साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको सांसद्

अपर्झटको यस बिउँझाइ सँगसँगै ओछ्यानमा कता कता के के चिसो चिसो भए जस्तो पनि लाग्यो । ह्वास्स केही गन्ध आए जस्तो पनि लाग्यो । सिकसिकाउँदै यसो ओछ्यान छाम्छु त सबै भिजिसकेको रहेछ ।

Nepal Telecom ad

‘जय नेपाल’ हजुर ।
काखीमा लौरो थन्क्याउँदै सलक्क परेको एउटा पुलिसले तनक्क तन्केर सलाम गर्दैगर्दा पहिला त मेरो होसहवासै उड्यो । सधैँ पुलिसका अगाडि पर्‍यो कि टाउकामा लाठी र लौरो बज्रने म मान्छेलाई यसले आज के भएर काखीमा लौरो थन्क्याएर जय नेपाल ठोक्यो ! भन्दै रनभुल्लमा परेँ । फेरि अर्कातिर ‘जय नेपाल’ मा पटक्कै वास्ता र विश्वास नभएको होनहारको कट्टर राष्ट्रवादी म मान्छेलाई यसले कसरी केका आधारमा ‘जय नेपाल’ भन्यो भनेर म अर्को रनभुल्लमा परेँ । कतै यसले मलाई जिस्क्याएको त हैन भत्रे शङ्का पनि मनमनै उब्ज्यो । पार्टीले नै मेरो परीक्षणका लागि छद्म भेषमा कोही जासुस खटाएको हुन सक्ने कुरामा पनि म त्यत्तिकै सशङ्कित भएँ ।

मैले हात नउठाउन्जेल उसले जय नेपालका लागि अर्पेको आफ्नो हात तल झार्ने छाँटकाँटै देखाएन । न थन्क्याएको लौरो झिक्छ, न जिउ लुलो पार्छ । निकै अप्ठ्यारोमा परेँ म । ‘जय नेपाल’ भनौँ रगतछापमा विश्वास गर्ने आफूलाई पटक्कै चित्त नबुझ्ने कुरो, नभनौँ उसको अभिवादनको मात्र होइन आफ्नो इज्जतका लागि उसले अर्पेको सम्मान पनि स्वीकार गर्न नसकेको आरोप खेप्नु पर्ने । फेरि अर्कातिर जय नेपाल भन्दा आफ्ना पार्टीका मान्छेले थाहा पाए भने तिनका आँखाको तारो हुनुपर्ने । शङ्काको घेरामा बाँधिनु पर्ने । एकाएक नचिताएको अनौठो सकसमा परेँ म ।

यताउति आँखा घुमाएँ । दायाँ बायाँ कसैलाई देखिन । अनि नेपालको जय होस् भत्रे कुरा मन नपर्दानपर्दै पनि अनायास मेरा मुखबाट फुत्त फुत्किहाल्यो- ‘जय नेपाल’ ।

उसले उठाए जस्तै गरी मैले पनि जानी नजानी पत्तै नपाई पाँच औँलासहितको हत्केलो निधारछेउ पुर्‍याएर सर्लक्क तेस्र्याइसकिछु । कहाँको मुड्की कहाँको लबटो ! म झसङ्ग भएँ । अब पछुताएर केही हुनेवाला थिएन । सच्चिने ठाउँ पनि कतै बाँकी रहेन । आफैँले आफैँलाई चित्त बुझाउनेतिर लागेँ । होसमा गरे पनि बेहोसमा गरे पनि काम त ठिकै गरेँ भत्रे पनि लाग्यो । जे होस् नहुनु भइसक्यो । पछुताएर पनि के गर्ने ? चित्त बुझाएँ । कमसेकम एक्कासि आइलागेको यो अनौठो सङ्कटबाट त उन्मुक्ति पाएँ । यत्तिले पनि एकछिन गर्वको महसुस गरायो । सन्तोषको सास फेरेँ । जीवनमा पहिलोपटक निकै ठूलो सफलताको महसुस गरेँ । निकै ठूलो विजयको अनुभूति गरेँ ।

