कुमार खड्काप्रशंसा, पुरस्कार र कार्वाही…
आफ्नै अभावको कथामा दानको भार जेलिन्छ सभ्यताकै शिलापत्र शक्ति र पैसाले छेकिन्छ समाजसेवाको नौटङ्की र लुटाहाको खालमा, 'स्याल शास्त्र'का पंक्तिले सिनोकै कथा लेखिन्छ ।

इ. कुमार खड्का :
“मान, पदवी, तक्मा, विभूषण कसरी पाईने हो ?
योग्यता, मर्यादा र ल्याकतमा के के चाहिने हो ?
आजकल खसखस लाग्दोछ मनमा बहुत खुब,
या निराकार प्रभुको आशीर्वादलेनै लाइने हो ?”
००
प्रसङ्ग- १:
मान्छेका स्वभाव अनेकौं हुन्छन् । भन्छन् ” कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि…!” मेरो मुण्ड भित्रको कुण्ड र त्यसमा थोपरिएको लेदो पनि अलि विशेष खालको हो कि भन्ने कुरा अहिले आएर बुझ्दैछु । जागिरको सुरुवाती अवधिमा कहाँ जाने, के गर्ने ? जिम्मेवारी कसरी पूरा गर्ने भन्ने कुरामै समय वित्यो । दायाँबायाँ सोच्ने फुर्सदनै भएन । बेलाबेलामा बढ्ने ग्रेड, पुरस्कारकै लोभमा र्याल नकाढे पनि पालो कुरेपछि जुर्छ…! अन्तिममा आफुमात्र ” जेष्ठ र वरिष्ठ” भएपछि कसो रोलक्रम न आउला त ? भनेर भलाद्मीपनामै आशाको र्याल चुहाइन्थ्यो । तर कसो कसो, ढुक्दाढुक्दै र भुक्दाभुक्दै आफुमात्र एक्लो वृहस्पति भएको कुरा त्यतिबेला थाहा हुन्थ्यो, जब त्यसको सीमा पार, समय भार भएर परिस्थिति ओल्छाइसकेको हुन्थ्यो । अनि मनमा तर्कना खेल्थ्यो, के गर्नुपर्ने रहेछ ? कति सर्नुपर्ने रहेछ ? तोकिएको कार्य प्रगतिमा विशिष्टता हासिल भएकै हुन्थ्यो, प्रशंसा पाउने पात्रको रुपमा नाम चढेकै हुन्थ्यो, कार्यालय, विभागिय प्रमुखसँग सुमधुर सम्बन्ध कायमनै थियो, विधि व्यवहार मुलायमनै थियो, तै पनि अन्तिममा हात्ती आयो फुस्सा… ! मनमा लाग्थ्यो,” हैन के कुराको कमि भयो हँ…!”
स्वभावमा अलि खरो र छुच्चो खाले म, अलि छुट्टै …! अघिल्तिर हक्की, जल्दोबल्दो, मनमा पाप नभएको, स्मार्ट मान्छे भनेको सुन्दा र आफ्नो अगाडिनै प्रसंशा पाउँदा निकै मख्ख परिन्थ्यो । गौरव लाग्थ्यो । तर सोचिन्थ्यो कि आफ्नै अगाडिको प्रशंसा त्यति राम्रो त हैन, तर दुविधा भए पनि मान्छेको मन हो, आफ्नो प्रशंसाले चुलिनु भन्या राम्रै लाग्ने रहेछ, मनमा खुशी जाग्ने रहेछ । यो प्राकृतिक, मानविय स्वभाव पनि हो । त्यसमा पनि वरिपरिका र भरलाग्दा साथिभाइकै प्रशंसा, अल्टिमेट बोसको थप्थपाई पाएपछि त सोह्रैआना पक्का… भन्ने ठानिन्थ्यो ।
वि.सं. २०५०/५२ ताकाको सुरुवाती जागिर जीवनको चरणमा आर्थिक वर्ष अन्तिमको कार्य प्रगतिको आधारमा अर्को आ.ब. को सुरुवातमै दिन सकिनेगरि कार्यालय प्रमुखमा तजविजी तलबी ग्रेड थपको स्वविवेकिय अधिकार भएको बखत अन्तिम समय म र एकजना अनन्य मेरा मित्रको नाम टिप्पणीबाट टिपेक्स लगाएर खलाँस पारिएछ । तर पारदर्शिताको मन्त्र भजेकाले होला, बोसले कार्यकक्षमा बोलाए र हामीलाई भन्नू भो…”सरि है साथीहरु ! यसपाली सकिन…!”
