दिव्य गिरीकट्टु हराएको मान्छे !
कृपया यो देशमा देश हराएको, वेशमा वेश उर्फ कट्टु हराएको सार्वभौमसत्तायुक्त नागरिक, यसलाई आफ्नो हराएको कट्टुकोे खोजीमा भित्र जान दिनुहोस्, आफ्नो अपहरित कट्टुको उजुरी दर्ज गर्न …।

डा. मधुसूदन गिरी :
‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा,’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी मेरी आराध्या अलकापुरी, मेरी प्यारी सपनाकी रानी, यिनका रूप लावण्यको बयान सुनेका दिनदेखि यस मोरा लम्फुको दिनको भोक र रातको निद हराम भइसकेको थियो । ‘आङभरि नाना पेटभरि दाना कहिल्यै भएन/दुःखैमा कति काटने दिन नगई भएन ।” मन्दिरै मन्दिर र देवतै देवता अनि आराध्य श्री पशुपतिको यस पावन धर्तीरूपी महास्वर्गमा पुगुँ न मात्र, जाई, जुही, चम्पा, चमेली फुलै फूलका डसनामा घुगुत्ती, बासुत्ती खेल्छु, खेल्छु र यो मोरो तीन ठाउँमा टालेर पनि भ्यान्टिलेसनयुक्त बुढो कट्टुलाई फालेर यामानको टाइसुट, अङ्ग्रेजी दाम्लो, गलामा झुण्ड्याउँछु झुण्ड्याउँछु । अझ साँझबिहान मेरा पूज्य पशुका पतिको दर्शन गरेर यो जुनी त के तीन महिने मन्त्री महोदयले सात जुनी सुधारेजस्तो सुनैसुनको लङ्का बनाइदिन्छु । समग्रमा मेरो कल्पनाको भूस्वर्गमा चोक्टै चोक्टा छन् र कति न चोक्टा खान्छु भनेर आफ्नो स्फटिकजस्तोः गाउँबाट भात खाने थाल र पानी खाने लोहोटा फाली आमाजस्तै माया गर्ने थातलाई लात मारेर यै मोरी पुरीमा अन्मरिएँ ।
अन्मरिनेबित्तिकैे पानीप्यासले प्याकप्याक यो लम्फु भौतारिन थाल्यो, जोगी धारा र रानाव़ाडाको मङ्ग्राँहामा अँजुली थापेर घटघट घट्काएको सम्झ्यो तर. प्यासले आकुल व्याकुल यो मोरो काकाकुल छटपटाउँदै, छटपटाउँदै सत्र घरका कुकुर भुकाएर पनि दैया नचलेपछि अन्तमा एउटा भोजनालयको आफैँजस्तो दाउरे हल्दार, डेक्ची मलबहादुर ठेउसिंगेका अनुकम्पाले ड्रमको एक जग जल आफै ठाडो घाँटी लाउने सुअवसर पायो । दश मिनेट नपुग्दै सुल्टी राजमार्गबाट सवारी हुनुपर्ने वस्तुले उल्टी मार्ग उर्फ उँभोतिरबाट सवारी सुरु गर्यो । नपुगेर फेरि सुल्टी द्वारमै दस्तक दिन थाल्यो ।
यति बेलै सडकमा यस युगका ३ हुन् कि ६ हुन् श्रीको सवारी हुँदै रहेछ, लौरी दादाहरूले ठुलो मुल्को सास फेर्न पनि प्रतिबन्ध लगाइदिए । ‘लगनको कामभन्दा…गनको काम ठुलो’ भन्थे साँच्चै रहेछ । सम्माननीयको सवारीभन्दा आफूलाई यस उखानको दोस्रो शुभकर्मको होताका (खोलुवा नै गर्नु हो भने हगन) सवारीको इमरजेन्सीे उर्दी महत्वपूर्ण थियो, किनकि त्यसले लम्फुका कानका लोता समाएर हगे हग मुते काटुँला, उठबस गराउन थालेको थियो, ऐले, पछि आङैमा …। बल गरेर भित्र घुचेट्ने प्रयत्न गरें, तर त्यो मोरो विद्रोहीले भित्रबाट बाँधै भत्काइदिउँलाझैँ गरेर बाहिर घुचेट्न थाल्यो । हामी दुईबिच ठेलाठेल मल्लयुद्ध चल्यो । यसै पौंठेजोरीमा हार्न लागेको यस दुईखुट्टेको अनुहार नानी पाउन लागेकी बिचरी चरीको जस्तो पीडाले निचोरिइसकेको थियो । एकछिन घोप्टो परिसकेपछि पुनः पेटमा औँलो कोच्दै एघार पाङ्ग्रे लम्काएर गल्लीको बाटो, यो लम्फु अलि पर पुग्यो र हतपत यसो छेउ लागेर टुसुक्क आँखा चिम्लन खोज्यो, सम्भावनाशून्य ! सात फन्का घुम्यो, उपाय नास्ति । एकजना भद्र लाग्ने भालु आदमीसँग सोध्योे, तर उनी त झण्डै पड्केर छितरबितर … ।
