साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटी भूतपूर्व नगरवधूको बडाहाकिमसँग प्रार्थना

यो पर्खाल कहाँसम्म फैलिएको छ बडाहाकिम ? ढोका कहाँनिर छ ? अनि, जसले मेरा यी औंला छोइरहेको छ त्यो छुने चिज यो पर्खालमा परेको धाँजा नै हो नि है किल्लापति ?

Nepal Telecom ad

अनुः बलराम तिमल्सिना

मात्रै एक पटक
किल्लाको ढोका खोलिदिनुस बडाहाकिम !
म दुखिहारीको प्रार्थना
सुनिदिनोस नगर अधिपति !
म अदृश्य पर्खाल र बुर्जा भएको
यो महानगरबाट बाहिर जान चाहन्छु ,
ध्वनि र प्रकाशको दिन रातको जारी क्रममा
म एउटा प्रतिध्वनि र छायाँसम्म पनि बन्न चाँहन्न,
अब यो कोलाहल तिरीमिरी उज्यालोबाट
म टा…ढा जान चाँहन्छु ।
यो हाट बजारमा मेरो सास रोकिइरहेको छ ।
मलाई मुक्त गरिदिनोस् बडाहाकिम !
त्यसै पनि मेरो बैंस ढल्कदै छ ।
यो नन्दन बनको मदनोत्सवका लागि
राजपुरुष, महाजन तथा कुलीनहरूको
आमोद प्रमोदका लागि,
फराकिला राजमार्ग
या नगरको भिडभाडको विथियाबाट
फूलले सजाइएको यानमा चढेर जाँदै गर्दा
आफ्नो एक मात्र झलकले
कामातुर नागरिकहरूको हृदयलाई
उत्तेजित बनाइदिनका लागि,
तपाईको पुष्पक विमानमा यात्रा गर्दै
महाजनहरूको सेवाका लागि,
तपाईका सजिसजाऊ पसलका
सम्भ्रान्त ग्राहकहरूलाई
खुसी पार्नका लागि,
तपाईको मधुशालाको लागि
र रात्रीकालीन आमोद-गृहको लागि
म काम नलाग्ने भैसकेकी छु ।
नृत्यशालाहरूमा
या पर्दामा
विद्युतीय गतिमा फिटिटी चलाउन,
कुलीन कलाप्रेमीहरूको
हृदयको तारलाई झङ्कृत बनाइदिन
र उनीहरूको
सौन्दर्य-तृष्णालाई तृप्त बनाउन सक्ने
खुट्टारूमा त्यो छरितोपन छैन ।
दिन दिन भरी मुस्कुराउन सक्ने
या नखरा पार्न सक्ने
निर्माता-निर्देशकलाई रिझाउन सक्ने
या टेलिभिजनमा
सौन्दर्य प्रसाधनको विज्ञापन गर्न सक्ने
अब ममा त्यो आक्ति बाँकि रहेन ।
किल्ला बाहिर पनि
घेरा हालिरहेका तपाईका दुश्मन होलान,
म त उनीहरूका लागि पनि
तपाईका नगरका मानिसका लागि जस्तै
त्यस्तै एउटी नारी-देह हुँ ।
तिनीहरूको शिविरबाट म निस्कन सकूँ
केही वर्षको नरक भोगेर
म जीवित रहने छु
किन कि,
म अहिले पनि जीवित रहन चाहन्छु ।
हैन,यसो भन्नु सही होला कि
अब म जीवित हुन चाहन्छु बडाहाकिम !
मलाई जान दिनोस
म आफ्नो चिनारीसम्म जान चाहन्छु
म आफ्नो आत्मासम्म
र आफ्नो अस्मितासम्म जान चाहन्छु ।
मेरो शरीरकै त तपाई स्वामी हुनुहुन्छ ,
त्यो त अब झोलिएर
मासुको एउटा थुप्रो मात्र छ
यसलाई तिरस्कार गरिदिनोस् स्वामी
किल्लाभन्दा बाहिर फ्याँकिदिनोस ।
हेर्नुस,
मेरा स्तनबाट बगिरहेको दूधले
त्यो अप्रतिम सौन्दर्यको रहलपहललाई पनि
धूलोपिठो पारिरहेका छन्
जसले कुनै समय
तपाईका मानिसहरूलाई पागल बनाइदिन्थ्यो ।
मलाई यी स्तन
रोइरहेका बच्चाको ओठसम्म लैजान दिनुस्
यो जन-जङ्गलभन्दा टाढा
मलाई त्यो उब्जनीसम्म जान दिनुस
आफ्नो यौवनलाई अमरत्व दिनका लागि
जुन रस निचोरेर तपाई पिउनु हुन्छ,
मलाई ती बिरुवासम्म जान दिनुस
जसका गला फुट्न खोज्दै छन,
ती विशाल घना रुखहरू सम्म जान दिनुस
जसका पातबाट निस्केको फिर्फिर ध्वनि
सिधै मेरो आत्मा सम्म आइरहेको छ ।
त्यस्तै एउटा रुखमा अडेस लागेर
भलै त्यो जिन्दगीको अन्तिम पटक किन नहोस
कमसेकम एकपटक
आफ्नै मनले एउटा गीत गाउनु छ मैले
जुन गीतलाई कहिलै कसैले फर्माइस गरेको नहोस् ।
जलिरहेको मरुभूमिमा नै किन नहोस्
एक पटक भए पनि म
आफ्ना लागि नाँच्न चाहन्छु ।
मलाई आफ्नो लागि
एक पटक खुला आकासमुनि जान दिनुहोस्
ताराहरूबाट खसेको
शीतसहितको जूनेलीमा भिज्न दिनुहोस् ।
आखिर तपाईं
यो कुरासँग किन डराउनु हुन्छ बडाहाकिम ?
म त्यो गाउँ खोज्ने छु
जहाँबाट मलाई गुच्चा खेल्दा खेल्दै उठाएर ल्याइएको थियो वाल्यकालमा,
मौर्य वङ्श या गुप्त वङ्शको शासन कालमा
या त्योभन्दा पनि पहिले कुनै बेला ।
सताव्दियौं बितिसकेको छ,
अब म थाकिसकेकी छु बडाहाकिम ।
तपाईको अदृश्य पर्खालहरूमा ठोक्किएर
मेरो टाउको रगतमुच्छेल भैरहेको छ,
यसमा जस्केलो या ढोका छाम्दा छाम्दै
म सिथिल भैसकेकी छु ।
यो पर्खाल कहाँसम्म फैलिएको छ बडाहाकिम ?
ढोका कहाँनिर छ ?
अनि,
जसले मेरा यी औंला छोइरहेको छ
त्यो छुने चिज
यो पर्खालमा परेको धाँजा नै हो नि है किल्लापति ?

०००
भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x