साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ साहित्यिक ठोकम विद्याको परिचय

डाली, थोपो, छेस्को, बाछिटो, तप्केनीहरु ता आई नै सके । साथै काँडा, ऐँजेरु, अड्को, थुङ्गो, चारु, राग. विराग, साग, काग, माग, जस्ता कुरामा घागहरुले भागाभाग गरिसके ।

Nepal Telecom ad

प्रस्तावनाः
धेरै साथीभाइहरुले एउटा न एउटा नयाँ सोचका साथ साहित्यमा कोसेढुङ्गा नै गाडिसके । यस्ता काममा म मात्र किन पछि पर्ने भन्ने कुरा बल्ल मेरो दिमागमा छिर्यो । बोधो मान्छे परियो । यस्तै हो । तै ढिलै भए पनि कुरा ता दिमागमा छिर्यो ।

पुरानो हाइकु, ताङ्का, सेदोको आदि ता छँदै थिए यिनले मात्र नपुगी आजभोलि सञ्जालमा नयाँनयाँ मित्रगणहरुले नेपाली कविताका नयाँ नौला स्वरुपहरु उमारिरहनु भएको छ । झन्डै झन्डै चैतबैशाखमा जङ्गलमा झार उम्रिएसरि । कुन स्वरुपको बाउ को हो ?, तिनकी आमा को हुन् ?, कुनको नातागोतामा केके पर्छन् भन्ने यावत् कुरा समेत ठेगान गरिसके । तर यतातिर लागिनँ म यसैले पछि परिसकेँ । नयाँ नयाँ विधाका बाउहरु होलान्, आमाहरू होलान्, सौतेनी आमाहरु पनि होलान्, सम्धी सम्धिनाहरु पनि होलान् । फुपूचेला मामाचेला नागतागोता कुलकुटम्ब इष्टमित्र आदि ।

डाली, थोपो, छेस्को, बाछिटो, तप्केनीहरु ता आई नै सके । साथै काँडा, ऐँजेरु, अड्को, थुङ्गो, चारु, राग. विराग, साग, काग, माग, जस्ता कुरामा घागहरुले भागाभाग गरिसके । अब सबैका सिद्धान्त जानेर ती ती सबै कुराहरुमा दखल राखेर लेख्न सकिन्न । आँटै आउन्न । कुनमा कति अक्षर चाहिन्छ भनेर हेक्का राख्न नै नसकिने भैसक्यो । नसकेपछि पछि परिन्छ । पछि पर्नु भनेको विकास वादको सिद्धान्त विपरीत कुरा भो । पछि पर्नु ता भएन । विकास रोकिनु पनि त भएन । यसैले मैले पनि एउटा नयाँ विधा जन्माउने सुर गरेर गर्भधारण गरेको छु । गर्ध धारण गर्न त सजिलै रहेछ तर त्यसलाई जन्म नामकरण आदिको पो रहेछ महासमस्या ।

नाम जुराउन भएभरका कोसिस गर्न थालियो । भएजति शब्दकोशको खानतलासी गरिएन कि, शब्दकोशका गाडीको खलासी गरिएन कि, भाषाका कुनाकन्दराहरुको खानतलासी गरिएन कि । के मात्र गरिएन ।

२०३० सालदेखिकै साहित्यिक पो त म पनि । उ बेलादेखि नै साहित्यिक लेखनदासी गरेको पो त मैले पनि । भर्खरका साथीहरुले आफ्नो पौरख राख्नै घागघाग काम गरिसके । म किन पछि । बरु चरेस खानु, हरेस नखानु भन्ने सिद्धान्तअनुसार गल्ली डुलुवा नामबाट नामकरण सुरु गरिहेरेँ । अहँ चित्त बुझेन । सुनचरी नामबारे तिनदिन सोचेँ । अहँ चित्त बुझेन त्यसमा पनि । देददे यो नामका अलिकति माथापच्ची गरिहेरेँ । दे दनादन दे नै यसको संक्षिप्त रुप देददे हुने भएकोले यसमा ठुलो समय खर्च भो । तैपनि चित्त बुझेन । दनादनलाई हिन्दी भन्लान् भन्ने ठानेर त्यो बाटो छाडेँ । प्रकृतिको चित्रण हुनु पर्ने सर्त राखेर ऐँजेरु राख्ता कसो पर्ला भन्ने तर्क गरियो आफैँसँग । किन हो यसमा पनि चित्त बुझेन । शुद्ध नेपाली शब्द पो चाहिन्छ त भनेर पेरुङ्गो, हँसिया, खुर्पा, बसिला, हरिस, पेचा, थुन्से, नाम्लो, डोको, भुने, ढोक्से, कन्तुर, पाड्को, ठेडी, अनौ, राँबो, हत्यौरी, खँडपल, बलेँसी, जस्केलो, सिकुवा, चम्को, ओधान, अँगेनु, आदि आदिमा माथापच्ची गरियो । चित्त बुझ्नु त मरिजानु । अनि यसो बोटबिरुवातिर लागियो । रुखका पात, डाँठ, जरो, मुना, बिरुवा, चिउला, पोथ्रो, पाउला, कपना, हाँगो, मुजरो, फूल, कोपिला आदिमा पनि विचार गयो ।

