माधव काफ्लेयोग्यताको कसी
देशवासीहरूको उद्धार र कल्याण गर्नुको साटो, अहारिसे स्वभाव, एकलकाँटे विचार, अहम्जन्य प्रवृत्ति र आफ्नै भलो र हित चिताउँदै निर्लज्ज बस्ने वानी त्यागिदेऊ प्रभु । त्यागिदेऊ !!

माधव काफ्ले :
भनिन्छ कुनै पनि पद-प्रतिष्ठा र मान-सम्मान हासिल गर्न प्रतिभा र पुरुषार्थ भएर मात्र हुँदैन, गहकिलो योग्यता, गहिरो अनुभव र खँदिलो लब्धाङ्कपत्र पनि साथमा हुनुपर्दछ ।
ठूला र प्राविधिक एवम् अनुसन्धानात्मक प्राज्ञिक पदका लागि लामो अध्ययन, अनुभव, दक्षता, क्षमता र तालिम प्राप्त हुनु पनि अनिवार्य ठानिन्छ । सबभन्दा सानो पद पियनका लागि पनि राज्यले/योग्यताको आधार सिर्जना गरेको हुनाले जागिरका क्रममा जुन पदहरूमा बहाली लिने/दिने र दरपिट गरिने गरिन्छ । त्यसका लागि अनिवार्य शर्त र आधारका रूपमा विद्यालय अथवा विश्व-विद्यालयद्वारा वितरित योग्यताको प्रमाणपत्र तेर्स्याउनै पर्छ । सक्कल होस् वा नक्कल होस्, जाली होस् या झाली होस् । सक्कली होस् या नक्कली होस् ।
पुलिसका लागि नै भए पनि, पिपाका लागि नै भए पनि पाँच पास चाहिन्छ । विधिको शासन प्रत्याभूत भएका राज्यहरूमा आम नागरिकहरूको मौलिक हक हित संरक्षणार्थ यस्तो विश्वसनीय वैधानिक अबधारणा सार्वजनिक गरिएको हुन्छ, सिर्जना गरिएको हुन्छ । त्यत्ति ठूलो सम्मानित निकायले घोषणा गरेको नियम सार्वभौम स्वाभिमानी नागरिकहरू शिरोधार्य गर्दै प्रतिस्पर्धाका लागि उत्सुक हुने गर्दछन्, अग्रसर हुने गर्दछन् ।
कुनै जमातामा खै कतातिरको हो कुन्ति । एउटा जीवाहा राजाले आफ्नो अरिमोठे जुंधा मुसार्दै भनेका थिए अरे “राज्य भनेको नै मैं हूँ।” राज्यको प्रतिबिम्बात्मक मिथकका रूपमा आफूलाई स्थापित गराएर होक्कों गर्न खोज्ने ती राजा र उनको तामसी तेज अहिले कहाँ पुग्यो, थाहा छैन। तर राज्य त अहिले पनि त्यहीं छ, जहाँ हिजो थियो । त्यसैले लाग्छ शक्ति र सामर्थ्यको उन्मादमा उन्मत्त भएर गरिएको कर्म, वैशाचिक कार्य र परपीडक मान्छेभन्दा धेरै ठूलो र महत्त्वपूर्ण वस्तु हो राज्य । हुनु पनि पर्दछ ।
अँ, त पाँचसम्म नपढेको मान्छे निजामती नियमावलीअनुसार कहीं बिक्न पनि सक्तैन, टिक्न पनि सक्तैन । तर हामी जुन भूगोलमा बाँचेका छौ, त्यहाँ निजामतीको नियमभन्दा पनि माथि एउटा विराटाकार निष्प्राण निकाय छ जसले निजामती र न्यायालयका नियमलाई धोती लगाउँदै सेनालाई पनि, संस्थानलाई पनि सङ्घलाई पनि अन्ततः देशलाई पनि तोक आदेश र हुकुम प्रमाङ्गीको भरमा हाँक्ने गर्दछ । हो त्यही मुकुटधारी उच्च ओहदामा आरूढ हुन पाँच पास नगरेको निरक्षरी भए पनि हुन्छ/ चल्छ ।
