साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यामिरेले पनि नयाँ पाटी खोल्ने भो

पाटीको ‘भूतपूर्व’ भनिने थापा उठेर बोल्यो, “दिनका दिन आउँला तर तेस्को ज्याला ता चाहियो । कम्तीमा एक खेतालो ७ सय दाम र खाजा–पानी बिना को हिन्छ ?” यो खर्च कल्ले गर्ने ?

Nepal Telecom ad

धुम्रलोचन शर्मा :

त्यसरी नर्के खोल्सीको डिलैडिल एक आकृति उत्तर लाग्यो । टाढाबाट देख्नेले खुट्याउन सकेनन् । कपडा फिलफिल गरेजस्तो लाग्छ र भूतको छायाँ जस्तो आकृति बेतोडले उत्तर लाग्छ ।

त्यसरी त्यो भीडको खेदाइबाट बँच्तै ज्यामिरे आफ्ना घरमा पुग्यो । उसका आमा बाबु सिकुवामा बसेर मकै छोडाउँदै थिए तर ऊ एक शब्द नबोली भित्र पस्यो र मूल ओछिनमा डङ्ग्रङ्गै पसारियो ।

भाटे दोकानमा चिया खाजा खाएर भर्खर घर आइपुगेकी ज्यामिरेकी पत्नी अलिक तर्छेजस्ती भई र सोधी— के भो तिमीलाई ? कसैले हातपात गरे कि क्या हो ?

“हातै हाल्न त पाएनन, म कता भागें भन्ने पत्तै पाएनन् । पत्ता लाउन सक्या भए चिँ आज परान खुस्काउने रान् ।” ज्यामिरे अझै स्याँ स्याँ र हप्याक हप्याक गर्दै थियो ।

मिर्मिरे नामकी ज्यामिरे पत्नी बोली— “मलाई अलेलि शंखा लाग्दै थियो । त्यो घाम अस्ताएपछि उज्यालो र अँध्याराको दोछायाँ भएको बेला थियो । “ज्यामिरे चोर देश छोड” भने जस्तो नारा लाएको सुनेँ । अघि अघि एउटा गिद्ध बेगिएर उडे जस्तो थियो । ए तिमी पो रहेछौ । तर त्यो भाग्ने मान्छे नर्के खेल्सीभित्र पसेपछि ती ढुंगा–मूढा गर्दै नारा लाउनेहरू कता लागे मैले देखिनँ । “आगो आयो, आगो झोस, ज्यामिरेको घरै सल्काओ” भनेको पनि तर तिमीलाई ता देखिनँ ।”

“कसरी देख्छ्यौ तिमीले ? त्यहाँदेखि खोल्सीभित्र फ्याँकिएर पसेँ । बाटो थिएन तर मरे मरौंला भनी डिलबाटै आँखा चिम्लेर हाम्फालें, सर्ल्याम्म आवाज आयो । त्यो उन्यू, सोत्तर, ऐंसेलु, खर घाँस र बुट्यान भित्र कति भित्र छिरेँ थाहा भएन । अझै डिलमाथि नारा लाग्दै थिए । बेला बेला खोल्सीतिर ढुंगा पनि बज्रिन्थे । तर कसैको केही लागेनछ किनभने म ता ओडारे ढुंगाले छेलिएको थिएँ ।”

“तिमीले कहाँबाट देख्यौ ?”

“कहाँबाट देख्नु ? त्यही भाटे चियानास्तामा चियाखान गएकी थिएँ । तिमी थिएनौ । एक जनालाई घरैमा चिया नास्ता पकाउँदा ग्याँस धेर खर्च हुन्छ भनेर म उता गएकी थिएँ ।”

आम्मामा ! त्यत्रो ज्यामिर बारी अनि सिल्पटे गाउँ काटेर चिया खान भाटे दोकान पुग्दा कत्रो ट्याम लाग्यो होला !
ट्याम लागेनि क्यै छैन । घरमा केरा चिउरा खानुपर्‍यो भन्दै थिएँ तर गडुरे कान्छाले फुन गर्‍यो । दिदी आज ता पकौडा–प्याजी पकाको छ नास्ता खाने भए आउनूस् तात्तातै भनेर । अनि पो भाटे दोकान गएकी त ।

एस्पालि ज्यामिर बेचेको पैसा कति बाँकी छ ?

