माणिकरत्न शाक्यइन्द्रकुमारको माउन्टेन बाइक
सरित्जीलाई आफ्नो ज्यानको भन्दा पनि प्यारो माउन्टेन बाइक भाँचिएला कि भन्ने खुब माया थियो । जसको कारण फोकटियामा दुःख झेल्नुपयो । सरित्जीसँग भेट भयो कि तिनको त्यो माउन्टेन बाइक याद आइहाल्छ ।

वि.सं. २०४४ तिरै नियात्राकार प्रतीक ढकालमार्फत कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ सँग मेरो परिचय भएको हो । परिचय भएदेखि नै एकज्यानको साथी जस्तै भएर हिँड्थ्यौं हामी ।
त्यसैक्रममा एकदिन सरित्जीले साहित्यिक पत्रिका प्रस्तुतिका सम्पादक बद्रीलाल श्रेष्ठलाई भेट्न जाने कुरा गरे । सम्पादकलाई भेट्ने कुरा ठूलै होला भन्ने ठानियो र गइयो । दिनदिनको भेटघाटले होला बद्री दाइसँग हाम्रो एकदमै हिमचिम बढेको थियो ।
२०४६ सालको कुरा हो । जनआन्दोलनले उग्र रूप लिएपछि बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म पञ्चायती सरकारले कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू उल्लङ्घन गर्नेलाई देख्नेबित्तिकै गोली ठोक्नु भन्ने कडा आदेश थियो ।
त्यो ताका सरित्जीले केही महिना अगाडि एउटा माउन्टेन बाइक किनेका थिए । म उनीसँग भएको बेला, सम्पादक बद्रीलाल दाइकहाँ जाँदाफर्किंदा र अरूबेला पनि बीमा संस्थान सिंहदरबारबाट जहाँ गए पनि जहिल्यै पनि साइकल डोर्याएर पुग्थ्यौं । साइकलमा डबल लोड गर्न ज्यान जाला नमान्ने । त्यही समयमा एकदिन सरितजीले बद्री दाइकहाँ जाऊँ न जाऊँ भनेर ढिपी गर्या गर्यै गरे । मैले भनें- आज पनि कर्फ्यू छ होला, भरे फर्किदा बित्यास पार्ला नि । उनले मानेनन् । मेरो केही सीप लागेन । छिट्टै फर्किने टुङ्गो लगाई हामी गयौं । दाइ त हिन्दी सिनेमा हेर्ने सुरसारमा रैछन् । दाइको कुरा सुनेपछि सरित्जीलाई फर्किऊँ भनेर कराउन थालें । बद्री दाइ र सरितजीको अगाडि मेरो जोड चलेन । सरित्जी त बद्री दाइसँग लिसो टाँसिए टाँसिएर सिनेमा पो हेर्न थाले । म चाहिँ मन नलागी नलागी एउटा कुनामा थन्किएर बसें । मैले बद्री दाइलाई आज कर्फ्यू छ कि छैन भनेर सोद्धा छैन भन्ने जवाफ पाए पनि मनमा भने चिसो पसिरहेको थियो । सरित्जीलाई जाऔँ भनी धेरै पटक कचकच गरें । बल्ल उठे । हामी त्यहाँबाट उठ्दा घडीमा बेलुकाको साढे आठ बजिसकेको थियो ।
यङ्गालबाट निस्केपछि मैले सरित्जीलाई भनें- आज पनि कर्फ्यू छ कि कसो ! बाटो त सुनसान छ नि ! यस्तै भन्दै, अलि छिटोछिटो गरेर हामी रत्नपार्क आइपुग्यौं । त्यहाँ पनि सुनसान देखेपछि र सेनाको चहलपहल देखेपछि अब चाहिं पक्का भयो आज पनि कर्फ्यू रहेछ ।
यङ्गालबाट रत्नपार्क आइपुग्दा नै केही समय बितिसकेको थियो । मैले सरित्जीलाई साइकलमा डबल लोड गरेर जाऊँ न, नौ बज्न लागिसक्यो भनेर आग्रह गर्दा उल्टै साइकल भाँचिन्छ, बिग्रिन्छ भनेर मानेनन् । उनको कुरा सुनेपछि मेरो कन्पारा नमज्जासँग तात्यो, रिसाउँदै कराएँ । थर्काएँ । तर रिसाहा स्वभावका सरित्जीले चुइँक्क एक शब्द पनि बोलेनन् । तेतिन्जेलसम्ममा नौ बज्नलाई १५ मिनेट मात्रै बाँकी थियो । केही सीप नलागेपछि मैले अन्तिम निचोड निकाल्दै भनें- त्यसो भए कुदौँ । हामी दुवै जना साइकल पालैपिलो डोर्याउँदै कुद्न थाल्यौं ।
रत्नपार्कबाट सिफलसम्म बेतोडसँग कुद्दा छिट्टै पुग्या जस्तो भयो । घडीमा नौ बज्नै आँटेको थियो । सरित्जी सिफलबाट आफ्नो डेरातर्फ लागे । तर मेरो त अझै त्यहाँबाट पनि केहीबेर माथि कुटुबहालसम्म पुग्नुपर्ने थियो । स्वाँ स्वाँ र पयाँ फ्याँ गर्दै कुद्दै थिएँ । हातहतियार र गोलीगठ्ठाले सुसज्जित सैनिकहरू कर्फ्यूका लागि तैनाथ भएर चोकमा उभिरहेको देखेर झन्डैले होस गुम भएको । सुनसान रात, बाटोमा हिँड्ने कोही पनि थिएनन् । यिनले केही पो गर्ने हुन् कि भन्ने मनमा डर लाग्थ्यो । जे जस्तो भए पनि कुद्ने काम नछोडीकन घर पुगें । तर मेरो जीवनले प्राप्त गरेको सौभाग्य नै भन्नुपर्ला- घर पनि पुग्नु, नौ पनि बज्नु एकैचोटि परेछ । मैले लामो सास फेरेर थकाइ मारें । धन्य ! केही भएन ।
सरित्जीलाई आफ्नो ज्यानको भन्दा पनि प्यारो माउन्टेन बाइक भाँचिएला कि भन्ने खुब माया थियो । जसको कारण फोकटियामा दुःख झेल्नुपयो । सरित्जीसँग भेट भयो कि तिनको त्यो माउन्टेन बाइक याद आइहाल्छ ।
२०५१/०८/२१
‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ बाट
Subscribe
Login
0 Comments
Oldest






































