नरनाथ लुइँटेल‘जदौ !’ निबन्धसङ्ग्रहमा गाेतामेकाे व्यङ्ग्यचेत (२)
हास्यव्यङ्ग्यको ऐतिहासिक विकासक्रमको पछिल्लो कालखण्डमा देखापरेका श्याम गोतामे एकजना कुशल हास्यव्यङ्ग्य स्रष्टा हुन् भन्ने कुराको यथेष्ट प्रमाण र दशी उनको ’जदौ !’ हास्यव्यङ्ग्य सङ्ग्रहले दिएको छ।

नरनाथ लुइँटेल :
(ङ) मानवीय विसङ्गति
हास्यव्यङ्ग्यकार मात्र होइन एउटा इमान्दार लेखक आफैभित्र रहेका दुर्बलता, रकमी कमजोरी र आफ्नै भूलहरूमाथि पनि प्रहार गर्दै कलम चलाउँछ। व्यङ्ग्यकार ने पनि यही समाजको एउटा सदस्य भएको हुँदा सामाजिक विसङ्गतिले उसलाई प्रभावित को पार्नु तथा उसका व्यक्तिगत दुर्बलता र भूलहरूले समाजलाई प्रभावित पार्नु स्वभाविक हो। श्याम गोतामे पनि यसका अपवाद थिएनन् । यद्यपि गोतामेका रचनाहरूको गम्भीर अध्ययन गर्दा के थाह पाइन्छ भने उनी स्वयम्ले आफ्नै जीवनका बिब्ल्याँटा पाटाहरूमाथि पनि, आफ्नै विसङ्गत स्वभाव आनीबानी र क्रियाकलापहरूमाथि पनि मज्जासँग सिस्नुपानी लगाएका छन्। आफ्नो गुणैगुण र विशिष्टता मात्र देखाएर, आफ्ना दुर्बलता एवम् भूलहरूको ढाकछोप गर्ने लेखक साहित्यकारहरूको हुलभित्र गोतामेको यो छुट्टै पहिचान पनि हो।
गोतामेका धेरैजसो हास्यव्यङ्ग्यहरू आत्मपरक शैलीमा लेखिएका छन्। यस्ता रचनाहरूमा “म” पात्रको प्राधान्य हुने गर्छ। आफूभित्रकै दौर्बल्य, क्रियाकलाप र स्वभावमा रहेका विसङ्गतिहरूलाई साधारणीकरण गरी मानिसका आम प्रवृत्तिहरूतर्फ सोझ्याउनु गोतामेको वैशिष्ट्य पनि हो। निबन्धहरूमा वर्णित्, चित्रित् एवम् घटित् धेरै घटनाहरूमा गोतामेले स्वयम् आफूलाई उभ्याएका छन् । विकृतिको स्रोतका रूपमा अरुका गुण-अवगुण मात्र नखाेतलेर स्वयम् आफ्ना गुण-अवगुणहरूलाई पनि यथास्थानमा ओकलेका छन् । ‘कसैको अमरत्वको याचना ईश्वरसँग गरेर कृतज्ञ हुनु म माैलिक मूर्खता ठान्दछु किन भने कसैलाई अमर तुल्याउन सङ्कल्प गर्नुछ भने पहिले माैनधारण गरेर उसको मृत्युको प्रतीक्षा गर्नुपर्दछ । वहुङ्ख्यक विशिष्ट कायरहरू झैं म पनि मत्युलाई रूचाउन्न, अनि त्यसैले होला म अमर हुन चाहन्न। नमरी अमरत्व प्राप्त गर्न खोज्ने समाजका देशका शहीदहरूप्रतिको यो क्रूर व्यङ्ग्य स्वयम आफैप्रति पनि लक्षित छ र शाश्वत पनि छ।
