रामप्रसाद अर्याल ‘अविराम’महादेउ पानी देउ
यहाँका मौसमविदका भविष्यवाणीलाई फेल हुन नदेउ । यिनीहरुले यन्त्र ल्याउँदा नक्कली परे छ या घोटाला गरे भन्न सकिन्न । सके पनि भ्रष्टाचारी भन्नु हुन्न ।

रामप्रसाद अर्याल :
महादेउ पानी देउ, यतिले पुगेन अरु थपिदेउ । यो केटाकेटीको कुरा हो, मालडाँडा खेल्दाको । महादेउ, पशुपति, शंकर, शिव, आशुतोष, भोले भण्डारी आदि महादेउकै नाम हुन् । महादेउलाई सच्चा मनले पुकारे भक्तहरुको बाञ्छासिद्धि गरिदिन्छन् । भान्सामा सबैकुराले भरिपूर्ण गराउँदछन् । यो सत्ये जुगको कुरा हो । अहिलेको जुग असत्ये जुगको हो। यो जुगमा सत्ये कुरा गरेर जुगको अपमान गर्न म जस्तो सर्वशक्तिमान व्यक्तिलाई सुहाउँदैन ।
मेरो आजसम्मको गहिरो अध्ययन र अनुभवले के सिद्ध गरेको छ भने गिद्ध सिनोमा रमाउँछ । सिनो भएको ठाउँमा फोहर हुन्छ। त्यसलाई सफा गर्ने बडार्ने मिनोको प्रवाहले मात्र सम्भव हुन्छ । मिनो ल्याउन महादेउ खुसाउन पर्छ या रिसाउनु पर्छ । यो बेला महादेउ खुशी छैनन् । खुशी भएका भए मन्दमद झरी वर्षांउँये । सबै क्षेत्रमा एकनाशनले पानी परे पछि धानबाली यतिरनेर लहलहाउँदो हुँदो हो। उनी दुर्वासा बनेका छन् । र त एक ठाउँमा बोलायो अर्को ठाउँमा जान्छन् । एक ठाउँका भोकाउँछन्, तिखाउँछन् अर्को ठाउँकाले खान्छन् पिउँछन् ।
महादेउलाई यतिसाह्राे हल्कारूपले लिन पनि त भएन । भनेको बेला आमाले पनि खान दिन्नन् । भनेको बेला बाबाले पनि त फिस तिर्दिनन् ,जडाउरी किन्दिनन् । खेतालाले भनेको बेला मेला हिन्दिन्नन् । अर्को कुरा रामको भक्त हुनुभन्दा अगाडि हनुमानको चाकरी गर्नु पर्दछ भन्ने कुरा लाटाले पनि बुझेको हुनु पर्छ । महादेउलाई खुसी बनाउन उनकै ओरिपरि घुम्ने गणेशजीलाई मनभरिको माला मतीचुरको लड्डु, मनभोगको भोगलगाए पछि पानी नपारी सुखै छैन, त्यो नभए भ्यागुता र भ्यागुतीको धुमधामसँग विवाह गरिदिए पनि त पानी पर्छ ।
अहिले गाउँ सहर पानीको निम्ति हर्हराउँदो छ। भन्नु लाजमदर्थी कुरा हो। हामीले बच्चैदेखि सुनिजानेको कुरा हाम्रो देश जलस्रोतको धनी देश हो। यो देशमा खान र पिउन सुखसंग जिउन मुस्किल छ भन्न्ु हुँदैन बिजेत हुन्छ । हामी देखाउने र लेखाउने कुरामा सर्वश्रेष्ठ छाँै। नक्सामा चुच्चे नक्सा देखायौँ । विधानमा समेत लेखायाैँ । लेखाउन र देखाउन मात्र त हो । साक्षरता शतप्रतिशत, खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरौँ । शौचालय निर्माण गर्न परेन । निरक्षर उन्मुलन गर्योै । अक्षर चिन्नु परेन । शान्ति क्षेत्र घोषणा गरे पछि के को खोलो बग्यों कुन्नि १ उत्तर आफै दिनु होस।’
यो वर्षायाम वाढी पंहिरोमा परेर कतिको ज्यान समेत गएको छ । गाँवै खतम भएको छ । मानिस घरवार र देशै विहीन भएका छन् र त बाँचेकै छन् । बस्ती विहिन भएका छन् हाम्रै देशमा त के भयो ? कति मानिसहरु । भूकम्प जानु आगलागी हुनु, वस्ती जल्नु, डढेलो बल्नु स्वाभाविक कुरा हो। अहिले मात्र भएको हो र ? हिजो पनि त मानिस मरेकै थिए । हिंजो त झन महामारी रोगको भारी, कति फैलिन्थ्यो, फैलिन्थ्यो । संञ्चार क्षेत्र– मौन हुन्थ्यो मस्त निद्रामा । अहिले मन्त्रीले टोलको ट्वाइलेट उद्घाटन गरे भने पनि सम्चार बन्दछ । सानो खुसर्सानीको रुख ढल्यो तात्तातो सम्चार आउँछ। गोलभेडा फल्यो सम्चार आउँछ । त्यो पनि राष्ट्रिय स्तरमा । बाबुको सम्पत्ति छोरीको नाममा सम्चार, सानो बच्चाको साइकिल जाममा सम्चार, जनै पूर्णिमामा भाञ्जालाई भेटी खाममा र हुँदा हुँदा क्वाँटी फेसबुकमा सभ्चार बन्दछ। हो यस्तै खाले सम्चारको बहार आउँदा भुइँ मान्छेहरुमा विद्रोहको उभार नआउला ? कसरी भन्नु ?