अब सत्तरी हजार जोगिएको छ अझै ।
पैसो के सारो चाँडो उडेको ? अब ज्यामिरखेती छोडेर अर्कै  पेसा पो गर्नुपर्छ कि ? उसले सन्देह गर्‍यो ।
यो तिम्रो पैसा होइन । मैले नै इज्रेलदेखि कमाएर ल्याएको पैसा । तिम्रो ज्यामिरको आयस्ता जति बजारको सपना सहकारीमा हाल्दिएको छ भन्छन्‌; देख्न पाको होइन ।

“विदेश बसेर आएसी मात्रै था पाइन्छ लाइफ के हो भनेर । तिम्ले त गाउँ छोड्या छैन के बुझ्छौ र ?” ज्यामिरेलाई पत्नीले नराम्रो गरी ठोसी ।

ज्यामिरे जेठाको मन कुटुक्क भयो । उहिले सानैमा आमाका पैसा चोरेर घिम्रे काइँलासित लागी भर्ती गएको मत्रै । त्यो पनि कसोकसो गरेर दार्जेलिङ पुगेर महीना दिनपछि झिटी, हाडकरङ भएर आफ्नै गाउँ फर्केका थिए । ज्यामिरेको विदेश भन्नु त्यत्ति हो ।

त्यसपछि उसले अनेक दिन सोच्यो, अनेक रात सोचमै बितायो र एक निचोड निकाल्यो— ठीक चुनावको सिजनमा मेरो जीवनमा यो संकट आइलाग्यो । अब म एउटा पाटी खोल्छु । देशमा नयाँ नयाँ पाटीहरू चाहिएका छन् ।

एकनिद्रा सुतेर ज्यामिरे जुरुक्कै उठ्यो । अघि तीन माइल बाटो भागेर बाँचेको बल्ल उसका मनमा नयाँ सोच पलायो । अनि पत्नीलाई भन्यो— अब यो ज्यामिरखेती छोडौं । यो काम दिक्क लाग्न थाल्यो । सबै पुराना काम दिक्क लाग्ने हुँदा रान् । त्यसैले होला गोतामे माइलाले खेती गर्न छोडेर बजारमा फर्निचर दोकान खोल्यो, मेरा मामाले पशुपालन छोडेर दलाली कन्सल्टेन्सी खोले, सुब्बा जेठाले भैंसी बेचेर अटो किन्यो, हाम्रो पुरेतका छोराले धामी जोतिषी छोडेर बोडिङ स्कूल खोले, गजुरेल्नी बैनीले शब्जीखेती छोडेर विदेशी भिटामिन र जडीबूटी बेच्न लागिन् । ज्यामिर खेती रड्डी पेशा रछ । फलेर बोट हुर्किन १० वर्ष, हुर्केपछि पनि वर्षमा एकपल्ट फुल्ने र फल्ने । त्यो पनि असिना, पानी, हुरी–बतास, कीरा, बाँदर, चोर धपाउँदाको दास्ती । आँखा लाउने र माग्ने होलान् पचास जति त्यसले नपुगेर चोर्ने त्यति नै ।

पुराना काम छोडेर नयाँ फेशनेवल व्यवसाय थाल्ने निर्णय गरेर ज्यामिरेले घोषणा गर्‍यो— अब एउटा पोल्टिकल पाटी खोलौं । पचास वर्ष पहिले शहर पसेका हरितन्नम हाम्रा मधुकर मामा आज विहान बेलुकै कार फेर्छन्, प्रत्येक हप्ता नयाँ बङ्ला फेर्छन्, उनका तीनवटामध्ये एउटा घरमा स्टर्लिङ्ग पाउण्ड, डलर, भारु र नेरु नोठका बिटाको पर्खाल छ भन्छन् ।