“किन र सर ? नियमले मिलेन र…?”
हामीले सोध्दा उहाँले भन्नु भो “तपाइँहरुको काम पनि राम्रो छ, नियमले त मिल्नेनै हो, तर सबैलाइ दिँदा पुरस्कारको इज्जतनै नरहने भो, त्यसैले क्या…! आउने साल तपाईंहरुलाई पक्का…!”
हामीले बुझ्नुपर्ने कुरा क्यै थिएन, केवल हामीप्रति उहाँको वितृष्णा र पक्षपात बाहेकको कुरा !
मैले भनिदिएँ “ठिकै छ सर ! पुरस्कार त योग्य र सम्मानित व्यक्तित्वबाट लिने त हो ? तपाइंँ जस्तो कार्यालय हटिया बनाउने मान्छेसँग हात थापेर लिनु पनि थिएन, हस् …!” सहकारी मित्रले पनि हुबहु मेरै कुरा सुगालेझैं ओकल्नु भो, रीसले कट्कटी दाह्रा किट्दै, सङ्सङ्गै मसँगै बाहिर निस्कनु भो ।
बाहिर साथीहरुलाई के भन्नू के भन्नू भयो ! कुरो त जसरी पनि प्रष्ट हुन्थ्यो, त्यसैले भनिदियौं “हामीलाई कि अर्को विशेष पुरस्कार, कि पछिको पालो रे…!” कोही साथीहरु फिस्स हाँसे, कसैले ओठ लेप्र्याए । जे होस् , जागिर जीवनको पहिलो अवसरमै छुक लागेर होला, त्यसपछि कुनै ग्रेड, पुरस्कार, तक्मा…आदि इत्यादी पाउने केही, कुनै आशा गरिएन, पाइएन पनि, मनले चिताए जस्तै भयो, कहिल्यै, कसैले नदिए पछि चाहिएन पनि, अङ्गुर अमिलै भए ! नपाउनु पनि आफ्नो स्वभाव अनुसारको अप्रत्यक्ष पुरस्कारनै थियो फेरि, बस् …!
प्रसङ्ग- २:
त्यहि ताका काठमाडौं उपत्यकाका कतिपय गाउँमा “प्लान इन्टरनेशनल” भन्ने आइएनजिओको खानेपानी, स्कुल, सडक कल्भर्ट, साइड ड्रेन बनाउने कार्यक्रम चलेको थियो, मलाई पनि आफ्नो भेकको निर्माणकार्य निम्ति उक्त संस्थासँग सम्बद्द भएर “फ्री लेन्सर परामर्शदाता” भै ओभर टाइम ड्युटी इङ्गेज हुने अवसर मिल्यो । सामाजिक निर्माण, विकासको सङ्क्रमणकालिन अवस्थामा धेरैवटा स्कुल भवनहरु पनि बनाइयो । सर्भे, ड्रइङ, डिजाईन, इष्टिमेट र योजनाको निर्माण सुपरिभिजन तथा योजना समेत सम्पन्न गरि प्रतिवेदन गर्नुपर्थ्यो । सो वापत कुल ल. इ. को ३% पारिश्रमिक रकम, कार्य प्रगति र भुक्तानी पश्चात सम्बन्धित संस्थाको समेत सिफारिसमा किस्ताबन्दीमा र अन्तिम भुक्तानि पश्चात् बिल बमोजिमको समानुपातिक रकम बाँकी पुरै भुक्तानी पाइन्थ्यो ।
एउटा विद्यालय भवन निर्माण गर्दाको प्रसङ्ग हो । अन्य योजनामा झैँ बिल भुक्तानीको किस्ताबन्दी बापतको कन्सल्टेन्सी रकम क्रमशः भुक्तानि पाइएन । अर्को बिलमा हुन्छ भन्दाभन्दै अन्तिम भुक्तानी र योजना फरफारक हुँदा समेत पाइएन । पछि विद्यालय बैठकमा अनिवार्य उपस्थितिको निमन्त्रणा आयो, उपस्थित भइयो । बैठकमा प्रस्ताव आयो, “उल्लेखनीय योगदानको कदर गर्दै हामीले उद्घाटन कार्यक्रममा तपाइँलाई “मेडल र प्रशंसापत्र” समेतले उच्च सम्मान गर्ने सोच बनाएका छौं…!”
