सराेज घिमिरेहामी
कवि भूपी शेरचन आजका मितिसम्म बाँचेका भए सायद यस्तो कविता लेख्थे होलान् ।

कवि भूपी शेरचन आजका मितिसम्म बाँचेका भए सायद यस्तो कविता लेख्थे होलान् ।
हामी जतिसुकै फेसबुक चलाऔँ
जतिसुकै आदर्शका कुरा गरौँ
जतिसुकै मपाईँत्व छाटौँ
तर, हामी फगत कार्यकर्ता हौँ
निरिह कार्यकर्ता
जो आश्वासनद्वारा माथि उचालिन्छौँ
र आफैँलाई नेता ठान्छौँ,
उनै प्रभुको इशारामा यताउति दगुर्छौँ
र आफूलाई देशको जिम्मेवार भन्ठान्छौँ,
अनि मौका आएपछि भन्ने
हामी आफू र आफू जस्तालाई बिर्सन्छौँ
र आफन्तलाई
आफ्नो वर्गलाई
मतदातालाई उपेक्षापूर्वक
हामी भुक्तछौँ
र आफ्नो भुकाइलाई महानवाणी भन्ठान्छौँ
अनि अन्त्यमा एक दिन थच्चिएर चकनाचुर हुन्छौँ
केवल मतदातामा
विरक्त मतदातामा
र कुनै पालिका, वार्ड वा गाउँमा
चाउरिएर बिताउँछौँ बाँकी जीवन
मनभरि गुनासा पालेर
समाजका बेसरम मानिस अँगालेर
हामी जतिसुकै नेपाल बन्द गरौँ
जतिसुकै भेला गरौँ
जतिसुकै नारा लगाऔँ
तर हामी भित्रभित्रै स्वार्थी छौँ
हाम्रो सङ्ख्याको कुनै महत्त्व छैन
हाम्रो श्रमको कुनै अर्थ छैन ।
सिन्काले घोचेको बेलुनभन्दा बढी अर्थ छैन ।
हामीले बाहिर जतिसुकै इमान देखाए तापनि
भित्र भित्र बेइमानी भरिदै गइरहेका छौँ
हाम्रो बाहिरको आदर्श झुटा हो,
भ्रम हो
कुनै व्यक्तिले पालेको चम्चेभन्दा
यसको बढ्ता उचाइ छैन
वा पार्टी फेरि फेरि पद पड्काउने
कुनै नेताको स्वाभीमानभन्दा यसको बढी विशेषता छैन ।
खरानीका लागि घर पोल्ने
साधु नेताको त्यागभन्दा यसको बढी विशेषता छैन
हामी सडकका गालीमा रमेका छौँ, लट्ठिएका छौँ, फुलेका छौँ
तर हामीले आफ्नो कर्तव्य
निरन्तर घिस्सिँदै, खिँइदै गएको कुरालाई भुलेका छौँ
सामाजिक सञ्जालमा अल्झिएर
हामीले संस्कृति गुमाइसक्यौँ
हामीले मानवता बिर्सिसक्यौँ
हामीले कर्तव्य बिर्सिसक्यौँ
हामीले मानिस हौँ भन्ने कुरै बिर्सिसक्यौँ
हामीले चामल पखाल्दा पानी हाल्नै बिर्सिसक्यौँ
जब अर्को पक्षको कुनै मानिस
सामान्य वा आदर्श झैँ
देखिन्छ फेसबुकमा वा ट्विटरमा
हामी छक्क परेर उसलाई हेर्छौँ
हामी उसलाई हेरेर छक्क पर्छौँ
हामीलाई उसको विद्वता देखेर टिठ लाग्छ
हामीलाई उसको चरित्र देखेर घिन लाग्छ
र त हामी आफ्ना दर्बिला अस्त्र ठानेर
खाँबा जत्रा वचनवाण उसमाथि प्रहार गर्छौँ
उसका रौँ रौँमा चढ्छौँ
कुर्लन्छौँ
ठोक्छौँ
खैरो खन्छौँ
र अन्त्यमा शक्तिशाली बनेर
सके पानी बाराबार गर्छौँ
नसके समर्पित हुन्छौँ
र उसकै ढोकामा छोरालाई जागिर माग्दै
उसकै पाउ पर्छौँ
हामी पुज्न थाल्दछौँ त्यो मानिसलाई
महान भनेर
हामी बाहिरबाट जति सुकिला देखिए तापनि
भित्र भित्रै मैलिदै गइरहेका छौँ
हामी मासुमा बिक्दै गइरहेका छौँ
हामी नेपाली नागरिकबाट खिइँदै गइरहेका छौँ
हामी कुनै गुटका कार्यकर्ता हौँ ।
हामी अन्धभक्त हौँ ।
हामी आफूखुसी कहिल्यै मानव बन्न नसक्ने
अर्कैले तँ मानिस होस् भन्दिनुपर्ने
