साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बारुलाको जुलुसमा; जुम्राको हाहाकार

अब अन्याय अत्याचारका दस्तावेजमा निष्पक्ष न्यायका कलम चलाउ, वर्षौंदेखि बल्झिएका विनाशका घाउहरूमा विकासका मलम लगाउ। यो देश हाम्रो थियो, हाम्रो हो र हाम्रो हुनेछ ।

Nepal Telecom ad

कर्ण सिंह खड्का :

हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको व्यवस्थापक बाङ्गा अक्षरले आयोजना गरेको विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगता २०८२ का उत्कृष्ट पन्ध्र निबन्धहरू फित्कौलीले प्रकाशन गरिरहेकाे छ। यसले विद्यालय र कलेज तहका विद्यार्थीलाई हास्यव्यङ्ग्य निबन्ध लेखनमा प्रेरणा जगाउने अपेक्षा गरिएको छ ।
०००

“जब आवाज, आवश्यकता, आशा र आस्थालाई बेवास्ता गरिन्छ, तब आक्रोश, आन्दोलन र आवेगको ज्वालाले ज्वालामुखीको विकराल रूप लिन्छ”

विश्वका विभिन्न देशहरूले विमान, भू-उपग्रह, हवाई जहाज, हेलिकोप्टर उडाइसक्दा पनि यो जुम्राले चलाएको देशमा केवल कहिले आन्दोलनका नाममा सफा आकाशमा दुर्गन्धित धुवा उडेको छ, कहिले स्वदेशमा शास्ती भोगेर सपनाका सिरक ओढेर युवा जनशक्तिहरू स्वदेशको शीतल, सुत्केरी स्वास्नी, सुत्ने उमेरका बाआमा छोडेर सुर्कने गाँठो हालेर सरसामान सगालेर ऋण जोखो अगालेर सुनौलो सपनाको खोजीमा खाडी मुलुकतिर सुइँकिएका छन्। “नमच्चिने पिङका सय झट्का” भने झै, देशमा कहिले राजतन्त्र ल्याउँछौँ, कहिले प्रजातन्त्र ल्याउँछौं, कहिले लोकतन्त्र ल्याउँछौं भन्दै जनतालाई जुन र ताराको सपना देखाएर सधैँ जस्ताको तस्तैमा सीमित राखिएको छ।

“जुन जोगी आए पनि कानै चिरिएका” भनेझैँ हिजो हजुरबाका पालामा सत्तामा सुतेका ती ढाडे जुम्राहरु आज हाम्रा पालासम्म पनि सुकेको बाँस भइसक्दा पनि, ईश्वरको खास भइसक्दा पनि अझ पनि यमराजलाई उल्लु बनाएर वर्षौंदेखि ह्विलचेयर गुडाउँदै शासन सत्ता जसो तसो सम्हालिरहेका छन्। परिवर्तनका पैंतालिस वटा परियोजना बनाउँदा पनि पराजित भएका पाखण्डी, पतुर, परनिर्भर यी जुम्राहरू सदैव आफ्नै रजाई हुनुपर्छ भन्ने मान्यता राख्छन्।

सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता र सदाचार व्यवस्था कायम गर्छौं भनेर सत्त्र हजार, सोझा साझा सन्तानलाई सिध्याएर बल्ल बल्ल कायम भएको गणतन्त्रका नायकहरूले पनि छेपारोले रङ फेरेझैँ प्रवृत्ति देखाए। चुनावमा साधुका भेषमा चुरीफुरी गर्ने चतुर, चङ्खे, चुकिल्ला चुकुनी जस्ता यी चुइबिरेहरूले सधैँ देशलाई चुहिने भाँडो बनाए अनि यही चुहिने ठाउँलाई टाल्ने बहाना बनाएर अनुदानको नाममा औंठी र अबिरले आफू रङ्गिए तर देशलाई भने रङ्गहीन खुइलिएको मागिखाने भाँडो मात्र बनाए। कानमा तेल हालेर आनन्दले रङ्गमञ्चमा यिनै जुम्राहरूका दर्शक बनेर टुलुटुलु हेरिरहेका यी लाटो देशका तन्नेरी युवाहरूले २०औँ शताब्दी नागिसक्दा पनि नाकाम भएर नाटक मात्र हेरिरहे तर पात्र नवीकरणमा भने कहिले पनि ध्यान पुर्याएनन्।

