नरेन्द्रराज पौडेलभ्यागुताको श्वेतपत्र
अनि परापूर्वकालदेखि नेपाल नाउँ गरी आएको त्यसै महापोखरी वरपर तलमाथि सबै क्षेत्रमा भ्यागुता वर्गको एकलौटी विशेषाधिकार कायम गर्ने र नगरा बजाउदै दिनको तीनपल्ट पोखरीको परिक्रमा गर्ने ।

नरेन्द्रराज पौडेल :
खैरा प्राणीले श्वेतपत्र जारी गर्ने चलन आफैंमा अनौठो नलागे पनि बाउउँठोचाहिँ पक्कै हो कि ? किन त भन्दा आजसम्म यो नेपाल नामक धराधामको चलनचन्तीमा यो कुरा आइपुगेजस्तो लाग्दैन । फिलहालको लागि यो एउटा अनर्थकारी घटनाजस्तो पनि लाग्न सक्छ । तैपनि देशदेशावरमा यस्तो प्रयोग यदाकदा चल्दै आएको कुरा सोह्रै आना साबित भइआएको छ । कहाँ कहिले चल्यो त्यो कुराको खोजखवर गर्न बेग्लै प्रकारको फुर्सदको आवश्यकता पर्छ । आफ्ना अतीतका काला कामकर्तूत ढाकछोप गर्ने प्रयोजनका लागि बाटो फोहोर पार्दै हिँड्ने देशका शासक प्रशासक अगुवाहरूबाट पनि उहिल्यैदेखि यो क्रियाको प्रक्रिया चलीआएकै थियो तर नितान्त फरक वंशवृक्षमा फलेफुलेका खोला खाडी र खेताका कुन भित्तामा मा हुर्केबढेका धुस्रेफुस्रे रागेपाटे छिर्केबिर्के अनेकथरी वर्ण र रूपरङ्गका अरुको खती र कुभलो नगर्ने सज्जन सभ्य स्वभावका मण्डूकवृन्दले पनि मानिसको भन्दा तगडा प्रकारले श्वेतपत्र जारी गर्ने भन्ने कुरो अलि अनौठो चैं पक्कै हो । आफ्ना वासस्थानलाई घरघडेरीमा परिणत गरेर विस्थापित गराइदिने मान्छे वर्गसँग वैरभाव भएर हो वा अरु नै केही कुराले हो, श्वेतपत्र नै जारी गर्नु पर्ने अवस्था आइपुग्यो भन्ने रहस्य उधिन्न भने लरतरो तालले पार लाग्लाजस्तो लाग्दैन । हेरौं यसलाई पनि समयले के भन्छ !
परापूर्व कालदेखि नै अपूर्व तालले किसान र भ्यागुताबीच नङ र मासुको सम्बन्ध रहीआएको कुरालाई कुकुरा याने पाल्सी बात भन्न किमार्थ मिल्दैन । भावर प्रदेशकै कुरा गरौं या हिमाली भेगभागका खोरिया याक्सा, गोठको । जतासुकै पनि खडेरीले किसान वर्गलाई आतेस पार्दा तिनै भ्यागुता बेहुला बेहुलीको पोसाकमा सजिएर पानी माग्ने उत्सवका नायक नायिका बनिदिन्थे । बर्खा लागेपछि गाउँका पोखरी, आहाल, बिसीका सिमसार, जरुवा, खोल्सा र गैरीखेतमा पनि यिनीहरूकै हालहैकम बर्करार थियो । उमेरले डाँडो काटेका र जन्ममितिको हिसाबले पनि ज्येष्ठ मण्डूकको सम्मान पाउने दर्जामा टेकेकाहरू अनेकथरी राग विराग र अनुरागका शास्त्रीय गायनमा रमाउँथे । उनीहरूको जमातमा सीताहरण, भरतनाट्यम्, कत्थकआदि अनेकथरी नृत्यका ताथैततथै चल्दथे । कतै रातोदिन लोकदोहोरीको जुहारीमा तन्नेरी भ्यागुताहरूको मारुनी, झाम्रे हुड्का चुड्का र देउडा चल्दथे । शास्त्रीय नृत्यको लीला र लोकल स्वरलहरीको भोकल प्रवाह चलिरहँदा बाउसे रोपार बन्दै असारे हिलोसँग दिनभर छुत्ती खेलेर बेलुकी हुत्तिँदै घर पुगेका किसानहरू तातो पेट गरेर त्यही संगीतले कान भर्दै सापटी आनन्द लिने गर्दथे ।