‘घुक्’ ‘घुक्, घुक् ।’
‘घुक्’ ‘घुक्, घुक् ।’

कसो टोक्न भ्याएन बजियाले । जुठै हाल्न आँटिसकेको थियो, धत्र बचियो । धन्यवाद छ है भाइ तपाईंलाई । म मेरा पछिपछि लागेका युवाहरू मध्ये एउटालाई यसरी नै धन्यवाद दिइरहेको थिएँ । हुन पनि त्यस केटाले मतिर त्यसरी भुक्तै आइलागेको कुकुरलाई हत्त न पत्त सांसद््ज्यू भनेर मेरो परिचय नदिएको भए त्यसले मलाई पक्कै टोक्थ्यो । रक्ताम्मे पाथ्र्यो । छोड्दैनथ्यो । तर कुकुर भनेर के गर्नू ? त्यो पनि निकै समझदार रहेछ । त्यस केटाको एक वचनमै त्यसले मलाई सांसद् भनेर चिन्यो । मेरो हैसियत थाहा पायो र मसँग केही पाउने आसले मेरा मुखतिर हेरेर पुच्छर हल्लाउन थाल्यो । जसले जे भन्यो त्यसलाई त्यही पुर्‍याइदिने मेरो हैसियत यस कुकुरले पनि बुझेकोमा मेरा नाकले एकाएक भदौरे घिरौँलाको ठाउँ ओगट्यो ।

मैले नचिनेको त्यो केटोसहितका अन्य युवाहरू निकैबेरदेखि मेरा पछिपछि लागिरहेथे । मैले ठिक बेठिक जे बोलिरहे पनि मेरा कुरामा सही थापिरहेथे । हो, हो, हो । हजुरले भनेका कुरा ठिक । हो, त्यो त त्यस्तै हो । ठिक पार्नुपर्ने त्यसलाई । मैले त अस्ति नै भनेको थिएँ नि कसैले मानेनन् । यस्तै बातचित र गरमागरम बहस भइरहेथ्यो । मेरा कुरा काट्ने कोही देखिएका थिएनन् । बरू उल्टै भन्थे- हजुर भन्नुस् मात्रै न, हामी ठिक पारिहाल्छौँ नि त्यसलाई । के को चिन्ता लिनुहुन्छ । भौतिक अभौतिक जे भने पनि तामेल गर्छौँ । जसरी भन्यो त्यसरी नै तामेल गर्छौँ । यसो इशारा मात्र गरे पुग्छ । छुच्चो बनेर मुखै खोल्न पनि पर्दैन । यसो सामान्य सङ्केत मात्र गरे पनि हामी त्यसै बुझ्छौँ हजुरका कुरा । म दङ परिरहेथेँ उनीहरूका कुरा सुनेर । यस्ता दिन पनि आउँदा रहेछन् । जे भन्यो त्यही पुग्ने । जसो भन्यो त्यही हुने । चारैतिर आफ्नै आफ्ना । औँलो ठड्याउने हिम्मत कसैको नहुने । क्या मज्जाका दिन ।

त्यता नजाऊँ हजुर, नजाऊँ । जाँदै नजाऊँ । पछिपछि लाग्दै गरेको एउटा केटाले अगाडि बढ्दै गरेको मलाई च्याप्प पाखुरामा समातेर रोक्यो । किन ? मैले पनि रवाफिलो पाराले सोधेँ । ऊ मलाई सम्झाउँदै थियो- हजुर त्यतातिर आसेहरूको भीड छ । कोही धान माग्छन् कोही संविधान । कोही नुन माग्छन् कोही कानुन । कोही आहतका कुरा गर्छन् कोही राहतका । कोही क्षतिपूर्तिका माग तेर्स्याउँछन् त कोही निष्पक्ष छानबिनको माग । कोही सत्य निरूपण होस् भन्छन् कोही अपराधीलाई कारवाही गर् । कोही वेपत्तालाई पत्ता लाइदे भन्छन् कोही भएकालाई ठेगान लाइदे भन्छन् । कोही तातो न छारो रोजगारीका कुरा झिक्छन् कोही निकालाका । कसका मात्र कुरा सुन्नु ? कति मात्र सुन्नुँ ? सुन्दा सुन्दा दुइटै कान प्वाल परिसक्यो । सबै हामीले नै जिम्मा लिए जस्तो ।