तर समयले फड्को मारेसँगै देशले ढिलै भए पनि सायद परिवर्तन महसुस गरेर होला एक गोलो भर्खरै पखेटा हालेका बारुलाहरू आफूमाथिको दमन सहन नसकेर मन्त्रालयका ढोकातर्फ ओहिरिएपछि वर्षौंदेखि बाघको छालामा रजाई गरिरहेका यी आदर्शवादी सक्खरले भरिएका चिप्ला कुरा गर्ने गधारुपी रक्त पिपासु जुम्राहरूको जमात छताछुल्ल भएको पाइन्छ।

वर्षौंदेखि बहिरो भएर जनताका बहसलाई बहिष्कार गरी विस्तारमा बिराम गरिरहेका बज्याहरुले बारुलाका बिन्तीलाई पनि बेवास्ता गरी बाहिरिन खोज्दा बारुलाले बुलन्द बोलीमा जवाफ फर्काउन आट्दाखेरि यी बाघको छालामा रजाई गर्ने गधा जस्ता परआश्रित रक्त पिपासु जुम्राहरूले बारुलाहरुलाई बिच्काएपछि बम विस्फोटको अवस्था सिर्जना भयो।

हिउँदमा बेमेल भएर खसेका ढुङ्गाहरू आपसमा ठोकिँदाखेरि निस्केका झिल्काले निर्दोष वनलाई विनाश बनाए झैँ बारुला र जुम्राको भीषण विवाद र विद्रोहले देशका सम्पदा, इतिहास, गौरव र कैयौँ कलिला बारुलाहरूका, निरीह आमाहरूका, अबोध बालकहरूका सपनालाई तहसनहस पारी भावी सुनौला भविष्यका पर्खालहरू गर्ल्याम गुर्लुम ढलाई पुरातन भग्नावशेषमा परिणत गरेको पाइन्छ।

“पाप धुरीबाट कराउँछ” भनेझैँ यी जुम्राहरूको शोषण, दमन, अन्याय र अत्याचारले चरम सीमा नाघे पश्चात् आफ्नो प्राणको आहुति दिएर भएपनि, आफ्नो अस्तित्व मेटाएर भएपनि नवदीपहरूले नवीन परिवर्तनको लागि वर्षौंदेखि विराजमान विकृतिका मूल, विनाशका कारण, विवादका जासुस बदमासहरूको बासस्थानलाई बालेर खरानी बनाई सन्तोषको दीप प्रज्वलन गरी खामुस भएका छन्।

वर्तमान समयमा देशको अवस्था ठ्याक्कै डढेलो लागेर डढेको वनजस्तै भएको छ। मै हुँ भन्ने चतुर स्यालको चुस्ती हराएको छ, चुटकिलाले देश चलाउनेहरूका उक्ति हराएका छन्, आदर्शका सिद्धान्त प्रतिपादन गर्नेहरूका चोकचोकका मूर्ति हराएका छन्, गल्लीगल्लीमा दादागिरी गर्नेहरूका फुर्ति हराएका छन्। देश अहिले हावा भरिएको बेलुन जस्तै भएको छ जहाँ विभिन्न विचार, धारणा, भ्रम रूपी हावा भरिएको छ अनि त्यही भरिएको हावाहरूबीच पनि द्वन्द भइरहेको छ। जतातिर हावाको झोक्काले फुक मार्छ त्यतैतिर देश गुल्टिरहेको छ।

