कृष्ण प्रधानलास्ट सुपर फ्लप मान्छे म
मेरो यस्तो दुइमुखे चरित्रदेखि तर्सिएर मेरा साथीहरूले मलाई पन्छाउनु खोजेको कारण पनि म फ्लप हुने एउटा मुख्य कारण हो। कार्यालयरुपी अन्धानगरीमा धूपौरे पञ्जा फैलाएर जस्तै रजाइँ गरेर पनि मेरा सहकर्मीहरूमाझ म बदनाम छु...

कृष्ण प्रधान :
‘भेड़ा भेड़ासँगः बाखा बाखासँग’ भए झैं ‘मान्छे मान्छेसँग’ हुनु स्वाभाविकै हो। तर मेरो जीवनमा भने ‘मान्छे मान्छेसँग’ भन्ने कुराले ठ्याम्मै मेल खाएको छैन।
कारण मान्छेको समाजले म मान्छेलाई ग्रहण गरेको छैन। यसको अर्थ मलाई बहिष्कार गरेको चाहिँ पटकै होइन। बिहे-बटुल, मरौं-परौ पूजाआजामा मलाई निम्त्याइन्छ। सबै बोल्छन्, हाँस्छन्, हाय-हल्लो गर्छन्, सुख-दुःखका कुरा गर्छन् । तर मेरो समाजभित्रको एउटा यस्तो मान्छे समाज छ त्यो समाजले पो मलाई उनीहरूको परिधिभित्र ढिम्किनै दिँदैनन् । सधैं टकटकाउने र परपर गर्ने प्रयास गरिरहेका हुन्छन् । मैले भन्न खोजेको ती मान्छेको समाज त्यो समाज हो जुन समाजका मान्छेहरू इमान्दार छन्, कर्मयोगी र सत्चरित्रका छन् । छलकपटविहीन छन् । छक्का पञ्जाको टुप्पो फेद केही जान्दैनन् । सायद मभित्र छलकपट, छक्कापञ्जाको गन्ध पाएर मलाई मेरा समाजका मान्छेले लास्ट सुपर फ्लप पारेका छन् ।
मेरो उपरोक्त भनाइबाट हजूरले म कस्तो मान्छे हुँ भन्ने अनुमान अवश्यै लाइसक्नुबो होला। आँ गर्दा अलङ्कार बुझ्नुपर्छ, सायद त्यो पनि बुझ्नुभयो होला। आँ गर्दा अलङ्कार ता के सासा संसारनै बुझें पनि म कसरी लास्ट सुपर फ्लप मान्छे भाएँ सोबारे तपाई अनभिज्ञ हुनुहुन्छ। यसबारे अरू हेनतेन नभनी लाजै पचाएर म मेरो नालीबेली म आफैले यहाँ राख्न चाहन्छु।
नीति नियमको कुरा गर्न पोख्त छु म। तर कार्यालयमा सबैभन्दा अबेर पुग्नु मात्र होइन सबैभन्दा छिटो मैं निस्किन्छु। पेशाले शिक्षक म। आफ्नो पिरियड आउने देलामा कान्टिनभित्र पसेर गफ लड़ाउँबस्छु। मेरो यस्तो हेलचेक्र्याइँले गर्दा सिलेबस कहिल्यै सकिंदैन। परीक्षा आउने बेलामा चाहिँ तीन चारवटा पाठ एकै पिरियडमा सिद्ध्याइदिन्छु। त्यसो गर्दा पनि भ्याइएन भने क्लासमा नोट्स लेखाएर सेसन टारिदिन्छु। ४५ मिनटको पिरियडमा २० मिनटसम्म ता आफ्नै कर्मयोगी शिक्षक साथीहरूको बद्ध्वाइँ गरेपछि मात्र पाठ पढ़ाउन थाल्छु। विद्यार्थीहरू पनि धेरै प्रकारका हुँदारहेछन् । स्कूलमा साँच्चै पढ्नै आएका मेधावी विध्यार्थीहरू कोही ता ढीट, आँटी, प्रतिवाद गर्न निपुण हुँदारहेछन्। स्कूलमा उपस्थित भएर पनि तीन दिनसम्म क्लास गरेकै थिइनँ।
