होम सुवेदीऐलाका साथ सपर्याक्क
भातसँग मुछेर खाँदा पनि नसकिएर बचेको कालो दालका कचौरामा परेको ऐला सधैँको राख्ने भाँडोमा मिसाउनु पनि भएन ।

जाँडको सोल्लर बनाएर त्यसमा भात मुछेर खाँदाको कथा ता सुनिहाल्नु भो । त्यसका बाठकबाट अलिक हाँसो उठ्यो भन्ने प्रतिक्रिया आएका छन् । अनि मेरो कथाको पात्र म नागका साथ सुतेको कुरा थाहा पाएपछि ता साहुनीबाट पाएको त्रास मार्ने ओखती दुरुङ्पानी पिएपछि डर कम भएर सुतिएको कुरा पनि सुनाइहालेँ । अब अलिक छोटोछोटो कथा पनि सुन्नु पर्यो नि ।
मेरो डेराको ठिक विपरीत ओमबहालनिर होटल इडन थियो युगवकवि श्री सिद्धिचरण श्रेष्ठका घरनिर । त्यही इडेन होटलकै अघिल्तिरको खड्गीको घरमा बस्दाकै कुरा हो । नागशयन भन्दा अलिक पछिको कुरा हो । अबको कुरामा भने साक्षी भनेको कोही पनि छैन । साक्षी नभए पनि कुरा शतप्रतिशत सही हो । शङ्का गर्नु पर्दैन । भिनाजु अर्थात् भानुभक्त पोखरेल बितिहाल्नुभो, उहाँलाई सुनाएको थिएँ । इलामका क्याम्पसचिफ केदार बाँस्तोला बितिहाल्नु भो उहाँलाई पनि सुनाएको थिएँ अनि सुनेर हाँस्तै पुर्लुक्क हुनुभाको थियो । भवानी कार्की पनि बितिहाल्नु भो । भएका साथीमध्ये पनि युवराज पाण्डे मजस्तै रिटायर भएर काठमाडौँमा हुनुहुन्छ । उहाँ र कृष्णजी इस्कुस नताछी बोक्रैसँग तरकारी पकाउनुहुन्थ्यो हो हैन भनेर सोधे भइहाल्छ । काँडा जिभ्रामा बिझे पनि खाइन्थ्यो । कृष्ण र खेमजीहरू चाहिँ म पूर्वेली भएकोमा पूर्वेली भाषिकाका लवज झिकेर भाषिक घोचपेच गर्नुहुन्थ्यो । “के छ हाव ?” भनेर हाम्रो पूर्वेली लवजलाई पटकपटक दोहोर्याई जिस्क्याइरहनुहुन्थ्यो । उहाँहरू कता हुनुहुन्छ ? उहाँहरूबारे तत्कालीन सञ्चार सचिव तथा मेरा पुराना साथी युवराज पाण्डेजीलाई थाहा होला मलाई ता थाहा भएन । जाउलाखेलको भूमिसुधार कार्यालयमा तत्कालीन खर्दार वा वसनिका रूपमा कार्यरत चक्रपाणि पनि कता हो कता हरू! मेरो यो घटनाको दसी बुझ्ने अब कि त म मात्र अथवा छिन् भने उनै खड्गीकी जेठी र कान्छी दुलही । उहाँको खैखबर गरिएन । हुनुहोला वा नहुनु होला अहिले भन्न सकिएन । भए पनि के चिन्थे होला र ।
म एक्लो भएकोले मेरो खाली कोठामा साथ दिन पालैपालो आएका माथि लेखिएका ती सबै साथीहरूले मलाई एक्लो पारेपछि म एक्लिएँ । चक्रपाणि भूमिसुधार र त्यो पनि काठमाडौँका जागिर खाएपछि बिना घुस र विना दुरुङपानी कुनै साँझ पनि आएनन् । सधैँ खुट्टा लर्बराएका हुन्थे जिब्रो बटार्दै डेरामा आइपुग्थे । सधैं पैसाको बिटो ल्याएका हुन्थे । म भने निरीह । तैपनि यसो जगदम्बा प्रेसको जागिरे भएकोले हातै भने थाप्नु परेको थिएन । उनी पनि कता सरुवा भए ।
युवराज, खेम, कृष्ण, सबै साथीहरूबाट लाखापाखा लागे । अनि त एक्लो भएँ म केही महिना । अलिक पछि त भवानी कार्की आए अस्कलमा बीएस्सी पढ्थे । उनी आधा भाडा तिर्ने सर्तमा मेरा गाउँले साथी भएकोले बसे । आधा भन्नाले २१ रुपियाँ ३३ सालमा ।
भवानी आउनु भन्दा अघि गठेमङ्गलतिरको कुरा हो । साहूकोमा दुई चार दिन बिराएर भोज भतेर भइरहने । त्यो बेला म एक्लो छु भन्ने बुझेको हुँदा कान्छी साहुनीले मलाई अलिक कासाबिसा पनि ल्याइदिनु हुन्थ्यो । अलिक बढी माया गरेको बुझिन्थ्यो । अझ भोजका दिनमा ता खान्तेपिन्ते कोठैमा पनि ल्याइदिनु हुन्थ्यो ।