कुरुक्षेत्रको युद्ध पश्चात् सूक्ष्म निन्द्रामा अस्ताएर चयनको श्वास फेरिरहेको हस्तिनापुर जस्तै अहिले जुम्राहरूबाट भर्खरै मुक्ति पाएको राज्य, उच्च रक्तचापको बिरामी भर्खर सामान्य अवस्थामा आएजस्तो भएको छ। तर पनि ठाउँ ठाउँमा फेरि पुन जुम्राहरू सत्तामा आउनको लागि गल्लीगल्लीमा रडाको मच्चाउने योजना बनाउँदैछन्। हिजो बारुलाको भीषण आक्रमणबाट जोगिनको लागि ओरालो लागेको मृगले कुलेलाम ठोके झैँ भागेका यिनै जुम्राका झुण्ड फेरि पुन बाँकी भएको अलिअलि रगत पनि चुस्ने योजनासहित गठबन्धनको गाँठो पारिरहेका छन्।

यहाँ एउटा अचम्म लाग्दो कुरा के छ भने नि! यही बारुलाहरूको गोलामा पनि केही परसञ्चालित दुई चारवटा अरिङ्गालहरू रहेछन्। जसलाई बारुलाहरूले खुब विश्वास गरेर उफारिरहेका थिए। रहस्य खोताल्दै जाँदा त चलचित्रका नायकहरु पनि अन्तिममा खलनायक भएको साबित हुँदा अचम्म लाग्छ। हिजो आज जताततै भ्रमको खेती मात्र छ। कहिले बारुला सही भनिएको छ, कहिले अरिङ्गाल सही भनिएको छ त कहिले जुम्राहरू नै सही भनिएको छ। पुरानो नीतिलाई नवीकरण गरेर, नयाँ योजना, नयाँ प्रतिबद्धता, नयाँ सपना देखाएर उही पुराना चाम्रिएका जुम्राहरू भर्खरै जन्मेका उपिया जस्ता उफ्रिरहेका छन्। उनै चाम्रिएका जुम्राहरूलाई पराजित पार्न एकातिर अरिङ्गालहरू लागि परेका छन् भने अर्कोतिर बारुलाहरू लागि परेका छन्। देशमा चारैतिर दुविधा नै दुविधा छाएको छ।

“जब भयो राति अनि बुढी ताती” भनेझैँ शरीरमा प्रशस्त ऊर्जा, जोश, होस हुँदाको बखतमा साठी नपुगुन्जेल लाटीको लुंगी लुछारी, डिस्को र बारमा तरुनी पछारी चारवटा सिरक चौध वटा सिरानी च्यापेर कुम्भकर्ण जसरी घुरी घुरी निदाएकाहरू अहिले बारुलाहरूले घर घरमा आगो झोसेपछि सायद बल्ल निन्द्रा खुलेर होला पुरानो प्रतिबद्धताहरूलाई सम्झेर उही अतितका गल्ती पुन दोहोर्याउने गुप्त आशयले, लाजले भरिएका उही शिर फेरि पुन उही जनताका आँगनमा निहुरिँदै झुक्न बाध्य भएका अवस्थाहरू हिजो आज छरपष्ट देख्न सकिन्छ।

“पहिले सालीका आशक्तहरू पछि कालिका भक्त हुन्छन्” भनेझैँ कैयौँ वर्षदेखि बदनामीको खाल ओढेका यी घुस्याहा जुम्राहरू हिजो आज पुनः शुद्ध साधुसन्तको भेष धारण गरेर तीर्थ यात्रा गर्दै पुन सत्तामा आसिन हुने सपना बुन्दैछन्। यदि संयोगवश तिनै जुम्राहरू पुनः सत्तामा पुगे भने त्यो दिन सिङ्गो नेपाल र नेपालीको हार हुनेछ। कयौँ बारुलाहरूको बलिदानी अर्थहीन र सत्यानाश हुनेछ, अनि फेरि पुन भ्रष्ट, शोषक, सामन्ती, पतित, पापी पिशाचहरूको बास हुनेछ।

