साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टर महात्म्य

‘तिम्रो रातो कलम कसरी सुरक्षित हुन्छ त ?’ ‘म कलम सुटकेसमा राख्दिनँ । कोटको खल्तीमा राख्छु ।’ प्रेसिडेन्ट आर्मान्डले बैंकक पुगेर पनि रातो कलमको चर्चा गरेछन् । यसैले, ‘रातो कलम’ को प्रकरणपश्चात् मैले पनि आफूलाई महाफुडामा पदोन्नति हुने लाममा नराख्ने कुनै कारण देखिनँ ।

Nepal Telecom ad

डा. नवराज खतिवडा :

भारतको उत्तराखण्ड राज्यअन्तर्गतको एक विश्वविद्यालयबाट नेपालका एक अध्येताले विद्यावारिधि गरेछन् । उनको अनुसन्धानको शीर्षक रहेछ– सुदूरपश्चिम नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास । नेपालमा यो चलन राम्रै चलेको छ । कसैले इतिहासमा शोध गर्छ नेपाली भाषा विभागले विद्यावारिधिको उपाधि दिन्छ । कसैले शिक्षा विषयमा शोध गर्छ उपाधि पाउँछ इन्जिनियरिङ विधाको ‘डाक्टर’ । कसैले वातावरण इन्जिनियरिङको शोधले गणितमा या भौतिक विज्ञान विषयको उपाधि पाउँछ ।

कामरेडहरूको योगदानको शोध गर्ने उम्मेदवारको बारेको एउटा रोचक प्रसंग रहेछ । कम्युनिस्ट आन्दोलनमा भीमदत्त पन्त, भीम रावल, त्रिलोचन ढकाल आदि हस्तीहरूको योगदानको लामै चर्चा शोध ग्रन्थमा गरिएको रहेछ । यस्तै, जिल्लास्तरीय नेताहरूको योगदानको चर्चाले पनि ग्रन्थमा ठूलै हिस्सा ओगटेको रहेछ । तर, त्यहाँ प्रकाश शाह नाम गरेका व्यक्तिको बारेमा समेत दुई पृष्ठको व्याख्या देखेर सुपरीवेक्षकले शोधार्थीलाई हिन्दीमा सोधेछन्, ‘प्रकाश शाहका देनका भि चर्चा किया है ।’

‘ओ, ऐसा है क्या ? मेरेको तो आपके कहने से हि मालुम हुवा ।’

‘हाँ, पुरे दो पेजका डाल दिया है । वेसे कौन था वो ?’

‘प्रकाश शाह तो थेसिस टाइप करनेवाला टाइपिस्ट था ।’

यसरी टाइप गर्ने व्यक्तिले नै ‘आफ्नै हात जगन्नाथ’ पारेर पनि कम्युनिस्ट आन्दोलनको इतिहासमा आफ्नो योगदानको कुरा समाविष्ट गरेको प्रकरणले गुरु र शिष्यबीच मनोमालिन्य सिर्जना भएछ । शिष्य गम्भीर भएर बिचौलियाकहाँ पुगेछन् । बिचौलियाले शोधार्थीलाई अर्को दिन बन्दोबस्तीका सामानसहित गुरुकहाँ पुर्यारछ ।

‘यार्सागुम्बा, शिलाजित और पहाडका सुकुटी लेकर आया है । बेचारेको संकटमे मत डालिए ।’

‘कहाँ है वो सब सामान ?’

‘साथ ही मे लाया है ।’

‘साथ हि मे ला दिया ? मतलव अफिस मे ही लेकर आया है ।’

यसरी ‘करेलालाई निमको थाँक्रो’ को उखान चरितार्थ हुने काम भएछ । कर्णाली प्रदेशका एक माननीयले केही समयअघि मलाई यो हास्यप्रधान तर अतिशय दारुण कथा सुनाएका थिए । उनले नेपालमा विद्यावारिधि गरेर डाक्टर उपाधिको भारी बोकेर हिँडेका केही विज्ञहरूको तार्किक र विश्लेषणात्मक क्षमताका बारेमा राम्रो गहिरो ज्ञान राखेका रहेछन् ।

उसो त समाजमा डाक्टर उपाधि हासिल गरेका दुई किसिमका व्यक्तित्वहरू भेटिन्छन् । विद्यावारिधिको डिग्रीधारी र चिकित्सा विज्ञानमा स्नातक गरेका । यी दुई प्रकृतिका डाक्टरसाहेबहरूलाई सुर्खेत निवासी छमान थापा मगरले बडो रोचक ढंगले परिभाषित गरे । उनीसँग थाइल्यान्डको नेपाली राजदूतावासमा भेट भएको थियो ।

