साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसाको रङ !

हो, पैसा धेरै हुनेलाई पनि पैसाको रङले पोलेको छ । पैसा नहुनेलाई पनि पैसाकै रङले पोलेको छ । पैसा ठिकै हुनेलाई पनि पैसाकै रङले पोलेको छ । पैसा बुझ्नेलाई पोल्नु र पैसा नबुझ्नेलाई पोल्नुमा पोलाइको अन्तर छ ।

Nepal Telecom ad

लगभग सबै मानिसका हातमा पैसा छ । सबैले पैसा देखेका छन् । यसलाई खेलाएका छन् । चारैतिरबाट केलाएका छन् । पैसालाई नियालेका छन् । पैसाका निम्ति मानिसले मानिसलाई झिँगलेका छन् । मानिसलाई मात्र हैन विधि र बुद्धिलाई पनि गिजलेका छन् । यसकै निम्ति नभएका जुक्ति निकालेर नभएको संसारको पैसे बाटो सबै छिचोलेका छन् । हुने नहुने अनेकानेक कन्थामा जीवनलाई किचोलेका छन् । पैसाकै निम्ति मानिसले मानिसलाई पछारेका छन् । सक्नेले नसक्नेलाई लछारेका छन् । ठुलो स्वर गरेर हकारेका छन् । झपारेका छन् र थोरै मत्रै बुद्धि हुनेले चाहिँ पैसाको मूल रङ बुझेर यसको सहुपयोग गरी जीवनलाई सपारेका छन् ।

हो, पैसा ठुलो भनेर संसारमा मान्छेको मूल्य लुलो पार्ने हर्कतहरू पनि भएका छन् । लोभको लाममा लहसिएर कुत अकुत पैसाको पहाड थुपारेका छन् । अर्कातिर पैसाको न्यूनतम बिन्दु पनि जुटाउन नसकेर रात दिन मुटु कोपरेका छन् । पैसाको मोल चिन्नेले नचिन्नेलाई जथाभावी लोपरेका छन् । मानवताको तत्त्वलाई मनको मजेरीबाट लखेटेर पैसाको रङ नहुनेलाई झपारेका छन् । यसउसले पैसा मानिसका लागि कि मानिस पैसाका लागि भन्ने दर्शनको उदय भएको छ । पैसा हुने मान्छे हो कि मान्छे भएर बाँच्ने मान्छे हो भन्ने विचारको सङ्कट उत्पन्न भएको छ । यी सब पैसाको रङ्ग र पैसा कमाउने ढङ्गले गर्दा ल्याएका विचारका कङ्कड हुन् । पैसालाई माथमा राख्नेले पैसाहीनलाई झङ्कट मानेका छन् । पैसाका निम्ति मरिहत्ते गर्ने अमानुष कृत्यधारीलाई मानिस हुन खोज्नेले मानिसको रूपमा जन्मेको भुस्कट ठानेको छ । पैसाको रङ बुझ्नेले जीवनको रङमा अबुझपन देखाएको छ । जीवनको रङ बुझ्नेले पैसाको रङलाई सामान्य सामान मात्रै मानेको छ ।

एका समयमा मानिसलाई पैसाको रङ बसेको थिएन । त्यो युगका मानिसलाई पैसावादी विचारको बिउ घुसेको थिएन । पैसाको रङको तात्पर्य यसमा डुबुल्की मार्ने नसा हो । त्यो पैसे नसा नबसेको बेला मानिसलाई प्रकृति के हो ? भन्ने जिज्ञासाको रङ चढेको थियो । भतभती पोल्ने घाम कसरी लाग्यो भन्ने प्रश्नको उत्तर खोज्ने रङ चढेको थियो । टाढा टाढा यायावर पाइलाहरू बढाउँदै प्रकृतिका धर्साहरूको अनुवभ बटुल्ने जङ चढेको थियो । पानी बगिरहेको छ, कसरी हो भन्ने बालसुलभता मनमा बढेको थियो । उदाएको घाम अस्ताउने, अस्ताएको घाम फेरि उदाउने, हराएको बादल कहाँ कहाँबाट फर्केर आउने, आएको बादल क्षणभरमै हराउने, दर्कने पानी पर्ने र परिरहेको पानी आफै बन्द हुने, चिसो र ताताको चक्र चलिरहने, रातमा जुनेली ताराहरू टल्कने, पूणर्िमामा चन्द्रमा झल्कने जस्ता प्रकृतिका विचित्र मनोरमतामाथि घोत्लिन मानिसको मन पल्केको थियो । त्यो समय मानिसका समग्र समय, सोच र व्यवहार प्रकृतितिरै ढल्केको थियो ।

