साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकाहरूको दाइँ

त्यसका रक्तरञ्जित नङ्ग्राले कोपरी कोपरी चिथर्दा पनि आजका असहाय मान्छे आशाको काँचोधागोमा झुण्डिएर शान्तिको सतत् कामना गर्न पुगिरहेका छन् ।

Nepal Telecom ad

माधव काफ्ले :

“मनुष्यको इतिहास धार्मिक कलह, युद्ध र संघर्षले कलङ्कित छ ।’
– जोनाथन स्वीफ्ट ।

पुर्खाले आर्जेको सम्पत्ति, प्राप्ति र उपलब्धिलाई जगेर्ना गर्ने सन्दर्भमा लागि परेका छौँ हामी । हाम्रो प्रगतिको जगमा नै धर्मको असीमित आड छ, अनन्त अनन्तसम्म फैलिएको अघोरी विश्वास छ, कहिले पनि नमक्किने, नभत्किने नउध्रिने खालको भरोसा छ र त हामी गाई काटेर होस् वा भाइ काटेर होस, वंश चिथरेर होस् या निमुखा निमोठेर होस् रक्तरञ्जित हातले लिखै लिखाले छपक्क भएका जर्कट जुँगा मुसार्दै पाखण्डी पुरुषार्थ र बासी वीरताको बिल्ला छातिमा झुण्ड्याउन उत्सुक मात्रै होइनौँ लालायित पनि हुँदै गइरहेका छौं।

गुरू परशुरामले हामीलाई यही दीक्षा दिएर ज्ञानमा पारङ्गत गरेको हुनाले यसै आचरणलाई गुरू वाणी सम्झी अगाडि बढिरहेका छौँ । उनको नरद्रोही आचरण र पैशाचिक धार्मिक अनुष्ठानको गाढा प्रभावले गर्दा आमा काट्ने साहसको छाप र धङधङीबाट अमलेख हामी पहिले पनि थिएनौँ, अहिले पनि हुन सकिरहेका छैनौँ । अमलेख हुने पवित्र सोच अलिकति पनि मनको कुइनेटोतिर साँचेर राख्न सकेको भए यस्तो राक्षसी आचरण निकालेर प्रभावशाली हुने इतिहासको कलिलो अनुहारमा कालो पोत्नो दुस्साहस कदापि गर्ने थिएनौँ ।

स्वार्थ सिद्ध गर्ने आधार भए यसै भन्न सक्दिन तर लाग्छ धर्म भनेको असल आचरण र स्वच्छ छविको देदिप्यमान उज्यालो पनि हो । चरित्रलाई असल र निष्कलङ्कित बनाउँदै प्रेरणादायी छवि निर्माण गर्ने आधार स्तम्भ पनि हो । दया, करुणा र सहानुभूतिको प्रतिमूर्ति पनि हो । यो प्राप्त गर्न अथक साधना र दीर्घ तपस्या गर्नु पर्ने हुनाले लामो समय लाग्छ । लामो समयसम्म पर्खने धैर्य र आँट अरूमा होला । नहोला कसरी भनूँ तर ममा पित्को पनि छ जस्तो लाग्दैन ।

लामो समयसम्म पर्खने धैर्य र आँट हामीमा अलिकति पनि भएको भए कलह र जालसाछीको चक्रव्युह खडा गरेर मान्छेको आलो रगतले मुख पुछ्‌दै युद्ध विभीषिकाको आह्वान अनुष्ठानमा निरन्तर लागिरहने सायदै थिएनौँ होला । नलागेका भए पनि लाग्नेहरूको पिछलग्गु हुँदै आँखा चिम्लेर हिँड्ने दुश्साहस गर्ने थिएनौं । प्रत्येक अपराधलाई चोख्याउने धर्मको आडम्बरी आदर्शलाई शिरोधार्य गर्ने विद्या विवेकभरि भरेर हिँड्दै गएको हुनाले पनि आफ्ना असीमित दमित इच्छा र आकांक्षाको सालनाललाई काखी च्यापेर कर्मपथमा लागिरहेको हुनाले पनि यो दारुण स्थिति भूकम्पको लाभा बनेर चारैतिर फैलँदैछ ।