उनले भनेका थिए, ‘सुई डाक्टर र फुइँ डाक्टर ।’ लगभग शतप्रतिशत सुडा अर्थात् सुई डाक्टरहरू आफूलाई परिचय गराउँदै भन्छन्, ‘म डाक्टर फलानो ।’ केही फुडा अर्थात् फुइँ डाक्टरहरू पनि सुई डाक्टर झैँ आफैँले आफूलाई ‘डाक्टर’ भनेर आफू पनि ‘फुइँ’ को बुई चढेको आभास दिन्छन् । तर, केही भने अरूलाई आफ्नो नामको अगाडि ‘डाक्टर’ को उपाधि जबर्जस्ती राख्न लगाउँछन् भन्ने ‘फुइँ इतर’ हरूको आरोप छ ।

सुडा र फुडाबीचको एउटा समानता भने उल्लेखनीय छ । एउटै सिद्धान्तको घेराभित्र रहेर दुवैको अघि ‘महा’ उपाधि लगाउन सकिन्छ । विद्वान्का अघि यो उपाधि लागेर महाविद्वान् हुन्छ । यसैगरी, मूर्खसँग जोडिएर महामूर्ख पनि हुन्छ । ठ्याक्कै त्यही तर्कको फेर समातेर ‘महासुडा’ र ‘महाफुडा’ को उपाधि सिर्जना हुन्छ । सुई डाक्टरले गर्ने उपचारको कामभन्दा अर्को कामले नाम र दाम कमाउनेहरू महासुडाको वर्गमा पर्छन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी, वरिष्ठ चिकित्सक डा. भोला रिजाल आदि सबै महासुडा हुन् । डा. यादव र डा. गिरीले नाडी छाम्नेभन्दा राज्यको नीति अर्थात् राजनीति छामे । डा. रिजालले प्रसुति रोग विशेषज्ञ भएकाले नाडी र नारी दुवै छामे । तर, उनले महासुडाको उपाधि पाउने कारण भने उनले गीत र गजलको दुनियाँमा कमाएको लोकप्रियताले हो ।

अध्यात्म जगत्मा नाम कमाएका डा. जेपी अग्रवाल पनि महासुडा हुन् । महासुडा जस्तै कुनै विषयमा विद्यावारिधि गरेर त्यो विषयइतर काम गरेर ख्याति कमाउनेहरू महाफुडा हुन् । अहिले रंगमञ्चमा भएका हस्तीहरूमा जर्मनीकी चान्सलर डा. एन्जेला मर्केलाको नाम महाफुडाको सूचीमा अग्रपंक्तिमा आउँछ । उनले भौतिक विज्ञानमा विद्यावारिधि गरेकी छन् । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह पनि महाफुडा हुन् । नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि महाफुडा हुन् । उनले सहरी योजना विषयमा विद्यावारिधि गरेका छन् । यस्तै, डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, डा. युवराज खतिवडा र डा. सिके राउत आदि सबै महाफुडाको समूहमा पर्छन् ।

महाफुडाको उपाधि पाउने केही विद्वान्हरू आध्यात्मिक जगत्मा पनि छन् । सिद्धबाबाका नामले चिनिने कृष्णदासजी महाराज हुन् या पतन्जली योग सिकाउने डा. चन्द्रमणि खनाल हुन्, महाफुडाकै वर्गमा पर्छन् । अहिले सामाजिक सञ्जालमा ख्याति कमाएका एक महासुडा छन् । उनी मुटुका डाक्टर हुन् तर ख्याति कमाएका छन्– साहित्य सर्जक र पूर्वाधार विज्ञका हिसाबले । उनको नाम हो, डा. रमेश कोइराला । उनले चाल्र्स सोभराजको समेत मुटुको शल्यक्रिया गरेका छन् ।

रमाइलो त के छ भने उनको सामाजिक सञ्जालमा एक अर्का महाफुडासँग परेको चर्काचर्कीको चर्चा व्यापक भएको छ । ती महाफुडा हुन्, डा. सूर्यराज आचार्य । यी दुई महारथीलाई एकै ठाउँमा ल्याएर ‘रेल सपना’ विषयमा एपिवान टेलिभिजनका टीकाराम यात्रीले संवाद चलाए ।

डा. आचार्यले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । उनी अहिले साझा विवेकशील दलका प्रवक्ता छन् । गत चुनावमा उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग चुनावी मैदानमा उत्रिएका थिए ।