उज्यालो, अँध्यारो, घाम छायाँ, डरलाग्दा जनावर, भोक, भय, साहस, बसाइ र घुमन्ते जीवनको रङ चढेको बेला मानिसलाई पैसाको रङले अलिकति पनि छोएको थिएन । किनकि त्यो बेला पैसा नै थिएन र त्यसको रङ चढ्ने कुरै भएन । केवल मानिसको जिज्ञासा चारैतिर दौडेको थियो । कल्पनाको काँचुली धरतीका अनौठा अनौठा वस्तुहरूमा पौडेको थियो । भोकको रङ थियो र भोक मेटेपछि जन्तुहरूको आक्रमणबाट बच्ने सुरक्षाको रङ चढ्दथ्यो । भोलि कहाँ जाने र के खाने अनि कोसित भेटिने कुनै टुङ्गो नभएकाले नयाँ ठाउँहरूको दृश्यावली कल्पनामा नाचेको मात्र थियो । त्यसरी पैसाको रङविना पनि लाखौँ लाख वर्षसम्म मानिसको जीवन बाँचेको थियो ।

मानिसलाई त्यस बिचमा धेरै कुराको रङ चढ्दै आयो । सिकारी जुनीमा सिकारको मिष्ठान्न जुटाउने रङमा रङ्मङ्गियो मान्छे । त्यो युग कति समय चल्यो ? इतिहासकार र खोजवेत्ताहरूलाई त्यसको खोजीको रङ चढेको छ । अनुकूल स्थानमा बसोवास गर्ने युगमा उक्लियो मान्छे । परिवार चिन्न थाल्यो । बाँडेर खान थाल्यो । समूहको चासो बढ्न थाल्यो । खेतीपातीको रङ चढ्यो । राम्रो जमिन र धेरै जनावरहरू बटुल्ने रङमा मानिसको मन दौडन थाल्यो । गाई बाख्रा र अन्य जनावरहरू आफ्नो भागमा थुपार्ने होडले मानिसलाई सताउन थाल्यो । बलियो र सानोको भावनाका विभेद पलाउन थाल्यो । तेरो र मेरोमा छुत्ती खेल्ने मन मौलाउन थाल्यो । समाज बनाउँदै जाँदा मानिसलाई सम्प्रदायको रङ चढ्यो । समुदायहरू निर्माण भएपछि नजिक र टाढाको भाव जागृत हुन थाल्यो । नाम राख्ने, थर गोत्र बनाउने, बिहे गर्ने, घरपरिवार बनाउने र धर्मको धर्सो पलाउने बेलासम्म मानिसका रङहरू अनगिन्ती हाँगामा फैलन थाले । प्रकृतिको स्वच्छन्दतामाथि सामाजिक संसारभित्र मानवीय गन्ध र दुर्गन्धहरू मैलन थाले ।

