साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बतासे बनभोज

बनभोजका अर्का रसिला सहभागी थिए-जेपी मोरग्यान । उनका नामका अघिल्ला अक्षर पनि जे र पी भएकाले मैत्री समूहमा उनले यो अमेरिकी नाम पाएका थिए । तारेको कुखुराको मासु मजा लिँदै जेपीले आफू बाजुरामा हाकिम भएर जाँदाको रोचक अनुभव सुनाए ।

Nepal Telecom ad

डा. नवराज खतिवडा :

डाक्टर साहेबले बस भित्र प्रवेश गर्दा केही सह-यात्रीले आसन जमाईसकेका थिए । दुई दर्जन जति सिट भएको दायाँ र बायाँ दुवैतिर दुई दुई जना बस्न मिल्ने सुविधा भएको बस थियो । उनले आफूलाई पछिल्तिरको खाली सिटमा बस्ने उम्मेदवार बनाए ।

बसको अग्रभागमा आसन जमाएका एक पुरुष पात्रको आवाज पछाडिसम्म सुनियो ।

“यहाँ पनि सिडिओ नै बन्न खोजेर होला त !”

समूहमा अधिकांश पूर्व प्रशासक र कर्मचारी थिए । प्रमुख जिल्ला अधिकारीको भुमिकामा लामो समय रही सेवा निवृत भएका एक महानुभाव बसमा चढ्नुको साटो बाहिर उभिएर केही गम्न थालेछन् । यसैले खरो टिप्पणीको शिकार भैहाले ।

“पिकनिक जाँदा कुर्सी बोकेर आउन पाइन्न ।”

अर्का एक पूर्व सिडिओ साहेब पनि के कम ! उनले आगोमा घ्यु थपे ।

कोटेश्वर महादेवस्थानमा हरेक दिन झिसमिसेको हिँडाई सकेर चिया-पानका लागि भेला हुने समूहले बनभोज कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक सन्जालमा “कोटेश्वर प्रात: सायँ मैत्री समूह” को नामले लोकप्रिय यो समूहका एक फरासिला र मृदुभाषी पूर्व प्रशासकले बनभोज कार्यक्रमको संयोजकको नियुक्ति पाएका थिए । आफ्नो जागिरे जीवनमा भेटिएका एक को-अर्डिनेटरलाई उनको माताहतका एक कर्मचारीले “कुईनेटर साहब” भनेर सम्बोधन गर्थे भनी एक सहभागीले सुनाए । रमाईलोको भोकप्यास सँगालेर बनभोजमा काकाकुल भई हिँडेका जमातले यो उपाधिलाई नटिप्ने कुरो भएन । यसैले बनभोज कार्यक्रम भरी संयोजकले उपाधि पाए-कुईनेटर महोदय ।

बस हिँडे लगत्तै पछिल्तिरको सिटका एक सज्जनले कसैको नाम लिएरै खोजी गरे ।

“फलानो महोदय खै त !”

“भाउजूसँग बस्नु भा छ ।“

“अर्काको भाउजूसँग बस्नु भा कि आफ्नैसँग ?”

“आफ्नैसँग ।”

यो सुन्नासाथ ती सज्जन बसको पश्चभागतिर सरे । उनको स्थानमा अर्काकै भाउजूले आसन जमाइन् ।

कुईनेटर महोदयले धुलिखेल र पनौतीको बीचको बतासे डाँडामा अवस्थित बनभोज स्थलका सन्चालकलाई फोन गरेर भनेका रहेछन्-

“तेइस जनाको टोली छ । ६ जोडी र ११ बुङ्गा ।”

धेरै मान्छे जम्मा हुने सभा-समारोह वा रसरङका कार्यक्रमहरुमा नौजवान र भूतपूर्व नौजवानहरु दुवै जान चाहन्छन् रे । तर दुवै समूहका फरक फरक उदेश्य हुन्छन् रे । पहिलो समूहको उदेश्य नयाँ साथी फेला पार्ने र सम्बन्ध गाँस्ने हुन्छ रे तर दोस्रोको आफ्ना अनुभव सुनाउने ।

यस्तै भयो । बनभोज टोलीका सदस्यहरु आ-आफ्ना अनुभवका पोका पन्तेरा खोल्न थाले । यसको श्रीगणेश गरे एक योग गुरुले । उनी एक पोको अङ्गुर लिएर बोनेटको सिटमा गए । अनि उद्घोष गरे- विहान दश वटा बेलुका दश वटा अङ्गुर खाने व्यक्ति निरोगी हुन्छ । भन्नलाई दश भने पनि उनी सबैलाई पाँच-पाँचवटा अङ्गुरका दाना बाँड्दै बसको पछाडि सर्न थाले । डाक्टर साहेबका छिमेकीले अङ्गुर लिँदै आफ्नो माग राखे-

“यो त विहानको लागि भयो बेलुकाको भाग खै त ?”