हल्ला र गफैको भरमा, घरमा, गाउँमा र सहरमा काम चल्ने भएपछि काम पो किन गर्नु पर्यो र ? यसवर्ष जेठ महिना देखि सामाजिक सञ्जाल, रेडियो, एफ. एम, टेलिभिजन आदिबाट हल्ला चल्यो चलाइयो “यो वार्ष धेरै पानी पर्छ ।“ हो वर्षायाममा हिउँदमा भन्दा धेरै पानी पर्छ सबैलाई थाह भएकै कुरा हो। हो नेपालमा चिनतिर पानी आयो भने छाता ओडिन्छ त्यस्तै भारततिर शीतलहर चल्यो भने नेपालमा दाउरा जोरिन्छ । यो हामी कति सम्म सावधानी अपनाउँछौ भन्ने कुराको प्रमाण हो।
हो यसवर्ष जिम्मेवार सरकारको गैरजिम्मेवार मौसम विभागले सूचनाको फर्मान जारी गर्यो “बाटाको छेउ, गोरेटाको लेउ, खोलाको किनार, भत्केको इनार नजिक नजानु होला“ तर खेलो वेग मारेर घरमै आयो । उत्ता कामखोज्न गएका पालभित्र भएका नेपालीको पहिरो गएर कपाल समायो । यतासुतर्कता उता कालको पुर्जी । नेपालको बजेट जस्तो यता चाहना उता आपूर्ति । पक्षपात नगरीकन ।
महादेउ महादेउ नै हुन् । यहाँका खाईदेउ नेता जस्ता होइनन् । उनी प्रकृतिको नियममा चल्दछन् । तर यहाँका दुला पसेका लुला नेता पनि उनी भन्दा ठुला छन् र त कानुन जान्दैनन्, नियम मान्दैनन्। कानुन नियम, विधान भन्दा माथि छन् उनीहरु । किन भने उनीहरु ले नै हो कानुन बनाएको। बन्ने भन्दा बनाउने ठूलो हुन्छ। भलै नेता चुन्ने जनता भुसुना जत्तिका किन नहुन् । जनताको मत ठूलो मूल्यको हुने चुनावको बेलामा मात्र हो भनेर नभनौं। चुनाव त खण्डखातिर पर्नसाथ तपाईं हाम्रातिर आउन सक्छ ।
आफूलाई सर्वश्रेष्ठ ठान्ने, सर्वगुण सम्मप्न मान्ने मनुवाले सुरुसुरु मा ढुङ्गा र माटोलाई पुज्यो । आगोलाई अग्नी देव भनेर पुज्यो। पानीलाई जलदेउता भनेर पुज्यो । ढुङ्गा र माटोबाट बस्न घर बनायो । अन्न उब्जायो , बाँैच्ने आधार पायो । आगोबाट खाना पकायो । अन्धकारबाट उज्यालोतिरको यात्रा शुभारम्भ गर्यो। जाडोबाट जोगियो।
पानी जीवन जिउने आधार । औधी गर्मी र औडाहाबाट बँच्ने र , बाँच्ने चाह पानी। पानीमै अडेको हुन्छ सारा जीवजन्तु र वनस्पतिहरुको जिन्दगानी । खाने, पिउने, पकाउने, नुहाउने, धुने, खेती पटाउने । चिसो पानीमा तातो शक्ति, विद्युत निकाल्नेकाम पानीबाटै हुन्छ। त्यसैले पानी समयमा नपर्दा वा ढिलो पर्दा महादेउ पुकार्दछन् किसानहरु । आकाशतिर नजर लगाउँछन् काकाकुल भएर ।
नेताप्रति विश्वास भए नेतै पुकार्दा हुन् । अधि त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा राम वनवास जाँदा घुम्दै फिर्दै पाल्पाको रम्भा पानी वनमा पुगेछन् । त्यहाँ पुग्दा भोक प्यास र थकाइले लखतरान भएकी सीताले पानीको चाह गरिन् रे। रामले तत्काल धनुवाण चलाएर पानी पारे, मूल फुराएर सीताको प्यास मेटाए रे । त्यो ठाउँ रम्भा पानी भनेर प्रसिद्ध छ । त्यसका बारेमा अनेक किंवदन्ति र कथाहरु छन् । काव्यहरु रचिएका छन् । अधि वरुणास्त्र प्रयोग गरेर पानी पारिन्थ्यो । असिना झारिन्थ्यो।
