माधव काफ्लेकायरहरू
यतिबेर उनीहरू मदहोस हुँदै महान बन्ने दुचेष्टा गरेता पनि एक न एक दिन उनीहरूसँग यिनै निरीह र निम्सराहरूको समूहले कठालोमा समाएर आफ्नो रगतको मूल्य माग्दै इतिहासको नयाँ बाटो खनेर अगाडि बढ्नेछन् ।

माधव काफ्ले :
यो निरर्थक अहम्को शकुनी साम्राज्यमा एकलव्य भै हिडिरहेका छौं हामी । अहम्जन्य कुण्ठा तिर्सना र डाहले जर्जर भएका मानवीय संवेदना र सन्त्रस्त मनस्थितिका भ्वाङ् र भड्खालाहरूले उमारेका निष्क्रिय भावनात्मक भुल्काहरूमा भँगालिदै /भौतारिदै छौ । चेतनालाई व्यक्तिवादको बाहुल्यमा कैदी बनाउने बानीले गर्दा केही सिक्नु र सिकेका उपलव्धिहरूलाई प्रयोग/प्रत्यारोपण गर्नुपूर्व नै क्रियाशीलतालाई अनिश्चयात्मक स्थितिबोधबाट अमलेख गर्ने क्रममा विश्वासलाई अङ्गालोमा हालेर आस्था र निष्ठाका शिखरसामु नतमस्तक हुने निहुँमा लल्याकलुलुक हुँद गएका छौं । आर्जित अध्ययन र उपाशनाको गुरुदक्षिणा वापत औला मात्र नभएर स्वाभिमानको शिर कटाउँदै अपाहिज हुनु र अधीर उपासनाको पर्याय भएर बाँच्दै इतिहासको एउटा कुनामा कक्रिएर, कठाङ्ग्रिएर र कुचुर्किएर पश्चातापका आँशु चुहाउँदै, चाउरिदै, चिसिदै जाने नियति बोकेर हिँड्नु परिरहेको छ । असमानता र अत्यासको यस कुरुक्षेत्रमा आज हामी निष्ठा नभनौं व्यक्तिमुखी विचारको महाभारत लड्न उत्सुक छौं, आतुर छौ र अज्ञानवश नै सही अगाडि बढिरहेका छौं।
सीमाङ्कन गरिएका बाँध र बन्देजहरू यतिवेर कि त च्यातिएका छन्, चिथोरिएका छन्, चर्किएकाछन्, कित काटिएका छन्, कस्सिएका छन्-काउछो बनेका छन् र क्लेशको पर्याय भएर भाँचिदै छन्, भत्किदै छन । भर्भराउँदा भएका भावना र उद्वेगका ज्वालाहरूलाई थिच्न र थिल्थिल्याउन दानवी प्रक्रियाद्वारा पुष्पित र पल्लवित हुँदै शड्का र सन्त्रासको सुदर्शनचक्र चलाइरहेका छन् परपुरुषको पसिना चुसेर मैमत्त भएका परमाधिपतिहरू । वर्गीय चेतना र चासोको चम्कोमा स्वार्थ र सुविधाको सूत्र लगाएर भनौं दन्काएर आजको आदर्श, आजको आस्था र आजको अनुकरणात्मक जीवनशैली र प्रवृत्ति झन्झन् जटिल, झन्झन् जर्जर र झन्झन् जिल्जिलाउँदै गइरहेको परिप्रेक्षमा मुक्तिको मार्गमा लागिपरिरहेका मानव समुदाय यतिबेर कलङ्कित चरित्रको चक्रव्यूहमा बेरिएर, बराल्लिएर बतासिदै जान थालिरहेका छन् । वाचाल बनेका बकासुरहरूको विगविगीको देखासेखीले गर्दा चाणक्यको भूमिकामा अनुवाद हुने आशाका औशाहरू उमारेर हुन्हुनाइरहेका छन्/हिंडिरहेका छन् धेरै जागरुक मानिसहरू ।