घरबाहिर गायन ट्यारट्यार, घरभित्र निद्राको घ्वारघ्वार ! तराई पहाड भन्नु नपर्ने, नदीकिनार, सिमसारदेखि गाउँका पोखरी, आहाल जताततै ट्यारट्यार ध्वनिभित्र अनेकथरी तानपुरा भरेर रातभर पालैपालो गीत, गजल, मुजुरा, कव्वाली गाउँदै तिनै मण्डूक मित्रले नै थकित गाउँलेका कानमा अमृत हुलेर चकित पार्दै मीठो निद्रा भरिदिन्थे ।
केही समययताको कुरा— खेतीबारी, चरनचउर तालतलाउ र आहालबाट एकाएक भ्यागुता हराउँदै गए । यो घटनाले खेती किसानी गर्ने धर्तीपुत्रमाझ ठूलै अपसकुनको आशङ्काले खैलाबैला मच्चायो । एक कान दुइ कानहुँदै हल्लाले मैदानमा उत्रिएर बाजी लडायो । किसानहरू प्रतिदिन भित्रभित्र चिन्तित बन्दै र सँगसँगै बाहिर दुब्लाउदै पनि गए । कृषकभन्दा पनि कृषि मजदूरहरूले त भ्यागुता वियोगको चिन्तामाथि चिन्तन गर्दै अझै खबरदारी र चासो थपेर आफैंलाई पासो थापेर हलाल गर्ने सम्मका विचारसभा गर्न थाले । कृषि वैज्ञानिकहरूले भ्यागुताविहीन संसारमा हुनसक्ने वातावरणीय असन्तुलनले निकट भविष्यमै आसन्न विनासलीलाको टिकट बाँड्ने खतरा देखेर भ्यागुता छोप्ने पासो थापे । चलाख मृग भागेर पासो खाली रहेझै उनीहरूको पासोमा एउटै सारसउँधो भ्यागुतो नपर्दा उल्टै गलापासो आइलागेझैं भयो । जैविक विविधताका पक्षपोषक जीवशास्त्रीहरूको त भ्यागुताको बीजै हराउने दुश्चिन्ताले होसहवास नै ठेगानमा रहेन । यस घटनाबाट खडेरीको खतरादेखि लिएर अनिकालको खाली कतारोसम्म उनीहरूले देखे । अझै अरु पनि के के देखे देखे । साँच्ची भनौं भने असमयमा देखिएको भ्यागुता वियोगको आँधीवेरीले मत्र्य लोकमा कुहिराको काग नै पो बिर्साइदिएछ ।
खडेरी परेको बेला भ्यागुताको जोडी जुटाउदै विवाह महोत्सव सम्पन्न गरेर पानी पार्न पल्किएका नेपालीलाई भ्यागुताविनाको जीवन पनि आफैँमा रेमिट्यन्सविनाको गाउँ या साहाराविनाको बुडेसकाल या भीरको उभिन्डो फर्सीझैँ लाग्न थाल्यो । मरूभूमीकरणको तात्तातो राप र सन्तापले मान्छेमा समेत वातावरण जोगाउन हानथाप थपिदै गएको बेला सानोतिनो नै भए पनि सहारा सेतु बनेको भ्यागुता वर्ग यसरी गायव भइदिएपछि परेन फसाद ? कसको जोडी बाँधेर बिहे गराउने र इन्द्रदेवसँग पानी माग्ने भन्ने यक्षप्रश्न खडा भैदियो । भविष्यको काल्पनिक खडेरीले बर्वादी सूचक वर्तमानको तुँवालो बनेर आँखा नै पो ढाकिदिएछ ।
किन कहाँ गायव भए त यी विश्वलाई नै गुन लगाउदै आएका अनि किसानलाई बाह्रै महिना आडभरोसा दिने भ्यागुताहरू ? कतै अनुसन्धान त कतै सभा गोष्ठीको विषय बनेछ यो प्रश्न । कतै दातृसंस्था पगारेर रिसर्च फेलोशिप माग गर्दै एन् जी ओ ताते । कतै जी ओ नै सरकार साधेर काम हत्याउन लम्पसार परे । गोष्ठी सभाको घुइँचोले तारे होटेल भरिभराउ भए ।