त्यति माथिल्लो जिम्मेवार र संवेदनशील तहमा पुग्न योग्यता, दक्षता, सीप, सोच र स्वच्छ प्रतिस्पर्धा नभए पनि हुन्छ तर त्यसभन्दा तल्लो कामचलाउ पदमा जागिर खानका लागि भने प्रमाणपत्र त पेश गर्ने पर्छ । क्षमता भए पनि अयोग्य घोषित गर्छ आयोगले । तसर्थ मागेर ल्याएको भए पनि, चोरेर ल्याएको भए पनि, किनेर ल्याएको भए पनि, छलछाम प्रपञ्च गरेर ल्याएको भए पनि, पढेर ल्याएको भए पनि योग्यताको प्रमाणपत्र त चाहिन्छ नै । अनि एउटा नागरिकले क्षमता प्रदर्शन गर्न सके जागिर पाउँछ ।
निजामती ऐन संशोधन नियमावलीले तर्जुमा गरेको यस्तो प्रगतिशील जनवादी प्रावधान अन्य मुलुकहरूमा छ वा छैन यकिनसाथ भन्न सक्तिनँ तर यस अभागी मुलुकमा कुनै पनि व्यक्ति योग्यताको कमान नतेर्स्याइ जागिरको लौहद्वार पार गर्ने सक्तैन । यो अकाट्य सत्यको धिपधिपे उज्यालोलाई किनारामा साक्षी राखी लोक सेवा आयोग ल्याप्चे ठोक्छ । नौटङ्की नै सही औपचारिकता पूरा गरी रोजगार दिलाउन अग्रसर हुने गर्दछ । हात्तीका दाँतजस्ता बनेका यस्ता नियम हिजो पनि प्रचलनमा थिए आज पनि छन् । गणतान्त्रिक शासनको पार्श्वछायामा उभिएर धेरै राष्ट्रवादीहरू यसैको खेती गरिरहेका छन्, मौसमअनुसारको बाली लगाउनेहरू पनि छन्, बाली भित्र्याउनेहरू पनि छन् ।
सपनाको स्वर्णिम आनन्दमा उडिरहेको आजको मान्छे हिजोका तीता मीठा घटना वा प्रसङ्गलाई बापवैरी ठान्दै भोगवादी दर्शनको अनुवशिक भ्रूणलाई कोरलेर आजमा आफू पनि भौतारिदै छ र अरूलाई पनि दिग्भ्रमित पारेर हाँकिरहेको छ । यसले गर्दा अविश्वास र विश्वासघातको कालो बादल चारैतिर मडारिइरहेको छ र हरेक विषय, प्रसङ्ग वा वस्तुहरू दिन-प्रतिदिन सारहीन, भरोसाहीन र विश्वासविहीन बनिरहेको परिप्रेक्षमा पाजी जागिर त सामान्य कुरामा काँचुली फेर्ने कला उरालेर आँखा उघार्न खोज्दै छ ।
सन्दिग्ध समय छ, सन्त्रासयुक्त वातावरण छ, शोकाकुल परिवेश छ । यहाँ मान्छेको स्थायित्व छैन, कर्मको स्थायित्व छैन; कार्यको स्थायित्व छैन, उद्देश्य, आदर्श र लक्ष्य पिल्पिलाउन थालिरहेका छन् । नीति र शासन-व्यवस्था भन्ने जिनिस बाइफालेको फरियासरह बन्न पुगिरहेको छ भने एउटा मामुली आयोगको जैरे नियम स्थायित्वको मुण्डमाला भिरेर कति दिनै पो टिक्न सक्छ होला र ?