सूर्यविनायकको आसपासमा देब्रेतिर देखिएको शुभकामना पार्टी प्यालेसमा जम्मा भएको भीडले सबैको ध्यानाकर्षण गर्‍यो । हातमा झण्डा पनि बोकेका भीडपात्रहरुको उपस्थिति देखेर कसैले टिप्पणी गरिहाल्यो ।

“भर्खरै मन्चन भएको सुन्दरीकाण्डका नायक पूर्व मन्त्रीको विवाह गराइदिन लागे होला । आखिर जिम्मा त लाउनै पर्‍यो । विवाह गराइदिए पछि त पार्टीका सुप्रिम कमान्डरहरुलाई पनि हाइसन्चो हुने भयो ।”

सबैले ‘हो’ मा ‘हो’ मिलाए । प्रस्तावित तर्कमा दम भएको अनुमान सबैको थियो ।

बनभोज टोलीमा ससुराली खलक, ज्वाईँ, सालो, भिनाजु, अङ्कलजी, जिबा, मौसुफ सरकार आदिको उपस्थिति थियो । अँकलजी र अर्का एक सज्जनले डाक्टर साहेबले आइएस्सी गरेकै कलेजमा स्नातक तहको अध्ययन पूरा गरेकोले यी तिन जवानका विचको त्रिशँकु झनै घनिष्ट हुने नै भयो । ती सज्जनले डाक्टर साहेबलाई “डाक्टर” भनि सम्बोधन गर्थे । डाक्टरले भने उनलाई “दाइ” । एक जनाले साइनो लगाएपछि अरुले पनि त्यही “भेडा बुद्धि” को मियो समाउने नै भए ।

कुनै प्रसङ्ग चल्दै थियो । भिनाजुले अलि घुमाउरो पाराले आफ्नो अभिव्यक्ति रङ्गमन्चमा खन्याए । पछाडिबाट दाइले अर्को खरो टिप्पणी गरे-

“भिनाजुले चोकेमा हालेकै छ ।”

भक्तपुरको होटेल भ्यु भृकुटीको आडैमा रहेको पेट्रोल पम्पमा बस तेल भर्न रोकियो । शौचालय प्रयोग गर्ने क्रममा डाक्टरले मौका छोपेर एक चुटकिला सुनाइहाले ।

एउटा जिल्लामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेछ । प्रमुख अतिथि परेछन् काङ्ग्रेसका एक वरिष्ठ नेता । उनी कार्यक्रमस्थलमा रहेको शौचालयमा गएछन् । त्यहाँ “मेल” र “फिमेल” लेखिएको थियो । उनले पढेछन्- माले र फेमाले । आयोजक प्रति आक्रोश व्यक्त गर्दै उनले भनेछन्-

“प्रमुख अतिथि बनाउने काङ्ग्रेसको नेतालाई अनि शौचालयमा चै “माले” र “फेमाले” लेख्ने ?”

यो सुने लगत्तै टोलीका वरिष्ट सदस्य सप्तरीका पूर्व प्रमुख जिल्ला अधिकारीले आफ्नो रोचक अनुभव सुनाए ।

“छिन्नमस्ता गाउँपालिकाका अध्यक्षले आफ्नो घरमा कसै गर्दा पनि शौचालय बनाएनन् । त्यही निहुमा उनलाई ल्याएर दुई दिन थुनियो । त्यो कारबाहीले उनको ज्याद्रोपन केही मात्रामा त सेलायो । तर पनि शौचालय निर्माणमा लगानी गरेनन् र सबैको हारगुहारले उनको घरमा शौचालय बनेरै छोड्यो ।“

डाक्टरलाई बनभोजमा परिचयात्मक कार्यक्रमको सन्चालन गर्न मौसुफ सरकारको आदेश थियो । यसैले उनी घरिघरि टोलीको कुरा सुन्थे । गफले चरमबिन्दु छोएर ओरालो लागेपछि उनी मनमनै कार्यक्रमको खाका कोर्न तल्लिन हुन्थे । एघार जोडी बनाएर हरेक जोडीलाई पालै पालो परिचय गर्न लगाउने योजना उनको थियो । समस्याको परिधिमा जोडी कसरी बनाउने भन्ने प्रश्न थियो । केन्द्र भाग अझ पेचिलो थियो-छ जना देवीजीहरुलाई कोसँग जोडी बनाउने ? एकातिर, उनीहरुकै श्रीमान्हरुसँग बनाउँदा खेलमा रौनक नथपिने भय थियो । अर्कातिर, अरुका श्रीमानसँग जोडी बनाए अर्थको अनर्थ लाग्ने जोखिम ।

