष सुख गर्नलाई भएको हो र उनीहरूको कुनै सामाजिक दायित्व छैन ।

समाजलाई अग्रगामी दिशातिर लैजान कुनै पनि ढंगले सहयोग नपुर्‍याउने बैचारिक रुपले अपरिपक्व सिद्धान्तहिन टिकटकेश्वर र टिकटकेश्वरीहरू नै आजभोलिका महापुरुष हुन् । त्यसैले कथा लेख्नलाई कुनै छुट्टै महापुरुष खोजिरहनु पर्दैन । आफ्‌नै वरिपरि हेरे पुग्छ । सरल भाषामा लेखेर पनि हरेक मानिसका कथा कथनीय, श्रवणीय र पठनीय बनाउन सकिन्छ । त्यसलाई सिनेकृत गरेर दर्शनीय पनि बनाउन सकिन्छ । धेरै कथाकारले यसरी नै महत्वपूर्ण कथा लेखेका छन् । तर कथालाई कसरी अगाडि बढाउने र कहाँ पुर्‍याउँदै टुङ्ग्याउने त्यो महत्वपूर्ण बैचारिक पक्ष हो भन्ने मलाई लाग्छ । के र कस्का लागि लेख्ने त्यसलाई पनि विचारले निर्देशित गर्छ । ठाउँ खोजेर समय बिताउनु भन्दा मान्छे खोजेर कथा लेख्नु राम्रो हुन्छ ।

मानिसका जीवनमा आउने हरेक उकाली, ओराली, भन्ज्याङ र चौतारी सबै कथानक हुनसक्छन् । सबैभन्दा नजिकको मानिस आफैँ हो । आफैँसँग इमान्दार हुँदा पनि धेरै उत्कृष्ट कथा जन्मिन सक्छ । अन्तमा, कथाभित्रको कथाले मलाई यही निष्कर्षमा पुर्‍यायो ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x