मनमनै खुशी भएँ र सोचें “आहा…!” सोचेको पुग्ने भयो । तर मनको खुशी एक्छिन पनि साँच्न सकिएन । हर्षित मन एकाएक तुषारापात भयो, जब पुरै कन्सल्टेन्सी बापतको रकम आफ्नो तर्फबाट दान दिएको भन्ने भर्पाइमा सहि गर्नुपर्ने भयो । एक्छिन त म छक्क परेर रनभुल्लमा समेत परें । किनकि पेशागत अवधिको त्यो प्रारम्भिक चरणमा पुरै पारिश्रमिक दान गर्नसक्ने हैसियत बनिसकेको थिएन । आंशिक दानलाई स्विकार नगरिएको अवस्थामा सम्मानको कुरा त परै जाओस्, केही दिनपछि भएको विद्यालय समुद्घाटन कार्यक्रमको निम्तो समेत पाइएन । सोचियो “गेम प्लान अनुसारको दानले मात्रै पो स्वर्ण जलपको तक्मा, प्रशंसापत्र समेतले सम्मान पाइने रहेछ, हैट…!”
मनमा तिक्तताका हरफहरु याद आयो…
“आफ्नै अभावको कथामा दानको भार जेलिन्छ
सभ्यताकै शिलापत्र शक्ति र पैसाले छेकिन्छ
समाजसेवाको नौटङ्की र लुटाहाको खालमा,
‘स्याल शास्त्र’का पंक्तिले सिनोकै कथा लेखिन्छ ।”
००
प्रसङ्ग- ३:
त्यसपछिका जागिरे जीवनका विविध खाले ग्रेड, पुरस्कार, सुविधाका अर्थ, छिद्र, रहस्यहरुले मन तोडेपछि मलाई त्यो मामिलामा खासै आशा, उत्साह र चासो लाग्न छोड्यो । प्रायः चाकडी, चुक्ली, चाप्लुसी (चाचुचा) नै प्रमुख हतियार हुन्, र आफू ती हतियार बोक्न योग्य नभएपछि व्यर्थको प्रतिस्पर्धा किन गर्नु ? आशैआशा ढुकेर किन दुखी हुनु ? भनेर सदाको निम्ति वाकओभर दिएँ । अरुकै निम्ति बाटो खुल्ला गरिदिएँ । गीताको श्लोक पनि याद आयो “कर्म गर, फलको आशा नगर…!” आफ्नो हात माथि पर्दा समेत निजामती लगायतका व्यक्तिगत पुरस्कार, भ्रमणमा सहकारी मित्रहरुकै नाम सिफारिस गरें । आफूले कहिल्यै विवरण फारम समेत भरेर बुझाइएन । बाघ, स्याल र ब्वाँसोको मिलिभगत शिकारको कथा सम्झिएँ । बाघले झैं झम्टिन पनि नसक्ने, स्यालको जस्तो “चाचुचा” पनि नसकिने र ब्वाँसोको जस्तो प्रहार झेल्न नि नसकिने भएपछि सुरुमै वाकओभर दिनुशिवाय पछि व्यर्थ दुखी हुनुको अर्थ नदेखेर “प्राप्ति नामको कलङ्क…!” स्वेच्छाले त्यागिदिएको हुँ ।
पञ्चायती कालखण्डका गोदवा, प्रज्वल्ल श्री पुरस्कारदेखि त्रीशक्तीपट्टसम्म र “दरवारियादेखि निजामती पुरस्कारका चाकरिया…” सम्मका कथा पढिएकै हो । वि.सं. २०४३/४४ ताका बि.पि. जयन्तिको अवसरमा खुलामञ्चमा गणेशमानले गर्नुभएका भाषणको पनि याद आएकै हो, “यो व्यवस्थामा जो भ्रष्ट, उही सर्वश्रेष्ठ…!” २०४६ पछिका पुरस्कारहरुको हालत हेर्दा त असल र इमान्दार भन्दा पनि आफ्नै आँखा अगाडि फटाहा, ठग र भ्रष्टहरुले हात लागि गरेको सन्दर्भले स्वाभिमानीहरुको मस्तिष्कबाट पुरस्कारको चाह मर्नु स्वाभाविकनै थियो । लाग्यो…
“चकारले चोरहरुलाई दिने तक्मा, पुरस्कार र प्रशंसाले के अर्थ राख्छ र…?”