आफैमाथि व्यङ्ग्य गरेर त्यसको छर्राको छिर्का अरू लेखकहरूतर्फ छकांउटै गोतामेले लेखेका छन्- ‘लेनदेन जेसुकै गर्न परेता पनि मेरा लेखहरू चाहिँ किन हो कुन्नि पारिश्रमिक लिने पत्रिकामा नै धेरै निस्कन्छन् । लेख्न मिहिनेत पनि औधी गर्छ। चोरचारतर्फ पनि दृष्टि नपुऱ्याएको भनी तपाईले दोष लगाउन पाउनुहुने छैन। तर एउटा सावधानी भने सधैं पालन गर्दछु र त्यो के भने लेखको स्तर पत्रिकाको स्तर मैं ने राम्रो हुन नपाओस्। नत्र सम्पादक महोदय ‘आशा’ बाट ‘गरूड’ र ‘गरूड’ बाट ‘कोसेली’ फर्माउन थाल्नेछन् । (श्याम गोतामे पूर्ववत्, पृ. ५९।)
गोलीले आफ्नो र अर्कोलाई छुट्याउँदैन भने झै गोतामेको व्यङ्ग्यले आफ्नो र अर्कोलाई छुट्याएको छैन। उनको व्यङ्ग्य गोतामे परिवारमाथि पनि गज्जबसँग स्निखएको छ- ‘डाढो हाम्रो पैतृक सम्पति हो। यो प्रवृत्ति त्यस जमानामा प्रशस्त थियो जुन जमानामा हाम्रा पितापुर्खाहरू जिउनपुरबाट अम्बा बाेकेर ल्याइ असनमा बेच्दथे। …..अझ अचेल त कतिसम्म हरिप भइसके भने एकातिर शहरमा नै घरजम गरी धर्मोपदेश गर्दै धन कमाउँदैछन् र अर्कोतिर चाहिँ हातखुट्टा मिचाउँछन्, सेवासुश्रुषा गराउँछन् ।’ (श्याम गोतामे- मपाई पूर्ववत्, पृ. ९५।)
श्याम गोतामेको व्यङ्ग्य गोतामे परिवारमाथि पनि बज्रिएको छ यसरी ‘डाढो गर्नमा स्वप्पिस भएवापत अनेकन गोता खाँदाखाँदा म ‘गोतामे’ हुन पुगेको हुँ, ताक नपरेर होइन। मेरा, पिता पुर्खाहरूले धर्मभन्दा वढी शोषण गरेको पुण्य प्रतापले हो वा केले हो कुन्नि मलाई भने डाढो गर्ने ताक मात्र पर्यो।’ (श्याम गोतामे पूर्ववत्. ५. ९७।)
यसरी उनी आफ्नै वैयक्तिक परिवेशको विसङ्गत क्रियाकलापलाई पनि मन पराउँदैनन्। यसैलाई विषयवस्तु वनाएर निर्ममतापूर्वक व्यङ्ग्य गर्छन्। कैयौं ठाउँ आफैलाई उडाएका छन्, आफैमाथि हासपरिहास गर्दै हाँसेका छन् र हँसाएका छन् ।
भाषाशैली
कुनै पनि रचना-कृतिको भाषा सरल र सहज भएन भने त्यो सम्प्रेषणीय पनि हुँदैन। त्यसमाथि पनि हास्यव्यङ्ग्य रचनामा त झन् भाषाको सरलताले महक थपेको हुन्छ। गोतामेको प्रस्तुत कति ’जदाै !’मा सङ्कलित सबै रचनाको सम्प्रेषणीयतामा कुनै जटिलता देखिन्न। कनै-कुनै अनुच्छेदमा केही लामा लामा वाक्यगठन रहेका छन् ता पनि बोधगम्यतामा तिनीहरूले अवरोध खडा गरेका छैनन् । सन्दर्भ सुहाउँदो स्थान वा प्रकरणमा बोलीचाली र चलनचल्तीमा भिजेका उखान-टुक्काहरूको प्रयोग गरिएको छ। उदाहरणका निम्ति ‘यस्तो हरेक क्षेत्रमा आइ पर्छ- ‘कहिले सासूको पालो, कहिले बुहारीको।’ (पृ. ३०), ’उहाँले हाँस्दै भन्नुभयो- बाह्रवर्षमा ‘राँडीका त दिन फिर्छन्’। (पृ.७९), हेलिकोप्टरको यात्रा गर्दा त ‘भूईमा खुट्टा नै हुँदैन’। (पृ.८३), ‘सुनेकोभन्दा देखेको पाको भन्ने उक्ति मुताविक’ आदि। यी उखान टुक्काको प्रयोगले हास्य उत्पन्न गर्न र व्यङ्ग्यलाई सशक्त पार्न सहयोग पुऱ्याएका छन् ।
श्याम गोतामे दुई विपरित कुराहरूको तुल्यता जाहेर गरी व्यङ्ग्य गर्न खप्पिस छन्। यो भाषा प्रयोगको चातुर्य पनि हो। एउटा कुरामा एकापक्षलाई प्रहार गर्नुछ, उनी फुत्त प्रसङ्गको सादृश्यता खडा गरी त्यहीं काइदासँग धोबीचुटान दिन्छन्। यी धोवीचुटानका केही उदाहरणहरू- ‘उहाँले बगलीमा घुसारेको हातलाई बाहिर झिक्नु मुनासिव सम्झनु भएन- बसमा यात्रा गर्दा कण्डक्टरले टिकटको पैसा माग्दा ‘मर्मज्ञ’ यात्रुले आफू ओर्लने ठाउँ आइनपुगुञ्जेल र बसबाट ओर्लेर आफ्नो बाटो नलागुञ्जेल बगलीबाट हात झिक्ने दुष्प्रयास नगरेझै।’ (पृ.१७) ‘सिनेमाप्रेमीले ब्ल्याकरको चाकरी गरेर गल्ली-गल्ली पछ्याएको झैं सम्पादकको दशा थियो।’ (पृ.३१), ‘यसको (व्यङ्ग्यलेख) गर्भाधानको प्रक्रिया वडो जटिल हुन्छ। गर्भधारण गरी सफलतापूर्वक प्रशव गराउन त्यतिकै परिश्रम गर्नुपर्छ जति कुमारीको गर्भलाई सफलतापूर्वक ‘एवोर्शन’ गराउनमा हुन्छ।’ (पृ.३२), ‘दुवैका अधिष्ठाताहरूले मलाई त्यस क्षेत्रमा असफल घोषित गरे- चुनाउमा हार्ने उम्मेदवारको जमानत पर्यन्त जफत गरे झै, अथवा मैले रचेका दर्जनाैँ पुस्तकहरूमध्ये एउटा पुस्तक सम्मलाई पनि कलेज स्कूलको पाठ्यक्रममा नपारेर मेरो ‘लिटररी इन्सल्ट’ गरे झै’ (पृ.४५), ‘म क्षणभंगुर राजनीतिमा बाँच्ने, गर्मीका लाम्खुट्टे स्तरको राजनीतिज्ञ होइन।’ (पृ.५५), हास्यव्यङ्ग्य लेखमा क्रमबद्धता खोज्नु आधुनिक कवितामा ‘भाव’ स्वोजे झै अथवा राजनीतिज्ञका भाषणमा ‘तथ्य र सत्य’ खोज्नु झै निरर्थक हुन्छ।’ (पृ.६१), ‘… ’अनेकन प्रकारको अत्तो लगाई फाइललाई यसरी च्यापी राख्नु भयो जसरी अनुभवी र इमान्दार भनी टोपलिने (घुस्याहा) राष्ट्रसेवकले दिनहाैँ तारीखमा झगडियालाई झुलाउन मिसिललाई काखी च्यापी राख्दछ।’ (पृ.७४), अन्तमा यो साहै मोठो छ- ‘स्वर्गलोकमा माजिएको नेपाली राजनीतिक व्यक्ति पाउनु त्यतिकै गाह्रो भयो जति दिसापिसावले च्यापेको बखत कान्तिपुरीमा सार्वजनिक शाैचालय पाउन गाहाराे हुन्छ । (पृ. ७९) गोतामेका हास्यव्यङ्ग्य रचनामा पाइने भाषा-प्रयोगका यी केही नमूना पनि हुन् ।