चौथो दिन क्लासभित्र पसेर ठूल्ठूला कुरा हाँक्नु मात्र होइन; लागेको बानी ! एकजना सहकर्मीकै बद्ध्वाइँ गर्दै थिएँ। अचानक एकजना ढीट तर ज्ञानी विद्यार्थी जुरुक्कै उठेर प्रतिवाद गर्नथाले – “सर ! एक्सक्यूज मी ! तपाईंले जुन सरको ब्याक बाइटिङ गर्नुहुँदैछ यसमा मेरो घोर विरोध मात्र होइन आपत्ति पनि छ। तपाईंलेजस्तो फ्लानु सरले हामीलाई कहिल्यै ठगेका छैनन्। तपाई स्कूलमा रेगुलर आए पनि चार दिन क्लासै गर्नुहुन्न। परै फ्लानु सरले ता सिलेबस सकेर पनि अहिले रिभिजन गर्नुहुँदैछ। घण्टी लाग्ने बित्तिक्कै फ्लानु सर क्लासमा पसेपछि पाठ पढ़ाउन थाल्छन्। तपाईं घण्टी लागेर पनि कुन दिन चाहिँ क्लासमा टाइममा पस्नुभएको छ र ? तपाईलेजस्ता बगम्फुसे कुरा गर्दैनन् न कि कुनै सरहरूको ब्याक बाइटिङ नै गर्छन् ।”
उक्त विद्यार्थीको प्रतिवादी स्वर सुनेर मेरो मुटु एकक्षण ता च्यूँ… च्यूँ भयो । कुरा ठीकै गरे तिनले। आफ्नो धाक देखाउन र अन्य विद्यार्थीसामु लाज ढाक्न मैले ती विद्यार्थीलाई साफी झपारें। ‘मसित आर्गुमेन्ट गर्छस् ?’ भनेर श्रेणी कोठे थर्किनेए गरी चिच्याएँ। श्रेणी कोठा पिन ड्रप साइलेन भए पनि ती विद्यार्थीसाथीको पक्षमा एकेकजना विद्यार्थी जुरुक्क जुरुक्क उठेर मलाई विरोध गर्न थाले। यस्तो स्थितिमा अब मैले घेर बोले मेरा एकदुइजना धुपौरे विद्यार्थीहरूबाहेक सिङ्गै श्रेणी नै मेरो विरोधमा उठी घोर प्रतिवाद गर्नु मात्र शायद मेरो क्लास नै ब्यकट गर्न बेर लाउँदैनन् भन्ने कुरो मैले स्पष्टै बुझें। एकदमै नम्र स्वरमा। बोलें म-‘गुड ! भेरी गुड !! तिमीहरूले फ्लानु सरलाई कत्तिको मनपराउँदा रहेछौं भनेर पो मैले उनको ब्याक बाइटिङ गरिहेरेको ता। फ्लानु सर ता मेरा डियरेष्ट र नियरेष्ट सहकर्मी हुन् ।’ धन्य बाँचियो।
यी विद्यार्थीहरूको नजरबाट म तल झरेको कुरा मेरै धूपौरे विद्यार्थीहरूबाट सुन्दा साँच्चै म विद्यार्थीहरूमाझ पनि म एकजना फ्लप शिक्षक भइसकेको रहेछु भन्ने ज्ञात भयो। यसबाहेक अझै अर्को कुरो के पनि स्पष्ट भयो भने, मेरा धूपौरे विद्यार्थी छन् भने मेरा सहकर्मीहरूका पनि ता धूपौरे विद्यार्थीहरू होलान् । मलाई मेरा धूपौरे विद्यार्थीहरूले श्रेणीका एकएकवटा कुरा सुनाए झैं मेरा कुराहरू पनि ता तिनका विद्यार्थीहरूले तिनका आदर्श शिक्षकलाई सुनाउँदा हुन् । यसैले ता मेरा कर्मयोगी, निष्ठावान, सहकर्मीमाझ फ्लप हुने अन्यतम कारणमध्ये एउटा कारण उपरोक्त बयानले नै छ्याडै पार्दैन र ?