“सीमाका यादव वीरको नाम कहिल्यै लेखिएन
शहीद गोविन्द गौतमको सिफारिस कैले देखिएन
कतै यो सपना या जालझेलको पगरी मात्र ?
दृष्टिभ्रम भएर हो कि सद्दे, किर्ते केहि जोखिएन ।”
००
प्रसङ्ग- ४:
जागिर जीवनकै अन्तिम आर्थिक वर्ष । आषाढ २५ गते विकासे बजेट हिसाब मिलानको अन्तिम दिन । सकेसम्म कार्यालय समय सिमा भित्रै विधि प्रकृया पुर्याएर भुक्तानी गर्ने मेसो मिलाउन सबैजना साथीहरु व्यस्त थियौं । सकिएन । राती १२ बजेसम्मको सिमा निर्धारण थियो, म.ले.नि.का. को परिपत्र अनुरुप जिल्ला को.ले.नि.का. कार्यालयको । विगत वर्षहरुमा समय सिमा तोकिए पनि अत्यधिक चाप र दवाबको कारण भ्याउन नसकेका योजनाहरुको भुक्तानी निम्ति महालेखा परिक्षक कार्यालयले निर्धारण गरेको म.ले.प.फा. मा एथार्थ विवरण भरी कार्यालयले स्विकृत गरेपछि कोलेनिका र सम्बन्धित तालुक मन्त्रालय, मलेनिका हुँदै अर्थ मन्त्रालयमा पेश हुन्थ्यो । त्यसकै आधारमा आगामी वर्ष भुक्तानी सुनिश्चित हुन्थ्यो । ढिला भए पनि खासै समस्या हुँदैनथ्यो । तर यहि वर्ष सो कुरा लागू भएन, एक्कासी भुक्तानी बन्देज गरिने, कार्यालय प्रमुखलाई समेत भुक्तानी छुट गरि कार्यकुशलता देखाउन नसके बापत कार्वाही गरिने भन्ने पो सुनियो ।
परेन त फसाद ? विगतको प्रचलन, हाम्रा वाध्यताका कुराहरु जोडदार रुपले उठाइयो, लिखित स्पष्टीकरण र प्रतिवेदन समेत गरियो । सम्बन्धित निर्माण व्यावसायी, उपभोक्ता समितिहरुलाई सम्झाउने कोशिस गरियो । तर आफ्नो कार्यकालको अन्तिम समय सन्दर्भमा चित्त बुझाउने काम अत्यन्तै कठिन भयो । एनकेन कागजी प्रकृया पुर्याएर थामथुम पारियो । इमान्दारिपूर्वक राज्यकै काम गरिएको भए पनि दायित्वको गह्रुङ्गाे तिक्तताको बोझिलो हृदय लिएर ३६ वर्षे निजामती जीवनबाट बिदा भइयो ।
“जसले हात माथी पर्दा कहिले मुठ्याएनन्
तिनैले कहिल्यै पाउनुपर्ने पनि केही पाएनन्
मैले मेरो भन्दा समग्र हाम्रो कुरा गरेको हुँ,
सामुहिक हक निम्ति जस्ले स्वर दबाएनन् ।”
००
अन्तमा…
ग्रेड, प्रशंसा, पुरस्कार पाउने आशै आशाका कर्म बिच निजामती जीवनकै अन्तिम घडीका कर्महरु सहि हुँदा पनि सर्वाधिक तिक्तताको अनुभुति पश्चात अझै म आग्रह गर्छु कि…
“असल, इमानको कर्ममा निश्चिन्त विश्वास गरिदेउन !
धर्तीलाई उर्वर बनाउने किसानको मर्ममा गरिदेउन !
तिघ्रा गन्तिका आफ्नै भीडभाड मात्रै हो र हजुर यहाँ ?
श्रम, पसिना, राष्ट्रिय संस्कार र धर्ममा गरिदेउन !”
अस्तु…!!!
०००
कागेश्वरी मनोहरा- २, आलापोट, काठमाडौं ।









































धन्यवाद फित्कौली परिवार ! धन्यवाद नरनाथ गुरु 😀🙏