धैर्यपूर्वक अर्का महोदयलाई सोध्योे,“हजुर, यता कतै भुँडीभित्रको वस्तु थन्क्याउने राष्ट्रिय बैंक छैन ? लौन आपत पर्यो….।”, “तेरा बाउका मुखाँ छ ।” आची गर्ने मुखजस्तै मुख लगाएर उनले भने । एकछिन त ठानाैँ, सुट, टाइ, गगल्स… धेरै सभ्य भए भने मान्छे यस्ता हुँदा रहेछन् कि ! भो अब कसैलाई सोध्दैन, तर यता भित्रबाट अत्यन्त जरुरी आदेश आइरह्यो । आफ्ना असद्दा कोढीको पाउ मल्नु पर्छ भन्छन् पाठकवृन्द, सोध्दै जाँदा एकजना यस्तो सभ्यताको कुपित वायुले नबिटुलिएका अपवाद परेछन् क्यार, शौचालय देखाइदिए । तर के गर्नु, के केन चित्रगुप्तै हुँलाजस्तो त्यस मुला आलयका मुखैमा यामानको अर्नागर्धने पाले साहेब विराजमान हुनुहुँदो रहेछ ! शौचालय अगाडि माथिको भित्ताका यामानका अक्षरमा आँखा परे… “…सरकारको सहयोगद्वारा निर्मित” । अनि लाग्यो, यहाँ त भुँडीभित्रको वस्तु थन्क्याउने आलय बनाउन पनि विदेशीकै सहयोग नभई नहुने रहेछ… । अनि आची गरिसकेपछि खुट्टीमा फोहर लगाएको नानीले खुट्टा फट्याएर आमा गुहारेजस्तै आची पुछिदिन पनि वीर जातिका बहादुर सन्ततिले विदेशीलाई गुहार्नै पर्दोरहेछ । आलय मर्मत गर्न त झन … । अनि त्यस्ता आलयमा आची थन्क्याउने तरिकाको तालिम दिन पनि उहाँहरू नै….? राष्ट्रिय, अन्तर्राष्ट्रिय …स.स. …!
हामी त मात्रै उहाँहरूले शौचालय बनाइदिएपछि देश चलाउने कालेजस्तै त्यसैको पाले हुन्छौं र त्यो हुन पनि…! ; यसबाट पनि देशभक्त, समाजसेवी तारणधार महामानवहरूलाई यसो अलिकति … (आउँछ होला कि त : पहिले शौचालय निर्माणमा अनि पछि…) लम्फुले उहाँसँग सोध्यो, “हजुर, धरमभकारी यही हो ?”, “हो ई यटा डुई !” (त्यति बेलाको दर) जम्मा गर्ने गादो देखाउनु भयो । झुत्रे मोरो भुइँनाप …भन्ठानेर होला कि भित्र नपस्तै दुई ? फेरि आफूलाई थाहा पनि थिएन, केको डुई ?
“टिम्रो सम्पटि हाम्रो यस अनिवार्य वचट बैंकमा जम्मा गरेब़ापट डुई ।” उहाँले झोक्किदै भन्नु भयो ।
उफ् ! त्यसको पनि पैसा लाग्छ ? हाम्रो गाउँमा त अनलोड होइन एक पेट लोडै गरे पनि पैसो लाग्दैन ।” “यो टेरो गाउँ हो ट ? टेसो भए जान ट टेरै गाउँमा ।”उहाँ अझै तात्तिनु भयो । “हो हजुर, यो सहर हो, यहाँ बाँच्न मात्र होइन मर्न पनि पैसै चाहिन्छ ।” भनुँ जस्तो त लागेको थियो, तर …लुलाई पुराण सुनाएर के फाइदा ? अनि गाउँ सम्झेँ, गाउँमा …ण्डा ( तल्लो ढाड)पहारो, घामतिर ढाड फर्काएर सेक्तै अनलोडगा आँखा चिम्लेको सम्झेँ, अहा ! क्या मज्जा !! स्वच्छ, पवित्र वातावरण, खोलाका पारिला ढुङ्गामाथि, थुच्च थुच्च, शिखर शैलीका …।
ल्हासामा सुन छ कान मेरो बुच्चै छ, ढुङ्गा रहे गाउँमा म पुगेँ…। त्यहाँको आची गर्ने ठाउँ जति सफा त यहाँ भुजा जिउनार गरिसिने आलय पनि … । यता भित्रबाट अत्यन्त जरुरी कर्फ्यु जारी गरेको गरेकै छ, ऐले, पछि आङ्ैमा…। केही नलागेपछि यस मोरालाई अलिकति पाल्तो नफाली भएन भन्ठानेर यस लम्फुले आफ्नो गोजी छाम्यो । हँ ! यता छाम्यो, उता छाम्यो, तल छाम्यो, माथि छाम्यो, उस ! कतै छैन ! हे दैव ! विपत्ति एक्लै आउँदैन भन्थे, साँच्चै रहेछ, कट्टुको इजारे दुलोसमेत छाम्यो, अहँ छैन, कतै छैन । अब पक्का भो, बस हो कि उठ हो (सधैँ उठ्नु मात्र पर्ने) बरु कोच हो सायद, कोचाकोचमा एउटी हिपटाइट अल्टामोडर्न सिमलकाँडे पछाडिबाट काँडाले घोच्तै ढेस्सिँदै सवारी भएको थियो, अलि पुरातनपन्थी सङ्कीर्ण मनुवा, डरछेरुवा नै भए पनि विपरीतलिङ्गीको न्यानो न्यानो कमलो चुम्वकीय तापले तात्तिन पाउँदा जाबा खल्तीको वास्ता को पो गरिरहँदो रहेछ र ! सत्ता, शक्ति ! मान्छे संसारै त भुली दिन्छन्, मैयाँ खल्ती कलाकार रहिछिन्, साफ ! वल्ल स्वाद भेटिस् मुला (वडो तातो खोज्ने), एक मन त भन्दै थियो ।