हिजोको समय पाखण्डी पनि थियो, परपीडक पनि थियो, परावलम्बी पनि थियो अतिशयोक्ति नठानिए पञ्चायती पनि थियो र पैशाचिक पनि थियो । निरङ्कुशताको छत्रछायामा हिजो जे-जति जनउद्धारका कर्मकाण्डहरू भए कार्यपद्धतिहरू भए, ती सबै दुराग्राही भए, महत्त्वाकाङ्क्षी भए, एकलकाँटे भए, व्यभिचारी भए, विसङ्गत भए, विवेकहीन किसिमका भए भनेर धेरै मानिसहरू सडकमा ओर्ले, नारा लगाए, जुलुस निकाले । मृत्युसँग लाप्पा खेल्दै आन्दोलनमार्फत नयाँ किसिमको शासन पद्धतिको आह्वान, अनुष्ठान गर्दै नयाँ व्यवस्था ल्याइछोडे । यो त पछिको कुरा भयो ।
तर पहिले-पहिलेको मानिसहरूमा चेतनाको विकास भएको थिएन, शिक्षाको विकास भएको थिएन, संस्कारको विकास भएको थिएन । निक्सारीमा हुकुम प्रमाङ्गी गराउनुपूर्व जाँचपासका खापा र खुड्किला हेरी, दाम राखी, स्वस्ती अर्पण गर्न लगाई तहगत रूपमा कसी लगाउँदै कार्यक्षेत्रमा पठाउने परम्परा थियो । शिक्षाको कालो बादलले देशलाई निसास्सिने गरी गम्लङ्ग छोपेको घडीमा पनि शासकहरू बौद्धिक जागरणतर्फ उन्मुख भएका शिक्षार्थीलाई असल सेवकका रूपमा स्वीकार्दै विश्वास र भरोसाको पात्र बनाएर जिम्मेवारी निसङ्कोच सुम्पने गर्दथे ।
आज युग फेरिएको छ, समय फेरिएको छ, शासन-व्यवस्था फेरिएको छ र विधिको शासनअन्तर्गत सञ्चालन हुने पारदर्शी प्रणालीहरू सुचारु रूपले कार्यान्वयन गर्न थालिएपछि पनि सीप, सिर्जना र कार्यदक्षताका दृष्टिले यो प्रणाली व्यवहारिक र सर्वप्रिय भएको हुँदा यसैलाई अक्षरशः निरन्तरता दिन थालिदै छ । तर दुर्भाग्य चाहि के भैदियो भने निम्सरा र निमुखा पदहरूमा निरीहहरूलाई निचोरेर प्रमाणपत्र खोजियो । निर्णायक र गरिमामय राजशी पदहरूमा भने निगाहवक्स, लवी र बिर्तावालहरूको सिफारिसको माध्यमबाट पदपूर्ति गर्ने राजशी प्रकृतिले गर्दा उच्च ओहदामा पुग्न पुच्छर हल्लाउन सक्ने, धनुजस्तै भएर घरि-घरि घोप्टो परेर शिर झुकाउन सक्ने, मीठो मानेर जूठो चाट्न सक्ने, आफ्ना अवला छोरी चेलीको कौमार्यलाई गुरुदक्षिणा बनाउन सक्नेहरू नै माडी-मैदान गरिरहेका छन् । प्रजातान्त्रिक शासन-व्यवस्थाले अवलम्बन गरेको यो औतारी वाटो जनघनत्वको चापभन्दा पनि बाक्लो र बलियो किसिमले विकसित हुँदै छ ।
शैक्षिक जागरणको संवाहक ठानिने विद्यालय र विश्वविद्यालयहरू राज नीति प्रचार-प्रसारका अखडा एवम् नग्न नृत्यशालाका पटाङ्गिनीमा परिणत हुँदै छन् । उच्च जनशक्ति तयार गर्न देश अहिले मारमुङ्ग्रीको दीक्षा दिन तल्लीन हुँदै छ । भीख मागेर बनाएको सडकका बार भत्काउन सके, याचक भएर अनुदानमा थापेका सरकारी स्वामित्वका सम्पत्ति तोडफोड गर्न सके, अदना नागरिकहरूलाई वीच बाटोमा व्यवधान खडा गरेर हुर्मतलिदै हर्काउन सके/थर्काउन सके दीक्षार्थी आफ्नो शोधमा पारङ्गत हुने हुनाले शोध पारायणका निमित्त भविष्यका कर्णाधारहरू वाटा-वाटामा, गल्ली-गल्लीमा, चोक-चोकमा ढुङ्गा, मुढा, इँटा र टायरजस्ता उच्च गुणस्तरीय शैक्षिक सामाग्री बटुलेर परीक्षा दिँदै छन् ।