समयको गतिशीलताले जन्माएका केही पात्र र प्रवृत्तिहरूको पुरुषार्थले कि त मानव चिन्तन चासो र चरित्रको जगमा उत्साहका भरभराउँदा आँकुरा उमारेर जीवनलाई अझ जाज्वल्यमान बनाउने प्रयत्नमा लीन हुने प्रयास गरेको छ कि त मानवका भौतिक र आर्थिक उपलव्धिहरूको टाउकामा जालसाक्षीको विषवाटिका रोपेर जीवनलाई अझ निरस र निरर्थक बनाउने प्रयासमा प्रयत्नशील रहेको देखिन्छ । आराधना र उपासनाको आडमा अडिएको/उचालिएको आकाङ्क्षाहरूको मुन्टो बटारेर महारथी बनेकाहरू यतिबेर पूर्ववर्ती प्रेरणादायी प्रतिभाहरूको पसिना र पुरुषार्थमा रत्यौली खेल्दै संवेदनशीलता र सांस्कृतिक धरोहरको जगमा बन्चरो हान्दै सैतानी सम्प्रदायका अनुयायी बन्दै गइरहेका छन् ।
गुरुको मान र मर्यादालाई सुकिलो पारेर राख्न नसक्ने द्रोणाचार्य मलाई लाग्छ कायरताका पर्याय हुन्, पात्र हुन्, प्रवृत्ति हुन् र युगौं युगदेखि उनी निष्ठावान् प्रतिभाको डाह र प्रतिशोधमा उभिएर कैयौं साधना र निरीह एकलव्यहरूको प्रतिभाको ईर्ष्याले सद्भाव र सदाशयको आडमा उभिएर गुरुदक्षिणाको पासा फ्याँक्दै प्रत्येक पुरुषार्थी पुरुषको अङ्गच्छेदनका निम्ति उत्प्रेरक बनेर उभिरहेका हुँदारहेछन् । उचालिरहेका हुँदारहेछन् । अमानुषिकताका औंशा उमारेर उधुम मच्चाइरहेका हुँदारहेछन् । अरूको जस्तो आँट अरूको जस्तो उत्साह र अर्काको जस्तो साधना समर्पण र क्षमता आफूमा नभएपछि, नरहेपछि अरूको सिर्जनशीलताको शिरोच्छेदन गर्न शकुनी बनेर निर्लज्जतापूर्वक मातिएर मडारिन पुग्दारहे छन् ।
एउटा आदशोन्मुख समाज एवम् सम्प्रदायमा विद्वताको पाखण्ड प्रदर्शन गर्ने क्रममा घरिघरि विषालु सर्प बनेर ज्यादतीका फणा उठाइरहेका हुँदारहेछन् र वर्गीय द्वन्द्वलाई उक्साइरहेका, चर्काइरहेका हुँदारहेछन् । विगतदेखि वर्तमानसम्म हाबी हुँदै आएका पौराणिक आख्यानका पात्र र प्रवृत्तिहरूको सान्दर्भिकतालाई हेर्दा आज पनि ती पात्र र ती प्रवृत्तिले ईर्ष्या, कुण्ठा र आहारिसको प्रतिनिधित्व गर्दै मानवीयताको पवित्र भावना र भरोसामाथि डाहको वर्षी हानेर स्वाभिमान र सदाचारलाई चिराचिरा पार्न गुटबन्दीका गाँठा र गुइँठाहरू बटार्दै समस्त धरातललाई नै प्रदूषित बनाई नव सैतानी साम्राज्यका निमित्त शिखण्डी बनेर शिर उठाउँदै शक्ति र सत्तालिप्साको लिसो मुखभरि पोतेर व्यक्तिगत स्वार्थ र महत्त्वाकाङ्क्षाका खुँडा-खुकुरी अर्जापेर मानव जातिको इतिहासलाई नै कलङ्कित पार्न प्रयासरत हुँदारहेछन् ।