रुन खोज्दै लम्फुश्रीले ती शौचालयश्रीलाई बेलीविस्तार लगायो; अनुनय, विनय गर्यो, हेर्नुस् मुला साग काका, कुन चाहिँ कलाकारले गलाहार बनेर भएको जति जम्मै आन्द्राभुँडी फलाहार गरिदियो खन्ट्याखलास ! जनी गर्नुहोस्, पेटभित्रको अपवित्र वस्तुले मर्यादा र संयमको सीमा नाघ्नै लाग्यो, यहाँको यो अति सभ्य सहरमा यो लम्फुलाई यसो अलिकति ओराल्ने अवसर…, वडो धर्म लाग्ला हजुर, यहाँले पनि दया गर्नु भएन भने अब त म यहीँनेर … । ”
अहो ! उहाँ त पर्नु भएछ यो देशका सर्वोच्च भाग्यविधाता श्री श्री श्री झण्डावाल, डण्डावाल श्रीका साख्खै ज्वाइँनारायण । त्यसैले यति महान गौरवशाली आयोजनाका प्रमुख प्रबन्ध निर्देशक ….! अनि किन टेर्नु यस्ता लम्फुनारायणलाई ? भुत्रो दया गर्नु, राँगाको जस्तो गर्धन घुमाएर मर्जी भयो, “टेरा बाउले बना हो यो टँलाई फोगटमा आची गर्नलाई ? यो आची गर्ने कोथा भारटले बनाको, ट्यो सु गर्ने चीनले, मर्मट जापानले, टेट्रा टेट्रा महाशक्तिले यट्रा यट्रा राष्ट्रिय महट्वका परियोजना टैँ आएर फोगटमा आची गर्लास् भनेर बना हो ? यसलाई पनि अर्को साल हाम्रो प्यारो सरकारले निजीकरण गर्यो भने कुन चाहिँं विडेसीेले कौडीको भाउ किन्छ, र डस रूपिया ट्रिप पर्छ अनि हग्लास् । ” उहाँको उच्चारण सुन्दा लाग्यो म मोरा खेँले बोलेको नेपालेङ्लिस वा हि. पनि यस्तै त हुँदो हो ! उहिले एकजना तामाङ काकाका नाममा फलानाले गाई खायो भनेर उजुर परेको सम्झेँ, उनले प्रमाणादलतको इजलासबाट बयान दिएको सम्झेँ, “गाई मार्यो अनि काट्यो र खायो ।” उनको जिब्रोले मर्योलाई मार्यो उच्चारण गर्यो । फलतः मर्योको अर्थ मार्यो लाग्यो । त्यसै अभियोगमा उनी जेल गए । जिब्रोको के दोष ? यी शौचालयश्रीको पनि केही दोष थिएन । उनले त इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेका थिए ।
कर्तव्य निर्वाहकै क्रममा महोदय लाठो समाएर लघार्न सवारी भयो । यो मोरो लम्फु कट्टु सुमर्दै भाग्यो । अब के गर्ने ? आ ऽऽऽ यहीँ कतै ओराली दिन्छु …री खेलका छेउतिर आँखा चिम्लेर, मेरा बाउको के जान्छ ?
यही महान विचारले लम्फुले अलि पर फोहरको पहाडमुनि पुच्छर घुम्रेले खुट्टो उचालेर दिइरहेको ठावैँनेर अर्थात् तु…खेल र रत्न हो कि रात्न पार्कका दोसाँधनिरै दौराको फेरले आँखा छोपेर र छोप्नुपर्ने कुरो नछोपीकनै टुसुक्क गएर बसी के दिएको थियो, आजै मोरो नरकपालिका यसैलाई भनेर अन्मरिएछ । आएर ट्वाक्क दियो ढड़नासो खुस्किने गरेर …ण्डामा (पूरा शब्द लेखुँ भने उनै तामाङ काकाको गाई मार्यो अनि काट्यो र खायो होला पाठकवृन्द, आफैं ‘क’ ले खाली ठाउँ …)। लम्फु मोराले तीन त्रिलोक चौध भुवन देख्यो, लम्फुको उदरगर्तको आधा प्रसादी त्यहीँ बिसर्जन भयो ।
कट्टुको बुजो लगाएर भाग्दा भाग्दै गिलो वस्तु अलिकति हस्तलाभ … । बाँकी धारो लाउँदै, एक हातले ढाडको टुटुल्को छाम्दै, अर्को हातले कट्टुको थैलो थाम्दै लम्फुश्री कति ठाउँमा ठोक्कियो, कति ठाउँमा पोखियो हिसाबै नगरौँ हजुर । समष्टिमा लम्फुको त्यो वस्तु सहरभरि छरियो । मान्छेहरू लम्फुश्रीलाई देखेर भीड लाग्न थाले, मानौँ यो लम्फुश्री भर्खरै अर्कै कुनै पिण्डबाट पधारेको अज्ञात यतिको साख्खै कान्छो ज्वाइँ हो, एलियन । पशुपतिमा हनुमानजीहरूका पछाडि बस्न्यौटाका गुलाफी गालाजस्ता ओठ र गाला बनाएका भानुभक्त बाजेका उनै चपला अबलाहरूका उत्तरे अवतार दुई हातले छोपेको लम्फुका अमूल्य अञ्चलतिर कर्के नजर फ्याँक्दै मस्किँदै र लस्किदै थिए ।