मपाई सङ्ग्रहमा जस्तै यस सङ्ग्रहमा पनि विभाषीय खासगरी अङ्ग्रेजी भाषाका शब्दहरूको प्रयोग भएको छ। जस्तै ‘एकाउण्ट’, ‘द वर्ल्ड’ (पृ. ६), ‘सीजन’ ( पृ. ९), ‘प्रेजेन्टेशन’ (पृ. ९), ‘प्रोटेस्ट’ (पृ. १०), ‘बोर्ड’ (पृ. ११), ‘ककटेल’, ‘विजी’ (पृ. १४) ‘एडजस्ट’ (पृ. १६), ‘वार’ (पृ. १८) ‘आर्टिकल’ (पृ. १९), ‘भीट्टो’ (पृ. २०), ‘डिनर’, ‘टेवुल’ (पृ. २२), ‘पपुलरटी’ (पृ. २३), ‘रिक्वेस्ट’ ‘द प्लेजर अफ योर कम्पनी, एट् ए रिसेप्सन’ ( पृ.२४), ‘रेपुटेशन’, ‘होस्ट’ (पृ.२४), ‘विफोर टायम’ (पृ.२५) ‘सप्लाई’, ‘पोट्याटो चिप्स’, ‘सेन्डबीच’, ‘मिटवल्स’, ‘नेशनल इन्ट्रिगेशन’ (पृ.२५), ‘इट्स अलराइट’, ‘माई डार्लिङ, ‘गुडहेल्थ’, ‘पार्टी एट्मोसफेयर’ (पृ.२६), ‘टेन्शन’, ‘ड्रिक्स’, ‘फस्ट फर द फर्मालिटिज सेक-इज नट इट ?’ (पृ.२०), ‘डाइभोर्स’, ‘फिट’, ‘प्लान्टेशन’ (पृ.२९), ‘एवोर्शन’ । पृ. ३२), ‘स्टान्डर्ड’ (पृ. ३४), ‘डिफ्लेशन’, ‘इन्फ्लेशन’ (पृ.३५), ‘अफर’ (पृ.४२), ‘स्कोप’, ‘डिस्कभरी’, ‘क्यारेक्टर’ (पृ.४४), ‘लिटररी इन्सल्ट’, ‘किक’, ‘किस’ (पृ.४५), ‘पेंडिक्शन’ (पृ.४६), ‘डिवेट’ (पृ.४८), ‘वेडिङ’ (पृ. ४९), ‘ड्राइङरूम’ (पृ.५०), ‘भ्याकुम’ (पृ.५६), ‘कटिङ’ (पृ.५७), ‘थिसिस’ (पृ.५९), ‘वीथड़’ (पृ.६०), ‘पोलिटिक्स’ (पृ.६७) ‘वाइदवे’ (पृ.७०) ‘प्रेशर’ ‘सीट’ ‘ल्याप्स’ (पृ.७३) आदि र एकाद ठाउँमा हिन्दीका शब्दहरू र वाक्यहरू पनि भेटिन्छन्। वौद्धिक वर्गका पाठकहरूको निम्ति यस्ता शब्दहरू बोधगम्य हुन्छन् तर सामान्य लेखपढ मात्र गरेकाहरूको निम्ति दुरूह पनि छन् ।
यति हुँदाहुँदै पनि उनका निबन्ध-रचनाहरूमा कथ्य र प्रसङ्गको जुन परिवेश निर्माण हुन्छ सोही वमोजिम यी विभाषीय शब्दहरूको प्रयोग गरिएको हुँदा त्यति धेरै अस्वाभाविक चाहिँ लाग्दैन। समग्रमा भन्नुपर्दा ’जदौ !’ सङ्ग्रहमा नेपाली भाषाको ठेट र ठ्यौलारूप र भाव भएका शब्दहरूको प्रचुरता र उखान-टुक्काहरूको प्रयोगले पढ्न पट्याई नलाग्ने बनाइएको छ।
