फित्काैली डटकमअथः श्रीइन्टरभ्यू गाथा
सोबारे न ता कुनै ज्ञान छ न ता त्यस्तो कुनै ट्याक्टिक्स नै सिकेको छु। तरै पनि मनले सान्त्वना दिई नै रहेको छ, हिम्मत नहार, एकदिन अवश्यै तिमी सफल हुनेछौ। त्यसैले अचेल म प्रतिक्षा गरिरहेको छु, अझै एउटा इन्टरभ्यू कलको।

मुकुन्दराज ओली :
दिउँसोको समय । म यसै ओछ्यानमा पल्टिएर नानाथरिका कुरा सोचिरहेको थिएँ। आफूले बेरोजगार जीवनमा प्रवेश गरेको झण्डै डेढ़ दशक भइसकेछ। घरमा सधैंको कच्कच्। यत्रो लाठे भइसक्यो काम गरेर खानु छैन, अझै बूढ़ा बाउका कमाइ खाएर बस्नु लाज पनि लाग्नुपर्ने, आमा-बाबुका कटाक्ष। आफूले चाहिँ गोड़ा पच्चिसेक इन्टरभ्यू भ्याइसकियो। कतैबाट बोलाहट छैन। सँगै पढ़ेका दाँतरी सहपाठी धनेले काम पाएका पनि एक साल लागिसक्यो। नोकरी पाएपछि विहे गरुँला भनी उनले आफ्नी प्रेयसी चम्पालाई पर्खाइराखेका थिए। बाह वर्षपछि उनले उसैलाई भित्र्याए पनि। अहिले दुवै बाहिर गएका छन् हनिमुन मनाउन। सोच्छु, आफ्नो पनि यो दिन कहिले आउने हो !
यस्तै नानाभाँतीका कुराहरू मनमा खेलाइरहेको थिएँ। पोस्टम्यान दाजुले चिठी घरभित्र फ्याँकेर गए। इन्टरभ्यू लेटर रहेछ। कता-कता खुशी लागेर आयो। स्थानीय एउटा स्कूलमा शिक्षक पदको इन्टरभ्यूको निम्ति बोलाइएको रहेछ। हर्षले गदगद भएँ।
इन्टरभ्यूको दिन। बिहानै नुहाइ-धुवाइ गरी सुकिलो वस्त्र लगाएर ठीक समयमा म पुगें त्यस स्कूलमा। म जस्तै अन्य दुइ वेरोजगारीहरू मभन्दा पहिल्यै आइपुगेका रहेछन् । सबै किताब पढूनमा व्यस्त । यस्तैमा त्यहाँ एउटा गाइँगुइँ सुनें। इन्टरभ्यू ता हात्तीको देखाउने दाँत मात्र हो, यहींकै स्कूलमा क्याजुअल काम गर्ने एकजना शिक्षकको ठामठिम भइसकेको कुरो सुनें। एकजना चिनेकासित स्कूल प्राङ्गणमै भाग्यले भेट भयो। उनी ता उक्त स्कूलको सञ्चालन समितिका सदस्य पो रहेछन् भन्ने मलाई त्यसै दिन मात्र थाहा लाग्यो। मेरो छेवैमा आएर उनको मुख मेरो कानमै हँसाएर भनिहालें-भाइ ! यो इन्टरभ्यू ता यसो फर्मालिटी पूरा गर्न मात्रै गरेको… टिचरको सेलेक्सन पहिल्यै भइसकेको छ। फर्मालिटी ता पूरा गर्ने पयो नि! खासमा, डि.आइ. आफिसको आँखामा धूलो हाल्न मात्रै यो इन्टरभ्यू। जे होस् तपाई आइदिएर राम्रो गर्नुभयो। प्यानलमा तीन-चारजनाको नाम देखाउनै पर्छ। अर्को पोस्ट क्रियेट भएको खण्डमा भाइको रेफर मै गरिदिउँला निः ।
हक्कीको कुरा गरे महोदयले। इन्टरम्यू नदिई नै स्कूल प्राङ्गणबाट वाहिर निस्कें म। अघि मसित कुरा गर्ने सचिवको भनाइ आँ गर्दा अलङ्कार बुझें मैले। बाहिर दुइजना भाइहरू आपस्तमा मस्त भएर गफ गरेका भेट्टाएँ। उनीहरूको गफ गराइबाट मलाई के स्पष्ट भयो भने, ती क्याजुअल शिक्षक महोदयले हिजेमात्र ती महोदयलाई क्याँटका क्यॉट हरियो नोटको विटा भेंट चढ़ाइसकेका रहेछन् ।
घर फर्किदा रात परिसकेको थियो। केही खानै मन लागेन। घरमा साथीकैमा खाएर आएको छु भनेर ढाँटिदिएँ। समयमै ओछ्यानमा ढल्कें। निंद्रा पटक्कै परेन। निदाउँछु भन्छु मनमा किसिम कुरा खेलेकोले यता फर्किदा, उता फर्किदा नै रात बिताएँ ।