कतिसम्म भने उस्तै र उही प्रकृतिको लामो युग पार गरेर आएका मानिसहरू बिचमा ठुलो र सानो जात, छुने र नछुने जात, धार्मिक र अधार्मिक जात जस्ता घृणित भावनाको रङसमेत मानिसकै मनमा चढ्न थाल्यो । यही छुद्रताले समाजलाई भित्र भित्र ध्वस्त पार्न थाल्यो । कोही मालिक भए कोही तिनका दास तथा दासानुदासमा दर्ता हुन थाले । जातको रङ त वास्तवमा पैसाको रङभन्दा धेरै गुना बैगुनी र खुनी भएर आयो । मानिसलाई कतै वणर्को रङले सतायो त कतै जातको । कतै धर्मको रङले अत्यायो त कतै पापको । मानिसको कल्पनामा स्वर्ग र नर्कको रङ पनि चढ्यो । कर्मलाई छाडेर भाग्यको रङले त झन् दाससंसारलाई मलजल गरिरह्यो । बुद्धिले ठम्याउन नसकेका कयौँ मानिसहरू आज पनि स्वर्ग र नर्कको रेखामा, जात र कुजातको कुन्जामा, भाग्य र दुर्भाग्यको दोसाँधमा अल्झिरहेका छन् । धर्मले मानव रक्तको नदी बगायो । जातको जन्तर मन्तर तन्तरले मानव विभेद र हत्या, द्वैषको द्वार खोलिरहेको छ । यसले मानवताको छहारीमा संसार सजाउने विचारलाई पोलिरहेको छ ।

एक कोषीय जीव बनेर विकासका अनेकानेक चरणहरू पार गर्दै गर्दै, दुःखका हन्डर ठक्कर र अक्कर पार गरेर बहुकोषीय जीवमा आइपुग्दा मानिसका जीवनमा केके रङले छोयो ? यस इतिहासको खाता खोल्न यहाँ सम्भव छैन । मानिसले आफ्ना मनमा बोकेका रङहरूको यात्रामा रुमलिने फुर्सद मलाई त होला, तर पाठक वर्गलाई त्यो नहुन सक्छ । त्यसकारण मानिसलाई आज मज्जाले छोएको रङ अर्थात् नसाको बारेमा नै कुरा गर्नु उचित होला । यही रङले नै आजका मानिसलाई धेरैभन्दा धेरै छोए छ । यस रङले नै हँसाएको र रुवाएको छ भने यसका बारेमा किन कुरा नगर्ने ?
आखिर पैसाको रङ कस्तो छ ?
पैसाको रङ मानिस जस्तै छ !
मानिसको रङ चाहिँ कस्तो छ त ?
मानिसको रङ पैसा जस्तै छ !

हो, यही नै पैसा र मानिसको रङ पर्गेल्ने सूत्र हो । यही नै मानिस र पैसाको सम्बन्ध थाहा पाउने मन्त्र हो । यही नै पैसा र मानिसले निर्धारण गरेको आजको रङ तथा नसाको बयान गर्ने मूलद्वार हो ।
अर्थात् मानिस पैसा जस्तै छ र पैसा मानिस जस्तै छ ।
हो, पैसा र मानिसलाई जोड्न पनि गाह्रो भएको छ भने छुट्याउन पनि मुस्किल नै परेको छ ।
यसको अर्थ पैसाको रङ र मानिसको रङलाई छुट्याउन अति नै सकस भएको छ ।
कारणहरू धेरै छन्ः

पैसाको रङमा रङ्गिएको एक मानवधारीले एक समय जेलको छिँडीमा पुगेर विश्राम लिएपछि आफूले बटुलेको पैसामा रङ देख्न थाल्यो; त्यो रङमा निराशाको घनघोर चक्र चक्कराइरहेको देख्यो । त्यो रङमा पश्चात्तापको नजानिँदो अज्ञात रङ तिलमिलाउन थाल्यो । उसले आफ्नो पैसाको रङ नियाल्ने कोसिस गर्दागर्दै दिमागमा कालो, निलो र अन्धकारको रङहीन रङ देख्न थाल्यो । अर्थात् उसले आफ्नो लुटाइको पैसाको रङ त ठम्यायो तर त्यो रङको स्वरूप ठम्याउन सकेन र रङहीन रङमा अल्झिन थाल्यो । उसले हिजो देखेको पैसाको रङ र आज नियालेको त्यो पैसाको रङमा निकै परिवर्तन आइसकेको पायो । तर उसले आफ्नो जीवनको रङ बदल्ने समयको फेरो भने धेरै गुमाइसकेको थियो । उसमा आदेशको रङ चढिसकेको थियो र त्यसको भोगचलनबाट भाग्ने ढोकाहरू सबै बन्द भइसकेका थिए । सायद पैसाकै रङमा परेका आदेशक निकायतिर खेल्न सकेको भए ऊ अझै पैसाको रङमा मनोरम खेलिरहेको हुन्थ्यो । उसले पैसामा पश्चात्तापी रङ देख्न अझै केही समय लाग्ने थियो ।