अपराध जति अरूको टाउकोमा थुपारेर आफू जतिसुकै चोखिने प्रयत्न गरेता पनि यो विषाक्त परिवेशको सम्बाहक प्रत्यक्ष नहुँला अप्रत्यक्ष म पनि हुँ। मेरा पनि केही बिकारी मनोभावले यस्ता छुद्र प्रवृत्तिलाई मलजल हालेर जगाउन पृष्ठपोषण शिरमाथि मडारिंदै जान थालेका अराजकताको कालो बादल देखेपछि कतै न कतै गरिरहेको हुनुपर्छ भन्ने लख काट्‌तै छु अहिले। आ-आफ्ना छुद्र स्वार्थ लोलुपताको सतत् कामनाका निम्ति पशुपतिमा लागेको लामलाई नै यसको दरो प्रमाण र नजिर मान्दै मन अनायास आडोलित हुन थाल्छ । सतहमा हेर्दा लाग्छ धेरैले विद्यार्जन गर्न जाने त्यसलाई व्यवहारमा उतार्न जानेनन् । सीप सिक्न जाने सिर्जनामुखी हुन जानेनन् । सिद्धान्त बोक्न जाने त्यसलाई अन्तरहृदयले स्पर्श गर्दै मनन् गर्न जानेनन् । डाह गर्न जाने पसिना चुहाएर प्राप्ति लिन जानेनन् । व्यक्तिका प्रत्येक उपलब्धिलाई चर्मचक्षुमा स्यूरे पनि अहारिसे किच्चक स्वभावले गर्दा फड्को मार्न खुट्टा उचाल्न जाने गति लिन सकेनन् । बाहुबलद्वारा आर्जित प्राप्तिमा सन्तोष र विश्वास लिन सकिएको भए दास मनोवृत्तिका सम्बाहक हुँदै सत्ता र शक्तिको सन्निकट भुन्भुनाएर धुन्धुकारीलाई काँधमा हालेर हिँड्ने आचरणको अन्ध अनुशरण गर्ने थिएनन् कसैले । चेतना र विवेकलाई च्याँखे थापेर दमित इच्छालाई बल्झाउने कुत्सित कार्य नै गर्ने थिएनन् कसैले ।

विद्वान्हरूले “विद्या धनं सर्व धनं प्रधानम्” भनेका छन् । भोगाइको पिल्साइमा परेपछि अनुभूत गर्दैछु अहिले स्वार्थ धनम् सर्व धनम् प्रधानम् हुँदै गइरहेको छ । कक्षित स्वार्थकै कारणले गर्दा भीमसेनले अकालमा नै ज्यान गुमाए, बलभद्र बाहिरिए, अमरसिंह वल्लोघाट न पल्लोघाटको तीर बने । स्वार्थको दारुण चक्रव्युह खडा गरेर मैमत्त भइ हिँडेको मान्छे जड्डी आदेश र हुकुमी फरमानको तलुवा चाट्तै आफ्नो विलक्षण प्रतिभा र सीपलाई स्वामीको चरणको दास बनाएर बाँकटे हान्दै गएको हुनाले मुलुक रगतको आहालमा निसासिने गरी डुब्दै गइरहेको छ ।

कुनै पनि पदमा बहाल हुनको लागि राज्यको तत् निकायमा पढेको प्रमाण-पत्र पेश गर्नु पर्ने कानुनी प्रावधान राखेको छ । परिचरदेखि लिएर सचिव, प्राध्यापकसम्म सबैले गच्छे अनुसारको प्रमाण-पत्र पेश गरेर आ-आफ्नो क्षमता प्रदर्शन गर्दछन् । अपवादलाई साक्षी नमान्ने हो भने अधिकांस व्याक्ति आफ्नो योग्यता र ज्ञानार्जनको बलले नै सरकारी जागिरमा पद बहाली गर्न पुगेका छन् । पदस्थापना भएको एउटा पदबाट अर्को पदमा बढुवा हुनको लागि पनि कतिले आफ्नो हाड घोटेर हाड तोड मिहिनेत गरेका छन् तर सारा मुलुकलाई हाँक्ने सत्ताधारी हुनको लागि न योग्यता नै खोजिने गरिएको छ न त पढेको प्रमाण-पत्र नै पेस गर्नुपर्छ ।

स्वामीको तलुवा चाटेर निमग्न पुच्छर हल्लाउन सक्ने निरक्षरी जोदाहाको हातमा नै सत्ता सञ्चालनको साँचो झुण्डिदै आएको छ । अलिकति मालिक, मुखियाको आशिर्वाद र तथास्तु पाए कुनै पनि बगरे रातारात मन्त्री माननीय हुन सक्ने देशमा बाँचिरहेछौँ हामी । यो विसङ्गत र बर्बर प्रवृत्तिको सिँयालमा कक्रेर पनि कठाङ्ग्रिएरै भए पनि देशप्रतिको अगाध माया र विश्वासले गर्दा देश छोडेर जान पनि सकेका छैनौँ, यसलाई चपाएर खान पनि सकेका छैनौँ। यसो हुनुको मूल कारण पनि बोके प्रवृत्तिको जग्जगीले गर्दा हो ।