समुन्नत भविष्यका निमित्त तत्कालै जागिर खुवाउन अथवा पाउन यसभन्दा सुगम र सजिलो मार्ग यस मुलुकमा अर्को नदेखिएको हुँदा विद्यार्थी मन, वचन र कर्मले यसैमा केन्द्रित हुँदै छन् । पक्ष-प्रतिपक्ष पनि समृद्ध राष्ट्रको खाका कोर्दै यसैमा लगानी गर्दै छन् । नागरिकहरू पनि यसैमा निर्लिप्त देखिन्छन्, खुसी छन् । विद्यालयको कुरुक्षेत्र पार गर्न पाठ्यक्रमको महाभारत फत्ते गर्न सक्नुपर्दछ । वर्षों-वर्ष कञ्चटमा चट्चट् पसिना चुहाएर अनगन्ती रात र दिनहरूलाई अक्षरसँग साटेर जाग्राम बस्नुको पीडा, भोक लाग्नुको गुनासो, अभावको कष्ट पचाएर प्राप्त हुने योग्यताको एकबित्ते चिर्कटोभन्दा सजिलो दश औंली जोड्दै अर्काको तलुवा चाटेर परे घुँडा नै टेकेको भरमा उच्च ओहदामा पुग्न पाइने हुनाले पाठ्यक्रमको लुतो कन्याएर कुल्कुलाउँदो जीउ विगार्न मान्छे मरे तयार देखिदैन ।
काकाकुल बनेर प्राप्त गरेको प्रमाणपत्रको एकपाने लिखतले जागिरको संघार काट्न सकिए पनि विनाचाकडी/चाप्लुसी पदोन्नतिको मार्गमा अवरोधको गजवार तेस्याउँदै भाँजी हाल्ने हुनाले पनि प्रगतिका असङ्ख्य ढोकाहरू खोल्न जयगानको सङ्कीर्तन गाएर प्रतिष्ठा नामधारी गालीगलौज र पहलमानीको पीताम्बर ओढ्न लालयित हुँदै, खेमाबद्ध हुँदै आकाङ्क्षाको स्वप्नलोकमा आरोहण गर्दै छन् आजका संस्कारयुक्त आरोहीहरू।
उच्च ओहदा र शक्तिकेन्द्रमा पुग्न संसारमा भरपर्दा दुईथरी बाटा देखिएका छन् । एउटा योग्यताको बाटो र अर्को चुनावी बाटो । उच्च संस्कारयुक्त शिक्षित एवम् विधिको शासन अक्षरशः पालना हुने/गरिने देशमा चुनाबी प्रक्रियाद्वारा उच्च पदमा पुग्न सकिन्छ । त्यसका लागि जनचाहना अनरूपको त्याग, निस्वार्थ योगदान, अनुभव, दक्षता, नैतिक इमान्दारी र स्वच्छ छवि हुनु अनिवार्य ठानिन्छ तर देशले वहन गरेको शासन-प्रणालीमा विधिको शासन मात्र होइन त्यसलाई हाँक्ने र घुमाउने अर्को प्रणाली भनौं जब्बर शक्ति केन्द्र पनि छ । चुनाबी प्रक्रियाबाट पुगें पनि, योग्यताको प्रक्रियाबाट उठे पनि उसले छाद्दा, छेर्दा दिडमिड नमानी काँधमा हालेर हिँड्न सक्ने मनुख्खे नवौं चिरञ्जीवीका रूपमा स्थापित हुनसक्छ । योग्यता नभए पनि क्षमता नभए पनि आशीर्वादधारीहरूको रौसम्म हल्लाउन आजसम्म कसैले सकेको देखिदैन ।
भ्रष्टाचार र ज्यादतीको कुम्भीपाकमा राष्ट्रसेवामा बडाहाकिम डुबेको बखत स्वच्छ छविको खोजी यस देशले पनि गरेको थियो । विज्ञापनमा उल्लेखित आंकडाहरू भरेर कति पहलवान्हरूले आफ्नो दानवी स्वरूप र शक्तिलाई छपक्क छोपेर स्वच्छ अस्तित्व प्रदर्शन गर्न खोजेका थिए, त्यसको सूची त सार्वजनिक हुन सकेन तर ज-जसको अनुहार छापामार्फत आयो/सुनियो ती अनुहारमा कतै स्वेच्छाचारिताको दाग, कतै बलात्कारको दाग, कतै नरभक्षी दाग, कतै समलिङ्गी ऋतुदानको दाग, कतै बेइमानीको दाग, कतै विश्वासघातको दाग, कतै दलाली र कमिसनको दाग, छेतकी/पातकी र वापतीसहित कतै गुण्डागर्दी र चाण्डालपनको दाग सजिलै देख्न सकिनँथ्यो । ती सबैमा धुलाम्य, हिलाम्य छविमा जनमत र जनविश्वासलाई सम्मान गरेर निर्वाचनको वैतरणी पार गर्ने त परै जाओस् जमानत जोगाउन सक्ने ल्याकतसम्म थिएन/देखिएन ।