एक महिनापछि फेरि एउटा इन्टरभ्यू लेटर हात पर्यो। निराश नेत्रद्वयले इन्टरभ्यू लेटर हेरें। एउटा नामी स्कूलमा फेरि शिक्षक पदकै निम्ति रहेछ। तर कस्तो अचम्म ! आमाको कुरा अनुसार यो चिट्ठी पोस्टम्यानले नल्याएर आमाले कहिल्यै नदेखेका एउटा केटोले ल्याइदिएको रहेछ। चिट्ठी खोलेर पढ़ें। लेखिएको रहेछ- “माइ! तिमीले पनि कल लेटर पाएका छौ केही हुने हो कि भनेर तिमीलाई म त्यसदिन इन्टरभ्यूमा नआइदिने अनुरोध गर्दछु। इति दाइ…।”
ती दाइलाई म राम्री चिन्दछु। उन पनि सोही स्कूलका एकजना अशिक्षण कर्मचारी प्रगतिशील विचार राख्ने समूहमा गनिने। स्कूले जीवनदेखि पार्टी गरेका। हाइ कमाण्डसम्म पहुँच छ उनको। पक्काको दुइ तले पर, चारैतिर इन्कम सोर्स। अनि आफैलाई सोचें, दीर्घ दिनदेखिको वेरोजगार। घरको लागि बोझ भएको काम नलाग्ने हुतिहारा छोरो। अहिले खाएर भरे के खाने भन्ने स्थिति छ। प्रगतिशील विचार भएका ती दाइ भनाउँदा चाहिँ पर्मनिन्ट नोकरी छँदाछँदै पनि बेराजगारहरूका पेट मार्ने काम किन गरेका होलान् भन्ने प्रश्नले मलाई गिजोलिरह्यो ।
यसवारे अन्य प्रगतिशील विचार भएका मेरा दौंतरी र अर्धेलाहरूसित कुरा गरें। इन्टरभ्यूमा नजाऊ, कम्प्रोमाइज गर भनेर मेरा अर्धेलाहरू र मेरा दौंतरीहरूले सल्लाह दिए। खास कुरा चाहिँ ती सबै प्रगतिशील विचारधाराकाहरू ती दाइका नजिकका भन्दा पनि “यस मेन” हुन्। चिट्ठीले मात्रै हुँदैन होला भन्ने ठानेर ती दाइले कतिपय नाउँ चलेका नेता, समाजसेवकलाई मलाई सम्झाउन मकहाँ पठाए।
मन मानेन मेरो। देखें ता जाला भनेर गए इन्टरभ्यूको दिन। हलमा मलई देखेर ती दाइले निलेला मैं गरि हेरे। जसोतसो इन्टरभ्यू साङ्गे भयो सबैको । इन्टरभ्यूपछि निर्णायकहरूलाई चिया-चमेना गराउन व्यस्त देखिए ती दाइलाई नै। सहकर्मीहरूले पनि उनलाई ने वधाई दिहरहेका थिए। सबै आश्वस्त थिए उनको नोकरी स्थायी हुन्छ भनेर। दृश्य त्यो असहनीय थियो मेरा लागि। चुपचाप लागें घरतिर ।
केही दिनपछि उनको सोही स्कूलमा शिक्षक पदमा नियुक्ति भएको खबर पाएँ। सोही स्कूलमा उनकै पुरानो किरानी पद रिक्त छ। किरानी पददेखि सबैलाई खुट्टा ढोगेर, धम्की लाउनुपर्ने ठाउँमा धम्की लाएर शिक्षकको पद हत्याएर पनि उनी अझै शान्त छैनन्। हाइकमाण्डसित लगातार सम्पर्क राखिरहेका छन् भन्ने बजारभरि हल्ले छ। आफ्नै स्वास्नीलाई उक्त किरानी पदमा नोकरी दिलाउन आतुरिरहेका छन् ।
यसरी मेरा अझै एउटा आशा, आकांक्षा, सपनाको हत्या भयो। पार्टी कसरी गरिन्छ त्यो मलाई थाहा छैन। हाइकमाण्डसित कसरी सम्पर्क वा साँठगाँठ राख्न सकिन्छ सोबारे न ता कुनै ज्ञान छ न ता त्यस्तो कुनै ट्याक्टिक्स नै सिकेको छु। तरै पनि मनले सान्त्वना दिई नै रहेको छ, हिम्मत नहार, एकदिन अवश्यै तिमी सफल हुनेछौ। त्यसैले अचेल म प्रतिक्षा गरिरहेको छु, अझै एउटा इन्टरभ्यू कलको।
अनि एउटा कुरा भन्नै बिर्सेछु, किसिम जालझेल, छक्कापञ्जा गरेर ती दाइले आफू शिक्षक भएकामा जत्तिनै फुक्याई देखाए पनि, म सद्दे शिक्षक भनेर जत्तिनै फाइँफुट्टी लाए पनि मसित आँखा जुझाउन पटक्कै सक्दैनन्… पटक्कै सक्दैनन् ।
०००
भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्ध (सन २०१०)
Subscribe
Login
0 Comments
Oldest












