हैन, हैन हजुर त्यतातिर पनि नजाऊँ । त्यतातिर गएपछि देखेको नदेख्यै गर्नुपर्छ । त्यसो गर्नुभन्दा जाँदै नजानु वेश । के छ त्यतातिर ? मैले जात्र चाहेँ । जमातभित्रको एउटा अगुवा युवा भन्दै थियो- त्यतातिर सेता लुगा लगाएर विरामी झुक्क्याउने हरूको भीड छ । रोगको व्यापार गर्नेहरूको चकचकी छ । त्योभन्दा अझ अगाडि जाने हो भने अक्षर व्यापारीहरूको चर्तिकला हेर्नुपर्छ । अक्षर व्यापारी भनेका के किताब पसले ? मैले फेरि जिज्ञासा राखेँ । हैन, हैन त्यसो होइन । त्यतातिर त स्कुल कलेज खोलेर विद्यार्थीका अभिभावकलाई जीउँदै तावामा फ्राइ गर्नेहरूको व्यापार छ । मेरो जिज्ञासा ऊ यसरी पूरा गर्दै थियो ।

कतै जान नहुने हो भने जाने कता त ? म उकुसमुकुसमा परेँ । ऊ भन्दै थियो- कतै पनि नजाने । हजुरलाई के नपुग्दो छ र ? जानै परे सक्कली रूपमा होइन, नचित्रे रूपमा जाने । कतै केही नदेख्नुपर्ने कुरा देखियो भने आफूलाई फाइदा पुग्ने जस्तो लागे चासो राख्नै पर्‍यो, होइन भने देखेको नदेख्यै गर्ने । अनौठो मात्रै पर्दैन । हजुरले मात्र होइन, सबैले गर्ने त्यही नै हो । चलिआएको कुरा झ्वाट्टै तोड्न कहाँ हुन्छ र ? चलिआएको कुरा तोड्नेतिर लाग्ने हो भने यो क्रान्तिकारी भएछ, अग्रगामी भएछ आदि भन्दै छोइछिटो गर्न थाल्छन् । समय विचारेर काम गर्नुपर्छ हजुर । त्यसैले अहिले हतार नगरौँ हजुर त्यतातिर जान । चार पाँच वर्षपछि चुनाउ भएछ भने भोट बढाबढमा भाग लिन फेरि जानैपर्छ । त्यतिखेरै जाउँला नि । अहिले केको हतार हजुर ? नजाऊँ त्यतातिर ।

म कुम नचाई नचाई, खुट्टा उचाली उचाली जोसिएर भाषण ठोकिरहेथेँ । बेलाबेलामा तालीको गड्गडाहट सुनिन्थ्यो । म रातो पिरो मुख बनाएर अझै जोसिइरहेथेँ । अहिले नै सबका सब ठिक पार्छु जस्तो लागिरहेथ्यो । तेरा कुरा बेठिक भत्रे कोही भेटिएनन् त्यहाँ पनि । अरूले घोडा चढेको निकै अघिदेखि देखिरहेकाले तिनलाई देखाउनकै लागि पनि म धुरी चढेर कुर्लन थालेँ । मान्छेका भीड पनि कति हो कति ? ललाइफकाइ गरेर बलजफ्ती गाउँघरबाट उठाएर ल्याएका जस्ता । गाउँ गाउँ पसेर धम्क्याएर लखेटेर ल्याएका जस्ता । जान आउनका लागि गाडी पनि आफैँले खोजिदिएर ल्याए जस्ता । म आफैँ विश्वास गर्न सकिरहेको थिइन, त्यत्रो अचम्मको भीड । कहाँबाट उर्ल्यो त्यत्रो मानवसागर । म बुर्लुक्क् बुर्लुक् उफ्रेँ । खुट्टाले सर्लक्क भुइँ छाड्यो ।