प्रभावशाली देशभक्त राष्ट्रिय चरित्र भएको व्यक्तिदेख्न सकिरहेको छैन । शासकमा दूरदृष्टिको अभावले गर्दा यस हिमाली उपमहाद्वीपको निर्दोष छातिमाथि षडयन्त्र, कलह र आपसी द्वन्द्वको सिमेभूमे काँचो वायु बनेर जागृत हने अवसर पाएको हुनाले यसको छत्रछायाँमा बोकाको बिग्बिगी र उत्पात अत्यधिक बढ्न थालेपछि यो संस्कारगत रूपमा मौलाउँदै जान थालेको महसुस गरेको छु । पहिले पनि यो सम्प्रदाय जहानियाँ शासनमा अनुवाद भई एकसय चार वर्षसम्म सार्वभौम नागरिकको उछितो काढी मौलिकहकमाथि रत्यौली खेल्न पुगेको इतिहासलाई जीवन्त तुल्याएर पछारियो ।

शासकहरू पाखा लागे पनि प्रवृत्तिलाई बलवन्त तुल्याउँदै जागाज्योति बनाउनु यसको विशेषता नै रह्यो । तत्पश्चात् नेपाली मानसिकतामा पनि कुण्ठा, इर्ष्या र पदलोलुपता पुछिन सकेन । घटना घट्‌तै गए, वर्षहरू फेरिँदै गए, निमुखाहरू निचोरिँदै गए र आन्दोलनको राँकेभूत जगाउँदै गए । नीति सङ्गत र विवेक सम्मत शासन व्यवस्थाको काँचो सपना बराबर बाँडिदै गरिए तापनि कार्य प्रणाली भने झन्झन् कठोर, झन्झन् क्रुर, झन्झन् निरङ्कुश, स्वेच्छाचारी र पाशविक हुँदै यहाँसम्म आइपुग्यो । विधिको शासन सञ्चालनार्थ विज्ञ र विवेकशील मानिसका प्रतिनिधित्वको साटो बहुमतको बुख्याचा मार्फत बलमिच्याइँका अग्रदूतलाई बालिग मताधिकारको माला पहिऱ्याएर माथि पुऱ्याउने पुरुषार्थ गरिँदै गयो । राजनीति भन्ने जिनिस दादावादमा अनुवाद हुँदै डुक्रिन थाल्यो र पातकी संस्कारको सालनाल झुण्ड्याएर शासनारुढ भयो ।

असल शासन सञ्चालन गर्न असल चरित्र भएको मान्छे पनि हुनुपर्ने आम धारणा स्थापित छ । असल चरित्र भएको मान्छेले न त बहुमतको सरकारलाई शिखण्डी बनाएर राष्ट्रिय स्वाभिमानमाथि सोइसोला खेल्न सक्छ न त कमिसनको कुम्भीपाकमा असन्तोषी थुतुनु गाडेर उग्राउने चेष्य गर्छ । शासन परिवर्तन गर्न गल्लीका बार बेरा र राष्ट्रिय सम्पत्ति बाधक ठान्नेहरूको जमातमा चरित्र भनिदो बबुरो निसासिएर पछारिँदै गएको हुनाले नै होला सायद आजका मुखिया मालिकमा सबैथोक भए तापनि चरित्र दरोसँग सँगाल्न सकिरहेका छैनन् । असल चरित्र निर्माण गरी प्रभावशाली हुनको लागि व्यक्ति इमान्दार पनि हुनु पर्छ, लिप्सा कुण्ठा, द्वेष मनबाट निमिट्यान्नै हुने गरी पुछी, पखाली निस्वार्थ पनि हुन सक्नु पर्छ र निस्वार्थ हुनको लागि त्याग र तपस्याको पर्याय पनि बन्न सक्नु पर्छ । तपस्वी नभएका हैनन्, छन्; पर्याप्त छन् यस मुलुकमा । साधनाको लागि सम्पत्ति, सुविधा र सत्ता काँचका कौडी बराबर ठानिने भएको हुँदा उनीहरू यस बल मिच्याइँको बधशालाबाट अलग्गै बसेर चरित्र निर्माण पट्टि लागेका छन् तर तिनीहरू ओझेलमा छन् ।