तर हामीलाई थाहा छ, जबसम्म बारुलाहरूको अस्तित्व रहिरहन्छ तबसम्म सायद जुम्राहरूले राज गर्ने दिन सायद कदापि पनि आउँदैन होला। किनभने आजका बारुलाहरु हिजोका बारुला जस्ता परम्परावादी, अन्तर्मुखी, अशिक्षित, अन्याय र अत्याचारलाई अँगालेर अस्ताउने खालका छैनन्। आजका बारुलाहरूले विश्व इतिहास, अर्थतन्त्र, आधुनिकता, अराजकता, अध्ययन, अनुसन्धान सबै कुराहरूलाई गहन तरिकाले बुझेका छन्। घरको चार दिवारभित्र बसेर विश्वलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने यी बारुलाहरू अझै पनि पूर्णरूपमा जागेका छैनन्। यी बारुलाहरूले चाहे भने युरेनियम उत्खनन गरी बम बारुदको निर्माण गरी पलभरमै ध्वंश मच्चाउन सक्ने क्षमता राख्दछन्।

बाहिरबाट हेर्दा अपरिपक्क, पखेटा नहालेका, असक्षम, अविकसित झुसिल किरा जस्ता देखिएता पनि यी बारुला भित्र अदम्य साहस, अनगिन्ती योजना, अनन्त सपना, अविरल सामर्थ्य र अहोरात्र खट्न सक्ने दृढता र धैर्यता रहेको पाइन्छ। “त चिता म पुर्याउँछु” भनेझैँ पछाडिबाट सहायता गर्न बुढ्यौली अवस्थाले छाला चाउरी परिसके पनि विचारका विराट शब्द भण्डार बोकेर हात र साथ दिन तत्पर अग्रजहरूले बारुलाहरूलाई सशक्त साथ, सहयोग र सहायता प्रदान गरी सहजै निभ्न दिएका छैनन्।

अबको परिवर्तन बारुल्लाले ल्याउँछन् भन्ने पूर्ण विश्वास र आस्थाको कौसी भित्र सुरक्षित महसुस गरिरहेका करोडौं जीवित आत्माहरूको आकांक्षा पनि जुम्राहरूको अन्त र बारुलाहरूको अनन्त साहस, सामर्थ्य, सदविचारले सजिएको सिङ्गो नेपाल हेर्ने रहर छ। हजुरबाहरूले हाँस्दै हँसाउँदै हाँकेको देशमा, हजुरआमाले हल्दी लगाउलिन भनेको उल्टै हँसिया चलाएपछि अब भने जेष्ठ पुस्ताहरूबाट उन्नति, प्रगति र परिवर्तनको अपेक्षाको दियो नबल्ने गरी निभेको पाइन्छ।

बसन्तले पालुवा खोजे झैँ, किनाराले बालुवा खोजे झैँ, भान्साले मालुवा खोजे झैँ, भेन्डीले आलुवा खोजे झैँ देशको वर्तमान अवस्थाले भने विचारले परिपक्क, विश्वासले निर्धक्क बसन्तमा ढकमक्क फुलेका फूलको केस थुपारेर मह बनाउन अहोरात्र खटिरहेका लगनशील, जागरुक, जोशिला र इलमी मौरीरूपी बारुलाहरू खोजिरहेको छ।

नखोजोस् पनि कसरी ? वर्ष कटेपछि रुखले त पत्र फेर्छ, शरीरले त वस्त्र फेर्छ अनि आत्माले त शरीर फेर्छ भने यो त झन् मुलुक हो। मुलुकमा भिन्न भिन्न मान्छेका मन र मस्तिष्कमा फरक मनसाय हुन्छन् जसले छिनछिनमा नवीन परिवर्तन, नयाँ आयाम, नयाँ डोरेटो र नयाँ परिष्करणको आवश्यकता महसुस गरिरहन्छ। दुनियामा केही पनि र कोही पनि स्थायी रहँदैनन्। फरक भनेको समयको अघिपछि मात्र हो। हो, त्यस्तैमा मुलुकले र मुलुकवासीहरूले पनि ढिलै भएपनि परिवर्तनको खाँचो महसुस गरेर होला अँध्यारो रातलाई झलमल्ल दिनमा परिणत गर्ने अठोट सहित आज लाखौं सिताराहरू चम्किने प्रयत्न गर्दैछन्। यी सिताराहरुलाई सुस्ताउन, अस्ताउन, निदाउन र निभ्न अब कुनै हालतमा पनि दिनु हुँदैन।