लम्फुश्री छटपटाउँदैे पवित्र विष्णुमती पुग्यो र सिङ्गै कट्टु निकालेर जो बचेको रहलपहल त्यसैमा विसर्जन गर्यो । वस्तु विसर्जनपश्चात् कट्टुलाई पानीमा हाली लम्फु मिच्नै के लागेको थियो, पानी के भन्नु यो देवतैदेवता र देवीनै देवीहरूको पुण्य कर्मको सार सिमटेको बाक्लो न बाक्लो चोक्टासहितको बिग्रेको मोविले पानी अर्थात् यस सभ्यताको सारभित्र सही नसक्नु कुहीगन्ध नाक छेडेर ब्रह्मरन्ध्रमा पुग्यो (झण्डै बेहोस्) ! त्यसैमा चिप्लो न चिप्लो एउटा वस्तु हातमा लाग्यो । यसो पानीबाट निकालेर हेरेको त दुधे नानीको छाला खुइलेको खप्पर ! छ्या ऽऽ ! ! आङै जर्कियो । घिनले मचमची आएर हात झट्कारेको त मोरो कट्टुले त्यही झट्कासँगै मौका पाएर लम्फुका हातबाट मुक्ति…, लेथेमतीको लेथोसँगै कुलेलम ठोक्यो । सिङ्गै कान्तिपुरीका अन्तरङ्गको भारी बोकेको यस अत्याधुनिक सभ्यताको हृदयजस्ती पावन विष्णु उर्फ लेथेमतीको लेथोभित्र लम्फुले छेउकुना कुरकुर चप्पाचप्पा मार्यो, लम्फुको मोरो कट्टु कता हरायो कता ! यता छाम्छ छैन, उता छाम्छ छैन, घण्टौँ खोज्यो दर्शनै पाइएन । भनँे नि लम्फुसित यहाँ मात्र होइन गाउँमै पनि फेर्ने, फर्काउने अर्को कट्टु थिएन । सुरुलीकोे त झन कुरै नगरौँ हजुर, भएन कन्तविजोग ?
अब के गर्ने ? लम्फुले एकछिन त सोच्यो, यिनै दुई हातका दश आँैलाको लगौटी लगाएर जाउँ त्यस महानरकपालिका र धन्यवाद दिउँ लोककल्याणकारी राज्यका महाप्रभुहरूलाई, यस्तो पो त कल्याणकारी रामराज्य ! ..ग्न नपाएर हैरान ! यता शौचालयमा रूपैयाले नाकाबन्दी उता सडकमा ३ श्रीको कर्फ्यु ! क्या लोककल्याणकारी गिदी ! कतै …मिसन त …(यसबाट पनि) ?
जतिसुकै भए पनि बहादुर जातिको वीर डमरु न पर्यो, लम्फुश्रीले हिम्मत हारेन । नजिकैबाट सायद… न्ति पुरीका देवदेवीहरूलाई बलि…, महिषासुर बाँधिएको किलो उठायो र लेथेमतीको लेथो पल्टाएर आफ्नो हराएको कट्टु खोज्न थाल्यो । खोज्दै जाँदा लम्फुको कट्टुजस्तै काती पोतिएको एउटा वस्तु ढुङ्गाको
च्यापबाट निस्केर आफूभन्दा झण्डै दोब्बर तौलको भारी बोकेको बुढो भरियाजस्तै अजङ्गको भारी बोकेर हिड्नै नसक्ने भएकी लेथेमतीका धारसँगै विस्तारै बग्दै गयो । “ए मेरो कटटु ! कट्टु ! !” लम्फु चिच्याउँदै किनारैकिनार कट्टु बगेतिर दौडियो ।
निकैबेर दौडँदा एउटा अलि पुरानै खाँबो हो कि स्तम्भ होे ठडियो । लम्फुको कट्टु बाँधसम्म पुग्यो । उताबाट काँधमा एउटा ठुलै धोक्रो बोकेको आकृति पनि के के खोजिरहेजस्तो देखिनु भयो । लाग्यो, उहाँको पनि कट्टु हराएछ । तर गौड गरी हेर्दा उहाँले झारपात आदि केकेले आफ्नो तल्लो प्रदेश जेनतेन छोपिरहनु भएको थियो । हेर्दाहेर्दै महोदयको जादूगरी लौरीमा थाङ्नोको एउटा गुजुल्टो अल्झिन आइपुग्यो । राम्ररी हेरेको त त्यो यही मोरो लम्फुको कटटु् थियो । ए बा धतुरे…, अनि लम्फुले दश औंला जोरेर नमस्कार गर्यो, बिन्ती बिसायो, “महामहिम, कृपया त्यो मेरो कट्टु मलाई फिर्ता गरिदिनुहोस् ।” केही नबोलेर उहाँले त्यसलाई आफ्नो धोक्रोभित्र थन्क्याएर त्यसको मुख सुर्किनु भयो अनि बिराटावतार कड्किनु भयो, “यो तेरै कट्टु हो भन्ने के प्रमाण छ ?”