सतहमा केवल कन्फट्टाहरू मात्र व्याप्त छन्, वेष्टित छन् । सम्पत्ति, सुविधा र सत्तालाई नै सर्वोपरी ठान्नेहरू चोरेरै भए पनि अर्काको घर फोरेरै भए पनि, अर्कालाई दारेरै भए पनि निरपराध मान्छे मारेरै भए पनि, अरूको तलुवा चाटेरै भए पनि आफ्नी निर्दोष स्वास्नी सात ठाउँमा साटेरै भए पनि शक्तिकेन्द्र तिर धाउन थाल्छन् । असल चरित्र हुने मान्छे आफू मर्न कबोल गर्छ तर यति निर्धिणी हुन कदापि सक्दैन । दुर्भाग्य यिनै निर्घिणीको टाङमुनि छिरेर आजका विद्वान, विज्ञहरू बाचाल बनिरहेका छन्, बाचाल बन्ने कोशिस गरिरहेका छन् ।

हाम्रो देशमा अध्ययन, ज्ञान, क्षमता, प्रतिभा नै नभए पनि टिको लगाएको भरमा पण्डित बन्न पाइने एउटा प्राज्ञिक थलो छ । यस प्राज्ञिक संस्थानमा पटमूर्खे भए पनि दरो बोको समाउन सके अथवा बोकाको पुच्छर समाएर बेइमानीको वैतरणी पार गर्न सके बहुलठ्ठीहरू पनि रातारात प्राज्ञको कल्की ढल्काएर सिंहासनारुढ हुन सामर्थ्य भएका छन् र ज्ञान, विज्ञान, सिर्जना परिमार्जित गर्ने गरिमामयी संस्था हाँकेर त हैन बल जफत घिसारेर हिँडिरहेका छन् ।

उहिले उहिले प्राज्ञ हुनका निम्ति ज्ञानको अथाह भण्डार, विद्वताको अपरिमेय संसार र विद्याको चरम आलोक भएका विवेकशील सतपात्र जसले उच्च ज्ञानको आधारमा भाषा, कला, साहित्य र संस्कृतिलाई देशदेशान्तरसम्म पुऱ्याउन सक्थे, छानिन्थे । वाग्देवीको परिसरमा टेक्दा पनि गर्व महसुस हुन्थ्यो र प्राज्ञिक व्यक्तिलाई नमन गर्न शिर सधैं झुक्ने गर्दथ्यो । अहिले त्यहाँ कार्यरत लेखनदासलाई देख्ता मनमा एक किसिमको तम्तम्याइलो ऐंठन पैदा हुने गर्दछ । सामु परेको विज्ञ कुनै मर्यादित पण्डित व्यक्ति नभै कुनै दोस्रो कित्ताको बगरे हो झै लाग्ने गर्दछ । जो बल मिच्याइँ र बद्नियतको बेसोमती मार्गबाट फुत्त छिरेर पुरेत बन्न पुगेको छ । कुनै चुनाबी बर्बर कार्य पारायणको बक्सिस बापत कुनै कित्तामा उभिएर सकेसम्म अदना नागरिकलाई चिथोरेको बलमा यहाँसम्म आइपुगेका अल्पज्ञानीलाई नमन गर्न त परै जाओस् औपचारिकता निर्बाह गर्न नमस्ते भनेर जम्ल्याहा हात जोड्न पनि मन भनाउँदो जिनिस परक्क बटारिने गर्दछ र स्मृतिभरि दिङमिङको काइ लत्पतिन थाल्दछ । यही सभ्यता नै हाम्रो उद्बोधनको प्रभावशाली सभ्यता बनिरहेको छ । हाम्रो नियतिमाथि तालुकदारहरू कुनियतको ल्याप्चे ठोकेर उफ्रिरहेका छन् । विद्या र विवेकको खिल्ली उडाउँदै बिन्तीपत्र हालेर भित्रिनेहरू दर्खास्तको कपाली तमसुक लेखेर सिर्जनाको सर्वतोमुखी प्रभावको छेपारी खुस्काउँदै कलमको निबले जयगानको बेसुरा रागतिर केन्द्रित गर्न भगीरथ प्रयत्न गरिरहेका छन् । सिर्जना र सीप देखाउनुको साटये शकुनी चाल र चरित्रलाई उपलब्धिको मूलमन्त्र ठानेर हिँडिरहेका छन् ।