जिन्दावाद जिन्दावाद । हाम्रो नेता जिन्दावाद- जिन्दावाद जिन्दावाद ।

स्वतःस्फूर्त रूपमा रङबेरङका नारा घन्कन थाले । सुरक्षाको कुनै खतरा देखिन । नागरिक सुरक्षामा छम्छमी नाचेको महसुस गरेँ । तिनैसँग रङ्गिएर शहर बजार गाउँ घर चारैतिर घुमेँ । सबैतिर विकासै विकास देखेँ । अभाव काहीँ कतै केही देखिन । न कोही गरिब देखेँ, न कोही सुकुम्बासी नै । गुनासो काहीँ कतै केही भेटिन । गर्नुपर्ने काम पनि बाँकी केही नै रहेनछ । अनि कसको गुनासो आउनु । ढुक्कसँग सन्तोषको सास फेरेँ । नारा यथावत् घन्किरहेथ्यो ।

जिन्दावाद जिन्दावाद । हाम्रो नेता जिन्दावाद- जिन्दावाद जिन्दावाद ।

मादल आफ्नै सुरमा घन्किरहेथ्यो । क्यासेटका चक्का घन्केझैँ नरोकिईकन नयाँ नयाँ गाना घन्काइरहेथे वरिपरि झुम्मिएका युवा जमात । मलाई नपुग्दो केही थिएन । आँसु चुहाउनेसँग आँसु चुहाइदिन्थेँ, हाँसो मिसाउनेसँग हाँसो । कुनै बेला कोही गम्भीर देखिए म पनि उही जस्तो गम्भीर बनिदिन्थेँ । मसँग मागेका कुरा कसैले केही नपाएको भत्रे छँदै थिएन । मागेका कुरा मुखबाट खस्नै नपाई सबैले पाएका थिए । कल्पवृक्ष बनेको थिएँ म त्यतिखेर । मादल र गीत घन्किँदै जान थालेपछि वरिपरि झुम्मिने झुण्ड नाच्न थाले । छमछम नाचेर मैले पनि तिनलाई साथ दिएँ । नाच्नैका लागि भनेर जोडतोडका साथ एउटा सुमधुर गीत पनि एकनासले घन्किरहेथ्यो-

चार पाँच वर्ष चल्छ हजुर यसै गरी गरी
के को दुःख गर्नु हजुर ? अघि सरी सरी ।।
के बोलेको हिजो अस्ति पर्सि बिर्सिहाल्छन्
लाप्पलिप्प चिप्लो घसे भोट फेरि फाल्छन् ।।

खान लाउन खर्च हुने बाहेक अरू समय म फुर्सदै फुर्सदमा रमिरहेथेँ । अब मलाई आफ्नो माटोभित्रको सबै रहर पूरा भइसकेको थियो । नमच्चाउनु पर्ने वितण्डा मच्चाइसकेको थिएँ । सुत्ने खानेदेखि हिँड्ने डुल्नेसम्मका सबै कुरामा अब कुनै सोख बाँकी थिएन । न स्वास्नी, न छोराछोरी, न अरू कोही आफन्तकै कुनै फर्माइस पूरा गर्न बाँकी थियो । केही थिएन । म हरतरहबाट सन्तुष्ट थिएँ ।