तब पत्नीले प्रस्ताव राखिन्‌— ठीक छ मलाई पनि काँढाको खेती गरेर पैसा कमाउन खोजेको पटक्कै मन पर्‍या होइन । फेरि यो ज्यामिर न कुनै भिटामिन न दबाई । मान्छेले यो रड्डी कुरा हो भन्ने बुझेभने एक गेडो बिक्तैन । ज्यामिर बन काटेर दाउरा बेचौं भनौं भने पनि ती बिखालु काँडाले गर्दा दाउरै बिक्तैन । त्यसैले पाटी नै खोलौं ठीक छ ।

पाटीको नाम चाहिँ नयाँ प्रेम राखौं कस्तो होला ?

हत्तेरी तेस्तो रड्डी नाम राख्ने ? त्यो ता सिधै फलप खान्छ । त्यै नयाँ प्रेम भन्दै तिमी एता धायौ, म उता आएँ आज आफ्नै जिन्दकी निल्नु न ओकल्नु भाछ । अब यसको नाम हर्क सम्पाङको जस्तो नागरिकको दिल छुने हुनुपर्छ ।

उसो भए “घाँस–पराल” कसो होला ?

मधेशतिर धान काट्ने मिशिनले, झार्ने मिशिनले, धान झारिसक्ता पराल खेतभरि छरिने रहेछ । मान्छेले पराल भेला गर्नै छोडेछन् । किनभने पराल खाने बस्तुभाउ सकिएछन् । त्यसैले त्यो सुकेपछि खेतैमा आगो लाउँछन् । यस्तो व्यर्थको खरानी हुने प्रकृयाको नाममा पाटी खोल्दा के हुन्छ तिमी नै भन न ।

पाटीको नामलाई लिएर सहमत हुन नसकेको समयमा ज्यामिरेको सालो आयो । ओठमा सूर्ति च्यापेर ऊ धूवाँ उडाउँदै आयो । अनि त्यसैको स्पष्टीकरण दियो— यो सिख्रेट पिउँदा पिउँदा दाँतै काला भए र डाक्टरलाई सोध्दा तेस्को केमिकलले यस्तो हुन्छ भन्यो । अनि तेसदिनदेखि सिख्रेट चटक्कै छोडें । अनि दोडा खसी बेचेर भोजपुर गएँ । त्यहाँ गाउँतिर बनाको पाते सूर्तिको धूलो दुई पाथी लिएर आको छु । एयल्ले फारु गरेर दुई बर्ख पुर्‍याउँछु ।

अनि ङिच्च गरेर हाँसो । दाँतमा अरु अँगार काला थिए । यी काला दाँतले उसलाई ससुराली जाँदा गाल पारेका थिए किनभने सालीहरूले भेला भएर रातभरि— “खैनी चुरोट खान्छौ कि दाँतै कालो छ” भन्ने गीत गाए अरे ।

आज उसले भिनाजुलाई सल्लाह दियो— “मकै भटमास पाटी” भन्ने नाम राख्नु पर्छ ।

यो देशका धेरै मान्छेले खाने गरेको खाजा मकै भटमास हो । अझ मकै ता मान्छेले मात्र होइन, गाई, भुइँसी, बाख्रा, सुँगुर, घोडा, गधा, बाँदर, ढेडू, लोखर्के, भालू, काग, सुगा, मुसा, बनढाडे— यो पिर्थिवीमा पर्तेक कुराले मन पराउने जिनिस मकै हो ।

“फेरि मकैमा भटमास् मिसिएपछि अनेक भिटामिन बन्छन् । हर्लिक्स भन्ने भिटामिन टोटल मकै भटमास पिसेर चिनी हालेको धुलो रछ, मैले फ्याक्टरीमै देखेँ । गाउँमा तेति सातुलाई पचास पर्दैन । फ्याक्टरीले पेलेर सिसीमा हालेसी त्यै पान्सौ ।“ आफ्ना सालाको विचार सुनेपछि खुशीले गर्दा ज्यामिरेलाई बुरुक्कै उफ्रिउँ जस्तो भयो । फेरि सालाले भने अनुसार मकै भटमाससँग ‘गुन्द्रुक’ छुट्तैन । पाटीको नाममा गुन्द्रुक थपौं ।”