हाम्रा शक्तिशाली नेताहरू पनि कम्तीका कहाँ छन् र ? एउटा सानो प्रसङ्ग, सुनाइहालूँ । गत स्थानीय निर्वाचनका बेला आफ्नो पाट्रीका टिकट लिएका, राष्ट्रियजल पिएका भुसे नेता एउटा गाउँमा पुगे । सानो भेला डाके र आफ्नो कुरा राखे। “मलाई भोट दिनुस् मैले यो गाउँमा विजुली बत्ती बाल्दिम्ला, मोटरको बाटो खनाम्ला, पुल बनाम्ला“ । यस्तैमा एउटी सोझी महिलाले प्रश्न राखिन “ यो वस्तीमा पानी खान त आधाधण्टा तल गएर लाइन लाएर एक गाग्री भरेर ल्याउन पर्छ। यो टाकुरामा पुल किन चाहियो खोलो नै छैन ? नेताज्यूले झट्ट उत्तर दिए खोलो पनि ल्याइ दिम्ला । यस्ता मनकारी नेता भएपछि देशको उन्नति रोक्न सक्ने कस्ले ?
अर्को कुरा पनि गरिहालूँ । एउटा सानो जिल्लामा जिल्ला समन्वयले पालिकाहरुसँग समन्वय गरेर योजनाहरूको अन्वय मिलाउन सक्दैन भने यत्रो बिसाल संसारको समन्वय गरेर सबैको चित्त कसरी सकून महादेउले । हाम्रो देशमा गाउँ, प्रदेश र संध भए झै त्यहाँको राजधानीमा मन्त्री मण्डल भएकै होला । राष्ट्रपति बनेकै होलान् । वरुण जलस्रोतम, इन्द्र प्रधानमन्त्री र महादेउ सर्ब शक्तिमान राष्ट्रपति । त्यहाँ पनि यहाँ जस्तै मनमानी र खिचातानी अवश्य हुन्छ होला । नत्र त पानीको समानुपातिक वितरण हुँदो हो । अतिवृष्टि र अनावृष्टिको सिकार किन हुनुपर्थ्यो र १ त्यहाँ पनि चाकरी, प्रथा लागु भएकै होला । नत्र गणेशप्रवृत्तिको विकास कसरी हुँदो हो र? आफ्नालाई आरी घोप्टाएर र अरुलाई आचमानी ले छिटेर ?
अब त अत्ति भयो महादेउ । खेत रोपाई गर्न पाइएन । रोपेका खेत पनि धाँजा फुटेर विजोक हुन गएका छन् । स्थानीय सरकार रमिते भएको छ। रमिते नभएर पो के गरोस् । पानी पार्न सक्ने खुवी धर्तीका मनुवासँग छैन । आगौँसाल परानको तरान धान्न पेट कसौँला। भोकै बसाैँला । यहाँका मौसमविदका भविष्यवाणीलाई फेल हुन नदेउ । यिनीहरुले यन्त्र ल्याउँदा नक्कली परे छ या घोटाला गरे भन्न सकिन्न । सके पनि भ्रष्टाचारी भन्नु हुन्न । वादलमा पानी हेरेर सूचना गर्दा बतास आएर बादललाई अन्यत्रै हुत्याई दिँदो रहेछ । के गरून् विशेषज्ञहरूले । वायु हामी सबैको आयु हो।
अब वायु न चलाइ देउ । पानी पहिरो नजानी गरी पारिदेउ। यसो गर्यै भने आउने साल साउन महिनामा तिम्रो मन्दिरमा दर्शन गर्न आउँला र एक लोटा जल चढाउँला ।
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest






































