मरुभूमि नारायणऊ त्यो पार्टीले…
सर्प त के सर्पको पुच्छर मात्रै ठड्याएको भए पनि उसले भारी मतले यो पालिको चुनाव जित्ने रहेछ । थुक्क मलाई अहिले पछुतो लागेको छ, म चुनावमा उठिनँ ।

मरुभूमि नारायण :
अचम्मै भयो । नसोचेको भयो । उँभो बग्ने खोलो उँदो बग्यो । घाम पश्चिमबाट उदाएर पूर्वमा अस्तायो । घामलाई बधाई छ । ताराको पनि त्यही पारा भयो । जुनको कुरै छैन । यो उँभो मान्छे बगाएर उँदो मान्छे खोज्ने बेला रहेछ । मलाई लाग्छ यो नाकले भात खाने समय हो । मुखले पानी तान्ने समय हो । यो निन्द्रा लाग्ने समय होइन, यो निन्द्रा भोकभोकै भाग्ने समय हो । साँच्चै कतिको निन्द्रा पनि भागेको होला । नभागोस् पनि कसरी ? वर्षौदेखि नाचगान गरेर तरुनीहरु नचाइरहेको ठाउँ, पाखापखेरी गुमाउनु पर्दा कसलाई निन्द्रा आउँछ र ? यतिबेला म स्याल हुँ भन्नेले समेत र्याल निकाल्न थालेपछि कसको के लाग्छ ?
यहाँ स्यालको मात्रै कुरो होइन, बाघको कुरो पनि छ, भालुको कुरो पनि छ । म बाघ हुँ भन्नेले अहिले पाँच इन्चीको पुच्छर लुकाएर दुलो भित्र पसेर सिराकले थुतुनो नछोपी क्वाँ क्वाँ रुनु परेको छ । यो निकै चाख लाग्दो विषय हो । कोही पहिल्यै चतुरो भएर कुना कन्दरामा गएर चुनाव जिते नत्र त तिनको पनि साविककै ठाउँबाट चुनाव लडेको भए उठीबास हुने रहेछ । अहिले तिनै आफूलाई भाले स्याल ठानेकाछन् । कुनै पार्टी विउ नै नरहने गरि पत्तासाफ भए । बाघ सधैं बाघ हुन सक्दैन । बाघ पनि एकदिन लिखुटे स्याल भएर भाग्नुपर्ने रहेछ । दिन आएपछि जाबो बाघलाई त मुसाले पनि खेदाउँदो रहेछ । बाघको किल्ला भत्काउँदो रहेछ । किल्लामा बिल्ला हानेर उपद्रो गर्दो रहेछ ।
खेल रोचक छ । खेल घोचक छ । खेल प्रायोजित छ । खेल सुनिश्चित छ । यो पालि बुढापाका, सादु, सज्जन डाँका सबै पाखा लागे । हुन त यो कुनै नौलो कुरो होइन । एउटा डाँका पाखा लाग्यो कि डाँका नै सखाप भएको मान्न सकिदैन । एउटा डाँका गए अर्को डाँका आँखा चिम्लेर आउँछ । यो एउटा निरन्तर चल्ने प्रकृया हो । यो पालि नसोचेकाहरु ढले, यसरी ढले कि उठ्नै नसक्ने गरी ढले, कति त सुत्नै नसक्ने गरी ढले । लामो इतिहास बोकेको अम्बाको खम्बा ढल्यो ।
पार्टीका टाउकै ढलेपछि अब टाउको बिनाको पार्टी कस्तो हुन्छ भनेर धेरैलाई हेर्न मन लागेको हुनुपर्छ । कयौं चिल्ला तालुखुइले टाउकाहरु बढारिए । कतिको नाम निशान मेटियो । कति माटोमा सललल बगे । कति लडे, कति चिप्लिए, कति उत्तानो परे । कति घोप्टिए भनी साध्यै छैन । लाग्छ कयौं पार्टी बढारिए । बढारिनु पनि पर्छ । सानो देशमा धेरै नालायक तथा लायक पार्टीहरुको काम पनि छैन । ती बेरोजगार पार्टीहरुको के काम ? एउटै पार्टी होस्, त्यो पार्टी ठुलो होस्, ठुलो पार्टी भित्र लुक्ने दुलो होस् बस् यत्ति भयो पुग्यो ।
दशकौंको दक्षिणा आउने ठाउँ गुमेपछि मान्छेलाई कस्तो भएको होला ? बन्चरोले थाप्लोमा हानेको जस्तो भएको छैन होला र ? आउने ठाउँ गुम्यो, पाउने पाठा घुम्यो । कुनैका ऊ त्योका सभापति पछारिए । कसैका श्रीमती लतारिए । खेल विचित्रको भयो । खेल अनौठो भयो । कति उज्यालो मुख लगाएर रोएका होलान् । कति अँधेरो मुख लगाएर हाँसेका होलान् । पीडा पनि विचित्रको छ । बुझिनसक्नुको छ । आफ्नो पूर्खाले खाइनखाई आर्जेको घरमा परचाक्रीले उचालेको ढाडे बिरालो प्रवेश गर्दा कसरी हात फैलाएर स्वागत गर्न सकिन्छ होला र ? यो धेरैलाई क्षति पुगेको समय हो । यो धेरैलाई अफापसिद्ध भएको समय हो । यसरी धुलै उड्ने गरि बढारिनुमा अरुको दोष छैन, दोष आफ्नै छ ।
