नरनाथ लुइँटेलगोतामेका हास्यव्यङ्ग्य कृतिहरूको अध्ययन तथा विश्लेषण (२)
'घाट पुऱ्याएको रोगीलाई फर्काएर घर ल्याउँदा परिवारका सदस्यहरू प्रसन्न भए भै 'रूपरेखा' ले लेखकाङ्क प्रकाशित गर्ने खबर सुन्दा म पनि बडो प्रफुल्लित भएँ (किन भने लेखकको रूपमा मेरो प्रतिभा पनि घाट पुगिसकेको छ)।

नरनाथ लुइँटेल :
वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाेतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट श्याम गाेतामेका हास्यव्यङ्ग्य कृतिहरूकाे अध्ययन तथा विश्लेषण अंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
मपाईं हास्यव्यङ्ग्य सङ्ग्रह
(ख) साहित्यिक विसङ्गति
मपाईं हास्यव्यङ्ग्य सङ्ग्रहमा मियो बनाइएको अर्को विषयवस्तु हो साहित्यिक विसङ्गति। साहित्य र यसका सर्जकहरूलाई नै आलम्बन बनाएर लेखिएका हास्यव्यङ्ग्य रचनाहरूको बाहुल्य यस सङ्ग्रहमा रहेको देखिन्छ। गोतामे स्वयम् पनि एउटा स्रष्टा हुन्। यहाँ गोतामेले स्वयम् गोतामेको स्रष्टा व्यक्तित्त्वमाथि विसङ्गति देखेका छन् र त्यही विसङ्गतिलाई पनि हास्यका मट्याङ्ग्रा पार्दै व्यङ्ग्यका तीखा तिस्कलाले माया र मोलाहिजा नगरी खनेका छन्।
यस सङ्ग्रहका पाँचवटा हास्यव्यङ्ग्य रचनाहरू कवि-लेखकहरूका चाकरी-लेखन, चाप्लुस-प्रवृत्ति, पुरस्कार पाउन राल काढ्ने राले-रूप, आफू मात्रै महान् लेखक हुँ अरू लेखक लेखक नै होइनन् भन्ने अहङ्कारी र घमण्डी स्वभाव, राष्ट्रका नीधि लेखक साहित्यकारहरूको दरिद्र दुर्दशा आदिलाई केन्द्रबिन्दु बनाई झरिलो व्यङ्ग्य गर्न सफल छन्। यसरी साहित्यिक विसङ्गतिलाई विषयवस्तुको मेरूदण्ड बनाई लेखिएका हास्यव्यङ्ग्य निबन्धहरू हुन् : ‘महान व्यङ्ग्यकारसँग अन्तर्वार्ता’, ‘लेखक होइन, सम्पादक बन्नाेस्’, ‘मपाई’, ‘नेपाली साहित्यमा आधुनिकवाद’ र ‘मैले पनि पिउन सिके’ ।
सङ्ग्रहको पहिलो निबन्ध ‘महान व्यङ्ग्यकारसँग अन्तवार्ता’ शीर्षकको रचनामा आफ्नो समयका चर्चित हास्यव्यङग्यकारको कोठाको चित्रण यसरी गरिएको छ- ‘ओछयानसँगै जोरिएको एउटा झ्यालको पेटिमा स्टोभमाथि चियाको केतली बफाइरहेको। एउटा काँचको गिलासमा एक तुर्की दुध, एउटा पत्रिकाको मुखपृष्ठको एउटा छेउमा एक मुठी चिनी र अर्को छेउमा एक चिम्टी धूलो चिया, खुट्टापट्टिको भित्री ढोकाको संघारमा भरिनै आँटेको एउटा आलमुनियमको कोपरा र ताञ्चिनको लोटामा पानी। दुईवटा जीर्णप्रायः फूल । फूलको सपकोलाई मास्तिर सिउरी महान् व्यङ्ग्यकारजी ‘साहित्य-सृजन’ गर्न लाग्नुभएका। फूलका चार कोणहरूका तुना चार उपकरणहरूले सज्जित-ईशानकोणको तुना काइ परेको रातो रिवन, वायव्यको तुना बुट-जुत्ताको फित्ता, नैऋत्य कोणको तुना पेटिकोटको इँजार र यथानाम तथा कोणको तुना (यस कोणको नाम भुसुक्कै बिर्सें) खिप चुँडेको कम्मरपेटी। फूलको कलात्मक श्रृङ्गारले उहाँकी श्रीमतीको एव्स्ट्याक कलाप्रतिको असीम श्रद्धा र बेफुर्सतीको पुष्टि गर्दछ। …. सेफमा अडेस लगाई श्रीमती गोतामे रद्दी पत्रिकाका पाताहरूको सदुपयोग गर्दै फुड-सेन्टरको निम्ति कागजको थैलो (ठोंगा) को उत्पादन गर्नमा व्यस्त हुनुहुन्थ्यो। (श्याम गोतामे पूर्ववत्, पृ. ३।)