त्यसैले यस प्रक्रियाको ज्ञान चर्मचक्षुमा लेपन गरेर हिँड्न रुचाउने महारथीहरू आज स्वच्छ छविको बाटो अवलम्बन गरी माथिमीथ चढ्न थाल्दै छन् । यस प्रक्रियाद्वारा माथि उक्लिन हजारौ हण्डर र दुःख कष्ट सही गाउँ-गाउँ चहार्नु पर्दैन, भोटको मूर्गमरीचिकामा डुबेर ओठ जिब्रो सुकाउँदै प्याकप्याक्ती हुनु पर्दैन, कुना काप्चातिरका लाटागाँडालाई छाँद हालेर हिडिरहनु पर्दैन, औकातभन्दा माथि उचालिएर जाँड र खरखजानामा फजुल खर्च गुर्न पर्दैन, कार्यकर्ताहरूको उद्दण्ड जमातलाई रिझाउनु पनि पर्दैन । न त कसैलाई हात नै लिनुपर्छ, न त कसैलाई हतियार नै बनाउनु पर्छ ।
बीस-बीस वर्षसम्म विश्वविद्यालयमा अध्यापन गरिरहेका आशिक अध्यापकहरू अझै पनि योग्यताको श्रीपेच सिउरमा घुसारेर घण्टी गनिरहेका छन् । कति क्षमतावान् राष्ट्रसेवकहरू नियुक्ति भएकै पदमा जीवनभर हड्डी पसली घोटेर सीप र सेवा प्रदान गर्दा पनि पदोन्नति नपाई आँशु र अवषादले आकाङ्क्षा पुच्छ्दै अवकाश लिन पुगिरहेका छन् । दक्षता, क्षमता, प्रतिभा र योग्यता हुँदाहुँदै पनि धेरै नागरिकहरू अपाहिज मानसिकता बोकेर हिँड्न विवश बनिरहेका छन् । आमूल परिवर्तनको सपना बाँडेर छलाङ मार्न खुट्टो उचालिरहेको यस देशमा दुई कौडीको हुती र हैसियत पनि नभएका धेरै शकुनी र शिशपालहरू उच्च ओहदामा सिफारिसमार्फत्, अथवा भाग्यविधाताहरूको आशीर्वाद, भागवण्डा र समानुपातिक सन्दि सोचमार्फत मुखिया र तालुकदार बन्न पुगेका छन् । सरकार परिवर्तन अथवा क्याबिनेट नामधारी सनातनी लाखे पद्धतिमार्फत उनीहरूको पदोन्नति पनि हुने गर्दछ । साउँ अक्षर छुट्याउन तर्सनेहरू शिक्षामन्त्री हुन पुगेका छन्-न्यायाधिवक्ता हुन पुग्दछन्, निर्देशक भएका छन् र आउने दिनहरूमा हुन सक्ने सम्भावना पनि जिउँदै रहेको देखिन्छ ।
नगरे पनि, भनिन्छ यो पशुपतिनाथले रक्षे गरेको देश हो। बस् निरन्तर एकाबिहानै साम, दाम, दण्ड, भेदलाई अँजुलीभरि भरेर दशनङ्ग्री जोडिदिनोस् पुगिहाल्छ । यसका लागि योग्यता पनि चाहिदैन, दक्षता पनि चाहिदैन, अनुभव पनि चाहिदैन, अध्ययन पनि चाहिदैन स्वामितको कृपा भए पुग्छ, निगाह भए पुग्छ ।
शैवमार्गी नभए पनि हिन्दू धर्मावलम्बीका सन्तति हौं हामी । धर्म तासे पनि नमाने पनि हाम्रो रक्तप्रवाहमा हिन्दूत्वको धडधडी र अवशेष लडीबुडी गरिरहेको छ । हाम्रो परम्परा र सांस्कृतिक चेतनामा धर्मको लेग्रा र प्रभाव यद्यपि कायम नै रहेको देखिन्छ । धर्मनिरपेक्ष भनिएता पनि भौतिकवादी बनेता पनि महत्त्वकाङ्क्षी बनेर आफ्ना लिप्सात्मक मनोरथ र मनोकाङ्क्षापूर्ण गर्ने बेलामा विभिन्न देवी-देवतामा भाकल राखी आराधना उपाशना गर्न पुग्दछौ । मालिकको कृपा भए राजनीतिशास्त्रको पाता नै नपल्टाएको मस्सुर राजदूत हुन सक्छ, राष्ट्रसङ्घको प्रतिनिधि हुनसक्छ, मुखिया हुन सक्छ । नैतिकताको ‘न’ नजान्ने पाषाण हृदयी पनि न्यायाधीश हुन सक्छ, जी.एम. हुन सक्छ, विशिष्ट दर्जाको सल्लाहकार हुन सक्छ । प्रशासनिक क्षेत्र बाहेक जे-जति उच्च ओहदाका पदहरू आयोग हुन् वा नियोग हुन्, संस्थान हुन् वा निगम हुन् ती सबै आकाशे पदहरूमा बतासे व्यक्तिहरूलाई संरक्षण, संवर्धन गर्न थाती राखिएका झै लाग्दछन् ।