अर्को बन्दी जसलाई स्वयंबन्दी पनि भनिन्छ, उसले पनि पैसाको रङलाई नियाल्दै छ । केवल पैसाकै निमित्त जेल जान मञ्जुरीपत्रमा सही गरेको त्यो नक्कली बन्दीलाई पनि पैसाको रङले पोलेको छ । उसले देखेको पैसाको रङमा स्वतन्त्रता गुमेको छ । परिवार बिच्केको छ । मन हच्केको छ । केवल जेलमा थच्चेको छ । निमित्त भात मुखमा कोचेर लमतन्न बाँचेको छ । यति गरेर कमाएको पैसाको रङमा उसले कतै पनि जीवन देख्दैन । आनन्द भेट्दैन । खुसी हराउँछ । मनको आँधी भित्रैदेखि कराउँछ । सक्कली बन्दीकै हारमा हार मिलाउँदा मिलाउँदा आफूलाई पनि दोषी रङमा बुझ्न थालिसकेको छ ।

अर्को बन्दी छ जसलाई जबर्जस्ती बन्दी बनाइएको छ । उसलाई पैसाको रङ थाहा छैन । उसलाई कानुनको ढङ्ग पनि थाहा छैन । उसले आक्रोशको रङ पालेको छ र मनभरि क्रोध बालेको छ । तर चार ढोकामा कसिएको फलामे साङ्लो र त्योभन्दा जब्बर प्रशासनले उसको बयान सुनेको छैन । दोषी करार गराइएको उसको नाम अरु कसैको नाम लेख्ने हरफमा लेखिएको हो । उसको ठाउँमा बन्दी बन्नेले पैसाको रङ चढाइसकेको उसलाई थाहा छैन । पैसाको रङमा रङ मिसाएर थुकसाटी खेल जस्तो बन्दी खुला छ र खुला बाँच्ने बन्दी छ । यसरी कानुन साटिएको छ र पैसाको रङले बन्दीको रङ पनि साटिसकेको छ । यहीँनिर पैसाको रङको सत्ता, तुजुक र बुज्रुकपनको सामथ्र्य देखापरेको छ । यो पाराले बन्दीका वर्गहरू बन्ने गरेको कति समय भयो होला ? पैसाका रङमा मुछिएका तानाबानाले यो सब करामत जो गराएको छ ।

एउटी बेचिएकी युवतीले आफ्नो कमाइको पैसाको रङमा केवल चित्कार देखिन् । घनघोर भयको भार देखिन् । आफूमाथिका समग्र ज्यादतीका अत्यासलाग्दा कृत्यहरू देखिन् । बाहिर देखिएको मान्छेको रूपभन्दा धेरै भिन्न अति क्रूर र आततायी मुहारका हतियारहरू देखिन् । मान्छेका अनुहारभरि उनले मतियारहरू देखिन् । अस्तित्वहीन गराइएको आफ्नो जीवनको टुक्राहरूबाट अस्तित्वको सानो अशंलाई जोगाएर जीवन बुझ्ने सङ्घर्षको घोर आँधीबेहरी देखिन् । रक्तमुछेल जीवनको सङ्घारबाट बाँचेर भाग्दै भाग्दै सम्झन नसकेका सम्झनाहरूको डरलाग्दो पहाड देखिन् । आक्रोश, क्षोभ र घृणाका ज्वालामा फेरिरहेको सासको लहरहरू देखिन् । उनले पैसाको रङमा कठोरभन्दा कठोर यातनाशालाको ढोकामा झुन्डाइएका ताल्चाहरू देखिन् । आँसु, रगत र व्यथाहरू मिसिएर बनेको आफ्नो उत्पीडिनमयी फाल्चाहरू भेटिन् ।