यस किसिमको दरिद्र दशाले एउटा व्यङ्ग्यकारलाई मात्र होइन, साहित्य साधनामा समर्पित धेरै लेखक साहित्यकारहरूलाई बँधेरेको छ। उपरोक्त अनुच्छेदले पाठकलाई पेट मिचिमिची हसाउँदैन मात्रै, देशका सम्मानित साहित्यकारहरू तन्नम भएर बाँच्नुपर्ने परिस्थितिमाथि मर्मान्तक व्यङ्ग्य प्रहार पनि गरेको छ।
साहित्यिक विसङ्गतिको विषयवस्तुलाई विशेष महत्त्व दिएर लेखिएको अर्को हास्यव्यङ्ग्य ‘लेखक होइन सम्पादक बन्नोस्’ निबन्धमा गोतामेले लेखकहरूलाई समेत कसिलो व्यङ्ग्य गरेका छन्। गम्भीर अध्ययन र अनुसन्धानबिना ताइ न तुइका फोस्रा गफ छाँटी उत्कृष्ट रचना लेखें भनेर फुइँ छाँट्ने लेखकहरूलाई यस निबन्धमा नराम्रोसँग छाँसिएको छ, त्यसखाले लेखकहरूका लेखन कर्मप्रति खित्का छोडेर हाँसिएको छ। उपरोक्त प्रसङ्गमा गोतामे भन्छन्- ‘अन्य विषयमा लेख लेख्न त सामान्य ज्ञानको साथै केही न केही तयारीको आवश्यकता पर्दो होला । दुई चार पुस्तकहरू वरिपरि राखी नोट्स पनि वनाउनु पर्ला । त्यति गर्न झोजो लागे ६/७ वटा सम्चार पत्रहरूबाट सम्चार केलाइ “अनुसन्धान” गरेर र केही सम्चारहरूको सारत्तत्त्वत्लाई ग्रहण गरी अनि आफ्नो कलमरूपी मुखबाट बमन गर्न सक्नुपर्दछ।…
त्यसमा पनि अझ सजिलो खोज्ने हो भने कुनै महापुरूषको जीवनीको अनुवाद गरेर सोर्स भएको पत्रिकामा प्रकाशित गराई पारिश्रमिक हतियाउनु त अचेल त्यति गाहारों पर्दैन। त्यो पनि नसके कविता र मुक्तकको नाममा ४/५ हरफ लेखिहाल्नु कुनै ठूलो पौरख होइन । तर त्यस्ता कविता र मुक्तक पाठकहरूले बुझ्ने स्तरको होइन, अपितु लेखकले र बढीमा सम्पादकसम्मले बुझ्न सक्ने हुनुपर्दछ। (श्याम गोतामे पूर्ववत्, पृ. २९-३०।) यस निबन्धमा लेख छपाउन लेखकले सम्पादकको चाकरी गर्नैपर्ने प्रथाको पनि पर्दाफास गरिएको छ।
अर्को निबन्ध ‘मपाई’ मा आम नेपाली लेखकमा पाइने अहङ्कारी तथा घमण्डी स्वभावबारे सटिक टिप्पणी गर्दै कडा व्यङ्ग्य गरिएको पाइन्छ। यो निबन्धमा हास्यव्यङ्ग्यकार श्याम गोतामेले आफू र आफ्नो चिन्तन एवम् प्रवृत्तिलाई सामान्यीकृत गर्दै आमलेखक तथा साहित्यकारहरूको ‘म मात्र विशिष्ट लेखक हूँ भन्ने मनोदशाको सफल चित्रण गरेका छन्। एकले अर्कालाई गन्दै नगन्ने र आफूबाहेक अर्कालाई कवि वा लेखक भन्दै नभन्ने प्रवृत्ति नेपाली लेखकहरूमा झाँगिएको दुष्प्रवृत्ति हो। यो दुष्प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै गोतामे लेख्छन्-
‘घाट पुऱ्याएको रोगीलाई फर्काएर घर ल्याउँदा परिवारका सदस्यहरू प्रसन्न भए भै ‘रूपरेखा’ ले लेखकाङ्क प्रकाशित गर्ने खबर सुन्दा म पनि बडो प्रफुल्लित भएँ (किन भने लेखकको रूपमा मेरो प्रतिभा पनि घाट पुगिसकेको छ)। त्यसमाथि लेखकाङ्कको विषय लेखक नै हुनुपर्दछ भन्ने मूलमन्त्र पाउँदा आफूलाई त मन्त्री पद पाए झै नै भयो। आफूले आफ्नो विषयमा लेखेजस्तो तथ्यपूर्ण हृदयग्राही एवम् सारगर्भित संस्मरण अरूबाट लेखाउँदा हुँदैन भनी सम्पादकको मगजमा घुस्नु स्वागतयोग्य कुरा हो। (फेरि अरूबाट लेखाउने कसरी ? यहाँ आफू बाहेक अरूलाई लेखक मान्ने साहित्यकार कहाँ पाउने ?) आफ्नो खाेइराे खन्ने उदार समालोचकहरूलाई निर्धक्क भई गुलेली हान्न र निष्काम भावले आफ्नो बठ्याई आफै गर्न पाउने यस्तो स्वर्ण मौका फेरि कहिले पाउनु ? (श्याम गोतामे पूर्ववत्, पृ. ५४।)