“म नाङ्गै छु, यही प्रमाण नै पर्याप्त छैन र हजुर ?” लम्फु प्रतिपदाको चन्द्रमा उर्फ हँसियाकार खुम्लिई रह्यो । “त्यसो भनेर कहाँ हुन्छ ?, यसमा तेरो देशको झण्डा छाप, डण्डा छाप, पण्डा छाप केही छ ? अनि कसरी तेरो ? छाप चाहिन्छ छाप, छाप मात्र हैन त्यो बुन्ने धागो, त्यो बनाउने सिप खै कहाँ के छ तेरो ? कट्टु सिउँछु भन्ने जुलाहाहरूले सुनचाँदीको धागो जति झोलामा, कट्टु सिउने योजना जति खोलामा…,अनि कहाँबाट …? यस भ्वाङ परेको कट्टुमा त तेरा देशका लिखा जुम्रा मात्रै छन् । तिनले पनि यो ढलमतीको लेथोले नाकमुख थुनिएर सिल्टिमुर खाई सक्न थाले । त्यसैले यसमा तेरो हकदाबी लाग्दैन….।
लम्फुले कट्टुलाई एक पटक फेरि हेर्यो,ढलमतीको लेथोे र भ्रष्टाचारको जेथो अर्थात कालो पोतो उस्तै उस्तै हुँदारहेछन् हजुर, ढलमतीको लेथोले मेरो यो कट्टुको अनुहार भ्रष्टाचारको कृष्ण क्रिम पोतिएका हाम्रा प्यारा नेता र व्यवस्थाजस्तै बनाइदियो !
जस्तो भए पनि लाज छोप्ने अमूल्य वस्तु हो, यसका छेउकुना कहीँ कतै मेड इन नेपाल छ कि भनेर खोज्यो तर कतै नभेटेर अगुल्टेश्वरका विरुद्ध उजुरी लिएर लम्फु लाग्यो हामी सम्पूर्णका आस्था र विश्वासका सर्वोच्च शिखर पूज्य पशुपतितिर । हे दैव ! यो के भएको हो ? बाटो, घाटो, चोक, पोखरी जताततै देवी, देउता, यक्ष, गन्धर्व, किन्नर सम्पूर्णका सम्पूर्ण कट्टुविहीन ! अनि लाग्यो, यी सब हाम्रा सभ्यता र संस्कृतिका निसानीलाई गएर एउटा एउटा कट्टु लगाइदिउँ….,आफै त महादेव उत्ताना …!
विष्णुमतीको झरिलो सिस्नु खाएर लम्फुश्रीको फिर्ती सवारी चल्दै गर्दा बाटोमा एउटा ज्यापूश्रीका डुकुबारीमा उहिलेका श्री ३ उर्फ ब्रम्हा, विष्णु, महेशमध्येका पनि उपरदेव महादेवज्यूका बाहनश्री साँढेश्वर पसेर ढलीमली …, तरकारी जति जम्मै लाजै नमानी ऊँ नमः स्वाहा ! भुँडीदेवीको महायज्ञमा हवन गरिरहेका ! श्रीमान् साँढेश्रीले ज्युनार गरेका हरिया हरिया सागका बुजा त लम्फुश्रीका मानसपटलमा पिलेन चढेर रगत र बखत बेच्न उता कता सवारी हुने सत्ता र शक्तिहारा नेपाली युवा युवतीले अध्या हो कि भन्सारगमनमा खन्याउने हरिया हरिया नोटे घाँसका बिटा चर्दै उग्राउँदै गरेका दृश्य बिम्बमा रूपान्तरित भए । कति बेला रिल फेरिएर त्यो भन्सारबाट राष्ट्रिय धनसारमा थुतुनो गाडिरहनु भएका हाम्रा बराहावतारका हाइव्रिडावतारको बिम्ब बन्दथ्यो । जसमध्ये एकाध मामा घरको मेजमानी ज्युनार्न पुग्नुभएका गौमाताका श्रीमान्का बिम्बमा पनि … !
बाउन्न घुस्सी र त्रिपन्न लात्तीको स्वादपानपछि लम्फु भोले बाबाको शरणमा पुग्यो । घरै पिँडालु वनै पिँडालु ससुराली गएँ हात लामा पिँडालु ! त्यहाँ त झन हेरी सक्नै थिएन, मन्दिर–मन्दिर, टुँडाल–टुँडाल यतै महादेव, उतै महादेव, पूज्य पशुपति मात्र हो र ? उहाँका अङ्गरक्षक नन्दीश्रीेसमेत यामानका सुनका…, सबका कट्टु गायब ! अरु ठाउँमा त एकमुखे मात्रै हुन्थे तत्पुरुष, सद्योजात, वामदेव, अघोर त्यहाँ त चारमुखे चार टाउके ! अलिकति पल्तिर पशुपतिकै प्रतिस्पर्धी महादेवका पनि बाबु महादेवको विराट स्वरूप सन्तानेश्वर उन्मत्तका उत्तुङ्ग भैरवेश्वरसँग आफ्नी महादेवीलाई चुम्बन गराएर स्वर्गको ढोका उघार्ने साँचो माग्न आउनेको भीड ! उहिले यस्तै बडे महादेवको साक्षात् दर्शन पाएर होला कि ऋषिकाहरू खुट्टो उचाल्दै र्याल काढ्दै …. ! गौतम बौलाएका !