लामालामा बहस र विश्लेषण हुँदै गए । यो विशाल धर्तीमाथि बाँच्ने, मौलाउने, उफ्रिने र कराउने भ्यागुताहरूको वर्गीय, जातीय जीवनचक्र नै समाप्त भएर विलाएको ठाने कसैले । वंशविलोपको वियोगान्त कथाको कारण समय प्रवाहको परिणाम हो भन्थे कसैले । किसानको खेतीमा प्रयोग गरिएका रासायनिक मल र विषादिको प्रकोपबाट धर्तीका यी आदिम शाखा सन्तानको जीवन निर्बाह अभरमा परेको र बासस्थान नै विषाक्त बन्न पुगेर त होइन ? यो नै सबभन्दा गइन्ने खालको तर्क थियो कसैको । आधुनिक उर्वरक र पेस्टिसाइटले नै भ्यागुता वर्गको सत्यानाश भएको ठान्ने थिए कोही । कसैले भने सर्प, अजिङ्गर, गोहीजस्ता घातक प्राणीको बडाबडीले तिनीहरूको जीवनमा गडबडी पैदा भएको ठाने । उनीहरूकै नानानौथरी वंशको अंशवण्डामा परेर भागशान्ति आहार बन्दैआएका अभागीका घर भ्यागुता वर्गको वंशविनाश र विश्रान्तिको मुहूर्त नै आइपुगेको तर्क विच्छ्याउनेमा पुगेछन् कोही । कसैले भने आकाशमार्गी बनेर धूर्त भ्यागुताहरू उन्नत प्रजातीका जुका, पाहा, गड्यौलाको खोजीमा विदेश पसेका हुनन् भन्ने गतिलै तर्क प्रस्तुत गर्दै थिए । तर जेजे जसोजसो भने तापनि भ्यागुताहरू आसपासका अजलथल क्षेत्रबाट एकाएक गायब भएको पक्कापक्की भएपछि कृषिकर्मी, खेताला गोठाला तथा वैज्ञानिकहरू पनि यही पीरले झोक्राउँदै गर्न थाले ।
तर एक दिन हुनै नमिल्ने र नचिताएको सुखद आश्चर्य भैदिएछ । नेपाल देशको राजधानी कहलिएको कान्तिपुर शहरकै एउटा विशालकाय सभाहलभित्र भ्यागुताहरूको अप्रत्यासितरूपमा जमघट देखियो । मिडियाकर्मी, पर्यवेक्षक उपाधिधारी हुल्याहा र कुटनीतिक प्रतिनिधि नाउँका छुल्याहाजति सबै एकै मेसोमा छक्क परे । उनीहरू आपसमा छलछाम हो कि छलफल के चाहिँ हो पनि गर्दैथिए ।
वारपार लम्पसार परेका त्यत्रोविधि पिचसडक, उड्दै गरेका हवाइजहाज, गुडेका गाडी र मान्छेको अविरल पदचाप नाँघेर पेटी पर्खाल समेत पार गरेर कसरी यहाँसम्म आइपुगे ती भ्यागुताहरू ? यत्रोविधि सिमेन्टेड घर, बाटा, पुलपुलेसा र पर्खालको अस्तव्यस्तता र कोलाहलपूर्ण महानगरीमा मण्डुकवंशीय यी प्राणीहरूले यतिका दिनसम्म कसरी जीवन निर्वाह र आत्मरक्षा गर्न सकेका हुनन् ? कहाँ बसोबास गर्दै थिए त यिनीहरू ? प्रदूषणको भार बोकेर मारमा परेका वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते र इच्छुमतीका किनार कहीँकतै यिनीहरूको उपयुक्त जीवन निर्वाह सम्भव देखिदैन । भर्खर नवनिर्माण सम्पन्न भएका रानी पोखरी कमल पोखरी नागपोखरी पनि उही ड्याङमा दर्ता भइसकेकाले अब त्यहाँ कतै पनि जीवनको निरन्तरता संभव लाग्दैन । त्यसो भए कहाँबाट टप्किए त ती उफ्रने कलामा पारंगत आदिम प्राणीहरू ?
