साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा कवि तीर्थ श्रेष्ठका कविता सुनिए

नेपाली लेखक संघ मकवानपुरको आयोजनामा शनिबार कवि श्रेष्ठको एकल कविता साँझ भएको हो । कार्यक्रममा श्रेष्ठले कविता, गजल तथा मुक्तक प्रस्तुत गर्नु भएकाे थियाे ।

Nepal Telecom ad

मकवानपुर । हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका कविता सुनिएका छन् । एकल कविता साँझ कार्यक्रम मार्फत हेटौंडामा कवि श्रेष्ठका कविता वाचन भएका हुन् ।

नेपाली लेखक संघ मकवानपुरको आयोजनामा शनिबार कवि श्रेष्ठको एकल कविता साँझ भएको हो । कार्यक्रममा श्रेष्ठले कविता, गजल तथा मुक्तक प्रस्तुत गर्नु भएकाे थियाे । पोखराका बासिन्दा कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रमा सुपरिचित नाम हो । विगतमा राजनीतिमा समेत सकृय उहाँले कविता लेख्नु र राजनीति गर्नु दुवै कठिन हुने समेत बताउन भ्याउनुभयाे । यस्तै कविता वाचनका क्रममा प्रत्येक कविता लेखिनुका कारण, घटना आदिबारे छोटो चर्चा गर्दै कविता वाचन गर्दा त्यसले बेग्लै सौन्दर्य भरेको थियो ।

कतिपय कार्यक्रममा सहभागी स्रोता दर्शकहरूले मञ्चमा भीडभाडको अतिथि, आसन ग्रहणको लर्को अनि माइक समाउनेहरूको चर्चाले कार्यक्रमको खास उद्देश्यलाई छोपेको आरोप लाग्ने गरेको छ । लेखक संघ मकवानपुरले गर्ने सबै साहित्यिक कार्यक्रमहरूमा मूख्य व्यक्तित्वको वाचन र उसको बारेमा जानकार एकजनाले व्यक्तित्व र कृतित्वको चर्चा गर्ने गर्दछन् । कार्यक्रम प्रस्तोता र सभाध्यक्षबाहेक अन्य व्यक्तिहरूलाई स-सम्मान यथास्थानमा आसन गराइने चलनले आमन्त्रितहरूको झनै महत्वका साथ उपस्थिति रहने लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य बताउनुहुन्छ ।

डेढ दुई घण्टा हुने भनिएका कतिपय कार्यक्रमहरूले पूरा दिन नै खपत गर्ने हुन्छन् । ’नेपाली समय’ का नाममा तोकिएको समयभन्दा निकै ढिला कार्यक्रम हुने गरेकोमा लेखक संघ मकवानपुरले गर्ने सबै कार्यक्रमहरू तोकिएकोभन्दा १५ मिनेटसम्म मात्रै ढिला भएको पाइन्छ । सचिव केशव समर्पणले त्यसलाई समेत सुधार गरेर तोकिएकै समयमा सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कवि श्रेष्ठले आफ्नो कविता वाचन गर्नुपूर्व सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कवि श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्नु भएको थियो । सरलताभित्र गहनता नै श्रेष्ठको विशेषता हुने उहाँले बताउनु भयो ।

कवि श्रेष्ठले लेखेको चर्चित कविता ‘आमा’ नेपथ्यका अमृत गुरुङले गाउनु भएको छ । आमा, हिउँमा लेखिएका नामहरू, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु, म मुक्तिनाथ, बाघ लगायतका दर्जनौं कविताहरु कवि श्रेष्ठका चर्चित कविताहरू वाचन गरिएको थियो । कविता वाचनको क्रममा मकवानपुरे संगीतकार पूणर् विक्रम अधिकारीले श्रेष्ठलाई पार्श्व संगीतमा साथ दिनुभएको थियो ।

कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’ नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा, वरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजाल, समीक्षक घनश्याम घिमिरे लगायत साहित्यिक व्यक्तिहरूका साथ कलाकार, शिक्षक, निजामती, राजनीतिकर्मीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

-संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x