डाक्टरको मष्तिस्कमा चट्याङ् परे झैँ झड्का लाग्यो । उनलाई गजबको र सर्वमान्य हुन सक्ने उपाय सुझ्यो।

“कुम जोडेर सिटमा सँगै बसेका दुई व्यक्तिलाई जोडी बनाउने । यसो गर्दा महिला सहभागीको पनि हल निस्कियो किनभने उनीहरु जोडी बाँधेरै बसेका थिए ।”

नभन्दै यो उपायले काम गर्‍यो। डाक्टरले जोडी बाँधिएका दुई मध्ये एकले अर्काको परिचय दिनु पर्ने नियम बनाए । परिचयको काम सकिएपछि उत्कृष्टको चयन मतदान मार्फत गरियो । जिबाले कवितात्मक शैलीमा आफ्ना दौँतरीको परिचय दिए । उनले अत्यधिक मत ल्याए, पुरस्कार पनि पाए ।

बनभोजका अर्का रसिला सहभागी थिए-जेपी मोरग्यान । उनका नामका अघिल्ला अक्षर पनि जे र पी भएकाले मैत्री समूहमा उनले यो अमेरिकी नाम पाएका थिए ।

तारेको कुखुराको मासु मजा लिँदै जेपीले आफू बाजुरामा हाकिम भएर जाँदाको रोचक अनुभव सुनाए ।

जेपीका भान्से त्यहाँकै स्थानीय रहेछन् । भान्सेसँग भएका कतिपय संवाद जेपीलाई कण्ठै रहेछन् । एक पटक उसले भेडाको मासु किनेर ल्याएछ । मासु यति चाम्रो रहेछ कि चबाउनै मुश्किल । जेपीले भान्सेलाई केरकार गरेछन् ।

“मासु किन चाम्रो छ ?”

“२३ सिटी लगाया हुम सा’ब ।”

भान्सेले कुकरमा लागेको सिटीको फेरिहस्त नै दिएछ ।

जिउँदो कुखुरा किनेर ल्याउँदा एक केजी, डेढ केजी वा दुई केजी जत्रो भएनी दाम भने रु १५० नै पर्दो रहेछ । एक पटक भान्सेले एउटै कुखुराको मासुले धेरै छाकसम्म काम चलाएछ । विस्तारै मासुको मात्रा कम हुँदै आलुको मात्रा अधिक हुन थालेछ । जेपीले केरकार गरेछन् ।

“यो मासु हो कि आलु हो ?”

“मासु कम भया हो आलु मिसाया हुम ।“

थरी थरीका गफ । थरी थरीका प्रसङ्ग । पेशागत जीवनका आरोह अवरोहहरुका कथा । देखिएका, सुनिएका भोगिएका अनगिन्ती सम्झना । सबै विन्दास । सबै हलुका स्नायूमा ।

बनभोजको सामग्री र खानपानको व्यवस्थापन बतासे डाँडामा होटल र फार्म खोलेर एकीकृत सेवा दिँदै आएका स्थानीय श्रोत व्यक्तिले गरेका थिए । उनले बाजा पनि तयार गरे । गाना सुरु हुनासाथ बनभोज टोलेहरु जर्‍याक जुरुक उठे । हातले फन्का मारेर कम्मर मर्काउँदै भूतपूर्व नौजवानहरुले रङ्गमन्चमा प्रवेश गरे ।

माली गाईलाई बाटेको दाम्ला
मेरो माया छोडेर काँ जाम्ला !
परिचयात्मक कार्यक्रममा कविता लेखेर पुरस्कार जितेका जिबाले सिंहदरबार नजिकको माइतिघरमा घर टहरा भएका बेलाको रोचक प्रसङ्ग सुनाए ।

त्यसबेला साइकलबाट आवतजावत गर्नेहरुको संख्या उलेख्य थियो । एक व्यक्तिले कुनै पसल अघि साइकल राखेर कतै गएका रहेछन् । उनी फर्किँदा त साइकल गायब ।

उनी ठूलो स्वरले कराउन थालेछन् । वरिपरिका मान्छे भेला भए ।

“मेरो साइकल भेटिएन भने ३६ साल दोहोर्‍याइदिन्छु ।“

चोरले साइकल फिर्ता गर्ने कुरो भएन । कसले लग्यो भन्ने कसलाई के थाहा ? तर साइकल धनी झन जोडले कराउन थालेछन् ।

“मेरो साइकल भेटिएन भने ३६ साल दोहोर्‍याईदिन्छु ।“

साइकल हराउने पात्रले पटक पटक त्यही वाक्य दोहोर्‍याएकोले एकजना हुलपात्रले यथास्थिति चिरेछन् ।

“आखिर ३६ सालमा भएको चैँ के थियो ?”