महादेवहरू मात्रै होलान् भनेको त त्यैँपल्तिर माता गुह्ये… पनि युगौँदेखि सर्वाङ्ग उत्तानेश्वरी ! उत्तानेश्वरी…की महामाया साक्षात्…को दर्शनकै पहिलो झल्कोमा लम्फुश्रीका मानसपटलमा झ्वाट्ट यस देशका जनमुखी धनमुखी परमप्रिय सरकारद्वारा संरक्षित शान्ति सुरक्षाकर्मी, असल नागरिक, राष्ट्रसेवी, समाजसेवी क कसको पुरुषार्थद्धारा हो उखुबारीमा उत्तानेश्वरी… बालिका निर्मलाको क्षतविच्छेद झल्को आयो । उहिले बाजेका पालामा यसरी कल्याण गरिएर सिल्टिमुर खुवाइएका कैयौँ देवीहरू… माई, महामाई र महादेवी बनेर पूजा खान्थे, अन्याय गर्नेका टाउका खान्थे, तर आज राज्य छ, राज्यको कानुन छ । त्यसैले बहादुर साँढेश्वरहरूको रजाइँ छ । लम्फेश्वरलाई लाग्यो, वास्तवमा हाम्रो संस्कृतिको मुहानै कट्टुविहीन …, र त किरातेंश्वर स्वयं कट्टुविहीन ! सायद यसैले कट्टुभित्र कैद गरिनु पर्ने साना महादेव नाङ्गै नाङ्गै संसारभर छरिएर हाम्रो धर्म र संस्कृतिको मियो बनेका छन् । हाम्रो सभ्यता, संस्कृति, धर्म त्यसैमाथि अडेको छ, उहिले कछुवाका ढाडमाथि सिँगो पृथ्वी अडेजस्तो । यसैले लाग्दैछ, हाम्री आराध्या, उपास्या अमरावती पनि उहिले नागदह होइन नाङ्गालैण्ड रहिछिन् कि ।
भो अरुका कुरा छोडौँ, यहाँ लम्फुको आफ्नै कट्टु गायब छ, यसैको खोजीमा चप्पा चप्पा …। उहिले च्यापजुका पालामा ज्यापु काकाको भोटो कुन मोरो …क्षसले उडाएको थियो रे, आज लम्फुको कट्टु कुन चाहिँ छट्टुले छट्कायो थाहा छैन । यही आफ्नो लाज लुकाउने कट्टुको खोजीमा लम्फुको भुओ कैलाशतिर… । कैलाशबासी बाघम्बर देवाधिदेव यी …हादेवका साना महादेवको कीर्तिमान त सिन्धुघाँटीदेखि कैलाशघाँटी हुँदै कहाँ कहाँ पो पुगेको छैन र ?
त्यहाँ पनि कट्टुको पत्तो नलागेर लम्फुको भुओ इन्द्रेश्वरको नौरङ्गी पुरीतिर सर्यो । उफ ! त्यहाँ त झन मूलद्वारमै भुसतिघ्रे हनुमान ! “कृपया यो देशमा देश हराएको, वेशमा वेश उर्फ कट्टु हराएको सार्वभौमसत्तायुक्त नागरिक, यसलाई आफ्नो हराएको कट्टुकोे खोजीमा भित्र जान दिनुहोस्, आफ्नो अपहरित कट्टुको उजुरी दर्ज गर्न …।”
जतिसुकै टाउको फोरे पनि साइनाको साडु काठको डाडु समाउने हाँगो, टेक्ने ओखेट्टो केही नभएको सार्वभौमसत्ता सम्पन्न जनता जनार्दनलाई पासविना सास पनि भित्र मुन्टिन प्रतिबन्ध..,.द्वारे महोदयको भुकाइले मुटुको बेलो हल्लिएर सातो गई झण्डै सुरुलीमा सु सवारी नभएको । लम्फुले सुन्यो, त्यस वडेखोरभित्र पूज्यदेवराज तिलोत्तमा मैयाँहरूसँग क्रीडा … ।
भुटीभाङ पोल्यो पिँडालु कतै केही दाल नगलेपछि सडकमा सवारी भएको लम्फुश्रीले एक भयानक मानवसागर तु…खेलतिर पधारिँदै गएको देख्यो । कसैका हातमा झण्डा, कसैका हातमा डण्डा र सबैका जिब्रामा … … अगि अगि टाउका र पछि पछि पुच्छरको धारो, देशकै सबभन्दा ठुलो भुँडीफोर डबलीमा..।
तल भजमन गोपाल तालीबहादुर नेपाली, माथि (मञ्चमा) ब्रह्मा, विष्णु, महेश्वर; दुर्गा, काली, कोही महादेवका साली, कोही, ब्रह्मा, विष्णु र इन्द्रादि तेत्तिस कोटिकी कपाली ! वरिपरि फ्याउरा, मल्स्याप्रा, घरबिराला, बनविराला सम्पूर्ण देश बनाउनेहरूको हुइँया ! कसरी सांस्कृतिक रूपान्तरण भएछ यति धेरै,पत्तै भएन । लम्फुले पनि यिनै हुइँयाहरूका हुलमा हुलमुलिन पाउँदा जीवनै सार्थक भएको अनुभव गर्यो ।
लोकतान्त्रिक लिगलिगेको सर्वोत्तम योग्यता, क्षमता, प्रतिभा अर्थात् पहिचान यस्तै डबलीबाट सबभन्दा बढी भाषणको बमबारी गर्न सक्नुमै रहेछ हजुर, मुख अतिथि नाक अतिथि सम्पूर्ण मञ्चासिन तिथि, अतिथिहरू न्वारनदेखिको बल लगाएर डबलीबाट शब्दका बमगोला बर्साउन थाल्नु भयोँ :