जहाँ विवेकको बध हुने गर्दछ र विद्याको सर्वोपरी महत्वलाई काखीमुनिको चमजुम्रा जस्तै ठान्ने गरिन्छ त्यहाँ कुटिलचाल र मक्कारीपन सिवाय अरू केही बाँकी रहँदैन । हामीमा मात्रै पनि होइन विश्व सम्प्रदायमा पनि आज विज्ञवाद बोकावादमा अनुवाद हुँदै गइरहेको छ र निरीह मान्छेको आलो छालाको आसनीमाथि बसेर शान्ति र मानवतावादको कर्नाल फुकिरहेको छ । मान्छेको आलो रगतले आचमनी गर्नेहरू नै आज विश्व समुदायमा अलौकिक प्रजातन्त्रका बेताज वादशाह बनिरहेका छन् र अनाचारी लगाँटीको फुर्को समाएर प्रजातन्त्रको अमूर्त रागमा वकालत गरिरहेका छन् ।

मान्छेले स्वतन्त्रतापूर्वक बाँच्न पाउने नैसर्गिक मौलिक अधिकारलाई च्यात्थ्रा च्यात्थ्रा बनाउँदै, मान्छेले निर्वाध बोल्न पाउने कानुनी प्रावधानको मूलद्वारमा अधिनायत्वको पाड्‌को ठोकेर हिँड्नुलाई नै प्रगतिको प्रज्ज्वलित शक्ति ठान्नेहरूबाट भए/गरिएका अमानुषिक कार्य प्रणालीको कालो सेपले गर्दा पैशाचिक परिवेशमा बाँच्न विवश बनिरहेका छौँ हामी र हाम्रो पुरुषार्थका अनन्त स्रोत र एकाइलाई मठारेर, मुन्ट्याएर देशोद्धारमा लागेका छन् यहाँका वाचाल व्यक्तिहरू रे, तिनीहरुको पनि पछिल्लो पङ्क्तिमा आफूसमेत उभिन पुगेझै लागिरहेछ ।

विधिसम्मत किसिमले लोकतन्त्र स्थापित नभएका देशहरूमा संवैधानिक प्रावधानबाट जतिसुकै बालिगमताधिकारलाई सुरक्षित बनाउन खोजिए तापनि ठोस नीति प्रादूर्भाव भर्ती कार्यान्वयन हुन नसक्दा शक्तिः संरक्षणार्थ खेलिएका कुटिल खेलमा पटक पटक सत्ता परिवर्तनको घिनलाग्दो छिनाछपटी र पटाक्षेपले गर्दा त्यहाँ प्रजातन्त्र भन्दा साम्प्रदायिक शक्ति झन् बिकराल भएर अगाडि देखा पर्दारहेछन् र त्यसको फाइदा एउटाले गमर्स्याउन सफल भएता पनि पाशविक यातना भने समस्त देशवासीले भोग्नु पर्दोरहेछ भन्ने आलो यथार्थको चुलीमा उभिन पुगेको छु म र त्यहाँबाट के देखिरहेको छु भने-यो आसुरी प्रवृत्ति

कोखको पिलो बनेर सारा मनुगय जातिलाई बारम्बार रन्थन्याइरहेको छ र मानवीय सदासयता, स्वाभिमान र अस्तित्व यसको बाघपञ्जाको परिधिभित्र गुँडुल्किरहेको छ । त्यसका रक्तरञ्जित नङ्ग्राले कोपरी कोपरी चिथर्दा पनि आजका असहाय मान्छे आशाको काँचोधागोमा झुण्डिएर शान्तिको सतत् कामना गर्न पुगिरहेका छन् ।

बाघ मांशाहारी प्राणी हो। यो शाकाहारी भइ दियोस् भन्ने सपनामा कहिलेकाहीँ देख्ने गर्दछु । देखेका जति सपना साँचा हुन्छन् हुँदैनन् म भविष्यवक्ता नभएको हुनाले यसै भन्न सक्तिनँ । सनातनी वंश परम्परा र संस्कारमा जन्मे, हुर्केको हुनाले कहिले काहीँ हुन्छ कि भन्ने आशाको सानो त्यान्द्रो मनको अन्तर, कुन्तरमा चाकाचुली खेल्ने गर्दछ । भए त्यो त राम्रै कुरा हो। भविष्यले बताउला । विज्ञानले यति ठूलो चमत्कार गरेर सारा मानिसलाई चकित तुल्याइ रहेको पृष्ठभूमिमा ऐले नै हुँदैन भनेर ठोकुवा गर्न अतिशयोक्ति नै हुन्छ । लख काट्तै छु- किमार्थ हुँदैन ।

०००
जीवन एउटा थोत्रो स्किन (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
योग्यताको कसी

योग्यताको कसी

माधव काफ्ले
कायरहरू

कायरहरू

माधव काफ्ले
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x