रामप्रसाद पन्थीअसफलताका सूत्रहरू !
नेताले देश बिगारे भनेर गाली मात्रै गर्नुभन्दा ताली ठाेकेर समर्थन गराैं । जबसम्म देशलाई असफल राष्ट्र घाेषणा गर्न सकिँदैन तबसम्म हामी सफल हुन सकिदैन । तसर्थ अब एकपटक असफल राष्ट्र निर्माणका लागि आवाज बुलन्द गराैं ।

रामप्रसाद पन्थी :
सानाे छँदा छाेटेलाल गुरूले असफलताले मान्छेलाई सफलतातिर लैजान्छ भनेर सुनाउनु भएकाे थियाे । त्यतिबेला त्याे कुरा आफू भुरा भएकाेले पटक्कै चित्त बुझेकाे थिएन । यसरी गुरूकाे कुरा चित्त नबुझ्नुमा केटाकेटी छँदा बुद्धि पनि केटाकेटी भएर हाेला भन्ने लागेकाे छ । अहिले आएर गुरूकाे कुरामा सत्यता देख्न थालेकाे छु । त्यसैले असफलताका केही सुत्रहरू लेख्न थालेकाे छु ।
याे ज्यान जवान छँदा जे गर्नमा पनि जाेस हुन्थ्यो । यसका केही उदाहरण यहाँ राख्नै पर्ने हुन्छ । एकपटक माेटरसाइकलमा सयर गर्ने भूत सवार भयाे । कस्ता कस्ता घाेडा दमालेकाे ज्यानलाई माेटरसाइकल दमाल्ने रहर भयाे । नाथे माेटरसाइकललाई जसाे गराए पनि हुन्छ भनेर सुरिदा गुल्टिएर तीन बल्ड्याङ खाइयाे ।यति मात्रै हाे र ? गाेडाचार दाँत फुस्किएकाे र दाहिने खुठ्टा ठुन्किएकाे कुराले अहिले पनि मन जिरिङ्ग हुन्छ । तैपनि पनि माेटरसाइकलसँग लभ गर्न छाेडिएन । बरू माेटरसाइकलका कान बटार्ने र स्टार्ट गर्दा लात्ता हान्ने गरेर साटाे फेरियाे । हट घाेडा हट बनाएर छाेडियाे । उतिबेला माेटरसाइकलसँग डिभाेर्स गरेकाे भए अहिले हजुरबा भएकाे बुढाे ज्यानले मैयाहरूलाई पछाडि राखेर डेटिङ जान कहाँ पाउथ्याे ?
कुरा माेटर साइकलकाे मात्रै छैन । सुरूसुरूमा भट्टीतिर छिर्दा टर्राे भएकाे ठर्रा उतिबेलै छाेडेकाे भए अहिले ग्यालेनका ग्यालेन उडाउन कहाँ सकिन्थ्यो ? सानामा कहिलेकाहिँ काक्रा चाेर्न असफल भएका घटना पनि मैसँग छन् । उहिले एकदुई पटक काक्रा चाेर्न असफल भइयाे तर चाेर्ने काममा हार खाइएन । उहिले त्यसरी चाेर्न छाेडेकाे भए अहिले देशकाे ढुकुटी फाेर्ने सफलता कहाँबाट मिल्थ्याे ?
हिजाे मात्रै समाचारले ठगसेवामा छ पटकसम्म ठगिएकालाई असफलताकाे ताताे पन्युले डामेर छाेडिदिने भनेकाे सुनियाे । छ पटक ठगिनेले त्याेभन्दा बढी ठगिनै नपाउने ? जतिपटक ठगिए पनि कसैकाे टाउकाे किन टन्किएकाे हाेला ? तिर्नेले राजश्व तिरेकै छ । हसुर्नेले खाजस्व हसुरेकै छ । परीक्षार्थीले परीक्षा नदिए कसका निम्ति प्रश्नप्रश्नपत्र र उत्तरपुस्तिका छाप्ने ? कसरी बित्ताले उत्तर नाप्ने ? केन्द्राध्यक्ष , निरीक्षक , परीक्षक आदिले कसरी भत्ता चाँप्ने ? कुरा सुन्दा उदेक लागेर आएकाे छ । हैन हाम्रा बुद्धिजीवीकाे बुद्धिमा धमिराले गाेलाे बनाएछ कि क्या हाे ?
जेहाेस् छाेटेगुरूकाे सिद्धान्त राजनीतिक क्षेत्रमा अक्षरशः लागू भएकाे देख्दा चाैपटै खुसी लाग्ने गरेकाे छ । उहिले एकादेशका राजाले अक्षम भनेर फालेका मान्छेलाई आफैले सक्षम बनाएका थिए रे ! त्यसपछिका दिनहरूमा ती अक्षमवाला मान्छे पटक पटक मन्त्रीहरूका प्रधान बन्न सक्षम भएकाे ईतिहास छ । कुरा बुझ्दै जाँदा थाहा लाग्याे ; दुईचार पटककाे अक्षमताकाे लाभ उठाउँदै आफूलाई एक नम्बरको सक्षम साबित गर्नमा अरू चार/ छ जना पनि सफल भएका रहेछन् ।
हामी बुद्धु छाैं , बुद्धु छाैं र त वीर छाैं भनेर भूपेन्द्रमान शेरचनले लेखेकाे कुरा मलाई निकै घत लाग्ने गरेकाे छ । हामीकहाँ न बुद्धिजीवीकाे कमी छ । न त बुद्धुजीवीकाे ! जाे जति धेरै बुद्धु छ ऊ त्यति नै बढी बुद्ध बन्दछ । स्वघाेषित बुद्ध बनेपछि महाकुम्भमा पाप पखाले शुद्ध भइहाल्छ क्यारे !