“बनाउँछौं, बनाउँछौं, यस मुला सिङ्गै देशलाई हामी संसारको सबैभन्दा बिशाल शौचालय बनाउँछौं । अनि यसमा जुरोप, जमेरिका र जेसियाका शक्ति, महाशक्ति अनि तिनका उहिलेका पूर्व इण्डिया कं. जस्ता शक्तिशाली बहुराष्ट्रिय महाजालहरूलाई भुजा ज्युनाराउन बोलाउँछौँ, ए.डी.बी., वल्ड आदि उताका सङ्गठित महासाहूहरूकहाँ हामी तन्नमगिरि जनता जनार्दन र सिङ्गो देशै धरौटी राखेर भए पनि पाए जति रिन, घिन जम्मै भित्र्याउँछौं र त्यसले देशैभरि शौचालयै शौचालय ठड्याउँछौं, अनि कट्टुनै कट्टुका कारखाना चलाउँछौं । अनि मुख अतिथिज्यूहरूबाट शौचालयसमुद्घाटन गराएर प्रगतिको सर्वोच्च शिखर चढेको शङ्घोष गराउँछाैं ; रेडियो, टेलिभिजन आदि देशी र सके विदेशी विज्ञापन एजेन्सीबाट विश्वभर फैलाउँछौं । अनि शुभ साइत पारेर एक दिन ती सब निजीकरण गरी मित्र रिझाउँछौं ।
त्यसपछि देशी, विदेशी, करोडाैँ मनुवाहरूलाई त्यसैमा सु, गु सब गर्न अनिवार्य गराउँछौँ । केही गरी उपस्थित नहुनेलाई जरिबानासहित न्यूनतम आचीशुल्क तिर्नै पर्ने अध्यादेश जारी गराउँछौं । अनि त मोरा साँझ बिहान माडै नजुट्ने भुटीभाङ्ले पनि नतिरी सुख ! किनभने पाठकवृन्द, आजको यस्तो महङ्गी छ, प्रतिस्पर्धी बजार छ, जब लोड गरेको एकै ट्रिपको तिस पैतिस लाग्छ भने अनलोडको कम्ती किन ? अनि त देशी विदेशी तीन करोड + ले दिनमा पाँच सात पटक मात्र सु र एक पटक मात्र गु (मानौँ कसैलाई छेरौटी नै लागेन रे) गरे पनि वर्षमा कति आम्दानी हुन्छ हिसाब गर्नु होस् त, अनि बन्दैन देश ?
त्यही गोबरबाट अन्तर्राष्ट्रियस्तरको गोबरग्यास प्लान्ट र सुबाट सुविद्युत परियोजना ! अनि त झन के चाहियो र, देश झल्ला कार, नेताज्यू चिल्लाकार र जनता झल्लुकार !
तै राज मै रानी को ल्याउँछ कुवाको पानी, आमाबाबुले तिनिक्क खुट्टा गरेर पर्लक्क सेता आँखा फर्काएका बेला घाँटीमा एक चम्चा पानी चुहाउने छोरा, नाति सबै कट्टु खोज्दै कोही कुइरे काजीका देशमा, कोही खैरिनी काकीका अन्तप्रदेशमा … ! शौचालय निर्माणको यत्ति हुती नभए पनि यदि पर्यटन प्रवद्र्धन नै गरेर डलरेश्वरी अन्माउने नै हो भने यो सिँगै देशलाई खुल्ला शौचालय बनाउनतिर लाग्दा उपयुक्त हुन्छ । पहिलो चरण त यै अमरावतीबाटै सुरु गर्नु पर्छ, !
त्यसैले अब सबका घरका शौचालय भत्काएर बाटाका दुवै किनारामा टुसुटुसु…, विश्वमै सबैभन्दा धेरै आची स्वतन्त्रता भएको मुलुक ! राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार माध्यम र रङ्गमञ्चमा नाम पनि, दाम पनि, संसारभर यश, ख्याति, कीर्ति…, अनि त संसारभरिका सम्पूर्ण पर्यटक महोदयहरू यहीँ वैरिने छन् । नवैरिनेलाई पनि जीवनमा कम्तीमा एकपटक आची गर्न आउन वाध्य पार्नु पर्छ, अनि त डलरै डलरको ओइरो । मित्रहरूलाई आचीशुल्क पनि डलरमै …, अनि त यो खाल्डो मात्र नभएर सिङ्गै मुलुक आची नै आची र डलरैडलरले पुरिने छ ।