आफ्नो काम फत्ते पार्न म जुकाजस्तै ट्याप्रै टाँसिनुमा पनि उस्ताद छ। आफ्नो काम बनिसकेपछि चिप्लिनु पनि जान्दछु। यो टाँसिने र चिप्लिने मेरो प्रवृत्ति हिजोआज -सार्वजनिक भएर होला काम लाग्ने मान्छेको समाजबाट म अफालिएको हुँ। मेरो आनीबानी, चालचलन, व्यक्तित्व देखेर मलाई किसिम नाम राखिएको छ। कोही सुलसुले भन्छन्, कसैले कमिसने। कुरा लाउनु, एउटालाई उचालेर अर्कोलाई घेचार्नु, परस्पर वैमनस्यता बढ़ाउनु, एकजनालाई चम्काएर अर्का विरुद्ध झगड़ा लाउनु आदि मेरो प्रमुख आदत भएकोले मेरा सहकर्मीहरूमध्ये कसै कसैले सायद मेरो नाम सुलसुले राखेका हुनन् । कमिसने नाम नराखोस् पनि कसरी ? अरु ठूल्ठूला कुरा छोड़िदिउँ, सामान्य कसैको कात्रो किनिदिँदा पनि त्यसबाट कमीसन खाने मान्छे म। यस्ता प्रवृत्तिका मान्छेलाई ‘कमिसने’ नाम नराखेर के राखुन् ता ! जस्तो काम त्यस्तै नाम। सामान्य कात्रोको कमिसन खाने मान्छेले चान्स पायो भने के के मा चाहि कमिसन खाँदैन होला? लु तपाईं आफै ठण्डा मगजले सोंच्नुहोस् ता ! यसैकारण म भद्र समाजदेखि तिरस्कृत छु… अवहेलित छु । यसैले फ्लप भएको हुँ कि !
कार्यालयमा अबेर गरेर पुगे पनि साथीहरूले आयोजन गरेका पार्टीतिर ठीक समयमा पुग्छु। यसमा मलाई लु सत्ते होला कसैले औँला ठड्याउन सक्दैन। सित्यैमा पाए सिमेन्ट पनि बुकाउने मान्छे म । अरुले आयोजन गरेको पार्टीतिर रजाइँ गर्छु। तीन दिन छेरौटी चलुञ्जेल धोक्छु। तर आफूले पार्टी गर्नुपर्ने पालो आउँदा ती साथीहरूबाट महिना दिनसम्म टाढ़िने, नबोलिदिने मान्छेलाई कुन लट्ठक साथीले उनको पार्टीमा निम्त्याउँलान् र ?
यसकारण ती सोझा सिधा साथीहरूको हुद्दाबाट पनि म लखेटिएको छु। फस्ल्याङ्फुस्लुङ् पार्नुमा सिद्धहस्त छ भने आफ्नू गल्ती छोप्नुमा जण्डा पनि छु म। जस्तै आँताका साथी भए पनि मेरो चित्त नबुझेको दिन रछ्यानमा फ्याँकिदिन सक्छु। मेरो स्वार्थ केही पूरा नहुने छाँट उनीबाट देखिए दलदलभित्र फँसाइदिन पनि सक्छु। तर मलाई लेप्सो लाएर मेरै मुट्ठीभित्र बसिरहने साथीलाई मालामाल पनि बनाइदिन सक्छु । मेरो यस्तो दुइमुखे चरित्रदेखि तर्सिएर मेरा साथीहरूले मलाई पन्छाउनु खोजेको कारण पनि म फ्लप हुने एउटा मुख्य कारण हो। कार्यालयरुपी अन्धानगरीमा धूपौरे पञ्जा फैलाएर जस्तै रजाइँ गरेर पनि मेरा सहकर्मीहरूमाझ म बदनाम छु… तिरष्कृत छु । म आफ्नो गल्ती कबूल गर्छु। हे महामहिम पाठकवर्ग ! म लास्ट सुपर फ्लप मान्छे हुँ। सत्ते, लास्ट सुपर फ्लप मान्छे म…. लास्ट सुपर फ्लप !!
०००
सिलगढी, भारत
डरको हाउगुजी (सन् २००९)
Subscribe
Login
0 Comments
Oldest








