शक्ति, सत्ता र स्वार्थभन्दा पृथक् रहेर मानवीय संवेदनाको सियर्यालमा सुस्ताउन खोज्नु भनेको अघोषित रूपमा सत्ताधारीहरूको विद्रोहमा उत्रिएको अर्थ लगाइने परम्पराको विकासले गर्दा आजका विद्वत् समुदाय शक्ति-सम्पत्ति र सुविधाका जुठा टपरी चाटेर सत्ताको वरिपरि आफ्नो बहुमुखी प्रतिभालाई टाङमुनि घुसारेर घुमिरहेका छन् र स्वाभिमानलाई संसारको सबभन्दा अमूल्य वस्तु ठान्नेहरू चाहिँ सङ्कट र सकसको मरुभूमिमा सन्निपातको विरामीले झै छट्पटाउनु पर्ने नियति बोकेर बाँच्न विवश भएता पनि तिनीहरूको पछाडि अदृश्य अन्तर्द्वन्द्वको आसुरी प्रवृत्ति यामानको बनेर विवेकको वध गर्न उचालिंदै छ/ उड्दै छ / उरालिरहेको छ । कुनै पनि व्यक्तिको स्वविवेक र आत्मनिर्णयको नागरिक अधिकारलाई अँचेटेर निमोठ्न आतुर आजको विश्व परिस्थिति र प्रभूक्तिले उक्साएका केही मानवता विरोधी धारणा र पाशविक प्रकृतिले लछारपछार पारेर लल्याकलुलुक पारिरहेको परिप्रेक्ष्यमा सरकारका आधारभूत अङ्ग र एकाईमा आरूढ भएका अहिरावणहरूले आज पनि नैसर्गिक प्रतिभावान व्यक्तिहरूको सिर्जनात्मक उचाइ र आधारलाई निमोठ्न आफ्नो भएभरको बल लगाएर लखेटिरहेका छन्, लागिपरिरहेका छन् ।
शक्ति, सत्ता र सुविधाको सन्निकट पुगिसकेपछि मान्छे महान् बन्न खोज्दोरहेछ तर मान्छको मनभित्र पसेर उसको विश्वास भने जित्न खोज्दोरहेनछ । बरु मान्छेको विश्वास र सद्भावलाई वशमा पार्न बल प्रयोगका लागि तात्दोरहेछ / तम्सिदोरहेछ भन्ने कुराको प्रमाण शासनाधिकारको लाइसेन्स लिएर एकछत्र पाशविक राज्य सञ्चालनका लागि मैमत्त भएका महामहिमहरूको कुटिल चाल र कपटी चरित्रका रक्त-रञ्जित अनुहारले पनि इतिहासमा अड्केर भनौं आबद्ध भएर पुष्टि गरिरहेको छ । मान्छेलाई भनौँ वालिग मताधिकारलाई भऱ्याङ बनाएर माथि उक्लनेहरूले पनि मतदाताको भरोसा र भावनालाई निरन्तरता दिनुको साटो शक्ति सञ्चयनका निमित्त आराध्य मालिक, मुखियाहरूका चरणमा शिर ठोकाएर शासनाधिकारको दीर्घायुका लागि ‘तथास्तु’ को आशीर्वाद माग्न मरिहत्ते गर्दोरहेछ ।
मान्छेलाई मतियार बनाएर मान्छेको काँधमा चढ्न जान्ने मान्छेले वालिग मताधिकारको कानुनी अवधारणालाई असुरक्षित माखो सम्कँदै जसको काँधमा चढेर माथि उक्लिए पनि उक्लिएको भोलिपल्टै छोइछिटो लाग्छ भनेझै गरी उसको काँध उसलाई दुडदुडी गन्हाउन थालेको भाव प्रकट गर्न पुग्दोरहेछ । सहयोगीको समर्पण, सेवा र सदाशयको पवित्र भावनालाई प्रतिद्वन्द्विताको तीखो शर ठानी उसैमाथि व्यभिचारको बारुद खन्याउँदै हुक्के, छाते र नौसिन्दामार्फत् आफू महान् मानवतावादी भएको द्वाड ठोक्न लगाउने शासन प्रणाली कायम हुँदै जान थालेको भूगोलमा विद्वत्वर्ग कुहिरोको काग हुँदै वेवारिसे पनि हुन सक्छ, विस्थापित पनि हुनसक्छ, बर्बाद पनि हुन सक्तारहेछन् भन्ने कुराको आलो प्रमाण त कृष्ण सेन प्रकरणले पनि पुष्टि गरिरहेको छ ।
