पी पी काेइरालाबगेको चेत
ती वृद्धले भने,"उता बाढीले गाउँ बगाइसक्यो होला। हिँड यस्ता हावादारी नेताको पछि नलाग।" जनताहरुमध्ये एउटा चतुर फुत्त बाहिर आयो र भन्यो, "तिमी नै जाउ बुढा । हामीलाई मजा लिन देउ।"

पी पी कोइराला :
“बाढीलाई हामी आफैले निम्तो पठाएका हौं,” नेता मञ्चबाट उटपट्याङ भाषण ठोक्दै थियो।
उरन्ठेउला ठिटाहरू पटटट ताली बजाउँदै थिए। उनीहरु हाहा होहो गर्दै उत्साहित माहौल बनाउन सिपालु थिए।
एकजना बुढा दर्शकले अचम्म मान्दै नेतालाई सोधे,”आफैले बाढी किन बोलाको नि नेताज्यू ?”
“देश सफा गर्न !” नेताले विपक्षीशैलीको आभाष पायो र आँखा चम्काउँदै भन्यो, “फोहोर जति.. सबै पखालिन्छन् यसरी नै चुनाबमा।”
नेताको उत्तरमा बुढा हाँसे कि हाँसेनन् भनेर युवा कार्यकर्ताहरु नियाल्दै थिए।
विपक्षी व्यवस्थापन र चुनावी मैदानको तयारी चलिरहेको थियो।
ती वृद्धले गम्भLर प्रश्न गरे, “बाढीले हाम्रो बाली र घर बगाउँदैन नेताज्यू ?”
“दुइचार सय हेक्टर धानबाली बगेर के भो ? त्यतिले देश धनी हुन्छ र ?” नेताले हाँस्दै भन्यो।
“बाढी आयो भने चाडपर्व कसरी मनाउनुहुन्छ त ?” वृद्धले पनि व्यङ्ग्य गरे।
“असोज–कात्तिकमा त बाढी नआइदेउ है भनेर शान्ति सम्झौता गरेकै छ नि। त्यो बेला घाम, पानी र हावालाई हामीले घरबिदा दिएका छौं।” नेताले झन ठूलो व्यङ्ग्य गर्यो।
“अनि हुन्डरीलाई ?” वृद्धले हाँस्दै सोधे।
नेताले तुरुन्तै उत्तर दियो, “हाम्रो पार्टीका एजेन्टहरुले हुण्डरीलाई टोर्नाडोमा रुपान्तरण गरि अमेरिकाको भिसा लाइदिएका छन् ।”
सबै हाँसे। नेताको पञ्चतत्व माथिको हैकम शक्ति देखेर नयाँ नयाँ प्रवेशीहरु झनै मख्ख परे।
त्यतिकैमा एउटा कालो बादलको झुण्ड मञ्चमाथि आकाशमा मडारियो। नेता चुपचाप सिटमा गएर बस्यो।
मुसलधारे पानी दर्कियो।
दर्शकहरु पानीमा भिज्दै अर्को नेताको भाषण पर्खिइरहेका थिए।
ती वृद्धले भने,”उता बाढीले गाउँ बगाइसक्यो होला। हिँड यस्ता हावादारी नेताको पछि नलाग।”
जनताहरुमध्ये एउटा चतुर फुत्त बाहिर आयो र भन्यो, “तिमी नै जाउ बुढा । हामीलाई मजा लिन देउ।”
“नेताले तिमीहरुको चेत पनि बगाइदिसकेछ।” भन्दै बृद्ध एक्लै लाठी टेक्दै फर्किए।
०००
धरान- १३, हाल : बालकोट, भक्तपुर









































आहा !
सान्दर्भिक लघुकथा।बधाई मामा!