नीतिनियम , ऐनकानु ,संविधान जसका लागि बनाइएकाे उसैले मान्ने हाे । बनाउनेहरूले त मिलाई मिलाई हान्ने हाे । दुहुनाे गाई बनाएर सकेसम्म तान्ने हाे । कामधेनु ठान्ने हाे । मेसाे मिलेन भने टेबल हान्ने हाे । अन्टासन्टा व्याख्या गर्न न्यायपालिका छदैछ । व्यवस्थापिकाबाट व्यवस्था मिलाएर कार्यपालिकाबाट झ्वाम् पार झ्वाम् गर्ने हाे । भुँडी भर्ने हाे चानस परेका बेला डानस नगरणने हाे भने भाेलि कसकाे भर पर्ने हाे ? काले काले मिलेर खाम भाले भनेकाे यही हाे ।
विशिष्ट र पूर्व विशिष्ट बन्ने व्यवस्था चिरकाल रहला नरहला ? मेसाे पारेर माैकैमा चाैका दाउ हान्नु पर्छ । दीपक दीपा जाेडीकाे छक्का पञ्जा शृङ्खलामा क्रम भङ्गता भयाे भने सत्ता दाउ सुइँकिन के बेर ?
सडकमा असफलहरूकाे दाेहाेरी चलेकाे छ । रमितेहरू आआफ्नो पक्षमा राेइलाे गर्दै छन् । चिहानमा खरानी भएकाे भूत जगाउने असफल प्रयास नगर्ने सुझाव केहीले दिएका छन् । तर मनमा शंकाकाे ढ्याङ्ग्राे बजेकाे छ । केही गरी भूत विद्याले प्रेतात्मा जगाइहाल्ने हाे कि ? केही असफल तान्त्रिक हरू कठाेर साधनामा लागेकाे चर्चा चलेकाे छ । कुनै समय खाइपल्केकाहरू निरन्तर खान नपाएकाे झाेंकमा उतै ढल्किएका खबरहरू अखबारले छापेकाे कुरा बेखबर छैन । यता कसैलाई त्राही त्राही छ । केही गरी मसाने भूत जाग्याे भने ताताे कराहीमा फ्राइ गरेर लुछ्ने हाे कि ? मर्ना हे ताे डर्ना क्यूँ भन्दै असफलहरू कम्मर कसेर लागेका छन् । आआफ्नो पक्षका हनुमानहरूले जयगानका नारा लगाएकाे प्रष्ट सुनिन्छ । बाहरू धराे फुस्किने डरले थर्कमान छन् । भाइ, छाेरा र नातिहरू बुढा भएका बाहरूकाे लफङ्गाे पाराले कुन भङ्गालाेमा जाकिने डरले बेलाबेला झस्किएकाे कुराहरू आउन थालेका छन् ।
विकसित राष्ट्रहरू कसरी सफल भए ? हाम्रो चासाेकाे विषय हाेइन । हामी कसरी असफल हुने गम्भीर विषय हाे । हामीलाई असफलताको शिखर चढ्नु छ । असफल हुनु भनेकाे नै सफल हुनु हाे भन्ने मान्यताका हामी अनुयायी हाैं । असफलता हाम्राे मार्गदर्शन हाे । हामी असफल राष्ट्रहरूमध्ये एक नम्बरमा हुनुपर्दछ । यसैमा हाम्राे इज्जत छ । गरिमा छ । यति गर्न सकियाे भने डाेनाल्ड ट्रमकाे पनि सेखी झार्न सकिनेछ ।
आत्मनिर्भरता हात्तीकाे देखाउने दाँत हाे । संसारमा जुम्रा , चमजुम्रा , किर्ना र जुका जस्ता परजीवी कीटाणुहरू पनि बाँचेकै छन् ।वनस्पति जगतमा आकाशबेलीकाे अस्तित्व रहेकै छ । सुनाखरीले अरू वृक्षकाे बाेक्रबाट रस चुसेर बाँचेकै छ । संसारमा भिखारीहरूकाे पनि प्रतिष्ठा छ । कार चढेर भिख माग्न हिड्नुकाे पनि बेग्लै गरिमा छ ।
मानिसहरूले देश असफल भयाे भनेर चिन्ता गरेकाे देखिन्छ । मैले त जति हुनुपर्ने हाे अझै भएन भन्छु । राष्ट्रियता भनेकाे केवल भावनात्मक विषय हाे । भावनामा बगेर केही हुँदैन । यताउताकाले सीमा मिचे भनेर किन पिर गर्ने ? देशै जिम्मा दिने हाे भने उनीहरूले पनि मिचिरहनु पर्दैन । सिक्किम र तिब्बत जस्ता छिमेकीहरूले आज विशालता प्राप्त गरेका छन् । हामीले मात्रै किन राष्ट्र र राष्ट्रियताकाे राग अलाप्ने ? खाेला र नदीहरूमा मात्रै सिमित हुनुभन्दा समुन्द्रमा समाहित हुनु राम्रो हाे । नेताले देश बिगारे भनेर गाली मात्रै गर्नुभन्दा ताली ठाेकेर समर्थन गराैं । जबसम्म देशलाई असफल राष्ट्र घाेषणा गर्न सकिँदैन तबसम्म हामी सफल हुन सकिदैन । तसर्थ अब एकपटक असफल राष्ट्र निर्माणका लागि आवाज बुलन्द गराैं । आउनुहोस् सबैले असफलताका लागि एकसाथ प्रण गराैं ।
०००
रेसुङ्गा न पा २, गुल्मी
२०८१।१२।०५
Subscribe
Login
0 Comments
Oldest








