अहिलेको परिस्थितिमा त्यहाँसम्म पुग्न केवल हर्काएर हाकिएका एक हुल मान्छेको जमात देखाउन सके पुग्छ । चाकडी र चातुर्यमा निष्णात् हुन सके पुग्छ, निमुखाहरूको आलो रगत तनतनी प्यून सकेको दारा, नङ्ग्रा देखाउन सके पुग्छ । विधर्मीहरूको शिरोच्छेदन गर्न मच्चाएको खाँडो देखाउन सके पुग्छ । विपक्षीहरूको हुर्मत लिन सक्ने गरी धारिम हात पारेर सत्तो सराप गर्ने सीप भए पुग्छ । बेला-बेलामा जूठो स्याहार्न सके पुग्छ । खोचे थापेर अशक्तहरूको घाँटी निमोठ्तै कुलर्न सके पुग्छ । पासो थापेर गौंडा-गोश्वारा ढुक्न सके पनि पुग्छ । यस्तै ठानिरहेका छन् आजका सम्भ्रान्त र सभ्य मानिसहरू ।
कसैको कृपापात्र भएमा महामहिम बन्ने महत्त्वकाङ्क्षालाई सुप्तलीले रगडेर गुरु, बाजे-बराजुहरूले सिकाएअनुरूप स्वावलम्बी भएर असल चरित्र निर्माण गर्ने घिङ्घिडो मनभरि दलेर हिँडेको मनुख्खे परे म । दासत्व र गुलामीको सप्त गण्डकीमा सजीव अस्तित्व चुर्लुम्म डुबाएर निसास्सिई निसास्सिई हिंड्नुभन्दा पशुपतिनाथसँग कर जोडी बिन्ती गर्दछु “हे परमपिता तिमी साँच्चै नै सर्वशक्तिमान् छौं, दयावान् छौं, सर्वव्यापी छौ, दानवीर छौ, कृपावान् छौ र संसारका सबै प्राणीहरूलाई उद्धार गर्ने सामर्थ्य राख्छौ भने कृपा गरेर अलिकति लाज, सरम र धीन पनि मान्ने गर प्रभु ! कसैलाई कयसमा राखेर दाउन खोज्ने दिन गए अब । मल्टिमिडियाले दुनियाँमा उधुम मच्चाएर लाटा-लठेब्रा उपाशकहरूका आँखा धमाधम खोलिरहको छन् । अलिकति अरू दया गरेर त्यो दिगम्बररूप धारण गर्न छोडी युगसुहाउँदो किसिमले हिँड्न सिक र नकच्चरो बनेर निर्लज्ज पाराले ठड्याइरहेको गुप्ताङ्गलाई वित्तैभरको भए पनि एउटा टालाले छोप्ने गर प्रभु ।
म निपट देहातमा बस्ने अल्पज्ञानी, अपहेलित र तिरस्कृत लेखक हुँ । शहर पसेका बखत श्रीमतीसम्मलाई त ढाकछोप गर्छु तर छोरी, बुहारीसाथ हिंड्दा साडै मर्म पर्छ । तिम्रो स्वच्छन्दतावादी व्यभिचारी साम्राज्यमा तिमीलाई नलागे पनि मलाई असाध्यै लाज लाग्दछ । एउटा निर्विवेकी बज्रस्वाँठ परपुरुषको नग्न लिङ्गमा अदना चेलीहरूसँग एकैसाथ दर्शन गर्न पाजी आत्मा भनाउँदो जिनिसले बारम्बार धिक्कारिरहन्छ । देशवासीहरूको उद्धार र कल्याण गर्नुको साटो, अहारिसे स्वभाव, एकलकाँटे विचार, अहम्जन्य प्रवृत्ति र आफ्नै भलो र हित चिताउँदै निर्लज्ज बस्ने वानी त्यागिदेऊ प्रभु । त्यागिदेऊ !!
मधुपर्क : ०६५ वैशाख
०००
लिगलिग कोट (२०७१)
Subscribe
Login
0 Comments
Oldest






