कालो बजारियाले पैसाको रङमा कति नाफाको रङ देख्दो हो । सायद उसले आफ्नो कमाइको पैसामा अरुलाई मूर्ख देख्ने रङ भेट्दो हो । करछलीको सूत्र खोतल्दो हो । लुकाइएका सामानको नाफा छाम्दो हो । गुज्रेका मितिस्टिकर च्यातेर नयाँ मिति टँसाएको सम्झना झल्कँदो हो । छापा मार्दा मलाई समातिएको भए मेरो के गति हुँदो हो भनेर कल्पनाको झस्काइमा परेको आतङ्कको रङ पनि पाउँदो हो । केही हिस्सा भगवानका नाममा चढाएर ग्रहशान्ति गरेको नाटक पनि गर्दो हो ।

सच्चा व्यापारीले आफ्नो कमाइको पैसामा उद्यमशीलताको रङ देख्दा हुन् । त्यो रङमा हौसलाको रङ चढ्दो हो । व्यापारको गति र मति झनै बढ्दो हो । सेवा र मेवाको भाव पलाउँदो हो । मानव जगत्मा सर्वसुलभताको जग मौलाउँदो हो । गरेर खानु पर्छ भन्ने सिद्धान्त फस्टाउँदो हो । ठगेर खानेको हबिगत एक दिन अस्ताउँदो हो ।

महिनागन्ते कर्मचारीले पैसाको रङमा महिना टरेको मात्रै देख्दो हो । दिनहरू सरेको मात्रै देख्दो हो । क्यालेन्डरका भित्तामा शनिबार र तलबको दिन मात्रै कोर्दो हो । दायाँ बायाँ नगर्ने भोला कर्मचारीले पसिनाको कमाइको रङ पसिना जस्तै निश्चल देख्दो हो । जीवनको हैसियत पनि अचल पाउँदो हो ।

ज्यालादारी परिश्रमीले पैसाको रङमा पसिनाको रङ देख्दो हो । हातका ठेलाहरू केलाउँदो हो । परिवारका भोकका रङ र नग्न दृश्यावलीका पीडाहरू पाउँदो हो । दिन बितिसक्दा सकिने पैसाको रङ हेर्न नभ्याईकन ज्यालामा नारिन जानुपर्ने उत्पीडनको रङमा ज्यालादारीको जीवन जोतिँदो हो । श्रम सिञ्चेर पनि अभावको रङमा पिल्सिँदो हो ।

हो, पैसा धेरै हुनेलाई पनि पैसाको रङले पोलेको छ । पैसा नहुनेलाई पनि पैसाकै रङले पोलेको छ । पैसा ठिकै हुनेलाई पनि पैसाकै रङले पोलेको छ । पैसा बुझ्नेलाई पोल्नु र पैसा नबुझ्नेलाई पोल्नुमा पोलाइको अन्तर छ ।

पैसाको रङमा मानिसको वर्ग कोरिएको छ । पैसाको रङमा मानिसको मर्म पोखिएको छ । पैसाको रङमा मानिसको पारा तेर्सिएको छ । पैसाको रङमा मानिसको पुकारा सुनिएको छ ।

औषधीले पनि पैसाको रङअनुसार रोगी या बिरामीलाई पत्याउँछ । अरू त के कुरा गरौँ ?
कतै यस्तो लाग्छ- कुकुरले पनि पैसाकै रङअनुसार मानिसलाई भुक्ने र झुक्ने गर्छ !

hps2066@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘प्रभुजी, भेडो बनाऊ !’ कवितामा हास्यव्यङ्ग्यात्मक अभिव्यक्ति

‘प्रभुजी, भेडो बनाऊ !’...

डा.हरिप्रसाद सिलवाल
प्रवचन दरबार !

प्रवचन दरबार !

डा.हरिप्रसाद सिलवाल
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x