अब वृद्ध बाआमा, कलिला बालक, बलिया वयस्क र बेवारिस्य छोडिएको देशको जिम्मेवारी बारुलाको काँधमा आएको छ। अब बारुलाहरूले बालकले जसरी बोधो तरिकाले बुझेर हुँदैन। अब बारुलाहरूले बाआमाले जसरी बुद्धिमानी र विवेकपूर्ण तवरले कसरी मुलुक र मुलुकबासीहरुको अस्तित्व, आत्मसम्मान, आत्मबल, आश्वासन र आस्थालाई अजर अमर बनाएर आश्रयस्थलमा आसिन राख्ने भन्ने कुरामा सोच्नुपर्ने देखिन्छ।

अब देशलाई आधुनिकता र आविष्कारको बलियो कवचले हिफाजत गरी बारुलाहरूले शुद्ध मन, वचन, कर्म र कला कौशलले देशलाई कश्मिर बनाउनुपर्ने खाँचो देखिएको छ। अब देशलाई “मेरो भन्दा पनि हाम्रो” खाँचो परिरहेको छ। व्यक्तिगत स्वार्थ, द्वेष, लोभ लालचलाई लत्याएर अब मुलुकको साझा उद्देश्यको झोला भिरेर समुन्नत राष्ट्र निर्माणका लागि लाग्नुपर्ने देखिन्छ। हजुरबाहरूले हजार पटक प्रयास गर्दा पनि हारेको महसुस गरेको मुलुकलाई अब हामीले यसको पुरानो काँचुली फेरि भित्री मनदेखि खुली हाँस्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ।

फेरि जिम्मेवारीको गतिलो भारी बोकाएर मात्र पनि त हुँदैन। मुलुक हो हाँक्नको लागि सबैको साथ, सहयोग, समर्थन र सहकार्य एवं सद्भावको उत्तिकै आवश्यकता पर्दछ। मुलुक हाँक्ने कुरा सवारी साधन हाँक्ने जस्तो सहज हुँदैन, जहाँ आफ्नो कला र सीप छ भने एक्लैले हाक्न काफी हुने। यहाँ त पाइला अगाडि सार्दै गर्दा कदम कदममा रोक्नका निम्ति कयौँ बाधा, व्यावधान र रोकावटहरूका पर्खाल क्रमश तेर्सिन पुग्छन्। जिम्मेवारीको बोझिलो भारी बोकेका बारुलाहरूलाई रोक्न खोज्ने यस्ता रोकावटका कारणहरूलाई पन्छाउन तपाईँ हामी पनि लागि पर्नु पर्छ। दुध खाने बच्चाले जस्तै क्षणिक खुसीको लागि मासुभातमा बिकेर आफ्नो इमान, उत्तरदायित्व, जिम्मेवारी र कर्तव्य तपाईँ हामीले पनि बिर्सनु हुँदैन। हिजोका दिनहरुमा जानीजानी जे जस्ता गल्तीहरू गरियो त्यस्ता गल्तीहरूलाई अब भने दोहोर्याउने अर्को गल्ती कदापि पनि गर्नु हुँदैन।

आँखा अगाडिको सुनको थुप्रोलाई नकारेर केही माइल सङ्घर्षपूर्ण यात्रागरेपछि देखिने हिराले सजिएको समुन्नत मुलुक हेर्ने आँट, हिम्मत, साहस, सामर्थ्य र धैर्यता तपाईँ हामीले पनि राख्नुपर्ने देखिन्छ।