व्यक्तिगत स्वार्थलाई अलिकति पनि त्यागेर मान्छे मान्छे बन्न खोजेको देख्न दुर्लभ हुने अवस्था सिर्जना हुन थालेको देखिदै छ जताततै । मान्छे हुन केही खोजेका भए शायद विश्वमा यति ठूलो नरसंहार बीभत्स किसिमले हुने थिएन । भौगोलिक सीमारेखा कुनै पनि व्यक्तिको भाग्य निर्माता हुन सक्दैन र कुनै पनि जात, धर्म र सम्प्रदायले मान्छेलाई मान्छेभन्दा परमुख बनाउन सक्दैन । विश्वका कुनै पनि मान्छेले कुनै पनि भू-भागमा उभिएर स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्छ भन्ने मानसिकतालाई महिमामण्डित पार्नु पर्ने अवस्थामा मानव मानव नभएर दानवका रूपमा रूपान्तरित हुँदै गैरहेको हुँदा रक्तरञ्जित हात पारेर मुख मिठ्याउने महिषासुरको होमा हो मिलाउन पुच्छर हल्लाउँदै समस्त संसार नै लागिपरिरहेको बेला खाराले कसैलाई नछुने भइसकेको छ, मानौं मङ्गलसेन यतिखेर पाखण्डको पर्याय भएर पिल्पिलाइ रहेको छ र उल्टै निरीह र निम्सरा नागरिकहरूको आलो रगत तनतनी पिउन उत्सुक नरभक्षीहरूको अट्टहासमा आबद्ध हुँदै पक्ष र विपक्षका शर तिखारेर ससार नै एक अर्कालाई सिध्याउन तयार र तत्पर भएको अवस्थामा बबुरो विद्वत्वर्ग वल्लोघाट न पल्लोघाटको हुन पुगिरहेछ ।
कायरहरू आफ्नो कुटिल संस्कार जोगाउन चक्रवर्ती शासकको सपना सङ्गालेर यतिबेर आफ्नो शक्ति सञ्चय गर्न जतिसुकै नरमेधयज्ञ गरेर हिँडेता पनि म आफ्नो लक्ष्य र विचारमा अटल छु । छुसीहरूले मेरो विचारको वध गरे पनि स्वतन्त्रतापूर्वक बाच्न पाउने मौलिक हक र अधिकार असुरक्षित पारे पनि, मेरो नागरिकतालाई नाङ्गेझार पारेर तमासा र तिरस्कारको पर्याय बनाएर प्रदर्शन गरे पनि कुनै पक्षको पुच्छर समाएर ज्यानमारा प्रजातन्त्रको राग अलाप्दै पाखण्ड प्रदर्शन गर्नुभन्दा पनि म यो देशको एउटा असल नागरिक हुन खोज्दै छु । यतिवेर मलाई पार्टी हैन, प्रजातन्त्र होइन, पद र प्रतिष्ठा पनि होइन केवल देश चाहिएको छ देश सिङ्गो देश । आफ्नो खुसीमा हाँस्न पाउने र आफ्नो दुःखमा विनाहस्तक्षेप रुन पाउने स्वच्छन्द ठाउँ र पवित्र प्रेरणादायी परिवेश चाहिएको छ ।
हिमालको हाँसो तराईको मुस्कान र पहाडको पराग चाहिएको छ । जहाँका हिमाच्छादित चुचुराहरू शान्तिको सन्देश फिंजाएर उचालिइरहेका छन्, जहाँका स्तम्भ र स्तुपहरू बुद्धको सन्देश बोकेर बसिरहेका छन्, जहाँका मन्दिर र मस्जिदहरूले आपसी सद्भाव र सदाशय सुकिलो सन्देश बाँड्दै सांस्कृतिक चेतना अनि असल चरित्र निर्माणको उज्यालो बोकेर उचालिइ रहेका छन् र जहाँका पहरा र पाखाहरूमा मेल र मैत्रित्वको भावना चल्लिएर चलायमान भइरहेको हुन्छ । त्यही परिवेश बोकेको देश चाहिएको छ मेरो देश ! नेपाल ! जहाँ ‘ॐ माने पेमे हैं’को ध्वनिमा तरङ्गित हुँदै मानव समुदायलाई मानव समुदायले आफ्नो असल मित्र असल हितैषी ठान्दै परोपकारको भावनाद्वारा अभीभूत भएर मानवताको महिमा कर्मद्वारा गाइ रहन्छन् – त्यही देश चाहिएको छ ।