अर्को शनिबार “मकै भट्मास गुन्द्रुक” पाटीको बोर्ड पनि बनिएर आयो । ज्यामिरे जेठाले त्यसलाई आफ्नै ज्यामिर बगान छेउको दोबाटामा खाँबा गाडेर टाँग्यो ।

आजको पाटी मिटिङमा बाह्र जना भए । “आठ–बार नपार्नू भन्छन्, मेरो गाईले गोरु खोज्दै थियो गएँ”, भन्दै धामी बूढो उठेर हिंड्यो । बाँकी ११ ले धेरै निर्णय गरे । आउने शनिबार हटियाको दिनदेखि पाटीको जागरण भाषण अभियान थाल्ने भए । बजारमा जुलूस नारा हुने भए । पहिलो पल्ट १०० जनाबाट थाल्ने गर्दागर्दै दश हजार पुर्‍याउने सल्लाह भयो ।

ज्यामिरेले आफ्नो पालामा भन्यो, “हाम्रो पाटीको झन्डामा मकै र भटमासका बोट हुनेछन; छेउमा गुन्द्रुक सुकिरहेको मान्द्रो ।” अझ पल्लाघरे कन्दने जेठाले थपो, “तल्तिर कुनामा दुईतीनटा बाँदर पनि चाहिन्छन् तिनीहरूले त्यो बोटको घोगा ढुकिरहेको पार्नुपर्छ ।” सबले परर्र ताली पड्काए ।

“पर्तेक सदस्येले हाम्रो पाटीको झन्डा लिएर आउने । त्यो जुलूसका दिन हातमा झन्डा, ढाडमा डन्डा, झोलामा पानी, सिठी, अलिकति मकै भटमास गुन्द्रुक पनि राख्नुपर्छ । भोक लाग्दा अब मोमो चाउचाउ खाने होइन । पुलिससँग भिडन्त पर्न सक्छ हात हातमा एक लौरो पनि चाहिन्छ ।”

“यो सप्पै सामान किन्न चारपान्सौ लाग्छ । तेस्को बेवास्ता कल्ले गर्छ ?”
“त्यो ता आफैं गर्नुपर्छ” भन्यो ज्यामिरेले ।
“उसो हो भने म यो पाटीमा लाग्दिन है काका” भन्यो अरिंगाले कान्छो भनिने रुद्रबहादुर इङनामले । अनि उठेर ज्यामिरे बोल्यो— “यो पाटीलाई थापना गर्न दिनका दिन एकपल्ट बजार जाने, जुलुश गर्ने मान्छेलाई झन्डा बाँड्ने, गर्नुपर्छ । अब हामी जागौं ।”

पाटीको ‘भूतपूर्व’ भनिने थापा उठेर बोल्यो, “दिनका दिन आउँला तर तेस्को ज्याला ता चाहियो । कम्तीमा एक खेतालो ७ सय दाम र खाजा–पानी बिना को हिन्छ ?”
यो खर्च कल्ले गर्ने ?
“हाम्रो ज्यामिरे जेठा पाटी अदच्छेले गर्नुपर्छ । हाम्रो पाटीले जितो भने पर्धान्मन्त्री उनै हुन् ।”

यस्तो संवाद चल्दै थियो । बेलुकीपखको चिसो स्याँठले मुटु छेडला जस्तो भो र बाँकी पाँच सदस्य पनि उठेर हिँडे ।

“अस्ति सदस्से बनाउने भन्दै लगेको पान्सौ रुप्पे फिर्ता देऊ हो बडाउ म सदस्से बन्दिनँ, अर्कै पाटी जान्छु ।” ज्यामिरेको भतिजो बोल्यो ।

वातावरण शून्य भयो । तर मकै भटमास गुन्द्रुक पाटीको झण्डा एक्लै हावामा हल्लिरहेको थियो ।

०००
मङ्सिर २७, २०८२
भाङबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भिडौँ यो रणमैदानमा

भिडौँ यो रणमैदानमा

धुम्रलाेचन शर्मा
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x