’जदौ !’ भित्र सङ्कलित रचनाहरूको संरचनागत शैलीमा विविधता पाइन्छ। मपाईंमा जस्तै यस सङ्ग्रहमा पनि गोतामेले कहीँ सम्वादात्मक (सवाल-जवाफ) शैली प्रयोग गरेका छन् भने कहीं वर्णनात्मक तथा विवरणात्मक शैलीको प्रयोग गरेका छन्। यस सङ्ग्रहका केही रचनाहरूमा टिपोट-टिप्पणीको शैली पनि अपनाएको भेटिन्छ । सामान्य विषयमा गफ गरे झैं पाराले आरम्भ गरी गम्भीर प्रसङ्ग उचालेर वेजोडको व्यङ्ग्य गर्नु गोतामेको शैलीगत विशेषता हो। यो विशेषता यस सङ्ग्रहमा अझ विकसित र परिमार्जित भएको छ। दोहोरो वार्ताका क्रममा गरिएका कुराकानीबाटै स्थितिको चित्रण गरी प्रहार गर्नुपर्ने प्रसङ्ग पहिल्याउँदै प्रकरणबाटै मन्दहास्य र व्यङ्ग्य गरिएको पाइन्छ। उनका निबन्धहरूमा “हो” कुरालाई होइन भनेर र “हाेइन” कुरालाई हो भनेर पनि व्यङ्ग्य गरिएको छ। सकारात्मक कुराले नकारात्मक अर्थ दिने र नकारात्मक कुराले सकारात्मक अर्थ प्रदान गरी व्यङ्ग्यबोध गर्नु हास्यव्यङ्ग्य रचनाको रचनाकौशल हो। यस किसिमको कौशल गोतामेको यो कृतिमा पनि प्रशस्त पाइन्छ। अरू कतिपय हास्यव्यङ्ग्य लेखकहरू हसाउँनका निम्ति अनान्दर्भिक टुक्का र फुँदाहरू (कहिलेकाहीँ त अश्लिल पनि) जोडजाड गर्दछन्। तर गोतामेमा यस्तो पाइन्न। यो पनि प्रस्तुत कृति ‘जदौ !’ को शिल्पगत प्राप्ति हो। यसरी शीप : शैलोका दृष्टिबाट पनि ’जदौ !’ हास्यव्यङ्ग्य सङ्ग्रह एउटा उल्लेखनीय कृति हो नभनी सुखै छैन।
निष्कर्ष
हास्यव्यङ्ग्यकार श्याम गोतामेको मपाई पछिको दोस्रो कृति ’जदौ !’ विषयवस्तुको व्यापकता, शैली, शीर्षकको भावगत सङ्गति, रचना-कौशल आदिका दृष्टिले स्तरीय एउटा कृति हो। यस कृतिमा आइपुग्दा गोतामेको व्यङ्ग्यकार व्यक्तित्व अझ चम्किलो, अझ प्रभावकारी र सशक्त बनेको देखिन्छ। हास्यव्यङ्ग्यको ऐतिहासिक विकासक्रमको पछिल्लो कालखण्डमा देखापरेका श्याम गोतामे एकजना कुशल हास्यव्यङ्ग्य स्रष्टा हुन् भन्ने कुराको यथेष्ट प्रमाण र दशी उनको ’जदौ !’ हास्यव्यङ्ग्य सङ्ग्रहले दिएको छ। सामाजिक, राजनैतिक, साहित्यिक एवम् साँस्कृतिक र वैयक्तिक विसङ्गतिका यावत् विषयवस्तुलाई समेटेर तो विकृति र विसङ्गतिमाथि कटु तर प्रभावकारी, व्यङ्ग्यबाण प्रहार गरी ’जदौ !’ कृतिका माध्यमबाट सङ्गति र सुधारको सशक्त सुसेली हालेका छन् गोतामेले। ‘जदौ !’ कृतिको समग्र अध्ययनपछि यही निष्कर्षमा पुग्न सकिन्छ।
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)








































यो गहन र वस्तुपरक विश्लेषण प्राज्ञिक शोधपत्रको अंश रहेछ । नेपाली हास्यव्यङ्ग्य र गोतााेको अध्ययन गर्ने शोधकर्ताका लागि अझ उपयोगी हुने देखिन्छ ।