यी त अरुले नै उहिल्यै सकिहालेका रहेछन् भन्ने कुरा चाल पाएपछि निराशा हात परेजस्तो भो । आ तोडिदोऊँ यिनैमध्येमा एक । आखिरि कसैले पढ्ने हैन त भन्ने पनि भो । तर फेरि इमानदारी पनि ता केही चिज हो नि भनेर अरुले पहिल्यै हाल हालिसकेकालाई चलाइएन । अब मलाई केही पनि बाँकी रहेनछ कि कसो हो । पहाडका नाम, हिमालका नाम, ऋतुका नाम, महिना, तिथी, वार, घडी, पला, नक्षत्र, अयन, सम्वत्सर, बेला लगायत् यावत् चहारियो । तर केही सिप लागेन । हार खाएर चूप लाग्नु मात्र बाँकी रह्यो । तै यी तप्कना हाँगो डालीहरुका बाउहरुले केही आइडिया दिन्थे कि भनेर सोचिहेरेँ । तर मागिनँ सल्लाह । चरेस खानु हरेश नखानु भन्ने सिद्धान्त दिमागमा आएर फेरि पनि चूप लाग्न मिलेन ।

एक दिन आच्ची गर्न बसेको मात्र के थिएँ मैले आच्ची गर्नु अघि नै दिमागले ठोकम भन्ने नयाँ नाम खसायो । लु यो ठिक होला । भन्ने लागेर मैले बिर्सिएला भनेर दसबार पटक आच्ची गर्दा गर्दै घोकेँ ठोकम ठोकम ठोकम ठोकम ।

नाम ता भयो अब यसको सिद्धान्तलाई पो कसरी बनाउने होला भनेर पर्यो फसाद । तर त्यसका लागि पनि कतै मुनाको कतै कोपिलाको कतै तप्कनाको कतै डालीको सिद्धान्तका सूत्र चोरचार गरेर यसलाई पनि म ठेगान लाउँछु भन्नेमा पुगियो र सिद्धान्तलेखनको मसौदातिर लागियो र यसरी तयार गरियोः साहित्यिक ठोकम विद्याको सिद्धान्तः

यो चोखो साहित्यको एक विद्या हो । कसैले विद्या किन लेख्नु भो विधा पो त भन्न सक्ला । विद्या लेखे पनि विधा पढ्ने न छन् दुनियाँमा । यसैले ठोकम मेरो साहित्य विद्या हो । यो आधुनिक विद्याले समाजमा देखिएको विकृतिमाथि प्रहार गर्न सशक्त हुनेछ । यसको विशेषता हुनेछ ।

१. यो विद्या कवितामा मात्र सीमित रहन्छ ।
२. यसको रचना दुई चार तीनको हिसाबले गरिन्छ ।
३. पहिलो हरफमा दुई अक्षर हुनु पर्छ । यसमा खुट्टा काटिएको अक्षरलाई पनि पुरै गनिन्छ । कसैले यसमा विमति जनाउन पाउने छैन । खुट्टा काटेको र नकाटेको चिन्नेहरू नै कम भएकोले यसमा कुनै फरक पर्नेवाला छैन ।
४. पहिलो हरफमा विषय उठानसहित उत्तेजनात्मकता हुनेछ ।
५. दोस्रो हरफ भने पहिलो हरफले खोजेको विषयको उपकरणका रुपमा वणर्न हुनेछ ।
६. अन्तिम हरफमा समर्थनात्मक भाव हुनुपर्नेछ ।

क.
ठोक्
कलमले
मजाले ।

यसलाई जथाभावी छरेर पनि लेख्न सकिनेछ ।

ख.
उठ्
गधालाई
चुट्न ।

ग.
हान्
भ्रष्टलाई
नछोड् ।।

यसरी ठोकम विद्यालाई सार्वजनिकीकरण गरिएको छ । विश्वसञ्जालले मान्यता दिएर यस साहित्यिक विद्यालाई उठाउनु हुनेछ भन्ने विश्वास गरिएको छ ।

प्रस्तोताः
कुरौटे कुन्दनकुमार कशिपु
कन्दरपुर नेपाल

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x