खगेन्द्र नेउपानेढुङ्गा र भगवान
हरेकदिन फूलबाट फोहोर बनिरहन्छ जिन्दगी ढुङ्गाको यसैमा जयजयाकार छ किनकि सबै उसलाई भगवान ! भन्छन् । त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ सबै उसलाई भगवान ! भन्छन् ।

त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबैले उसलाई भगवान् ! भन्छन्
न ऊभित्र दुख्ने मुटु छ
न ऊसँग हेर्ने आँखा छ
कसैले छेकिदिए ऊ छेकिन्छ
कसैले देखाइदिए ऊ देखिन्छ
कसैले लडाइदिए ऊ लड्छ
कसैले चढाइदिए ऊ चढ्छ
ऊ जस्तै अरु ढुङ्गाहरूको पर्खालभित्र बस्छ
त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबैले उसलाई भगवान् ! भन्छन् ।
मानिसहरू गह्रुङ्गो मन लिएर
ढुङ्गैढुङ्गाको सडक कुल्चँदै
ढुङ्गैढुङ्गाको भर्याङ् चढ्दै
सुस्ताउँदै कैंडा पीडित बन्दै
स्वासको तिब्रता मोल्दै
भर्खर फक्रेका नवयौवना बनफूलहरूको
पोल्टाभरी कोशेली बोकेर
ढुङ्गा भगवानलाई भेट्न आउँछन्
गुनासो गर्छन् माग्छन् धम्क्याउँछन् भाकल गर्छन् ।
न ऊसंग सुन्ने कान छ
न बढप्पन छ न अभिमान छ
कति टा..ढा देखि धाएर
कत्रा ढुङ्गै ढुङ्गाका पाहाडहरू छिचोल्दै आएर
बिसाउँछन् प्राप्ति अप्राप्तिका कैरनहरू
पोख्छन् भरिएका मनहरू
थाहा छैन ढुङ्गालाई भगवान भनेको के हो ?
पहराबाट उछिट्टिएका ऊ जस्तै कैयौं ढुङ्गाहरू
कति खोलासंगै बग्दैहोलान्
कति बगरमा पर्खँदैहोलान्
कति सडकमा फोरिंदै होलान्
कति भित्ताभरी कोरिँदै होलान्
कति मानिसका मोलमा अनमोल भएहोलान्
कति जमिनमुनिको तापमा झोल भएहोलान्
तर सबैभन्दा फरक
सबैभन्दा अलग्ग
ऊ पूजाको हकदार भएर बसेको छ
त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबैले उसलाई भगवान् ! भन्छन् ।
एकाविहानै मान्छेहरू
अगरबत्तीको धूवाँ बोकेर टर्ल्याङ्ग घण्ट बजाउँछन्
सम्साँझै मान्छेहरू
ढुङ्गा अगाडि घुँडा टेकेर प्रशंसाको भजन गाउँछन्
कसैका भाकलहरू पुरा भएहोलान्
कसैका लक्षहरू अधुरा भएहोलान्
सबैसबैको आधार भएको छ ढुङ्गो
सबैसबैको जीवन सार भएको छ ढुङ्गो
तर
ढुङ्गोलाई थाहा छ छैन
भगवान भनेको के हो ?
सवैले उसलाई भगवान ! भन्छन् ।
भन्छन् मान्छेहरू
ढुङ्गाको भगवानलाई चोखा फूलहरू चाहिन्छ
भन्छन् मान्छेहरू
ढुङ्गाको भगवान अघि घुँडा टेक्दा
सबै चिताएको पाइन्छ
चिसो ढुङ्गो सँधैसँधै ताता फूलहरूको प्रतिक्षामा बस्छ
हरेक दिन जिउँदा फूलहरूलाई
ढुङ्गाको चिसोपनले डस्छ
र
ओइलाउँछन्
मर्छन्
र
हरेकदिन फूलबाट फोहोर बनिरहन्छ जिन्दगी
ढुङ्गाको यसैमा जयजयाकार छ
किनकि
सबै उसलाई भगवान ! भन्छन् ।
त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबै उसलाई भगवान ! भन्छन् ।
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































