डा. बमबहादुर जितालीबूढो समय
दुब्लाहरू मोटा हुँदै गाका छन् कोही बेतालमा जिन्दगीको बाँसुरी बजाइरहेछ बेसुरमै धुन निस्कन्छ कि अहोरात्र प्रयासमा छन् बहुरुपी मान्छेका चरित्रहरू बाटा-बाटामा फिँजारेर मान्छे स्वयम समयलाई जबर्जस्ती बूढो बनाइरहेछ ।

आकाश कालो लाग्छ
बादलमा चाँदनी घेरा देखिंदैन
घाम चिसा छन् धरती मलिन छन्
सम्बन्धहरूलाई तुँवालाले ढाक्दै छन्
बिहान- बिहान जस्तै लाग्दैन
रात- रात जस्तै लाग्दैन
एक्लिएर
सम्झनाका ताँतीहरू एककोहोरो खनिइरहन्छ
मयालुहरूले मानसपटलमा काउकुती लगाइरहन्छ
अपसोच !
सपनाहरू खडेरीमा छ्न्
बिपनाहरू रेस्ट्मा छन्
भविस्यहरू बेठेगानमा छन्
बिचरा ! बूढो समय
कुनै बेला उसको साहसले
हजारौं पटक सगरमाथाहरू पैतालामा हुन्थे
कयौं अरुणका गल्छीहरू निमेशभर वारपार हुन्थे
लेकका गुराँसहरू बटुलेर सयौँ यात्रीहरूको हातहातमा थमाइ दिन्थे
साथमा एक मुस्कान काफी हुन्थे
भोगहरूमा ऐँसेलु पातको दुनोभरी रमाइरहँदा
रसिलो अमलाले पानीको प्यास मेट्दा
संसारभरिका खुसीहरू आफ्नै पोल्टामा परेजस्तै
सम्बन्धहरू
कहिले हिमाल
कहिले पहाड
कहिले तराई
झर्ने र चढ्ने ओहोरदोहोर हुन्थे
चलेका ती ताता बाफहरूलाई
त्यो सिर्सिरे बतासले शुद्धीकरण गरेर
आनन्दका पलहरू फर्लक-फर्लक पल्टाइ रहन्थे
यसरी बूढो समय
स्वभिमानको पोका खोलिइरहन्छ
पासपोर्ट र राहदानीको बजारले
आकाशमा चील उड्छ बथानका बथान मान्छेहरू बोकेर
तिनीहरू झ्यालका सिसाबाट चिहाउँछन्
र गौरब गर्छ यसरी उडिरहँदा
पसिना खाडीमा बेचिन्छ
इमान खाडीमा बेचिन्छ
उमेर खाडीमा बेचिन्छ
चालीस कटेसी घरबार सम्झन्छ
यता घरको पाली चुहिरहन्छ
ढुकुटी मुसाले खनिरहन्छ
घरमा केटाकेटी/बूढाबूढी मात्र
खेत बाँझो छ पटपट फुट्छ
जसरी आज बूढो समयको गाला पटपट फुटिरहेछ
बेकारका छन् आजभोलिहरू
स्वार्थमा रुमल्लेका छन्
ऊ पिच्च थुक्छ आजभोलिहरूलाई
जसले तानाबानाहरू कोठामा बुनेर
मान्छेका मनहरू बारम्बार भत्काइरहेछ
असन्तुलित जिन्दगीहरू बजारमा फिँजाएर
बेरोजगारी कारखानाहरू खोलिरहेछ
घरघरको दूरी बढाइरहेछ
हिजो एकछाक जोहो गर्नेहरूको नियति आज उस्तै
तर बेइमानीहरू क्यासिनोबाट आकाश छुने दाऊ हानिरहेछ
यति ठूलो खाडल
मेरै देशमा
देशका सिमानामा दिउसै बलात्कृत छन्
तर आजभोलिहरू बारमा कक्टेल पार्टीमा जमिरहेछ
परिकार परिकारका सेटमा हाँसोका सिज्लर्हरू झ्वाइँ-झवाइँ पारिरहेछ
हातखुट्टा बाँधेर लडाएको बूढो समय
एक कुनामा घाइते छ
बेथितिहरू यतिबिघ्न जो लामबद्ध छन्
शहर हुँदै गाम छिरेका छन्
दुब्लाहरू मोटा हुँदै गाका छन्
कोही बेतालमा जिन्दगीको बाँसुरी बजाइरहेछ
बेसुरमै धुन निस्कन्छ कि
अहोरात्र प्रयासमा छन्
बहुरुपी मान्छेका चरित्रहरू बाटा-बाटामा फिँजारेर
मान्छे स्वयम समयलाई जबर्जस्ती
बूढो बनाइरहेछ ।।
सिन्धुली
(प्रकाशोन्मुख कविताकृति ‘बूढो समय’ बाट)
Subscribe
Login
0 Comments
Oldest





