“त्यसबेला पनि मेरो साइकल हराएको थियो । म पैदल घर गएको थिएँ ।”

वनभोज कार्यक्रमका अर्का नक्षत्र थिए-अँकलजी । उनले बेलुन नृत्य खेलाए । दुई समूह बनाएर प्रश्नोत्तर गर्ने रोचक खेल खेलाए । जादुको किताव हातमा लिएर जादु नै देखाए ।

अँकलजीको साथमा आन्टीजी पनि थिइन् । आन्टीजी भने दार्जिलिङ्की चेली रहिछन् । उनीहरुको विवाह २०३७ सालमा भएको रहेछ । धरानबाट जन्ती जानु पर्ने दार्जिलिङ । मेची नदीमा पुल नभएको अवस्था । नेपाल र भारतमा छुट्टाछुट्टै गाडीको व्यवस्था गर्नु पर्ने । जन्ती बेहुली घर पुग्दा अबेर भएछ । घर गाउँलेले कुरा काटेछन्-बेहुलाले धोका दियो ।

तर जब जन्ती बिहेघरमा पुग्यो । घर गाउँलेको बीचमा अर्को गाँईगुईँले प्रवेश पाएछ ।

“बेहुला त दुई जना पो आएछन् ।“

बेहुला भएका अँकलजी र अर्को एकजनाले दुबोको माला लगाएका रहेछन् । पहिरन पनि लगभग उस्तै । यसैले त्यो अन्यौल सिर्जना भएको रहेछ ।

साला-भिनाका प्रसङ्ग पनि चुलीमै पुगको अनुभूति सहभागीलाई त्यसबेला भयो जब भिनाजुले पत्यार नलाग्ने घोषणा गरे ।

“म भन्दा मेरो सालो १० वर्ष जेठो छ । बुढी दिदी तन्नेरी भेनालाई भिडाउने षडयन्त्र गर्ने दस्ताको अगुवाई गर्ने मेरै सालो हो।“

यसैलाई भर्‍याङ लगाएर दाइले भने सालो महिमाको अर्को गाथा गाए ।

“सबैका साला काला हुँदैनन् ।“

नाचगान पछि बिङ्गो खेल्ने कार्यक्रम भयो । डाक्टरले बिङ्गो मास्टरको भूंमिका निर्वाह गरे । जीवनमा पहिलो पल्ट यो खेलको आनन्द लिने पनि सहभागी केही देखिए । बनभोजको दिवा भोजन भने अपरान्ह भोजन भयो ।

प्रशासन र लेखाका तौरतरिका थाहा नहुँदा कसरी बलिको बोको बनाउँछन् भन्ने कुराको प्रसङ्ग एक पूर्व प्रशासकले कोट्याए । एक जना ओभरसियर बिहे पश्चात पहिलो पटक ससुराली गएछ । ससुरालीको मेजमानको आनन्द लिएर कार्यालयमा उपस्थित भएपछि उसका केही कर्मचारी साथीले सल्लाह दिएछन् ।

“पहिलो पटक ससुराली गएको त भ्रमण भत्ता पाइन्छ नि !”

नभन्दै उनीहरुकै उक्साहाटमा ती ओभरसियरले भ्रमणभत्ताको कागजात भरेर सहीछाप गरेछन् । त्यसपछि उनी त्यो कागजात लिएर स्वीकृतिका लागि स्थानीय विकास अधिकारीकहाँ गएछन् ।

बतासे डाडाँको बनभोज साँझ ७ बजे कोटेश्वर महादेवस्थानमा गएर टुङ्गियो । डाक्टरले घर पुगेर आफ्नो डायरीमा बनभोजको स्मरण लेखे ।

“यस्तो चमत्कारिक बनभोजमा सहभागी हुने अवसर सबैको भाग्यमा कहाँ लेखेको हुन्छ र ?”

०००
कोटेश्वर, काठमान्डौ
वैशाख १०, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फ्रान्सिस्काको इमोजी

फ्रान्सिस्काको इमोजी

डा. नवराज खतिवडा
महादेवीको उर्दी

महादेवीको उर्दी

डा. नवराज खतिवडा
मेरो बहर विद्यार्थी

मेरो बहर विद्यार्थी

डा. नवराज खतिवडा
ह्याप्पी ग्रीन डे

ह्याप्पी ग्रीन डे

डा. नवराज खतिवडा
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x