आत्मप्रशंसाले पात्लेको लेँड फुले झै फुल्ने स्वनामधन्य लेखकहरूप्रति व्यङ्ग्य गर्दै छोडिएको अर्को एउटा बाण यस्तो छ- ‘मैले दर्जनौ लेख लेखिसकेँ। सम्पादकहरू त्राहीत्राही छन्। लेख पूरा पढेर बुझ्न नसकी सारांश र केन्द्रीय विचार सोध्दछन् ‘तपाईले भन्न खोजेको के ?’ भन्छु ‘के यो कुनै कविता र मुक्तक हो ? लेखमा पनि सारांश र केन्द्रीय विचार चाहिन्छ ? आफ्नो वृद्धि खियाउनुस् के भन्न खोजेको हो छर्लङ्ग हुन्छ ।’ सम्पादकज्यू मानसिक कसरत गर्दै दलिन गन्न थाल्दछन् । (श्याम गोतामे पूर्ववत्, पृ ५७।)
‘मैले पनि पिउन सिकेँ’ निबन्ध चाहिँ लेखक र रक्सि बीचको अन्योन्याश्रित सम्बन्धमा आधारित छ। प्रस्तुत निबन्धमा अन्यान्य नशा र अम्बलहरूको चर्चा गर्दै लेखकलाई सफलताको सिंढी उकाल्ने तत्व भनेकै रक्सि हो भन्ने व्यङ्ग्यात्मक प्रस्तुति अघि सारिएको छ। त्यसो त रक्सिले लेखकलाई मात्रै मतिभ्रष्ट र नस्ट गरेको होइन। यद्यपि ‘अलिकति नलगाई एक अक्षर पनि लेख्न सक्दिनँ’ भन्ने लेखकहरूप्रति यो व्यङ्ग्य निबन्धले धज्जी उडाएको छ। ‘उहिलेका कुरा खुइली सके। अचेल त ममा पनि जागृति आइसक्यो, अब त आफू पनि सोसाइटी मेन्टेन गर्न सक्ने, स्मार्ट र फ्रैंक भइयो। र छोटकरीमा मेरो परिचय थाह पाउनु होस्ः विभिन्न वाजहरूमध्येको ‘पपुलर ट्वाँटवाज”। (श्याम गोतामे पूर्ववत्, पृ. ६९।) जाँड र रक्सिलाई आधुनिक सभ्यता देख्ने नेपाली चिन्तनले लेखक साहित्यकारहरूलाई पनि ग्रस्त पारेको छ। यही ग्रस्तपनलाई प्रष्ट पार्न खाेजिएको छ ‘मैले पनि पिउँन सिकें’ निबन्धमा ।
साहित्यिक विसङ्गतिलाई विषयवस्तु बनाएर लेखिएको अर्को रचना हो-‘नेपाली साहित्यमा आधुनिकवाद’। नेपाली साहित्यमा आधुनिकताको नाममा देवा परेको वर्णशङ्कर शब्दहरूको प्रयोग, भाषाको तोडमोड, व्याकरणका नियम र सङ्गतिहरूको अपरिपालना, सतही र आल्तुफाल्तु लेखनजस्ता लेखकीय क्रियाकलापलाई प्रस्तुत निबन्धमा नमूनासहित खनिखाेस्री गरिएको छ। कथा-लघुकथा, कविता, नाटक, समालोचना वा पुस्तक परिचय, हास्यव्यङ्ग्य र लेखका एक-एकवटा नमूना दिँदै तत्तत् विधामा लेखिएका रचनामा पाइने विषयगत, भावगत र व्याकरणगत भाँडभैलोलाई आधुनिकतावाद भनि लेखक साहित्यकारप्रति चोटिलो व्यङ्ग्य गर्दै भनिएको छ- ‘नेपाली साहित्यका आधुनिक महारथीहरूको निम्ति यी नमूनाहरू प्रेरणादायी हुनेछन् भन्ने मेरो तुच्छ विश्वास छ।’
(श्याम गोतामे पूर्ववत्, पृ. ८६।)
क्रमश: अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)
Subscribe
Login
0 Comments
Oldest







