रमाइलो कुरो त के भयो भने महासुडा कोइरालाले रेल पूर्वाधारसम्बन्धी कतिपय प्राविधिक मुद्दामा महाफुडा आचार्यलाई ललकारे । अब कुनै दिन आचार्य वा अर्को कुनै महाफुडाले कोइरालाको विरासत ‘मुटु शल्यक्रिया’ को विषयमा यसैगरी बहस गर्ने नौवत पनि आउला कि ? म यो महासुडा र महाफुडाको लिला देखेर चकित परेको छु ।

वास्तवमा विद्यावारिधि गरेको व्यक्तिको बौद्धिक र तार्किक क्षमता सामान्य जनको भन्दा बढी हुनुपर्ने हो । उसले आफ्नो विषयलगायत अन्य सार्वजनिक सरोकारका या व्यक्तिगत महत्वका विषयमा अन्यको ध्यानाकर्षण गराउने मात्र होइन मन्त्रमुग्ध नै बनाउन सक्नुपर्ने हो । तर, यस्तो हुँदैन । अधिकांश फुडाहरू आफ्नो हतियारको रूपमा मलामी गाम्भीर्य चलाउँछन् । उनीहरू यो अस्त्रले नै अधिकांश समयमा काम लिन्छन् ।

मैले ‘फुडा’ को उपाधि आर्जन गरेको शैक्षिक संस्था एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) का पूर्वप्रेसिडेन्ट जोन लुइस आर्मान्डसँगको एउटा भेट अविष्मरणीय छ । एआइटी एलुम्नी एसोसिएसन नेपाल च्याप्टरको निमन्त्रणामा उनी नेपाल आएका थिए । याक एन्ड यती होटलमा रात्रिभोजको आयोजना गरिएको थियो । म सुट र टाइको औपचारिक पहिरनमा पुगेको थिएँ ।

आर्मान्ड महोदयलाई सहभागीको एउटा समूहले घेरेको थियो । यस्तो बेलामा व्यक्तिगत कुरा गर्नेदेखि लिएर कसैलाई जागिर लगाइदिने वा आफ्नालाई एआइटीमा भर्ना गर्नेसम्मका निजी विषयका कुरा गर्नेको बाहुल्य हुन्छ । म पनि सहभागीले बनाएको घेरामा एउटा विन्दुको रूपमा उभिएको थिएँ ।

‘जेन्टलम्यान, यु हृयभ अ रेड पेन ?’

एकाएक उनले मेरो कोटको खल्तीमा टाउको देखाएर उनिएको रातो कलमतिर ध्यान दिँदै भने ।

‘दिस इज हृवाट यु गेभ मी ।’

मैले प्रत्युत्पन्न शैलीमा उत्तर दिएँ । यो उत्तरले उनको ध्यान पूरै मेरो कुरामा केन्द्रित भयो । उनी मेरो नजिक आए । अब कुराकानी उनी र मेरोबीचमा केन्द्रित भयो । अरू श्रोता भए ।

‘भेरी इन्ट्रेस्टिङ् । बट जेन्टलम्यान, आई डु नट फाइन्ड रेड पेन इन देयर पकेट्स ।’

उनले हामीलाई घेरा हालेका अन्य सहभागीतिर देखाउँदै भने, ‘नभन्दै अरूको खल्तीमा रातो कलम थिएन ।’

‘दियर इज अ स्टोरी बिहाइन्ड इट ।’

अब उनी मेरो कथा सुन्न लालायित भएका थिए । मैले प्रत्युत्पन्न शैलीमा कथा सिर्जना गरेँ ।

‘तपाईं अर्थात् एआइटीले हामी सबैलाई रातो कलम दिन्छ । तर, उहाँहरूको कलम भने विमानस्थलमा हराउँछ ।’

‘त्यो कसरी हुन्छ ?’

उनले फ्रेन्च भाषा बोल्ने रैथानेको झझल्को दिँदै अंग्रेजीमा मलाई सोधे ।

‘उहाँहरू रातो कलम सुटकेसमा राख्नुहुन्छ । विमानस्थलमा रातो कलम भएको सुटकेस थाहा पाएपछि त्यहाँका कर्मचारीले त्यो कलम चोरी गर्छन् ।’

‘तिम्रो रातो कलम कसरी सुरक्षित हुन्छ त ?’