उता भाषणवीरहरू डबलीबाट भाषणका फब्वारा छुटाउँदै हुनुहुन्थ्यो । त्यसै क्रममा एकजना वीरले भाषणका बमगोला बर्साउनु भयो, “ अमर, भक्ति र बलभद्रादि वीर पुर्खाले ज्यानको बाजी लगाएर आफ्नो कट्टुको रक्षा गरे, हाम्रो राष्ट्रिय कट्टुको सान, मान, र आन राखे, आज हामी तिनैका सन्तान कट्टुविहीन ! त्यसैले आज हाम्रो कर्तव्य देशका सम्पूर्ण दाजु, भाइ, दिदी, बहिनी र यो सिङ्गो देशैलाई, कट्टुविहीन हुनबाट बचाउनु हो ! त्यसैले हाम्रो देशको आजको सबभन्दा ठुलो आवश्यकता भनेको एउटा बिशाल अन्तर्राष्ट्रिय कट्टु कारखाना खोल्नु हो अनि एक्कै चोटि यस देशलाई आजको झिङ्गापुरबाट उठाएर युरोप, अमेरिका र सिङ्गापुर सुनैसुनको श्रीलङ्का बनाउनु हो । (उहाँले भन्न छुटाएका कुरा : यसका लागि हामी देश, विदेशबाट रिन, घिन जहाँबाट जे जति पाइन्छ भित्र्याएर पाँच तारेमा पार्टी, टेबुलमा योजना, कागजमा कारखाना, रेडियो र टेलिभिजनमा उद्घाटन,राष्ट्रिय समृद्धिका लागि कुनै कसर बाँकी राख्ने छैनाैँ ) ।”
दुःखको कुरा उहाँहरूले युरोप,अमेरिका,सिङ्गापुर के के बनाउँछौ त भन्नु भयो तर कसैले पनि नेपाललाई नेपाल बनाउँछौ भन्नु भएन, नेपाल हामी हाम्रै माटो, पानी र हातहरूले बनाउँछौ, देश मात्र होइन हामी हाम्रो लाज छोप्ने कट्टु पनि आफ्mै बनाउँछौँ भन्नु भएन, हामी हाम्रै रगत, पसिना र मेहनत अनि साधन स्रोतले बनाउँछौ पनि भन्नु भएन । लम्फुले गौडपूर्वक आफ्ना दृष्टिका पर्दा जब बिस्तारै माथि माथि, डबलीमाथि सर्काउँदै गयो अनि त उप्m ! मञ्चका सम्पूर्ण श्रीपेचविहीन श्रीपेचधारी महादेवहरूका बिराट स्वरूपका तल्ला गोलार्धको दर्शन ! हँ ? कि लम्फुका आफ्नै आँखाले धोका दिए ? परेला झ्याप झ्याप यथावत् ! यो के ? उफ ! माथितिर महादेव टाइफिटिङ तलतिर महादेव जुम्राको मिटिङ ! महादेव महादेवी सम्पूर्णका सम्पूर्णकोे कट्टु …! लम्फुले त्यसभन्दा बढी हेर्न नसकेर आँखा चिम्ल्यो, हे बाबा पशुपति ! कुन दिनको भुलले म तिम्रो यस नाङ्गालैण्डको नाङ्गो नागरिक…! एक छिन त सोचँे, दैवतैदेवता र मन्दिरै मन्दिरको यति महान देशमा पूज्य देवदेवीहरूको त कट्टु छैन, सिँगो देशै कट्टुविहीन कुकुर्यौल… ! नाङ्गा मुला नागरिक र तिनका भोका मुला अगुवा बाटोमा…गुवा कट्टुविहीन हुनुमा के अतिशयोक्ति ? फरक यत्ति छ पूज्य देवदेवीहरू भोटो, कट्टु केही नलाएर नाङ्गा, हामी सब कट्टु,उपरकट्टु टाइसुट लड्काएर नाङ्गा !
यस्तैमा एउटा अर्ध बौलाहा शब्दबम बर्साउँदै भीडमा छिर्यो र बमवाडी गर्न थाल्यो, “हेर्नुहोस, हेर्नुहोस् ! यस …रीखेलका सम्पूर्ण देवदेवीहरू नाङ्गै…, विचराले राम्ररी स्कट फाल्न नपाउँदै डबलीमुनि तल्लो प्रवेशका भजमन गोपालहरूले घोक्रेठ्याक लगाएर प्रवेशद्वार बाहिर मुन्ट्याइदिए । अनि बाहिरको शान्ति सुरक्षाले ढाडैढाड र नल्ठी नल्ठीभरि …, हनुमाने डण्डा ! लौ चाख मुला स्वाद चाख !
आज लाग्दैछ, वास्तवमा यो लम्फुश्री पनि त्यस अर्धभन्दा कम्ती काँ छ र ! आज यो लोकतन्त्रको घाम झलमल्ल झल्झल्याइरहेका बेला बुद्धिबहादुरहरू सब सत्ताका पछाडि घ्याँघ्याँ र घुँघुँ, दाँत ङिच्याउँदै, नङ्ग्रा उद्याउँदै कार्तिकको…भएर दौडिरहेका बेला यो मोरो खुत्तिएको जन्तु आफ्नो हराएको मुला कट्टुको खोजीमा छ । राती राइसुवा डाली सर,.. गल्ली, गल्छेडा, हजारौँ बर्षदेखि घामको दर्शन नपाएका छिँडी, चोक चप्पा चप्पा … एकाम्य पारिसक्यो, अहँ छैन, कतै छैन । यस उत्तरे युगका स्वदेशी, विदेशी बोक्सा …क्सी, भूत, प्रेत, पिशाच कसले लग्यो ? कसले वेपत्ता पार्यो ? थाहा छैन । भोटोको देखाउने संस्कृतिको धनी देशमा यो लम्फुको डम्फु आफ्नो हराएको कट्टुको खोजीमा छ, त्यसैले यहाँहरूसमक्ष बिन्ती बिसाउँदैछ, कृपया कसैले लम्फुको हराएको कट्टु भेटाउनु भयो भने सकुशल सपुर्दगी गरिदिनु होला किनकि त्यो कट्टु देशको पनि हो !
०००
तीनथाना, काठमाडौं
लेखन : २०५१।५।३०
परिस्कार : २०८१।११।२
Subscribe
Login
0 Comments
Oldest





