हरिया औंसा परेर सड्न लागेको सिद्धान्तको सिनुलाई काँधमा हालेर हिँड्नुको बदला आफ्नै पाखुरीबाट झरेका पसिनालाई रोपेर सम्भावनामा सिर्जनाका बाली लगाउँदै त्यसमा सुन्दरता र सहिष्णुताको सुबास फैलाउने विचारलाई बोकेर कर्मपथमा पाइला चाल्न नै आजको नागरिक समाजको कर्तव्य पनि हो र दायित्व पनि । अर्काको उन्नति र प्रगतिको सिर्जनात्मक पथ परेर अहङ्कारको अजिङ्गरलाई पाल्नुभन्दा पनि परिश्रम र पुरूषार्थले पृथ्वीलाई पवित्र र सुन्दर बनाउँदै असल नागरिकको निर्माण गर्नु नै हाम्रो धर्म, संस्कृति, जाति, आस्था र आदर्श हुनुपर्दछ । कुनै पनि व्यक्ति बधको विचारलाई बोकेर विश्वविजयी बन्ने तुहेको सपना देख्नुभन्दा पनि पसिनाप्रदत्त स्वआर्जित साधनलाई नै मुक्तिको मशिहा ठानेर हिंड्ने प्रयत्न गर्ने हो भने हामी निरीह हैन हर्कुलस हुन सक्छौ ।
वीरहरूले, शाहसीहरूले, स्वाभिमानीहरूले इतिहासलाई हाँकेर हिंडेका छन् । साधना र उपासनामा लीन हुन सक्ने महारथीहरूले सिर्जनाको माध्यमबाट कायरहरूलाई कज्याउँदै आएका हुनाले सत्यका लागि गरिने जुनसुकै सत्यकर्मले कायर र कपटीहरूका कोखका दारा र रक्तरञ्जित नङ्ग्राहरू फुकाल्न सकिनें यथार्थलाई हृदयङ्गम गर्न सक्नु पर्ने सोच कताकता धमिलिदै जान थालेको छ, अमिलिदै जान थालिरहेको छ, वयलिदै जान थालिरहेको छ, बाङ्गिदै जान थालिरहेको छ, बटारिदै जान थालिरहेको छ ।
मान्छेको ऊर्जाशील उत्साह, गगनभेदी जोश र धरती उचाल्ने क्षमताका भ्रूणहरू मठारेर हिड्नुलाई वर्तमानले वीरताको द्योतक ठानिरहेता पनि कालान्तरमा यस्ता छुद्र सोचहरू कुनै पुरुषार्थीले खुर्केर फ्याँकिदिनेछ । वीभत्सताका निमित्त विवेकलाई बन्धक राखेर व्यक्तिगत स्वार्थका लागि मानव संहारको कहालीलाग्दो कालो इतिहास रचेर रम्नेहरूका पछाडि गुटबन्दी गर्दै कोही हिंड्छन भने हिंडून कायरहरू । नरसंहारका निमित्त शक्तिको उन्मादले यतिबेर उनीहरू मदहोस हुँदै महान बन्ने दुचेष्टा गरेता पनि एक न एक दिन उनीहरूसँग यिनै निरीह र निम्सराहरूको समूहले कठालोमा समाएर आफ्नो रगतको मूल्य माग्दै इतिहासको नयाँ बाटो खनेर अगाडि बढ्नेछन् ।
०००
लिगलिग कोट (२०७१)
Subscribe
Login
0 Comments
Oldest






