जेठी साहुनी भने दुईचार दिन दुईचार दिनमा रक्सी पारिरहनुहुन्थ्यो । रक्सी पारेर चाख्न दिने उहाँको बानी नै परिसकेको थियो मलाई यस ऐलाको बानी पो पर्ने हो कि भन्ने डर हुन लागेको थियो । अलिक संयमित भएर नै खान्थेँ । जेठी साहुनीले छतमा रक्सी पारेर चाख्न दिनुहुन्थ्यो यो कुरा अस्ति नै सुनाएकै हो ‘नागशय्या’मा । अँ चाख्न पनि ठिकै दिए हुने नि कुनै दिन ता दुई तीन पेग जति पो दिनुहुन्थ्यो । खाँदो खायो बाँकी एउटा भाँडामा राख्थेँ । भाँडो भरिन लागेको थियो ।
एक दिन साँझमा भातसात खाएर नेपाल बैँक लिमिटेडको स्मारिकाको प्रुफ हेरिरहेको थिएँ अचानक बत्ती गयो । यसो विचार गरेको डिबियामा मट्टीतेल पनि पो सकिएको रहेछ । तीन पाने रक्सी मट्टीतेल जस्तो गरी बल्छ भन्ने सुनेको थिएँ । यसैले डिबियामा साहुनीले दिने गरेको र मैले खाएर बाँकी रहेको अनि जमा गरेर राखेको ऐला छामछाम छुमछुम गरेर हालेँ । हालेर बालेको के त बलोस् । तीन पाने हैन रहेछ भन्ने टुङ्गो लाग्यो । मट्टीतेल मिसिएपछि अब न खान सकियो न बाल्न नै सकियो । ‘थुक्क के रद्दी काम गरिएछ है’ भनेजस्तो लाग्यो । बिजुली आएपछि यसो डिबियाबाट झिकेर चाखिहेरेको ता मट्टीतेलै मट्टीतेल गनाएर के खाइसक्नु र फालिदिएँ ।
त्यसको अलिक दिनपछि एक साँझको कुरा हो । भात खान हात मात्र चोब्दै थिएँ । ढोका ढकढक गरेकोले जुठै हात लिएर ढोका खोलेँ ।
“बाज्या भात पाक्यो ?” भन्दै जेठी साहुनी उभिएकी रहिछिन् ।
“हजुर साहुनी, भात खान लाग्दै पो छु” मैले भनेँ ।
“ऐला चाख्न्या हैन ?” सोधिन् ।
“चाख्ने नि” भनेँ ।
“साहुनी ?”
“हजुर”
“तीन पाने हो ?”
“हैन । टिनपाने बाज्याले कहाँ खान सक्छ । करा हुन्छ ।”
“तै तीन पाने बनाएको दिन मलाई दिनु होला न है ।”
“खानु हुन्न भन्या झन् सारै करा हुन्छ ।”
“हैन खान हैन क्या !”
“अनि किन ट ?”
टुक्की बाल्न क्या भन्न ता खोजेको हुँ तर सकिनँ । यसै सन्दर्भ फेरेँ ।
“टाटो टाटो छ लु खानुहोस् निड्रा राम्रो आउँछ” भनेर ट्यामीबाट तातो रक्सी अर्थात् ऐला दिन खोजिन् । मैले दाल पस्किएको कचौरो खाली गरेर त्यसैमा थापेँ । एक कचौरा हालिदिइन् ।
“सिटन पो अलि भेन । बाज्या थुलो खसीको पकाको छ, खान्या हो ?” सोधिन् ।
“ठुलो खसी अहिलेसम्म खाएको छैन । होस् साहुनी । होस् यही भातसँग खान्छु ।” भन्दै धन्यवाद दिएँ । साहुनी आफ्नो काममा लागिन् । म भात खान बसेँ ।
अनि भातसँग साहुनीले दिएको तातो ऐला अलिकति घुटुक्क खाएँ । मिठो र पर्पर्याउने लाग्यो । एकछिनपछि के विचार आएर हो यो भातसँग मुछेर खाँदा कसो हुँदो रहेछ भनेर ऐलाले भात मुछेर सप्र्याक्क पार्दै खान थालेँ, केको खाइयोस् । भातको स्वादै के भो भो । त्यसैमा दाल हालेर अझ मजाले मुछेर खान खोजेँ । अझ अर्थोकै के खालको स्वाद भयो । तरकारी मिसाउँदा पो ठिक होला कि भनेर तरकारी दाल भात खुब मिची मिची लयालो पारेर खान थालेँ र कसै गरी छाक टारेँ । भोक लागेको थियो अनि के गर्ने त । फ्याँक्नु ता भएन अन्नको सराप लाग्छ ।
भातसँग मुछेर खाँदा पनि नसकिएर बचेको कालो दालका कचौरामा परेको ऐला सधैँको राख्ने भाँडोमा मिसाउनु पनि भएन । यसैले त्यो उभ्रिएको ऐला भात खाइसकेपछि पानी खाने चलनको ठाउँमा पानीका रुपमा खाएको झलझल सम्झन्छु ।
यो सन्दर्भ यति नै ।
पुनश्चः
त्यसै घरका छतमा पुराना जमानाका छिँड परेका दुई पैसे, एक पैसे, पाँच पैसे, चारानी र ढ्याकहरूले भरिएका पानपरागका अनेक डिब्बाहरू थिए लडिरहेका छरपट्ट भएका । लगभग तिस चालिस जति थिए छतका एक कुनामा । तिनैमध्येको एक डिब्बा मैले खुसुक्क पारेको थिएँ । ती पैसा भने अहिले पनि दसीका रुपमा उही डिब्बामा छँदैछन् । देखाउनु हो भने सक्छु । हाहाहा…. ।
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