कुनै दिन यसै धराधाममा एकजना अर्थमन्त्रीले भ्यागुता शैलीमा देशको आर्थिक विकास गर्छु भनेर आश्वासन बाड्दाबाँड्दै आप्mनै साथीबाट बजेटको फायलै खोसिँदा झण्डै सासै फुस्किएथ्यो । त्यतिवेरका यी गणतन्त्रे नेताको अग्रगमनको प्रेरणाको स्रोत बनेका सुरवीर भ्यागुताहरू अघिसम्म कता हराए भन्ने पीर थियो तर अहिले त्यो पीरको उल्टो अर्को झीरखाले पीर चैं पो थपिन आयो । भर्खरमात्र सलहको बथान आएको शैलीमा अज्ञात स्थानबाट टप्किएका भ्यागुतावृन्द एकाएक देशको विधायिका चलाउने सभाहलभरि कसरी भरिभराऊ भए त भन्ने आश्चर्यले हुटहुटी बढाउन थाल्यो । देशकै शान्तिसुरक्षा धरापमा परेको रिपोर्ट दिए गुप्तचरले । यसरी एकाएक त्रास र आक्रोशको वेढंगी अवतार लिएर पीरको राँकोले भत्ताभोगी मुखिया र हण्डीभोगी डन्डाधारीको दुखिया जमात एकैसाथ आआफ्नै कान कोतर्न थालेको थियो ।
ठीक त्यतिखेरकै कुरा । त्यही विशालकाय मन्डुक समाजको माउडेजस्तो देखिने फेटाधारी खाने काम मात्र हैन सामदान पनि जानेको महाहन्तकाली बूढो भ्यागुतो मञ्चमाथि बुर्लुक्क उफ्रिएर ट्यारट्यार गर्दै पट्यारलाग्दो भाषामा घोषणा पत्र जारी गर्न थाल्यो । श्वेतपत्रको नाउँले प्रकाशित उक्त अश्वेतपत्रमा खासखास कुराहरू यसरी फुरेर समेटिएका रहेछन् ।
हाम्रा वर्गमा उदाएका केटा ठीटाजतिलाई राजनीतिबाट आउट गर्ने । तिनीहरूको रगतपसिना विदेशमा बगाएर डलर झार्ने मेसो मिलाउने । नेपालका सबै खाडी गोल्खाडी कुवा धाप र नदीनालाको एक एक हिसाव राखेर बिक्री गर्ने । देशका वासिन्दालाई अँध्यारो सुरुङभित्र हुलिदिने । अनि आफूचाहिँ बन्न बाँकि देशैभरीका सुरुङ मार्गबाट बाहिर निस्किएर फराकिलो फाँटमा उफ्रिदै रक पप, ज्याज, गगनम समेतका सबैखाले संगीतमा रमाउदै गायन मार्गमा लागिरहने । सोही अन्धकारको फाइदा उठाउँदै अलकायदा शैलीमा जुर्मुराएर उठ्ने । अर्को चरणमा फास्ट ट्रयाक, सुरुङमार्गजस्ता मानव सञ्चालित निर्माणाधीन योजना ठाडै भताभुङ्ग पारेर भूमिगत बूढी मुसीको तातातो विगौती खाने । अनि त्यही तागत खर्चिएर पूर्वपश्चिम दुबै नाकाबाट बग्दै गरेका हिम नदीलाई च्वीगमको पर्खाल लगाएर बन्द गर्ने अनि तराई क्षेत्र नै सिङ्गो पोखरी बनाइ दिने । माछा, गड्यौला, पाहा, गोहीको बाह्रै महिना सभा सम्मेलन गरेर देशलाई जात्रामय बनाउने । दुइचार दशकपछि आदिम कालको नेपाललाई आधुनिक कमल पोखरी कायम गर्ने । एक्काइसौं शताब्दीमा बाहिरी हस्तक्षेप वर्जित भएकोले कुनै मञ्जुश्री आएर फेरि चोभारको पहरो काटेजस्तै गरेर नयाँ नाका खोल्ने सम्भावना नरहेकोले ढुक्क पर्ने । अनि परापूर्वकालदेखि नेपाल नाउँ गरी आएको त्यसै महापोखरी वरपर तलमाथि सबै क्षेत्रमा भ्यागुता वर्गको एकलौटी विशेषाधिकार कायम गर्ने र नगरा बजाउदै दिनको तीनपल्ट पोखरीको परिक्रमा गर्ने ।
गत–विगतका चमसुरटार, पालुङ्गटार, रायोटार, आलुटार, भालुटारलगायतका बैठकमा आफैले पारित गरेका फार्से राजीनामा, तमसुक, वकपत्र, अंशवण्डा लगायत नीति निर्णयलाई गँजडी शैलीमा लछारपाटो लगाएर जडौरीखाले जगेडामा पारिदिने । अब आइन्दा झैझगडा हानथाप र हिलो छ्यापाछ्याप नगर्ने । सबै उमेर र वर्षका भ्यागुता मिलेर एकै सुर, एकै ताल र एकै लयमा बिरसिला गजल पाठ गर्ने । सबैको ताल मिलाएर एउटै खाले बाजा बजाउने । सिजनअनुसार रमणीहरूको मेला पर्व लगाएर रमाइलो मेला चलाउने । मौका हेरेर छेडछाड शैलीका ठोक्तक चुड्का, पजल प्रतियोगिता पनि देखाउने कार्यनीति अपनाउने । आपसी भेटवार्ता सल्लाह सहमति बढाएर नयाँ पुस्ता र समाजलाई सभ्य बनाउने रणनीति पनि तय गर्दै जाने । देशभित्र कुनै खाले विधान संविधान र कानूनी कायदाको व्यवस्था हुन नदिने । भए पनि अलकायदा शैलीमा च्यातचुत तोडमरोड गरेर दोबाटोमा बाकायदा जलाइदिने । आदि इत्यादि !
०००
नयाँ वानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