ल झट्टै एकचोटि विचार गरिहाल्नुस् त; के ती टाढा हिमालको काखमा बस्ने सुदूर पूर्वका, सुदूरपश्चिमका बाबा र बाबुहरूलाई त्यहाँका भिरपाखाहरूमा चिल्ला सडकहरू फिजिएका हेर्ने रहर छैनन् होला त?? विवसताको बोरा ओढेर, आफू भोकै बसेर पनि सधैँ सन्तानलाई आधा पेट मात्रै खुवाउन सकेकी ती आमालाई आफ्ना सन्ततिले सन्तोषमानी पेटभरि खाएको हेर्ने रहर छैन होला त ? के ती पराई मुलुकमा पीडाका पोखरीमा डुबेर परिवारको, घरको र देशको प्रेमलाई पोको पारेर परिश्रम गर्न बाध्य भएका हजारौँ रामबहादुरहरूलाई स्वदेशमा नै पौरख गरेर पसिना पोखी पेट पाल्ने धोको छैन होला त?? के हामी,दिनहुँ हजारौँ रामबहादुरहरुका सन्ततिहरू गाँस, बास, कपास र उच्च शिक्षाको खोजीमा सुन्दर सपना सजाएर, शीतल छहारी छाडी रगत पसिना पोख्न खाडी र बिरानो मुलुकमा लम्केका हेर्न चाहन्छौं त ? कदापि पनि हामी यस्ता दयनीय, दुःख लाग्दा, सङ्घर्षपूर्ण र जोखिमपूर्ण अवस्था हेर्न रुचाउँदैनौँ।

त्यसैले आउनुहोस् अब हातेमालो गरेर हाम्रो मुलुक हामी आफैले हराभरा बनाउन लागि पर्नुपर्छ। आफ्नै बलिया पाखुरा, अदम्य साहसले अद्भुत, आकर्षक, अनौठो, अचम्मको आवास बनाउन आजै तत्पर बनौँ। “चौटा खान गएकी बुढी, झोलमा डुबेर मरिछे” भन्ने उखान अब कोही पनि रामबहादुरहरूको जीवनमा लागू नहोस्। मनभरि अनन्त सपना सजाएर, गहभरि भारी आँसु बोकेर कोही पनि बारुलाहरु, अरिङ्गालहरू र यहाँसम्म कि जुम्राहरू पनि विदेशिन नपरोस्।

भनिन्छ कल्पनालाई कर्ममा परिवर्तन गर्न सकेको खण्डमा कुरूप नर्क पनि सुन्दर स्वर्गमा परिणत हुनसक्छ। यदि जुम्राहरूको वर्षौंदेखिको अनुभव, अरिङ्गालहरूको दूर दृष्टि र दूरदर्शीता अनि बारुलाहरूको अदम्य साहस, शक्ति र सामर्थ्यलाई एउटै मुठीमा बाँध्न सकेको खण्डमा साँच्चै नै यो मुलुक स्वर्गको टुक्रा बन्ने कुरामा दुई मत छैन। त्यसैले अब देशप्रति अपनत्व महसुस गरौँ, देशको दुखाईलाई आफ्नो दुखाइ अनि देशको रोदनलाई आफ्नै रोदन ठानेर हातेमालो गरी अब अन्याय अत्याचारका दस्तावेजमा निष्पक्ष न्यायका कलम चलाउ, वर्षौंदेखि बल्झिएका विनाशका घाउहरूमा विकासका मलम लगाउ। यो देश हाम्रो थियो, हाम्रो हो र हाम्रो हुनेछ त्यसैले यसको काँचुली फेर्न पनि हामी नै लागि पर्नुपर्छ।

आशा गरौं भोलि बिहान उदाउने सूर्यका किरणसँगै अनिष्ट, अन्याय, अत्याचार, भ्रष्टाचार जस्ता समाजका विकृति विसंगतिहरु अँधेरीसँगै हराएर जाउन अनि बिहानीको पारो घामसँगै सदाचार, शिष्टाचार, सम्पन्न, समुन्नत, सन्तुलित, सुसर्जित, सुसंस्कृत, सभ्य र सुनौलो संसारको सिर्जना होला।
म बारुलाको, अरिङ्गालको र हामी सम्पूर्ण नेपालीहरूको यही आशा र अपेक्षा छ।

“देश र देशको अस्तित्वलाई जोगाएर बाँच्नुपर्छ
हाम्रो युवा जोश र जाँगर देशकै निम्ति साँच्नुपर्छ”

०००
कक्षा -१२, रिलायन्स इन्टरनेशनल एकेडेमी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x