‘म कलम सुटकेसमा राख्दिनँ । कोटको खल्तीमा राख्छु ।’

प्रेसिडेन्ट आर्मान्डले बैंकक पुगेर पनि रातो कलमको चर्चा गरेछन् । यसैले, ‘रातो कलम’ को प्रकरणपश्चात् मैले पनि आफूलाई महाफुडामा पदोन्नति हुने लाममा नराख्ने कुनै कारण देखिनँ ।

मेरो निवास नजिकै कोटेश्वर सेतीओपी मार्गमा किरण देउजाको स्टेसनरी पसल छ । म उनको पसलमा पत्रिका किन्छु । मेरो मोबाइलमा सञ्चित रकम राखिदिने काम पनि उनकै जिम्मामा छ । उनले एकपटक उनको पसलमा आएका एक अनौठा ग्राहकको कथा सुनाए ।

एक ग्राहक सिमकार्ड किन्न आएका थिए रे । किरणले उनको विवरण सिमकार्ड प्राप्त गर्न भर्नुपर्ने फारममा विवरण भर्न थालेछन् ।

ती अरूजस्ता सामान्य ग्राहक थिएनन् रे । ग्राहकले किरणलाई भनेछन्, ‘म डाक्टर हुँ । मेरो नामको अगाडि डा. लेख्नुहोस् ।’

‘माफ गर्नुहोला महासय, सिमकार्ड किन्नका लागि हजुरको ‘डाक्टर’ उपाधि चाहिँदैन ।’
यो सुनेर ग्राहक आक्रोशित भएछन् । उनले कडै शब्द प्रयोग गर्न थालेछन् । किरण पनि के कम ¤ विद्यार्थी जीवनमा राजनीति गरेका व्यक्ति परे । चर्काचर्की नै परेछ ।

‘ल ¤ तपाईंको नागरिकता हेरौँ । सिमकार्ड लिन चाहिने कागजात नागरिकताको प्रतिलिपि हो । त्यसमा
तपार्इंको नामको अघि ‘डा.’ लेखेको भए म पनि लेखिदिन्छु ।’

नागरिकता वा जन्मदर्ता जस्ता प्रमाणपत्रमा ‘श्री’, ‘सुश्री’, ‘श्रीमती’, ‘डा.’, ‘ई.’ जस्ता उपाधि लेखिएको हुँदैन । सिमकार्डको दाम सयमात्र पर्ने भएकाले त्योमात्र बेचेर खासै नाफा हुँदैन ।

प्रायःजसो मोबाइलका पसलेहरूले सिमकार्डसँगै मोबाइल पनि बिक्री हुने आशाले राखेका हुन्छन् । किरणले भने उनको पसलमा मोबाइलमा रकम हालिदिने सेवा पनि दिएका छन् । यसकारण पनि होला किरण ती फुइँ डाक्टरसँग खरो उत्रिए । आखिर यसै विषयमा कुरा नमिलेर ती फुइँ डाक्टर सिमकार्ड नै नकिनी हिँडेछन् ।

किरणसँग मेरो प्रायः हरेक दिन बिहान भेट हुन्छ । केही दिनअघिको कुरा हो । म पत्रिका लिन उनको पसलमा पुगेको थिएँ । एकजना अर्का ग्राहकले उनलाई सोधे, ‘हिजो राति प्रहरी आएको थियो रे होइन ?’

‘हो । आएको थियो ।’
‘किन आएको रहेछ ?’
‘गहना पसलका साहुजीले मापसे गरेर वितण्डा मच्चाएछन् । यसैले उनका परिवारले केही नलागेर यो उपाय अपनाएको रहेछ ।’
ती ग्राहक यति सुनेर हिँडे ।

मैले यही विषयमा किरणको ध्यानाकर्षण गरेँ ।
‘मापसे गरेर वितण्डा नमच्चाएको भए एउटा कुरा भने प्रमाणित हुन्थ्यो ।’
‘त्यो के होला सर ?’
‘उनले खाने गरेको माल नक्कली रहेछ भन्ने ।’
किरणको हाँसो प्रस्फुटन भयो ।
‘मानेँ सर । हजुर त्यतिकै फुडा भएको होइन ।’

उनले मेरो ‘डाक्टर’ उपाधिको तारिफ गरे । मलाई लाग्यो मेरो महाफुडा हुने यात्राको दूरी छोटिएको छ । अब म गन्तव्यमा पुग्न गति पनि बढाउने उपायको खोजीमा छु ।

०००
श्रीदरबार टोल, पुल्चोक, ललितपुर ।
साभार : http://ehimalayatimes.com/bichar-sahitya/32523

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
राम
राम
1 month ago

फेरि पढें फेरि रमाइलो भयो।

Nepal Telecom ad
फ्रान्सिस्काको इमोजी

फ्रान्सिस्काको इमोजी

डा. नवराज खतिवडा
महादेवीको उर्दी

महादेवीको उर्दी

डा. नवराज खतिवडा
मेरो बहर विद्यार्थी

मेरो बहर विद्यार्थी

डा. नवराज खतिवडा
ह्याप्पी ग्रीन डे

ह्याप्पी ग्रीन डे

डा. नवराज खतिवडा
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
1
0
Would love your thoughts, please comment.x
()
x