सार्वजनिक रूपमा मुखले प्वाक्क भत्र नसके पनि यस माटोका प्रत्येक बस्तीका बासिन्दासँग पनि अघाइसकेको थिएँ म । विदेशी भूमि अब मेरो आँखाको तारो बत्र थालेको थियो । जतिसक्दो छिटो विदेशी स्वाद चाख्न लालायित थिएँ म । त्यसका लागि मेरो जिब्रो र पाइला एकसाथ सग्सगाउन थालिसकेका थिए । छट्पटाउन थालिसकेका थिए । पछिपछि लाग्ने सोझासिधा अरू भीडलाई यस कुराको सुइँकोसम्म थिएन । यस्ता कुरामा म निकै चनाखो भइसकेको थिएँ । धेरैले धेरै कुरा सिकाइसकेका थिए मलाई । कतिपय कुरा मैले यताउति गर्दागर्दै आपैmँले पनि सिकिसकेको थिएँ । यस्तै सिकाइका कारण मेरा बगलीमा पासपोर्ट मात्रै पाँच पाँचवटा थिए । म अरूका अगाडि देखिनमा मात्र सेतो थिएँ, कारोबार औँसीको रात जस्तो कालो । तर एउटा कुरा भने अचम्मै भो । जतिसुकै कालो कारोबार गरे पनि अरूका अगाडि यी सबै कञ्चनजङ्घाका हिउँझैँ कञ्चन र सफेद देखिन्थे । यी र यस्तै अरू कारोबारबाट दुई चारवटा देश सयर गर्न घर खेत बेच्नुपर्ने वा तलब भत्ताबाटै रकम खर्चिनु पर्ने झन्झटबाट पनि मैले आफूलाई मुक्ति दिलाइसकेको थिएँ । एक दिन के सुर चढ्यो म एकाएक विदेश घुइँकिने टुङ्गोमा पुगेँ । सांसद्ले फोन गरेपछि कस्ता कस्ता कुरा आइपुग्छन् जाबो टिकट भत्रे लाग्यो । नभन्दै एक कल फोनका भरमा सपरिवार विदेश उड्ने जहाजी टिकट हुर्हुराउँदै मेरा हातमा आइपुग्यो ।

गाडी उसैले पठाइदियो एयरपोर्टसम्म जान । गाडीबाट सर्लक्क के ओर्लेको मात्र थिएँ दुईचार जना पुलिसले काखीमा लौरो तेर्स्याएर फेरि उसैगरी एकसाथ जय नेपाल ठोके । बुट ठोकाइले सडकको पिच समेत झण्डै नभासिएको । सांसद् जस्तो मान्छे के सानु स्वरमा बोल्नु भनेर ठूलै स्वरमा जय नेपाल ठोकेँ मैले पनि । ठूलै स्वर निकालेर कराएपछि सँगै सुतेकी बूढीले चाल नपाउने कुरै भएन । चाल पाइछ । बेस्कन हप्काई । दिनभरी सर्वहारा बनेर चारतिर सग्बगाउँछौ राति सुतेका बेलामा चाहिँ के को जय नेपाल नि । खुस्क्यौ कि क्या हो ?

बूढीका चिच्याहटले म झसङ्ग बिउँझैँ। सपना र विपनाको यथार्थतामा आकाश र जमिनको भित्रता थियो । अपर्झटको यस बिउँझाइ सँगसँगै ओछ्यानमा कता कता के के चिसो चिसो भए जस्तो पनि लाग्यो । ह्वास्स केही गन्ध आए जस्तो पनि लाग्यो । सिकसिकाउँदै यसो ओछ्यान छाम्छु त सबै भिजिसकेको रहेछ । उज्यालो हुन अझ केहीबेर बाँकी थियो । बिहान बिहानै तात्तातै अर्को खप्की खानुभन्दा बाहिरिन ठिक ठानेँ । उज्यालो नभए पनि जे त होस् भन्दै हातमा लौरो बोकेर मर्निङ वाकको निहुँमा खुरूक्क बाहिरिएँ । मैले त्यसरी ओछ्यान भिजाएको सोझी बूढीले चालै पाइनन् । नेताले सर्वसाधारण जनतालाई झुक्क्याएभन्दा सजिलो भो मलाई घरकी बूढी झुक्क्याउन । कम चलाख छु र म ? आखिर सपनाकै भए पनि यो देशको सांसद् पो हुँ त म । ख्यालख्यालको कुरा छ ?

मिर्मिरे, २०७१ कार्तिक-मङ्सिर, निबन्ध विशेषाङ्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x