हामी कहिल्यै विवेक पुर्याउन नसक्ने
चुनाव चिह्न पछ्याउनु पर्ने
हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने
सधैँ जुलुसका पछाडि लाग्नु पर्ने
अगाडि घाँस र पछाडि सिर्कनु देखाउनु पर्ने
हामी आत्मा छुटेका
खुट्टा पछाडि फर्केका
अर्कालाई शिखर चढाउन वलि चढ्नुपर्ने
थोत्रो चेसका सार्वभौम सम्पन्न प्युसा हौँ
देशी विदेशी खेलाडीमाथि आश्रित
आफ्नो लक्ष्य हराएका
अर्काका औँलाद्वारा सञ्चालित
हो, हामी मानिस कम र कार्यकर्ता बढ्ता हौँ ।
हामी ज्ञानी छौँ
तर अन्धभक्त छौँ
हामी अन्धभक्त छौँ
र त हामी ज्ञानी छौँ
हामी अन्धभक्त नभईकन ज्ञानी कहिल्यै हुन सकेनौँ
हामी महाभारतको कथामा वणर्ित एकलव्य हौँ
जिन्दगीभर नेताले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
क्षमतालाई
र पसिनालाई
तर, हामी तिनै नेतालाई आदर्श मान्छौँ
चुनावताका आफ्नो झुप्रोअगाडि देख्दा
खुसीले पुज्छौँ
ढोग्छौँ
निरन्तर मत व्यापारको अभ्यास गर्छौँ
र प्रभुका अन्य सनातन
कार्यकर्ताभन्दा बढी विश्वास आर्जन गर्छौँ
तर, हाम्रो सदासयतादेखि आश्चर्यचकित
र भयभित भई
प्रत्येक चुनावमा ऊ हाम्रो पिंढीमा आउँछ
र केवल भोट माग्छ
हामी साना स्वार्थमा बिकेर
हामी हातै काटेर उसलाई भेटी दिन्छौँ
र मक्ख पर्छौँ आफ्नो राजनीतिक आस्थामाथि
आफ्नो कालजयी निणर्यमाथि
त्यसैले हामी ज्ञानी त छौँ
तर, कार्यकर्ता छौँ
हामी कार्यकर्ता छौँ
र त ज्ञानी छौँ
हामी कार्यकर्ता नभईकन कहिल्यै ज्ञानी हुन सकेनौँ
हामी कसैको हनुमान नबनीकन
मानिस कहिल्यै हुन सकेनौँ ।
हामी नागरिक थियौँ
केवल नागरिक
सार्वभौम नागरिक
जसको भरमा सत्ता ढल्थ्यो
देश बन्थ्यो र सरकार चल्थ्यो
तर आज कार्यकर्ता बनेर
भनिरहेका छौँ कि हामीलाई कसैले पालिरहेछ ।
दया गरेर सडकमा बोलाइरहेछ
मख्ख पर्छौ गुटको नेतामाथि
मख्ख पर्छौ पार्टीको सिद्धान्तमाथि
जो अचानो बनेर प्रहार सहन्छ
र सधैँ खुकुरीको जय जय गान गाउँछ ।
कहिल्यै औँला उठाउँदैन
सधैँ धनुष्टङ्कार परिरहन्छ ।
खासमा हामी कर्मी मौरी हौँ
मह हामीले बनाउँछौँ
तर नेतृत्वले नाक फुलाउँछ
सिलान्यास अर्कैले गर्छ गराउँछ
सल्लाहकारले ट्विटरमा हल्ला फिजाउँछ
पत्रकारले उसैको फोटो छपाउँछ
समचारले उसैको समचार बजाउँछ
हामी निरन्तर पसिन बगाउँछौँ
तर गर्व गर्ने अर्कै छ
सिलान्यास गर्ने अर्कै छ
छापिने फोटो अर्कै छ
लेखिने समचार अर्कै छ ।
हामी त फगत कसैको झण्डामा
भेला हुने, खाजा खाने र नारा लाउने
कार्यकर्ता हौँ
केवल कार्यकर्ता
र फगत कार्यकर्ता ।
हामी थोरै मानिस र धेरै कार्यकर्ता हौँ
हामी अधिकारमा धेर र कर्तव्यमा कम छौँ
हामी अस्तित्वले कम र शरीरले बढी बाँचिरहेका छौँ
त्यसैले आओ ए नेताका पुजारीहरू हो !
हामी सब मिलेर खोजौँ हाम्रो क्षमतालाई
हामी सब मिलेर फर्काऔँ हाम्रो पहिचानलाई
नागरिक हुनुको अर्थलाई ।
जुरोपानी, झापा
Subscribe
Login
0 Comments
Oldest








































