दुष्यन्त भट्टराईचण्डमुण्डका दल
धाउँछन् सधैँ सधैँ शक्तिकेन्द्रमा किन ? पाउँछन् गुमाउँछन् ? झट्ट भन्न सक्दिन देख्छु तम्तयार छन् साट्न देशको बल मुख्तियार हुन् कि झैँ चण्डमुण्डका दल !

राति राति आउँछन् चण्डमुण्डका दल
त्रासमा सताउँछन् चण्डमुण्डका दल
छद्म रूपमा रही गोप्य योजना बुनी
मारुनी नचाउँछन् चण्डमुण्डका दल !!
बोलमा नयाँ नयाँ शब्द छान्दछन् सधैँ
भावमाथि कूटको बज्र हान्दछन् सधैँ
बग्नु के नबग्नु के लाग्दछन् सबै ढल
देशमाथि दुःख हुन् चण्डमुण्डका दल !!
जो सुनेर हर्ष होस् छैन एक योजना
के नयाँ छ नीति खै जेठको बजेटमा
डस्नमा सिपालु छन् गर्दछन् सधैँ छल
श्राप हुन् कि साप हुन् चण्डमुण्डका दल !!
खेतमा किसानले गर्छ जो परिश्रम
फुल्छ फल्छ खेतमा अन्नरूपमा श्रम
हातमा किसानको झर्छ आँसुको भल
फाइदा लिने सधैँ चण्डमुण्डका दल !!
धाउँछन् सधैँ सधैँ शक्तिकेन्द्रमा किन ?
पाउँछन् गुमाउँछन् ? झट्ट भन्न सक्दिन
देख्छु तम्तयार छन् साट्न देशको बल
मुख्तियार हुन् कि झैँ चण्डमुण्डका दल !!
शक्तिकेन्द्र धाउँदा ती गुलाम बन्दछन्
फर्किएर देशमा मैँ छु मात्र भन्दछन्
तर्कले समाउँदा जो बनिन्छ दुर्वल
राख होस आउँदा चण्डमुण्डका दल !!
मेनपा १३, चारआली, झापा
हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest





