जनतालाई जनार्दन सम्झिएको भए पो हुन्थ्यो, जनतालाई खोया सम्झेपछि यस्तै हुन्छ । विकास गरेको भए पो जितिन्छ, विनास गरेपछि यस्तै हो भनुँम् भने पनि फेरि यो पालि तिनै विनास गर्नेहरुले नै जिते के । आफ्नै मूलघरमा आगो झोस्नेहरुले जिते । दरबार जलाउनेहरुले नै जिते । सुँगुरको चटनी खान पाउनुपर्छ भन्नेले नै जिते । राष्टिय जनवार राँगोको भुटुवा खान पाउनुपर्छ भन्नेले नै जिते त । अचम्म त यहाँ लागेको छ । पार्टी नै कपि गर्नेले जिते । चुल्ठेले जिते, मुन्द्रेले जिते, गुन्द्रुकेले जिते । बालकले जिते, नाबालकले पनि जिते । बोल्न जान्नेले जिते, बोल्न नजान्नेले पनि जिते । दलालीय जोगीले जिते, रोगीले जिते । देश विदेशीलाई सुम्पिनुपर्छ भन्नेले जिते । आगो लगाउनेले जिते, आगो निभाउनेले हारे ।
गर्व त यहाँ लाग्छ, जसले यो देश बाँच्नुपर्छ भनेर दिनरात खटे आखिर तिनैले हारे । देश बचाउनेलाई मारियो, देश बर्बाद गर्नेलाई बचाइयो । यहाँ यो देशलाई उज्यालो बनाउँछु भन्ने मान्छे नै अन्धकारमा पर्छ । यो देशमा माटो चाहिन्छ भन्ने मान्छे नै खाल्टोमा पर्छ । सडकमा हिंड्नुपर्छ भन्ने मान्छेले नै बाटो भेट्दैन । विकास गर्ने नेताले हार्छ । गुलिया गफ छाँट्ने जित्छ । देश उज्यालो बनाउनेले हार्छ । देश अँधेरो बनाउनेले जित्छ । इमान्दारले कहिल्यै चुनाव जित्दैन, सधैं हार्छ । हा हा हु हु, या या यु यु गर्नेले जित्छ । जमाना या या र यु युको रहेछ । सोधोको जमाना छैन । पानी खुवाउँछु भन्ने मान्छेले नै मर्ने बेलामा पानी खान पाउँदैन । अरुले भेडाबाख्रा जनता भने पनि मलाई त्यसो भन्न मन लाग्दैनँ । हाम्रा सचेत जनताले फेरि हलो उडाएर चन्द्रमामा पुर्याउँछु भन्नेलाई, तारा भूइँमा खसालेर खुकुटी बनाएर खुवाउँछु, भन्नेलाई, म विकास भन्दा विनास गर्छु भन्नेलाई नै भोट दिन्छन् भने त्यो उनीहरुको उन्नत चेतना नै हो । क्यार्नी देशको हितमा काम गर्नेको आयु नै माथिबाट छोटो बनाइएको हुन्छ ।
यो उर्वर समय रहेछ, जसले उठे पनि जित्ने । यतिबेला चुनाव भनेर मान्छे नउठे पनि उसले जित्ने रहेछ । मान्छे त मान्छे भइहाले । यहाँ कुनै ठाउँमा घोप्टिएको चप्पल उठाएको भए पनि चुनाव जितिने रहेछ । प्रतिविम्ब उठाएको भए पनि जितिने समय रहेछ । साथीहरु पहिल्यै डराएर नजित्ने ठाउँमा पनि मान्छेलाई नै उठाए । जुनै क्षेत्रमा भए पनि यो पालि मान्छे नउठाई कुकुर नै उठाएको भए पनि उसले चुनाव जित्ने रहेछ । बिरालो उठाएको भए पनि उसले चुनाव सजिलै जित्ने रहेछ । कतै साँढे गोरु, बहर, बाच्छो, राँगो, भैंसी उठाएको भए पनि उसले बहुमतका साथ चुनाव जित्ने रहेछ ।
यी त भए अझ जनवारको कुरा । यहाँ त डमी, फुत्ला, बुख्याँचा, कात्रो, मुर्दा मात्रै उठाएको भए पनि स्वतहः चुनाव जितिने रहेछ । यो चुनाव जित्ने कति सजिलो समय हो के ? यहाँ त यति मात्रैको कुरा भएन, कछुवा, भ्यागुतो, माछा, चेपागाँडा, सर्प नै उठाएको भए पनि ऊ त्यो पार्टीले सजिलै चुनाव जित्ने रहेछ । सर्प त के सर्पको पुच्छर मात्रै ठड्याएको भए पनि उसले भारी मतले यो पालिको चुनाव जित्ने रहेछ । थुक्क मलाई अहिले पछुतो लागेको छ, म चुनावमा उठिनँ । यहाँ जनवारले समते चुनाव जित्ने समयमा म त मान्छे थिएँ नि गाँठे ? जेहोस् यहाँ जसले जिते पनि, जुन पार्टीले जिते पनि विदेशीको हितमा काम गर्न सकोस् मेरो शुभकामना ।
०००
तनहुँ ।
Subscribe
Login
0 Comments
Oldest







































